फुटबलको दुर्भाग्य

- साप्ताहिक संवाददाता

भाद्र १२, २०७५

एक युगमा यस्तो अवसर एक पटक आउँछ । उक्त अवसर पनि गुम्यो भने समस्या मात्र बाँकी रहन्छ । यस्तै रह्यो, एसियाली खेलकुद २०१८ मा सहभागी नेपाली फुटबल टिमको । नेपाल समूह ‘डी’ मा थियो र त्यसमा जापान र भियतनामविरुद्ध कसैले पनि जितको अपेक्षा गरेका थिएनन् । यद्यपि कसैले पाकिस्तानविरुद्ध पनि हारको अपेक्षा गरेका थिएनन् । जापान र भियनतनामविरुद्ध कम अन्तरको हारपछि नेपालसामु नकआउट चरणमा प्रवेशको निकै बलियो अवसर थियो । 

नेपालले पाकिस्तानलाई हराएर ऐतिहासिक प्रदर्शन गर्न सक्थ्यो, तर अन्त्यमा नेपाल त्यही पाकिस्तानसँग पराजित भयो र यही रह्यो, नेपाली फुटबलको दुर्भाग्य । सबैभन्दा पहिले पाकिस्तानकै चर्चा । सबैलाई थाहा छ, पाकिस्तानको फुटबलको स्तर निकै कमजोर छ, आधार नै छैन भने पनि हुन्छ । न त यो खेल पाकिस्तानमा त्यति लोकप्रिय छ । यस्तै–यस्तै कारणबीच पाकिस्तानले चार वर्षपछि कुनै माथिल्लो स्तरको फुटबल खेलेको थियो ।

पाकिस्तानले नेपालको सामना गर्नुअघि भियतनामविरुद्ध ३–० तथा जापानविरुद्ध ४–० को हार बेहोरेको थियो । यता नेपाल भने जापानविरुद्ध १–० तथा भियतनामविरुद्ध २–० ले पराजित भएको थियो । नेपालसामु पूरा अवसर थियो, तेस्रो स्थानमा रहने अनि चार उत्कृष्ट टिम भएर अर्को चरण प्रवेश गर्ने । सन् १९८२ मा नेपालले पहिलो पटक एसियाली खेलकुदको फुटबलमा सहभागिता जनाएको थियो र संयोगले त्यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटबलमा औपचारिक सहभागिता थियो । 

त्यतिबेला नेपालको पहिलो खेल कुवेतविरुद्ध थियो र त्यसमा ३–१ ले हारेर पनि नेपालले राम्रो खेलेको थियो । उक्त ऐतिहासिक गोल गरेका थिए– वाईबी घलेले । त्यसयता नेपालले एक गोलसम्म गर्न सकेको छैन, यस्तोमा जित त निकै परको कुरा हो । यो सबै पाकिस्तानविरुद्ध सम्भव थियो । नेपालले उक्त खेलमा एक गोलको सुरुवाती अग्रता पनि लियो, तर दु:खद कुरा के भने त्यो पाकिस्तानको आत्मघाती गोल थियो । त्यसपछि नेपालले दुई गोल खायो र निराशाजनक नतिजा आत्मसात् गर्‍यो । 

उक्त प्रदर्शनले नेपाली राष्ट्रिय टिममा नकारात्मक स्थिति सिर्जना गरिदिएको छ । भलै एसियाली खेलकुदमा सहभागी टिम यू–२३ थियो, तर यो लगभग नेपालकै राष्ट्रिय टिम थियो । फेरि यो स्थिति यस्तो बेला आएको छ, जति बेला बंगलादेशमा हुने साफ च्याम्पियनससिप केही दिन मात्र टाढा छ र टुंगो लाग्न सकेको छैन, अब नेपाली टिमको मुख्य प्रशिक्षक को हुने हुन ? नेपालले जाकार्तामा जापानी प्रशिक्षक ग्यातुकी गोजुको नेतृत्वमा खेलेको थियो । 

यद्यपि उनी नेपाल फर्कन सक्ने स्थितिमा छैनन, किनभने उनीसँग नेपाल प्रवेशको अनुमति छैन र यसअघि उनले जति समय नेपालमा बिताए, त्यो पर्यटक भिसामा थियो । श्रम स्विकृति विना नेपालमा काम गर्दै आएको हुँदा अध्यागमन विभागले उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा रोक लगाएको छ । यस्तोमा अब नेपालले कसको नेतृत्वमा साफ च्याम्पियनसिप खेल्ने हो, तय हुन सकेको छैन । यस्तो स्थितिले टिम तथा खेलाडीको मानसिकता कहाँ सकारात्मक हुन्छ र ? 

प्रकाशित :भाद्र १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्