दर्शक कमेडीबाट अघाएका छैनन्

  •  सन्दीप क्षेत्री/रवीन्द्र झा

- कृष्ण भट्टराई

भाद्र ११, २०७५

 

 

 

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘ह्वाट द फ्लप’ का प्रस्तोता सन्दीप क्षेत्री सुपरिचित नाम हो । उक्त कार्यक्रममा मिठाईलालदेखि शेरबहादुरसम्मको चरित्र निर्वाह गरेर दर्शकको मन जितेका सन्दीप स्ट्यान्ड–अप कमेडीमा पनि उत्तिकै अब्बल छन् । फुर्सदका बेला चलचित्रमा अभिनय गर्न समेत अग्रसर हुने सन्दीप यतिबेला प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चंगा चेट’ का कारण चर्चामा छन् । उक्त चलचित्रको ‘गोजीमा दाम छैन’ गीतमा सन्दीपले अभिनेत्री पारमिता राज्यलक्ष्मी राणासंग कम्मर मर्काएका छन् । त्यही गीतमा अभिनेत्री सुरक्षा पन्तसंग पहिलो पटक कम्मर मर्काएका लोकप्रिय हास्य कलाकार हुन्– रवीन्द्र झा ।

 

शंखे पंखे चंखे, जात्रा, सुनकेशरी, कोहलपुर एक्सप्रेस, शेरबहादुर, मिस्टर भर्जिन, चंगा चेट, चौका दाउ, रामकहानीसहित झन्डै डेढ दर्जन चलचित्रमा अभिनय गरेका कलाकार झा रंगमञ्चबाट रेडियो नाटक हुँदै चलचित्रमा आएका अभिनेता हुन् । चंगा चेटको झन्डै डेढ महिना लामो छायांकनका क्रममा एक–अर्कासँग असाध्यै नजिकिएका सन्दीप र रवीन्द्र गत मंगलबार ललितपुरको झम्सिखेलस्थित मोक्षमा चिया गफ गरिरहेका अवस्थामा फेला परे । त्यही चिया गफमा पुगेका साप्ताहिककर्मी कृष्ण भट्टराईले उनीहरूबीचको वार्तालापलाई रेकर्ड गर्न भ्याएका थिए ।

 

सन्दीप क्षेत्री : झाजी हाम्रो पहिलो भेट कहिले भएको थियो, तपाईंलाई सम्झना छ ? 

रवीन्द्र झा : पहिलो भेट, जात्रा चलचित्रको प्रदर्शनपछि तपाईंकै लोकप्रिय कार्यक्रम ‘ह्वाट द फ्लप’ मा हो नि । तपाईंले हामी सबैलाई बोलाएर बकलोल कुराकानी गर्नु भएको थियो । 

 

सन्दीप : हो–हो, त्यो बेला तपाईंसंगै निर्देशक प्रदीप भट्टराई अनि कलाकार रवीन्द्र सिंह बानियाँ पनि हुनुहुन्थ्यो । वास्तवमा म त्यही चलचित्र हेरेपछि तपाईंको फ्यान भएको हुँ । रमाइलो कुरा के छ भने म पनि तराईवासी हुँ, तपाईंले उक्त चलचित्रमा तराईवासीकै भूमिका निर्वाह गरेर दर्शकलाई हँसाउनुभएको थियो । 

रवीन्द्र : तपाईं तराई कुन ठाउँको हो ? 

 

सन्दीप : म वीरगन्ज, छप्कैया वडा नम्बर–२ को । छप्कैयाको भान्जा हैन त म ? 

