युट्युबमा एक्टिभहरू

- महेश तिमल्सिना

भाद्र ९, २०७५

 

हास्यव्यङ्ग्यका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ युट्युबमा सक्रिय छन् । उनको दुईवटा युट्युब च्यानल छन्, तर उनी यतिबेला आमा अग्निकुमारी मिडिया युट्युब च्यानलमा सक्रिय छन् । उनको यो च्यानलका ३ लाख ७ हजारभन्दा बढी दर्शक छन् । उनले यो च्यानल दुई वर्षअघि खोलेका हुन् । युट्युबलाई व्यवसायिक रूपमा अघि बढाउने लक्ष्यका साथ आफूले युट्युब च्यानल खोलेको घिमिरे बताउँछन् । घिमिरे उक्त च्यानलमा धेरैजसो कमेडी भिडियो राख्छन् । घिमिरेले युट्युबमार्फत मासिक १ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनी उक्त युट्युब च्यानलमा कमेडी भिडियोहरू किनेरै हाल्छन् । घिमिरे खासखुस, गडबडीजस्ता हास्य टेलिसिरियलदेखि स–साना भिडियो पनि अपलोड गरिरहेका हुन्छन् ।

 

टंक बुढाथोकी : ४ लाख ८८ हजार

गायक तथा संगीतकार टंक बुढाथोकीले सन् २०१५ मा आफ्नै नामबाट युट्युब च्यानल खोलेका हुन्, जसमा उनले कार्यक्रममा दिएको प्रस्तुतिहरू अपलोड गर्थे । यही क्रममा १ वर्ष पहिले आफ्नै शब्द संगीत तथा ए.आर. बुढाथोकी र मेलिना राईको स्वरको ‘कसरी–कसरी’ गीत आफ्नै युट्युबमा हालेसँगै टंक युट्युबमा सक्रिय रूपमा लाग्न थाले । उक्त गीतले छोटो अवधिमै राम्रो भ्युज पायो । त्यसपछि बुढाथोकीको च्यानलमा सब्सक्राइब बढ्न थाले । सुरुमा मनोरञ्जनका लागि युट्युबमा भिडियो अपलोड गर्ने टंक अहिले युट्युबलाई व्यवसायिक रूपमा लिन्छन् । हालसम्म २ सय २८ वटा भिडियो युट्युबमा अपलोड गरेका छन् । उनले अपलोड गरेका अधिकांश भिडियोले राम्रै भ्युज पाइरहेका छन् । बुढाथोकीले ३ महिना पहिले युट्युबमा भाइरल बनेका अशोक दर्जीको स्वरमा रहेको धन बिनाको मन ठूलो कि, बोलको गीत सार्वजनिक गरे । उक्त गीतलाई हालसम्म १ करोड ४० लाख भन्दा धेरैपटक हेरिएको छ । 

दुर्गेश थापा : १ लाख ४८ हजार

दुर्गेश थापा गायक तथा मोडल हुन् । उनको आफ्नै नामको युट्युब च्यानलमा उनी आफ्ना गीतका भिडियोहरू सार्वजनिक गर्छन् । २ वर्षअघि युट्युब च्यानल खोलेका थापाको च्यानलमा हालसम्म २ सय ७३ वटा भिडियो अपलोड भएका छन् । एक वर्ष पहिले उनकै शब्द, संगीत, स्वर तथा अभिनयको रातो रातो खुर्सानी पिरो छ गीतको भिडियो अपलोड भएको थियो । उक्त भिडियो हालसम्म ३१ लाखभन्दा धेरै पटक हेरिएको छ । अहिले उनको युट्युब च्यानलबाट अपलोड भएका भिडियोलाई एक दिनमै १ लाखभन्दा बढीले हेर्छन् । पाँच महिना पहिले दुर्गेशको युट्युबमार्फत ‘अल्ल मल्ल’ गीतको भिडियो अपलोड भयो, जसलाई हालसम्म ९ लाखको हाराहारीमा हेरिएको छ । आफ्ना सिर्जनालाई सुरक्षित राख्न युट्युब च्यानल खोलेका दुर्गेश अहिले युट्युबमार्फत महिनामा १ लाख ५० हजारभन्दा बढी आम्दानी गर्छन् ।

प्रमोद खरेल : ७२ हजार

सुगम संगीतका बहुचर्चित गायक प्रमोद खरेलको पनि आफ्नै युट्युब च्यानल छ । प्रमोद आफ्नो च्यानलमा आफूले निर्माण गरेका गीतका भिडियोहरू अपलोड गर्छन् । उनले एक वर्ष पहिले ‘मै मोरो सोझो’ गीतको भिडियो अपलोड गरेका थिए । उक्त गीत हालसम्म १२ लाख ९९ हजार भन्दा धेरै पटक हेरिएको छ । त्यस्तै खरेलले पाँच महिनाअघि पागल बनायो गीतको भिडियो आफ्नै च्यानलमार्फत सार्वजनिक गरेका थिए । उक्त भिडियो पनि २ लाखभन्दा धेरै पटक हेरिएको छ । कमेन्ट बक्समा उनको उक्त भिडियोमाथि सकारात्मक प्रतिक्रिया र शुभकामना देखिन्छन् ।

