गोरुजात्रा किन नमनाइएको होला ?

- महेश तिमल्सिना

भाद्र १०, २०७५

जुनबेलादेखि गाईजात्रा मनाउन थालियो सम्भवत: त्यति बेला गोरु पाइएन क्यारे । 

शिवहरि पौडेल, हाँस्यकलाकार 

नेपाल हिन्दु धर्मालम्बीहरूको बाहुल्यता भएको देश हो । यहाँ गाईलाई लक्ष्मीका रूपमा पूजा गरिन्छ र गाईजात्राको महत्व पुरानो परम्परासँग पनि जोडिएको छ । गाईलाई पूजा गरिने र गोरुलाई खेतबारी जोताइने भएकाले पनि होला । अर्को कुरा देशमा सधैं राजनीतिक जात्रा हुने भएकाले पनि गोरुजात्रा मनाउन आवश्यक नमानिएको हुनसक्छ । 

याम क्षेत्री, गायक 

सिंगार गर्दा गोरुभन्दा गाईलाई राम्रो देखिने भएर होला गोरुजात्रा नमनाइएको । 

शिव विक, नृत्य निर्देशक 

गाई हाम्रो राष्ट्रिय जनावर हो । हामी गाईलाई आफ्नी आमा सरह मान्छौं । अर्को कुरा गाईको तुलनामा गोरुहरूले बढी जात्रा गरिरहेका हुन्छन् । त्यसैले पनि वर्षमा एकपटक चाहिँ गाईजात्रा मनाउ भनेर गोरुजात्रा नमनाइएको होला । 

विक्रान्त मेहता, गायक तथा चिकित्सक 

नेपालमा पुलिङ्गहरूले सधैं जात्रा, उत्सव पर्व मनाउने भएर होला भालेहरूको पर्व नभएको । 

धिताल चिरिच्याट्ट, हाँस्यकलाकार 

यो धार्मिक एवं साँस्कृतिक विषयसँग जोडिएको कुरामा म टिप्पणी गर्ने साहस गर्दिनँ ।

बद्री पंगेनी, गायक 

गोरु भनेको पुलिङ्ग हो । विभेदका कारण हाम्रो समाजमा सामाजिक महिलालाई भन्दा पुरुषलाई धेरै कुरामा जात्रा देखाउन सजिलो छ । यसरी पुरुषले वर्षैभरि विभिन्न कुरामा जात्रा देखाइरहेका कारण गोरुको जात्रा धेरै भयो अब स्त्रीलिङ्गीको पनि समान अधिकार चाहियो भनेर वर्षमा एकदिन भए पनि गाईजात्रा हुनुपर्छ भनेर गाईजात्रा मनाएर गोरुजात्रा नमनाइएको होला । 

महेन्द्र गौतम, मोडल 

गाईजात्राले विशेष धार्मिक महत्व बोकेको छ । त्यसले गर्दा पनि गोरुजात्रा नमनाइएको होला । 

अञ्जली अधिकारी, मोडल 

दाइटीका नभनेर भाइटीका किन मनाइएको होला भने जस्तै हो । किनभने सबैको आ–आफ्नै महत्व छ । 

करिश्मा ढकाल, मोडल 

मृतक बैतरणी तर्न गाईको पुच्छरको पिलेन झुन्डिनुपर्छ, साँढे गोरुको होइन । साँढेलाई पशुपतिमा समानुपातिक सिट दिइएकै छ । गोरु त खसी पारेको हो । खसी पारेकाको जात्रा के मनाई भो र ? 

राजेन्द्र थापा, गीतकार 

गोरुहरूको जात्रा त वर्षभरि देख्न पाइन्छ, त्यसैले गोरुजात्रा नमनाइएको होला । 

पृथ्वीराज प्रसार्इँ, अभिनेता 

राष्ट्रिय जनावर गोरु किन बनाइएन होला त ? गाईको स्थान गोरुले लिन नसकेर होला । 

राधिका हमाल, गायिका 

गाईजात्रा वर्षमा एकपटक मनाइन्छ भने गोरुजात्रा चुनावका रूपमा पाँच वर्षमा एकपटक मनाइन्छ । 

दीपकराज गिरी, अभिनेता 

यो देशको हरेक क्षेत्रमा सधैंभरि गोरुहरूकै जात्रामात्र देखिन्छ, सडक, सदन, कार्यालय, विद्यालय सबैतिर गोरुहरूको जात्रा देखेर दिक्क भएका जनाताले गाईजात्रा हेर्ने इच्छा व्यक्त गरेको हुँदा वर्षमा एकदिन गाईजात्रा मनाइएको हो, गोरु जात्रा मनाउनु जरुरी पनि छैन । 

दीपक आचार्य, निर्देशक तथा कलाकार 

पितृसत्ताका कारणले भालेलाई भन्दा पोथीलाई हेप्न सजिलो भएर होला । किनभने जात्रा त गाईले भन्दा गोरुले नै धेरै देखाउँछन् । 

लेखनाथ न्यौपाने, नेता, नेकपा 

पहिले महिलाको तुलनामा लोग्ने मानिसहरू धेरै बाठा हुन्थे । त्यसकै प्रभाव होला । 

हेमन्त शर्मा, गायक 

गोरुलाई जोत्नुपर्ने भएर होला गोरुजात्रा नमनाइएको । 

जितु नेपाल, अभिनेता 

हाम्रो हिन्दूधर्ममा गोरुजात्रा मनाउने चलन छैन, त्यही भएर । 

पुष्प खड्का, अभिनेता 

नेपाली समाजमा गोरुलाई भन्दा गाईलाई धेरै मान्यता दिइने भएर होला गोरुजात्रा नमनाइएको ।

प्रल्हाद सुवेदी, गीतकार 

नेवार समुदायमा मनाइने यो चाडको ऐतिहासिक महत्व छ । गाई लक्ष्मीको प्रतीक हो, गोरु होइन । गोरुलाई त जुधाउने चलन छ । 

अनिता चलाउने, गायिका

बिचरा रातदिन खेत जोत्ने गोरुको पनि एकदिन त जात्रा मनाइदिनु पर्ने हो नि साँच्चै गोरुजात्रा किन नमनाइएको होला ? यसको यथार्थ उत्तर दिन मेरो दिमागले भ्याएन । 

रमेशराज भट्टराई, गायक 

 

 

प्रकाशित :भाद्र १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्