रवीन्द्र : ए...हत्तेरी । तपाईं र म त छिमेकी पो परेछौं । एउटै प्रदेशका बासिन्दा । म जनकपुरको हुँ नि, धनुषा जिल्लाको । 

 

सन्दीप : मलाई थाहा छ । तपाईं त जनकपुरको शाहरूख खान नै हो नि, सुपरस्टार । 

रवीन्द्र : त्यस्तो भन्न कहाँ मिल्छ र सन्दीपजी ! मलाई त्यस्तो भन्नुभयो भने तपाईं त झन् कहाँ कम हुनुहुन्छ । एउटा भनाइ नै छ नि– ‘को नहीं जानत है जग में कपि संकटमोचन नाम तिहारो भने जस्तै को नहीं जानत है जग में सन्दीप क्षेत्री नाम तिहारो ।’ 

 

सन्दीप : वाह वाह वाह झाजी क्या बात, क्या बात । नढाँटी भनौं, मलाई चाहिं तपाईं रवीन्द्र भन्दा पनि झाजी भन्दा एकदम नजिक लाग्नुहुन्छ । 

रवीन्द्र : मलाई पनि तपाईंले झाजी भन्दा हामी वल्लो घर–पल्लो घरमा बस्ने तराईवासीझैं लाग्छ । 

सन्दीप : हामी एक प्रकारले छिमेकी नै हौं नि । ल भन्नुस् त, तपाईं र मेरो प्रोफेसनल भेटचाहिं कसरी भयो ? 

 

रवीन्द्र : सहकर्मी अथवा कलाकारका रूपमा त दीपेन्द्र के खनालको चंगाचेटको सेटमै त भेट भएको हो नि । 

सन्दीप : चंगाचेटमा तपाईं कसरी आबद्ध हुनुभएको थियो ? 

 

रवीन्द्र : मलाई त चंगाचेटका लागि निर्माता माधव वाग्लेले नै प्रस्ताव राख्नुभएको हो । उहाँले धेरै पहिले जात्रा चलचित्रको छायांकनका बेलादेखि नै झाजी म एउटा स्क्रिप्ट रेडि गर्दैछु, त्यसमा काम गर्नुपर्छ है भनिरहनुभएको थियो । त्यसयता उहाँले मलाई बेला–बेलामा ‘मिस कल’ दिइरहनुभएको थियो । तपाईंचाहिं कसरी आउनुभयो नि ? 

सन्दीप : हा हा हा...त्यस्तो मिस कल मैले पनि पाइरहेको थिएँ । एकपटक निर्माता वाग्लेसँगै कान्तिपुर टेलिभिजन परिसरमा भेट भएको थियो । कुरा गर्ने क्रममा मैले उहाँलाई ‘तपाईं साफ बदमास’ हुनुहुन्छ भनिदिएछु । उहाँले ‘साफ बदमास’ शब्दलाई विशेष ध्यान दिँदै सोध्नुभयो, ‘तेरो घर कहाँ हो रे ?’ किनभने साफ बदमास भन्ने शब्द तराईमा मात्र चल्छ । मैले विरगञ्ज, छप्कैयाँ भनेपछि उहाँले अझ लोकल ठाउँ सोध्नु भयो । मैले ‘तुतबारी’ भनेपछि उहाँले पुन: सोध्नु भयो–‘साला, तँ तुतबारीको केटो होस् ?’ 

 

रवीन्द्र : तुतबारी निकै अनौठो नाम छ नि ? 

सन्दीप : वीरगञ्जलाई जसले नजिकबाट चिन्छ, उसलाई मात्र तुतबारीका बारेमा थाहा हुन्छ । कुरा गर्दै जाँदा उहाँले मेरो बुवादेखि सबै नातेदारलाई चिन्नुहुने रहेछ । त्यो भेटअघि म उहाँलाई माधव वाग्ले दाइ भन्थें, त्यसपछि माधव काका भन्न थालें । त्यही क्रममा उहाँले तीन जना युवाको कथामा एउटा चलचित्र निर्माण गर्न लागेको बताउँदै अभिनयको प्रस्ताव राख्नु भयो । आयुष्मान देशराज जोशी र रवीन्द्र झा पनि हुनुहुन्छ भन्ने सुनेपछि म तुरुन्तै तयार भएँ । 

 

रवीन्द्र : यही चलचित्रको छायांकनका क्रममै हामी धेरै घुलमिल भयौं नि हैन, अभिनेता आयुष्मान देशराज जोशी पनि हाम्रो ग्याङमा आउनुभयो । 

सन्दीप : हो त । सुरुमा मलाई आयुष्मानको व्यक्तित्व बुझ्न केही कठिन भएको थियो तर संगत गरेपछि उनी बाहिरबाट जति कठोर देखिन्छन्, भित्रबाट त ठ्याक्कै उल्टो पो रहेछन्, कति मजाको मान्छे ? 