नितेशजंग कुँवर : ३ लाख ५ हजार

गायक नितेशजंग कुँवर पनि युट्युबमा सक्रिय छन् । उनले तीन महिनाअघि युट्युबमा फ्लर्टी मायाको अफिसियल भिडियो अपलोड गरेका थिए । उनको उक्त भिडियो हालसम्म १ करोड भन्दा धेरैले हेरिसकेका छन् । यसैगरी नितेशले तीन हप्ता पहिले निष्ठुरी मोरी बोलको गीतको भिडियो युट्युबमा अपलोड गरेका थिए । उक्त भिडियोले हालसम्म २१ लाख भ्युज पाएको छ । 

अल्मोडा राना उप्रेती : १ लाख ४७ हजार

गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको युट्युब च्यानलमा अपलोड भएका भिडियोले उत्कृष्ट भ्युज पाउँदै आएका छन् । अल्मोडाले आठ महिनाअघि एउटा कभर म्यास अप युट्युबमा अपलोड गरेका थिए । उक्त भिडियो २८ लाखभन्दा धेरै पटक हेरिएको छ । अल्मोडाले त्यसभन्दा अघि अपलोड गरेको तिमी मसँग गीतको भिडियो पनि १५ लाखभन्दा धेरै पटक हेरिएको छ । अल्मोडाविरुद्ध बाहिर जति आरोप लगाइए पनि युट्युबमा भने उनले सकारात्मक प्रतिक्रिया पाइरहेका हुन्छन् ।

शिव परियार : १ लाख १० हजार

गायक शिव परियार पनि युट्युबमा सक्रिय कलाकारमध्ये एक हुन् । उनी युट्युबमा प्राय: आफूले गाएका गीतका भिडियो अपलोड गर्छन् र ती सबैजसो भिडियो लोकप्रिय छन् । परियारले १ वर्षअघि सानीमा सानी गीतको भिडियो अपलोड गरेका थिए । उक्त भिडियोलाई हालसम्म २२ लाखभन्दा धेरैपटक हेरिएको छ । त्यस्तै ६ महिना पहिले हल्ला हल्लामै माया गीतको भिडियो अपलोड गरे, जुन ६७ लाखभन्दा बढी पटक हेरिएको छ । 

निक्की कार्की : ७७ हजार

गायिका निक्की कार्की पनि युट्युबमा सक्रिय छिन् । निक्की धेरैजसो कभर गीतका भिडियो अपलोड गर्छिन् । कार्कीले दुई वर्षअघि जेट उडाउँछु गीतको भिडियो युट्युबमा अपलोड गरेकी थिइन्, जसलाई हालसम्म ४२ लाखभन्दा धेरै पटक हेरिएको छ । त्यस्तै ७ महिनाअघि उनले दर्पणछायाँको ‘लहनाले जुरायो कि’ गीतको कभर भिडियो अपलोड गरिन् । उक्त भिडियो पनि १५ लाखभन्दा धेरै पटक हेरिएको छ । हाल अमेरिकामा रहेकी निक्कीको भिडियोका प्रशंसक पनि उत्तिकै छन् ।

टंक तिमल्सिना : १ लाख ८ हजार

लोक तथा पप लोक गायक टंक तिमिल्सिना पनि युट्युबमा सक्रिय हुन थालेका छन् । तिमल्सिना हप्तामा कम्तीमा एउटा भिडियो अपलोड गर्छन् । टंकले आफ्ना गीतका भिडियोबाहेक अन्य भिडियो पनि अपलोड गरिरहेका हुन्छन् । तिमल्सिनाले अछामको रामारोशन घुम्न जाँदा कैद गरिएको भिडियो युट्युबमा अपलोड गरेका थिए । उक्त भिडियो हालसम्म २ लाखभन्दा धेरै पटक हेरिएको छ । त्यस्तै, एक महिनाअघि अपलोड गरिएको ‘मैना २’ गीतको भिडियोले छोटो समयमै ७ लाखभन्दा बढी भ्युज पाएको छ ।

मेलिना राई : ४५ हजार 

गायिका मेलिना राई पनि युट्युबमा सक्रिय छिन् ।  मेलिनाले युट्युबमा अहिलेसम्म १५ वटा भिडियो अपलोड गरेकी छिन् । राईले ४ महिना पहिले बितेका कुरा’ गीतको भिडियो आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिन् । उक्त भिडियोमा मेलिना स्वयंले अभिनय गरेकी छिन्, जसले ५ लाखभन्दा बढी भ्युज पाएको छ । मेलिनाको उक्त भिडियो हेरेपछि माइला बाजे नामका व्यक्तिले ‘मेलिना राई कुशल गायिका मात्र होइनन् । कुशल अभिनेत्री पनि हुन् भन्ने कुरा यो भिडियोबाट प्रमाणित भएको छ’ भन्दै उनको प्रशंसा गरेका छन् ।

