मायाले मार्यो
भाद्र १२, २०७५
मन दिइन्, माया दिइन् । सिंगो जीवन सँगै जिउने कसम पनि खाइन् । मन र मुटु नै दिएका प्रेमीबाट उनले आफ्नो इहलीला समाप्त होला भनेर सपनामा पनि सोचेकी थिइनन् तर त्यही भयो, प्रेमीबाट उनले त्यस्तै दर्दनाक नियति सामना गर्नुपर्यो ।
यस्तै नसोचेको घटना बेहोरिन्, मोरङकी कलकलाउँदो उमेरकी युवती शिखा घिमिरेले । मोरङको ग्रामथान गाउँपालिका–३, सिद्राहामा गत साता एउटा क्रूर र विभत्स घटना घट्यो । शिखाको हत्या जीवनभर साथ दिई सँगै मर्ने, सँगै बाँच्ने कसम खाएका आफनै प्रेमीबाट भयो । विराटनगर– १३ महतो टोलकी २२ वर्षीया घिमिरेलाई सोही ठाउँका उनका प्रेमी ३० वर्षीय दिनेश भट्टराईले १ भदौंको दिउँसो धारिलो हतियार प्रयोग गरी हत्या गरे ।
आफूलाई धोका दिन लागेको आरोप लगाउँदै दिनेशले शिखाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दिनेशले शिखालाई शरीरको विभिन्न भागमा धारिलो हतियार दाउ र चक्कु प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनका अनुसार शिखाको को १७ प १७२३ नम्बरको स्कुटरमा चढेर दुवै जना विराटनगरस्थित आ–आफ्नो घरबाट निस्किएपछि सिद्राहा पुर्याएर दिनेशले उक्त हत्या गरेका हुन् ।
‘सिद्राहा पुगेपछि स्कुटरबाट ओर्लिएका दुवै जनाबीच वादविवाद भएको स्थानीय बासिन्दाले देखेका रहेछन्,’ केसीले भने, ‘विवाद बढ्दै जाँदा दिनेशले आफ्नो झोलामा बोकेको धारिलो हतियार निकालेर शिखामाथि प्रहार गर्न थालेछन् ।’ दिनेशले प्रहार गरेको हतियारले शिखाको अनुहार, घाँटी, पेट आदिमा चोट लागेको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहारले शिखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनालगतै प्रहरीले दिनेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । उनीमाथि मुलुकी अपराध (संहिता) ऐन २०७४ को ज्यान सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । नयाँ जारी फौजदारी अपराध संहिता ०७४ अनुसार क्रुर र वीभत्स तरिकाले हत्या गर्नेलाई आजीवन कारबासको व्यवस्था छ ।
पैसा लिन जाँदा बाटैमा मारिइन्
शिखा अस्ट्रेलिया जाने तयारीमा थिइन् । अस्ट्रेलियाको भिसा नआएसम्म शिखाले काठमाडौंमा बसेर एक महिना ब्युटिपार्लरको तालिम लिने पारिवारिक सल्लाह भएअनुसार गत शनिबार उनी काठमाडौं जाने तयारीमा जुटेकी थिइन् । काठमाडौं जानुभन्दा एक दिन अघि पैसाको जोहो गर्न भन्दै दिनेशले शुक्रबार विहानै झोराहाटस्थित आफ्नो मामाघरमा पैसा लिन शिखालाई लिएर गए । दिनेशलाई चलाउन नआउने भएकाले स्कुटर शिखाले नै चलाएकी थिइन् ।
मामाघर पुग्नुभन्दा अघि गफ गर्ने भन्दै दिनेशले शिखा ग्रामथान—३, सिद्राहा टोलभन्दा सय मिटर उत्तर सुनसरी– मोरङ सिँचाइ आयोजनाको नहरको पूर्वी डिलतर्फको छहारीमा स्कुटर राखेर नहरको डिलमा बसेर कुरा गर्न थाले । ‘बसेको केहीबेरमा दुवैबीच वादविवाद भएको स्थानीय बासिन्दाले देखेका रहेछन्,’ एसपी केसीले भने, ‘विवाद बढ्दै जाँदा दिनेशले आफ्नो झोलामा बोकेको दाउ निकालेर शिखामाथि प्रहार गर्न थालि हालेछन् ।’ बेहोसी तालमा रहेका दिनेशले शिखाको शरिरमा कतिपटक धारिलो हतियार प्रहार गरे उनी आफैंलाई हेक्का नभएको प्रहरीलाई बताएका छन् ।
गाउँलेको फन्दामा
क्रूर तरिकाले हत्या गरेर शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दा दिनेशलाई स्थानीय बासिन्दाले घेरा हालेर नियन्त्रणमा लिएपछि प्रहरीको जिम्मा लगाए । युवतीको हत्या गरेर भागिरहेको देखेपछि खेतमा काम गरिरहेका गाउँलेले प्रहरीलाई खबर गरेर उनलाई नियन्त्रणमा लिएका हुन् । नियन्त्रणमा लिन खोज्दा उनले स्थानीय बासिन्दालाई आफ्नो झोलामा रहेको छुरा निकालेर प्रहार समेत गर्न खोजेको एसपी केसीले बताए । त्यस क्रममा गाउँलेहरूसँग दोहोरो घम्साघम्सी हुँदा छुराले दिनेशको हात समेत काटिएको छ । त्यत्तिकैमा गाउँबाट आएका मानिसहरूले ढुंगाले हान्न थालेपछि दिनेशको हातबाट छुरा खसेको थियो । छुरा खसेलगत्तै गाउँलेहरूले उनलाई नियन्त्रणमा लिएका थिए ।