 

रवीन्द्र : हो त । मलाई पनि त्यस्तै लागेको थियो, संगत गरेपछि पो थाहा भयो, आयुष्मान त माइ डियर पो रहेछन् । त्यसै प्रियंकाले लभ गरेर विवाह गरेको हो रहेछ त ? 

सन्दीप : सेटमा पनि हाम्रो खुबै गुफ्त गु चल्थ्यो नि ? 

 

रवीन्द्र : त्यो बेलाको रमाइलोको त के कुरा गरौं । म त त्यो बेलाका स–साना कुरासमेत कहिले बिर्सने छैन । मन मिलेपछि काम गर्न पनि असाध्यै सहज हुने रहेछ भन्ने कुरा त्यही चलचित्रको सेटबाट प्रमाणित भयो । 

सन्दीप : तपाईं त थिएटरको मान्छे । जनकपुरमा तपाईं कति ठूलो सेलिब्रेटी हुनुहुन्छ भन्ने मलाई थाहा छ । जनकपुरमा जमेर बसेको मान्छे, काठमाडौं कसरी आउनुभयो ? 

 

रवीन्द्र : जनकपुर त मेरो मुटु नै हो । जहाँ पुगे पनि जनकपुर मसँगै हुन्छ । मेरो जन्म, पढाइ, कर्म सबै जनकपुरमै भयो । जनकपुरबाट म कलाकारिताकै लागि पहिले इटहरी पुगें । त्यहाँ एक वर्षका लागि गएको, झन्डै सात वर्ष बसें । त्यसपछि काठमाडौंमा एन्टेना फाउन्डेसनले आह्वान गरेको मैथिली नाटकको लेखन, निर्माण तथा अभिनयको अडिसन एवं परीक्षाका लागि काठमाडौं आएँ । म उत्तिर्ण भएँ । त्यसपछि मेरो काठमाडौं बसाइ प्रारम्भ भयो । नाटकको काम प्रारम्भ भए पनि रेकर्डिङका लागि जनकपुर नै जानु पर्ने हुन्थ्यो । महिनामा एक साताका लागि जनकपुर जानैपथ्र्याे । त्यसकारण पनि म जनकपुरसंग जोडिएरै रहें । 

सन्दीप : अर्थात् जसरी भए पनि तपाईं जनकपुरसंग जोडिनै रहनुभएको छ ?

 

रवीन्द्र : अहिले पनि मलाई त्यहाँको थिएटरबाट निम्ता आइरहन्छ । दर्शकहरूले अहिले पनि उत्तिकै माया गर्नु हुन्छ । 

सन्दीप : चलचित्रमा अति नै व्यस्त हुनुहुन्छ । झाजी बिना नेपाली चलचित्र नै बन्दैनन् भन्ने चर्चा छ । यस्तो बेला जनकपुरका दर्शकले तपाईंलाई मिस गर्दैनन् ? 

 

रवीन्द्र : दर्शकले मलाई मिस गरिरहनु भएको छ । फेसबुकमार्फत दर्शकहरूले मलाई सन्देशहरू पठाइरहनुहुन्छ । मैले अभिनय गरेका चलचित्रहरू जनकपुरमा प्रदर्शन हुँदा निश्चित दर्शक मलाई हेर्न भन्दै सिनेमा हल पुग्नुभएको जानकारी पाइरहन्छु । 

सन्दीप : फेसबुकमा त तपाईं त्यति एक्टिभ हुनु हुन्न नि, किन ? 

 

रवीन्द्र : नढाँटी भन्ने हो भने मलाई फेसबुक चलाउन अल्छि लाग्छ । चलाउँदै नचलाउने पनि होइन, कुनै विशेष अवसरमा तस्बिर अपलोड गरिरहेको हुन्छु । फेसबुकबाट जनकपुरसहित देशैभरिका दर्शकले कत्तिको मन पराउनु हुन्छ भन्ने थाहा पाइरहेको छु । 

सन्दीप : चलचित्रमा तपाईंलाई सबैभन्दा गाह्रो लाग्ने विधा कुन हो ? 

