Teej banner

गोरुज्यूका दुईवटा कथा

- मनोज गजुरेल

भाद्र १०, २०७५

बाबु, दूध कहाँबाट आउँछ ?’ मैले सोधें । ‘दूध पकेटमा आउँछ अंकल ।’ उसले उत्तर दियो । ‘दही कसरी बन्छ ?’ फेरि सोधें । ‘दूधलाई फ्रिजमा राखेपछि बन्छ ।’ फेरि उत्तर आयो । दूध, दही, घिउ, चिज, पनिर, खीर, पेडा, मिठाई सयौं पदार्थको जननी दूध, तर त्यो दूध कसरी आउँछ भन्ने कुरा हामी बिस्तारै बिर्संदैछौं ।

पसलबाट किनेर ल्याएको दूध खाँदा जति मीठो हुन्छ त्यति नै मिठो त्यसको कथा छ । तपाईं हाम्रो ग्लासमा आएको दूधको कथा त्यसलाई सरल ढंगले पिएजस्तो सजिलो छैन ।

ग्लासमा दूध आइपुग्न गौमातामा प्रसव पीडादेखि लिएर किसानको बलियो परिश्रम लागेको हुन्छ । गौमातामा पोसिलो घाँस ख्वाउने प्रकृति, स्याहार सुसार गर्ने, दूध दुहुने किसान, बजार पुर्‍याउने परिवार, प्याकिङ गर्ने व्यापारी, एकाबिहानै घरघरमा पुर्‍याउने रिटेलर... यी सबैलाई धन्यवाद दिनुपर्छ दूध खानेले । 

गाईजात्रा हाँस्ने र हँसाउने माध्यम मात्र होइन, गाईको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक महत्व सम्झने दिन पनि हो । त्यसैले गाईजात्राको उपलक्ष्यमा सबैलाई शुभ कामना प्रदान गर्दै प्रस्तुत छन्, गाईसम्बन्धी दुईवटा रमाइला प्रसंग :

कथा एक । पहिलो पटक अमेरिका जाँदाको प्रसंग हो । मित्र नारायण अधिकारीले ‘अमेरिकन फुड’ टेस्ट गराउँछु भन्दै एउटा रेस्टुराँमा पुर्‍याए । अधिकांश ग्राहक विदेशी नै थिए । नारायणले एक जना गोरा वेटरलाई बोलाएर केही अर्डर गरे ।

एकछिनपछि ठूलो ट्रेमा ‘लञ्च’ आयो । त्यसमा मासुका ठूल्ठूला पिस थिए । मलाई शंका लाग्यो, ‘के–को मासु हो ?’ वेटरले भन्यो, ‘बिफ †’ हत्तपत्त हटाउँदै मैले भने, ‘बिफ ?’ साथीले वेटरलाई भने, ‘हामी बिफ खान्नौं, नो बिफ प्लिज ।’

वेटरले मासुका सबै आइटम फिर्ता लिएर गयो । हामी मुखामुख गर्न थाल्यौं । धन्न बाँचियो भन्दै हाँस्न थाल्यौं । केही क्षणमा वेटर फेरि आयो । फरक प्रकृतिका, हेर्दै खाऊँ –खाऊँ  लाग्ने मासुका पिस ल्याएर अगाडि राखिदिए । हामीसँग गएको तेस्रो साथी साह्रै भोकाएको रहेछ । मासुको एउटा पिस खायो । ‘मिठो रहेछ, के को मासु हो ?’ उसले वेटरसँग सोध्यो । वेटरले अंग्रेजीमा भन्यो, ‘तिमीहरूले गोरुको मासु नखाने भन्यौ, त्यसैले बाच्छाको मासु ल्याइदिएको ।’

कथा दुई । कलाकार राजन काफ्ले सानै थिए । उनको छिमेकमा न्वारानको कार्यक्रम थियो । गाउँका केटाकेटीसँगै उनी पनि न्वारान खान छिमेकमा पुगे । न्वारानको सबै कर्म सकिएपछि चोख्याउने कार्यक्रम हुन्छ । आँगनमा गाउँभरिका केटाकेटी भेला भएका थिए । पुरेतले केटाकेटीलाई गहुँत (गौमाताको पिसाब) हातहातमा बाँड्न थाले । सबै केटाकेटी तँछाडमछाड गर्दै गहुँत थाप्दै थिए । राजनजी पहिलो पटक गहुँतको स्वाद चाख्दै थिए ।

हातमा गहुँत थापे । यसो बाटोतिर लागेर गहुँत सुँघे । त्यति मीठो लागेन । सबैले खाई रहेको देखेपछि खानै पर्ने माने । बाटोमा निस्किएर थोरै गहुँत जिब्रोको टुप्पोमा लगाए, नमीठो लाग्यो । उनले गहुँत हातबाट फाल्दिए र त्यो हात पछाडि लगेर पुछपाछ पारे । 

त्यही बेला एउटा गोरु उनको नजिकै आयो । उनलाई सुँघ्यो । उनी भाग्न खोज्दै थिए, गोरुले राजनजिको त्यो इलाकामा आफ्नो नाक पुर्‍यायो जहाँ भर्खरै उनले गहुँतसहितको हात पुछेका थिए । त्यसपछि के भयो होला आफैं बुझ्नुहोस् । राजनजी अघिअघि, गोरु पछि–पछि भाग्न थाले । राजनजी अहिले पनि भन्छन्— गोरुले मलाई खेदेर घरसम्मै पुर्‍याएको थियो ।

प्रकाशित :भाद्र १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्