‘संगै स्कुटरमा गए पनि दिनेशले झोलामा दाउ र छुरा समेत बोकेर जानुले योजनाबद्ध हिसावबाट घटना गराएको देखिन्छ,’ एसपी केसीले भने, ‘चिन्नै नसक्ने गरी विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला पर्यो ।’ प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु तथा दुबै जना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ । पक्राउ परेका दिनेशलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको एसपी केसीले बताए ।
तीन महिना अघि ‘कोट म्यारिज’
लामो समयदेखि प्रेममा रहेका शिखा तथा हत्याका आरोपी दिनेशबीच तीन महिनाअघि ‘कोर्ट म्यारिज’ भएको थियो । ‘डिपेन्डेन्ट भिसा’मा अस्ट्रेलिया जाने तयारीमा जुटेका दिनेश र शिखाले जिल्ला प्रशासन कार्यालय मोरङमा ‘कोर्ट म्यारिज’ गरेका हुन् । गहिरो प्रेममा परेका दुवै जनाले आ–आफ्नो परिवारलाई यो प्रेम सम्बन्धको कुरा अवगत गराए । परिवार रिझाएपछि उनीहरूको प्रेमलाई परिवारले समेत साथ दिएको थियो । त्यसपछि उनीहरूले अष्ट्रेलिया जाने योजना बनाए । दुवैतर्फका परिवारका सदस्यहरू सहमत भएपछि शिखा र दिनेशको कोर्ट म्यारिज भएको बताइएको छ । दिनेश र शिखा नजिकका छिमेकी पनि हुन् । कोट म्यारिज गरेपनि दुबै जना आ–आफ्नै घरमा बस्दै आएका थिए ।
पढाइमा अब्बल शिखा दिनेशकै खर्चमा अस्ट्रेलिया जाने तयारीमा थिइन् । ‘परिवारिक सल्लाहपछि दिनेश र शिखा दुवै डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाने तयारीमा थिए,’ शिखाका बुवा कृष्णले भने, ‘अस्ट्रेलियामा पढाइ सकिएपछि घरपरिवारको सहमतिमा परम्परागत विवाह गरिदिने सल्लाह भएको थियो ।’ कृष्णले दिनेश र शिखाबीच प्रेम रहेको आफूहरूले ६ महिनाअघि मात्र थाहा पाएको बताए । ‘दिनेशलाई घरमै बोलाएर सोधेपछि प्रेम सम्बन्ध रहेको थाहा भयो,’ कृष्णले भने, ‘डिपेन्डेन्ट भिसामा दुवैजना अस्ट्रेलिया जाने तयारीमा थिए, छोरीको यही इच्छा बुझेपछि स्वीकृति दिएका हौं ।’
दिनेश र शिखाले कन्सल्टेन्ट मार्फत पैसा बुझाएर भिसाको सबै प्रक्रियासमेत पूरा गरिसकेका थिए । दुई वर्षपछि नेपाल आएर धार्मिक विधिअनुसार विवाह गर्न दुवै परिवार सहमत रहेको अवस्थामा किन हत्या गरिएको हो भन्ने कुरा बुझ्नै गाह्रो भएको कृष्ण बताउँछन् ।
यता दिनेशका बुबा भरतमणिले अहिलेसम्म एउटा कुखुरासमेत नमारेको आफ्नो छोराले शिखालाई मारेको कुरा पत्याउनै गाह्रो भएको बताए । ‘अहिलेसम्म छोराले धुम्रपान र मध्यपान सेवन गरेको देखेको छैन,’ उनले भने, ‘हत्या भएको दिन दिनेश सिलिगुडी जान भनेर बिहान सवेरै चियासमेत नपिई निस्किएको थियो । शुक्रबार अपरान्ह शिखालाई मारेको समाचार सुनेपछि हामी सबै चकित भयौं ।’ दिनेश ३/४ महिनादेखि घरमै बसिरहेको र डिप्रेसनको औषधि खाइरहेको उनले दाबी गरे ।
को हुन् शिखा घिमिरे ?
कृष्ण र सुरेखाकी एक मात्र छोरी हुन्— शिखा । उनको जन्म २०५३ साल असार २७ मा भएको हो । शिखाले स्थानीय गोदावरी स्कुलबाट २०७० सालमा एसएलसी, कोबास कलेजबाट व्यवस्थापनमा प्लस टुका साथै मेरील्यान्ड कलेजबाट बीबीएसको अन्तिम वर्षको परीक्षा दिएकी थिइन् । उनी मेरील्याड कलेजको टप फाइभ भित्र पर्ने विद्यार्थी भएकी कलेजले जनाएको छ ।
गोदावरी बोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्दादेखि नै दिनेशले शिखाको घरमै पुगेर उनलाई ट्युसन पढाउँदै आएका थिए । शिखा पढाइमा मात्र अब्बल होइनन्, उनी आयआर्जनको काममा पनि उत्तिकै सिपालु थिइन् । शिखाकी आमा सुरेखाका अनुसार घरमै पनि उनी ब्युटिपार्लर, सिलाइकटाइ तथा ट्युसन पढाउने आदि काम गरेर आय आर्जन गर्थिन् ।
प्रकाशित :भाद्र १२, २०७५


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्