 

रवीन्द्र : सबैभन्दा जटिल, गाह्रो तथा डरलाग्ने विधा भनेको फाइट हो । फाइटमा पनि बक्सिङ, पञ्चवाला, गोली चलेको, बम नै पड्केको त ठिकै लाग्छ, तर जब खुकुरीवाला एक्सनको कुरा आउँछ, मेरो त सातो नै जान्छ । बञ्चरोवाला फाइट, रड नै शरिरमा घुसाउने फाइटका बारेमा त म सोच्न समेत सक्दिन । त्यसैले जब–जब म नयाँ चलचित्रमा अनुबन्ध हुने क्रममा हुन्छु, त्यति बेला निर्देशकहरूलाई फाइटको के–कस्तो व्यवस्था छ, खुकुरीवाला फाइट त छैन नि ? भन्ने जिज्ञासा राख्छु । त्यसबाहेक म डान्सबाट पनि पन्छिने कलाकार हुँ । नाटकमा हल्का–फुल्का नाचिन्थ्यो, तर चलचित्रमा साह्रै गाह्रो लाग्छ । 

सन्दीप : चंगाचेटको ‘गोजीमा दाम छैन..’ गीतमा त मज्जाले कम्मर मर्काउनु भएको छ त ? 

 

रवीन्द्र : त्यो त मैले कसरी गरें भन्ने मलाई नै थाहा छ । नृत्य निर्देशक प्रविण सिंहलाई मैले कम्ति अनुरोध गरिनँ— मेरो डान्स नराख्नु भनेर । प्रियंका र आयुष्मानलाई मात्र नचाउनु भन्ने मेरो अनुरोधले काम गरेन, बाध्य भएर नाँचें । यद्यपि, गीत सार्वजनिक भएपछि म पनि यति राम्रो नाच्न सक्दो रहेछु भनेर आफैं दंग परें । तपाईंलाई चाहिं डर लाग्ने विधा कुन हो नि ? 

सन्दीप : म पनि नृत्यमै कमजोर छु । जन्तीको त म अब्बल डान्सर हुँ । चलचित्रमा चाहिं मैले कोरियोग्राफरहरूलाई भन्ने गरेको छु, म जस्तो नाच्छु, त्यसमै चित्त बुझाउनु होला । वान, टु, थ्रि, गोको फर्मुलामा म नाच्नै सक्दिन । थ्रिसम्म पुग्दा टु नै छुटिसकेको हुन्छ । 

 

रवीन्द्र : मैले तपाईंलाई एउटा सल्लाह दिएको थिएँ नि, त्यसमा कत्तिको ध्यान दिनुभएको छ ? 

सन्दीप : क्यारेक्टर नछाड्नुस् भन्ने तपाईंको सल्लाहलाई मैले गम्भिरतापूर्वक लिएको छु । अभिनय गर्ने क्रममा होस् अथवा कार्यक्रम सञ्चालन गर्दा होस्, क्यारेक्टर नछाड्ने कुरालाई मैले ध्यान दिन थालेको छु । 

 

रवीन्द्र : क्यारेक्टरमा ध्यान दिँदा परिणाम राम्रो आउँछ भन्ने कुरा मैले बुझेको छु । चलचित्रको छायांकन एकै दिनमा नसकिने, दुई चार दिनको ग्यापमा आफ्नो पालो आउने भएकाले हामी कलाकारले क्यारेक्टर छुटाउनु हुँदैन भन्न खोजेको हुँ । 

सन्दीप : थिएटर र चलचित्रमा के फरक पाउनु भयो ? 

 

रवीन्द्र : चलचित्रमा हामी निर्देशकद्वारा निर्देशित भएर काम गर्छौं, त्यसको निश्चित दायरा हुन्छ । बिग्रियो भने रि–टेक हुन्छ । नाटकमा अभिनय गर्ने क्रममा हामी स्वतन्त्र हुन्छौं । चलचित्रको तुलनामा नाटकमा आफ्नो प्रतिभा खुलेर प्रस्तुत गर्न सकिन्छ । स्टेजमा कलाकार नै हावी हुन्छ । त्यसैले नाटकमा भन्दा चलचित्रमा कलाकारलाई अझ गाह्रो हुन्छ । 

सन्दीप : तपाईं असाध्यै साधारण तथा सोझो हुनुहुन्छ, चलचित्र क्षेत्रले तपाईंको सोझोपनको फाइदा उठाउँछ जस्तो लाग्दैन ? 

