Teej banner

राष्ट्रपतिको मोटरसाइकल स्टन्ट

- साप्ताहिक संवाददाता

भाद्र १२, २०७५

इन्डोनेसियाली राष्ट्रपति जोको विडोडो मोटरसाइकल भनेपछि हुरुक्कै हुन्छन् । उनी मोटरसाइकलप्रतिको आफ्नो प्रेम समय–समयमा प्रदर्शन पनि गरिरहन्छन् । उनको यो प्रेम एसियाली खेलकुदका क्रममा उत्कर्षमै पुग्यो । जोको प्रतियोगिताको उद्घाटन समारोहका लागि आफ्नो भवनबाट पूरा सुरक्षा व्यवस्थाबीच गाडीमै निस्किएका थिए, तर जाकार्ताको ट्राफिक जाममा फसे ।

 त्यसपछि उनले जुक्ति निकाले, आफ्नो गाडी छाडेर मुख्य रंगशालासम्म मोटरसाइकलमा यात्रा गर्ने अनि फुल–हेलमेट लगाएर उनले शक्तिशाली मोटरसाइकलको मद्दतले रंगशालासम्मको यात्रा गरे । यसबीच उनी औपचारिक पोसाकमै थिए । बीच बाटोमा उनले मोटरसाइकल उडाउने काम समेत गरे । यसै कारण उनी उद्घाटन समारोहका लागि ठीक समयमा रंगशाला पुगे । उनको यो मोटरसाइकल स्टन्टबाट इन्डोनेसियाली युवाहरू खुबै प्रभावित भएका छन् । 

उनको लोकप्रियता पनि ह्वात्तै बढेको छ, तर यसलाई उनका विरोधीहरूले भने मन पराएनन् । धेरैको के आरोप छ भने राष्ट्रपतिले त्यस क्रममा सुरक्षाको ख्याल राखेनन, उनलाई केही भएको भए के हुन्थ्यो ? यति मात्र होइन, यो स्टन्टका लागि उनले अरू कुनै व्यवसायिक चालकलाई प्रयोग गरेर अन्तिम समयमा मात्र आफू प्रस्तुत भएको आरोपसमेत लगाइएको छ ।

अझ केहीले त के पनि भने अर्को वर्ष हुने चुनावका लागि उनले लोकप्रियताको लोभमा यो काम गरेका हुन् । यस विषयमा राष्ट्रपतिको औचापरिक धारणा बाहिर आएको छैन । यद्यपि उनी मख्ख होलान्, आफ्नो काम र त्यसलाई लिएर आइरहेका प्रतिक्रियाहरू देखेर । 

प्रकाशित :भाद्र १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्