सुस्ताए हास्यगीत

- रामजी ज्ञवाली

भाद्र ११, २०७५

 

हरेक घटनालाई व्यङ्ग्यात्मक किसिमले गीतको माध्यमबाट दर्शक–श्रोताहरूलाई पेट मिची–मिची हँसाउन बाध्य पार्ने कमेडी गीत सुन्नुपरे विगतमा रेकर्ड भएका केही गीत युट्युबमा छन् । युट्युबमा नयाँ गीत थपिन छोडेका छन् । चर्चित कलाकार हरिवंश आचार्य मिडियाले सहयोग गर्ने हो भने हास्यगीतले पुनर्जन्म पाउने कुरा बताउँछन् । अहिले मिडियाले चलचित्र, आधुनिक तथा लोकगीतलाई प्राथमिकता दिएका छन्, अभिनेता समेत रहेका गायक आचार्यले भने, ‘मिडियाले ढोका लगाइदिएपछि हास्यगीत दर्शक–श्रोतासमक्ष पुग्न छाडेका हुन् ।’ 

मिडियाले कमेडी टाइपका गीत प्रकाशन गर्ने र त्यस्ता गीत गाउने कलाकारलाई पनि प्राथमिकता दिएर समाचार, अन्तर्वार्ता आदि छापिदिने हो भने कलाकारहरू पनि यी गीततर्फ आकर्षित हुने आचार्यका दाबी छ । मैले कमेडी गीत रेकर्ड गराउँछु भनेको एक महिना भयो, उनले भने, ‘मिडियाले वास्ता राख्दैन अनि श्रोताले कसरी सुन्छन् ? खर्च गरेर पनि कसैले सुन्न नपाएपछि किन लगानी गर्नु ?’ 

अर्का चर्चित हास्य गायक श्रीकृष्ण लुइँटेलका पनि धेरै गीत चर्चित छन् । यद्यपि यस्ता प्रकारका गीतको बजार खस्कँदै गएको उनको स्वीकारोक्ति छ । ‘विभिन्न बाधा–अड्चनका कारण यस्ता गीत लोप भैरहेका छन् तर बेला–बेला दिमाग फ्रेस गराउन यी गीतको अहं भूमिका हुन्छ, लुइँटेल भन्छन्, ‘यस्ता गीत गाउने कलाकारहरू निरन्तर हराउँदै गएका छन्, यो राम्रो कुरा पटक्कै होइन ।’ खासै आम्दानी नहुने र दर्शक–श्रोताहरूको पनि अन्य प्रकारका गीतमा रुचि बढ्दै गएकाले कमेडी गीत रेकर्ड हुन छाडेको हुन सक्ने उनको आँकलन छ ।

जुन गीत निकै हिट भए

हरिवंश आचार्यले २०४५ सालतिर गाएको रमाइलो गीत साझाबसमा जो पनि चढ्दछ अहिले पनि उत्तिकै हिट छ । २५ वर्षअघि रेकर्ड भएको यो गीत केही वर्षअघिसम्म रेडियो टिभीमा सर्वाधिक बज्ने गीतसमेत थियो । आचार्यकै अर्को गीत चल्चले चन्चले गण्डकी अन्चले पनि निकै चलेको गीत मानिन्छ । हरिवंश आचार्यकै अर्को कमेडी गीत हाम्री आमा सार्‍है नै बाठी छन्, चामल सित पिठो पो साटिछन् पनि लोकप्रिय कमेडी गीत हो । 

गायक श्रीकृष्ण लुइँटेलको तेरो बाउ थोते, मेरी आमा थोती, तेरी बहिनी ठ्याक्कै कुखुराकी पोथी निकै हिट गीत हो । यसैगरी प्रकाश ओझाका धेरै गीत हिट छन् । बाउले बिहे गर्दिएनन पोहोर पनि, भत्काइदिन्छु बाख्राको खोर पनि उनको सुपर हिट गीत हो । साना बच्चाबच्चीदेखि हरेक उमेर समूहले गुनगुनाउने उक्त गीत यतिसम्म लोकप्रिय भयो कि रेडियो, टेलिभिजनमा चौबीसै घण्टा यही गीत बज्थ्यो । देशविदेशमा हुने सांगीतिक कार्यक्रममा यही गीतमा नृत्य गरिन्थ्यो । यौनशोषणको आरोपमा केन्द्रीय कारागार सुन्धारामा जेलजीवन बिताईरहेका ओझा केही वर्षअघिदेखि नै कमेडी गायनबाट हराउँदै गएका थिए । 

आलुबोडी तरकारी तामा लाई, एउटा बुहारी चाहियो मेरी आमालाई पनि हिट हास्यगीतमध्ये एक मानिन्छ । यो हिट गीतका गायक रतन सुवेदी अहिले खासै सक्रिय छैनन । खाने भए खाऊ माया ठूलो खसी खाऊ, चिकन चिल्ली खाने भए पैसा छैन जाऊ पनि उनको हिट हास्य गीत हो । एक दर्जनभन्दा बढी गीत गाएका यी चर्चित गायक अहिले अमेरिकामा छन् । लामो समयदेखि सक्रिय नारद खतिवडाको ढोका खोल न पोस्टेकी आमा, ढोका खोलन हौं निकै लोकप्रिय गीत हो । यद्यपी अहिले उनी पनि निष्क्रियजस्तै छन् । 

लोकप्रिय हास्य गायक प्रकाश पौडेलको नाइँ मलाई त्यही केटी चाहिन्छ निकै सुनिएको गीत हो । हाल दुबईमा कार्यरत पौडेल नेपालमा कमेडी टाइपका गीतको बजार हराउँदै गएकाले आफू विदेश पलायन भएको बताउँछन् । महजोडीले गाएको तिम्रो माया उनान्सय, मेरो मायाँ सय, केशव सापकोटाको लैनो भैंसी बेचियो, आफ्नै ढाड सेकियो आदि गीत पनि निकै चर्चित हास्यगीत हुन् ।

प्रकाशित :भाद्र ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्