 

रवीन्द्र : मलाई त्यस्तो लाग्दैन । साधारण हुनुका त आफ्नै राम्रा पक्षहरू हुन्छन् नि । तपाईं साधारण हुनुभयो भने हरेक किसिमका मानिस तपाईंको नजिक हुन्छन् । चलचित्रको यूनिटका स्पटब्वाइसँग हात मिलाएर के छ भाइ मात्र भनिदिनुस्, तपाईंलाई कति आनन्द आउँछ ? साधारण व्यक्तिको गलत फाइदा उठाउने भन्ने नै हुँदैन । साधारण हुनुभयो भने तपाईं सबैको हुनुहुन्छ, घमन्डी हुनु भयो भने कसैको पनि हुनुहुन्न । 

सन्दीप : भाउजूले त यो विषयमा केही भन्नुहुन्न नि ? 

 

रवीन्द्र : भनिरहेकी हुन्छिन्, तर म नसुने जस्तो गरिदिन्छु । सभा–समारोहमा जाँदा कोट लगाएर जानुस् भन्छिन्, म भन्छु कोट लगाउँदैमा म ठूलो मान्छे हुन्छु र ? म जे छु, त्यो त दर्शकले चलचित्रमा देखिरहनु नै भएको छ । गर्मी यस्तो छ, कोट लगाएर पसिना पुछ्दै जाउँm कि आफूलाई जे सहज हुन्छ त्यही लगाउँ ?

सन्दीप : तपाईंलाई सहज लाग्ने पहिरनचाहिं कुन हो ? 

 

रवीन्द्र : मलाई त साधारण सर्ट, पाइन्ट, टिर्सट त्यो पनि लूज फिटिङ नै मन पर्छ । अर्को कुरा, म जे लगाउँछु त्यो सफा चाहिं हुनै पर्छ बरु अलिकति च्यातिएको छ भने फरक पर्दैन । एउटा कुरा भन्नुस् त, ह्वाट द फ्लपमा विभिन्न चरित्र निर्वाह गर्नु हुन्छ, सबैलाई मन परेको छ । तपाईंलाई चाहिं कत्तिको कठिन हुन्छ ? 

सन्दीप : मलाई के लाग्छ भने कलाकार जत्तिको समर्पित भएर सबै पेसाका मानिसहरूले काम गर्ने हो भने यो देश आफैं विकसित हुन्छ । कलाकारलाई खानामा के पाक्छ, घरमा के पाक्नेछ, यो चलचित्र चल्छ–चल्दैन कुनै कुराको वास्ता हुँदैन । काममा मात्र ध्यान हुन्छ । हामीमा एक प्रकारको पागलपन छ । हरेक काम दुई पटक गरिन्छ, एक पटक मस्तिस्कमा, अर्को पटक वास्तविकतामा । मलाई धेरैले मिठाइलालका रूपमा चिन्नु हुन्छ, त्यो मिठाईलाल भन्ने चरित्रलाई मैले क्यारिकेचर गरेको होइन । म त्यही परिवेशमा हुर्किएकाले मलाई त्यसो गर्न गाह्रो हुँदैन । मैले कुनै हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाको चरित्र निर्वाह गर्नुपर्‍यो भने गाह्रो हुन्छ । अर्को शब्दमा भन्नु पर्दा चरित्रका बारेमा स्पष्ट भइयो भने मलाई सजिलो हुन्छ, अन्यथा गाह्रो हुन्छ । 

 

रवीन्द्र : तपाईंलाई चाहिं कुन चरित्र मनपर्छ ? 