हेमन्त शर्मा : ३८ हजार

गायक हेमन्त शर्मा आफूले गाएका गीतका भिडियो आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्छन् । शर्मा महिनामा एक दुईवटा भिडियो अपलोड गरिरहेका हुन्छन् । शर्माले ६ महिना पहिले कुसुम गीतको भिडियो आफ्नै च्यानलबाट अपलोड गरेका थिए, जसले हालसम्म चार लाखभन्दा बढी भ्युज पाएको छ । त्यस्तै चार महिना पहिले उनले परदेशी गीत युट्युबमा अपलोड गरे, जसले हालसम्म १ लाख ५० हजारभन्दा बढी भ्युज पाएको छ ।

मिङ शेराप : २ लाख ९२ हजार 

मिङ शेरापले युट्युब च्यानलमा प्राय: र्‍याप तथा कमेडी भिडियोहरू अपलोड गर्छन् । उनले चार महिनाअघि स्वाग केटा म गीत अपलोड गरेका थिए । उक्त गीतको भिडियोले हालसम्म २० लाखभन्दा बढी भ्युज पाएको छ । मिङले रसियामा भएको विश्वकप फुटबलताका टाइप्स अफ फुटबल फ्यानसम्बन्धी एउटा भिडियो अपलोड गरेका थिए, जुन भिडियो हालसम्म १५ लाखभन्दा बढी पटक हेरिएको छ ।

 

प्रकाश सपूत : १ लाख ८० हजार 

गायक प्रकाश सपूत पनि युट्युबमा सक्रिय छन् । केही महिना अघि बोलमाया गीत अपलोड भएपछि उनको च्यानलका ग्राहक ह्वात्तै बढेका थिए । बोलमाया भिडियोले हालसम्म ८० लाखजति भ्युज पाएको छ । प्रकाशले पछिल्लो समयमा तीज गीतका भिडियो अपलोड गर्दै आएका छन् । 

समाजसेवा पनि

इलामका १४ वर्षीय समीर तामाङलाई छाडेर उनकी आमा अर्कातर्फ लागिन् । उनका बुबा रोजगारीको सिलसिलामा साउदी अरेबियामा थिए । दुवै मिर्गौला फेल भएका समीर बिचल्लीमा परे । तात्तातो खबरका युट्युबर भाग्य न्यौपानेले उनको सहयोगका लागि भिडियो बनाए । बेला–बेला फेसबुक लाइभमार्फत पनि सहयोगका लागि आह्वान गरे । देश, विदेशबाट यति सहयोग ओइरियो कि भाग्य आफैं छक्क परे । युट्युब र फेसबुककै भरमा समीरको सहयोगका लागि झन्डै ५० लाख रुपैयाँ जुट्यो । उनले गाएको गीतको भिडियो पनि तयार भयो । 

‘नेपालीहरूको मन ठूलो रहेछ,’ भाग्य भन्छन्, ‘यो सोसल मिडियाको शक्ति पनि हो ।’ समिरलाई उनकी फुपूले रेखदेख गरिरहेकी थिइन् । बुबा साउदी अरेबियाबाट नेपाल फर्कन सकिरहेका थिएनन् । मालिकले बिदा नदिएपछि उनी अफ्ठ्यारोमा परेका थिए । समीरका बुबालाई नेपाल फर्काउन सहयोग गरौं भनेर भाग्यले फेरी फेसबुक लाइभ गरे । साउदीमा कार्यरत नेपालीहरूले एकसाथ समीरका बुबा काम गर्ने कम्पनी गएर दबाब दिएपछि बाध्य भएर मालिकले बिदा दिए । त्यसपछि उनी नेपाल फर्किए । 

यस्तै मेरो अनलाइन टिभीका विश्व लिम्बूले बोनम्यारो क्यान्सरपीडित एलिस्ना राईका लागि सहयोगको अपिल गर्दै भिडियो हालेपछि ५० लाख रुपैयाँ सहयोग उठेको थियो । नेपाली ताराबाट आफुलाई चिनाउन सफल गायिका जलजला परियारको दुबै मृगौला बिग्रियो । उनको सहयोगका लागि थुप्रै भिडियो बने । युट्युबमा राखिएका ती भिडियो हेरेर देश–विदेशका नेपालीहरूबाट ७० लाख रुपैयाँभन्दा बढी रकम उठ्यो । ठूलो पर्दा टिभीका जीवन पराजुलीले आफ्नो च्यानलमार्फत कीर्तिपुरमा सञ्चालित बेबी लाइफ होम, स्नेही काख, मुसहर बस्तीका बासिन्दाहरूका अतिरिक्त मृगौलापीडित गायिका जलजला परियारलाई समेत सहयोग जुटाए । 

 

 

प्रकाशित :भाद्र ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्