सन्दीप : ह्वाट द फ्लप एउटा राम्रो घर हो भने, मैले निर्वाह गर्ने चरित्रहरूचाहिं विभिन्न कोठाहरू हुन् । म कहिलेकाहीं यो कोठामा रमाउँछु, कहिले अर्को कोठामा रमाउँछु । सबैभन्दा महत्वपूर्ण कुरा चाहिं त्यो घर नै हो । यद्यपि, अधिकांश मानिसले रुचाएको कोठाचाहिं मिठाईलाल भयो, शेरबहादुर भयो । यी चरित्रहरू चाहिं दर्शकमाझ स्थापित भैसकेका छन् । तपाईं मलाई एउटा कुरा बताउनुस् त, तपाईंलाई कमेडीबाहेक अन्य भूमिकामा अभिनय गरौं जस्तो लाग्छ कि लाग्दैन ? 

 

रवीन्द्र : म कमेडीमा मात्र सिमित हुने कलाकार होइन । विगतमा मैले नाटकमा अभिनेता, चरित्र अभिनेता, खलनायक सबै प्रकारका भूमिका निर्वाह गरिसकेको छु । चलचित्रमा पनि म ती सबै भूमिका निर्वाह गर्न सक्छु । यद्यपि नेपाली चलचित्रका निर्देशकले मेरो क्षमतालाई हालसम्म उजागर गर्न सकेका छैनन्, मेरो प्रतिभालाई प्रयोग गर्नै सकेका छैनन् । मेरो केवल एउटा मात्र विधा प्रयोग गरेका छन् । अहिले कमेडी चलचित्रको लहर चलेको छ । दर्शकलाई पनि कमेडी चलचित्र नै मन परिरहेको छ । यस्तो बेला मैले आफ्नो विधा किन परिवर्तन गर्ने । दर्शकहरू अहिले कमेडीबाट अघाएकै छैनन् । जुन दिन दर्शकले कमेडीबाट अघाएँ भन्नेछन्, त्यही दिनदेखि नेपाली चलचित्रको धार परिवर्तन होला अनि हामी कलाकारको भूमिकामा समेत परिवर्तन आउला । 

सन्दीप : त्यसपछि खुकुरीवाला एक्सन भूमिका पनि निर्वाह गर्ने, हैन ? 

 

रवीन्द्र : त्यो पनि गर्छु । मैले विगतमै भोजपुरी चलचित्र ‘प्यार ऐसन रोग बा’ मा खलनायकको चरित्र निर्वाह गरेको थिएँ, त्यसलाई दर्शकले असाध्यै मन पराउनु भएको थियो । गेटअप, वेशभूषा र आभूषणमा प्रस्तुत भएपछि म जस्तो भूमिकामा पनि फिट हुन्छु भन्ने कुरामा विश्वस्त छु । 

सन्दीप : दर्शक हँसाउन कत्तिको सहज छ ? 

 

रवीन्द्र : अभिनय आफैंमा गाह्रो काम हो । रोमान्टिक होस् अथवा कमेडी, सबै विधा उत्तिकै गाह्रो हुन्छ । कमेडी गरेर दर्शकलाई हँसाउनु त्यो भन्दा पनि गाह्रो कुरा हो । यो कुरा हास्य कलाकारबाहेक अरूलाई थाहा हुँदैन । 

सन्दीप : कलाकार बन्छु भन्ने योजना कहिलदेखि बन्यो ? 

 

रवीन्द्र : यो त स्कुल पढ्दादेखिकै योजना हो । स्कूलमा छँदा म साथीभाइमाझ अभिनय गरेर, गीत गाएर, नाचेर रमाइलो गर्थे । साथीभाइकै प्रेरणाले मैले अभिनयलाई कुन बेला करियर बनाउने निर्णय गरेंछु, पत्तै भएन । तपाईं चाहिं कसरी कलाकार बन्नु भयो नि ? 

सन्दीप : मलाई चाहिं परिवारिक वातावरणले कलाकार बनायो । सानैदेखि बुवाले मलाई चलचित्र देखाउन सिनेमा हलमा लानुहुन्थ्यो । सानैदेखि सिनेमा हेर्न थालेकाले होला, म ठूलो नहुँदै कलाकारितातर्फ आकर्षित भैसकेको रहेछु । खासगरी स्कुलमा नाटक गरिन्थ्यो, अलि ठूलो भएपछि थिएटरमा नाटक पनि गरें । काठमाडौं आएपछि गुरुकुलका साथीहरूसँग संगत भयो । थिएटर मनमा थियो, चलचित्रमा आउने त सपना नै देखेको थिइन । यद्यपि मलाई बाल्यकालदेखि नै मिडियामा आउने मन थियो । समय परिस्थितिले म टेलिभिजनतर्फ आकर्षित भएँ । मलाई आज टेलिभिजनले नै यो अवस्थासम्म ल्याएको हो । 

 

रवीन्द्र : मलाई जलेश्वरमा बुवाले एउटा जागिर लगाइदिनुभएको थियो । त्यो जागिरमा म केही साता पनि टिकिन । जनकपुरस्थित मिथिला कला परिषद्मार्फत मैले भारतको नयाँ दिल्लीमा अभिनयको प्रशिक्षण लिन मिल्छ भन्ने कुरा बुझें । परिवारलाई अनुरोध गरेर म दिल्ली पुगेँ र तीन वर्ष अभिनयको अध्ययन गरें । त्यो अध्ययनकै कारण आज म यो अवस्थासम्म आइपुगेको हुँ । 

सन्दीप : अहिले नयाँ पुस्ताका कलाकारहरू तपाईंलाई कस्ता लाग्छन् ? 

 

रवीन्द्र : नयाँ पुस्ताका कलाकारहरू प्रतिभावान हुनुहुन्छ । अभिनयलाई करियर बनाउन संघर्ष गरेर आउनुभएको छ । खासगरी रंगमञ्चप्रति युवापुस्ताको आकर्षण बढ्दो छ । रंगमञ्चमा राम्रो गर्ने कलाकारले चलचित्रमा समेत मौका पाइरहेका छन् । यो हिसाबले अभिनयमा आएको नयाँ पुस्ता आशा लाग्दो छ । 

सन्दीप : अभिनयबाहेक अरू के गर्नु हुन्छ ? 

 

रवीन्द्र : म अभिनयबाहेक अरू केही गर्दिनँ । बिहानदेखि रातीसम्म नै म अभिनयकै वरिपरि हुन्छु । तपाईं चाहिं कलाकारिता बाहेक अरू के–के गर्नुहुन्छ ? 

सन्दीप : केही वर्ष अघिसम्म म कलेजमा नियमित पढाउँथे । अहिले पार्ट टाइम जस्तो छ । कान्तिपुर टिभीको ‘ह्वाट द फ्लप’लाई प्रसस्त समय दिनुपर्छ । बचेको समय टुरमा बित्छ । अझ बचेको समय चलचित्रलाई पनि दिने गरेको छु । भरखरै मात्र हामीले ललितपुरको भनिमण्डलमा हाउ फन्नी प्रोडक्सन अफिस पनि खोलेका छौं, त्यहाँ हरेक संघर्षशील कलाकारलाई प्लेटफर्म दिने, छलफल गर्नेदेखि लिएर, नयाँ आइडियामा काम गर्न थालेका छौं । अब अन्त्यमा, गाईजात्रा नजिँकिँदै छ, के छ तपाईंको तयारी ? 

 

रवीन्द्र : यसपटकको गाईजात्रामा म स्वदेशमा हुन्न । दुईवटा चलचित्रको छायांकनका लागि यही शुक्रवार (आज) नै बेलायततर्फ प्रस्थान गर्दैछु । यद्यपि, हामी हास्य कलाकारका लागि गाईजात्रा ठूलो महोत्सव हो । मह जोडीको गाईजात्रे प्रहसनहरू हेरेर हुर्किएकाले पनि मलाई यो पर्व विशेष प्यारो लाग्छ । 

सन्दीप : देशको परिस्थित हेर्दा त ३ सय ६५ दिन नै गाईजात्रा हो जस्तो लाग्छ । यद्यपि यो पर्वले हास्य कलाकारहरूलाई राम्रो कन्टेन्ट दिन्छ । बेलायतको छायांकन जान लाग्नुभएको रहेछ, तपाईंलाई शुभयात्रा । 

 

प्रकाशित :भाद्र ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्