फरक विचार एउटै बाटो

- अविरल थापा

भाद्र ९, २०७५

 

दार्शनिकहरू भन्छन्— यो संसारमा न कोही कोहीभन्दा राम्रा छन् न नराम्रा छन्, छन् त केवल सबै एक–अर्कासँग फरक छन् । हामी सबैको अलग अस्तित्व र आफ्नोपन छ । कसैले कसैसँग दाँज्नु, मात्तिनु, हीनताबोध राख्नु नै बेकार छ । जुन दिन हरेकलाई म पनि यो संसारको अलग्गै अनुहार र विशेषता भएको एक मात्र मान्छे हुँ भन्ने अनुभूति हुन्छ आफैंलाई आफू विशेषजस्तो लाग्न थाल्छ । हामी अरूजस्तो त कदापि हुन सक्दैनौं, हुन खोज्नु पनि हुँदैन । हामी आफू जे जस्तो छौं त्यसमै गौरव गर्दै बरु आफूमा के विशेषता थप्न सक्छु भनेर अघि बढ्नुपर्छ ।

जन्मिदै आफूमा आउने शरीरको फरकपन त छँदैछ । हुर्कने क्रममा हामीमा लादिने संस्कार, पढाइ–लेखाइ, वरपरको रहनसहनले विचार निर्माण हुँदै जान्छौं । हुर्किेएको परिवेश, सरसंगत, समाजको चेतना, परिवार तथा विद्यालयको खापामा हाम्रो दिमागलाई हालिन्छ । जे सिकाइन्छ, जे देखाइन्छ, जे ख्वाइन्छ, त्यसमै हाम्रो रस बस्न थाल्छ । त्यही नै अन्तिम सत्य हो, जे सिकेको छ त्यो नै ठीक हो, आफूले भोगेको मात्र संसार हो भनेजस्तो भान पर्न थाल्छ । त्यही समयमा त्यही उमेरमा त्यही कुरालाई अर्को मान्छेले अर्कै तरिकाले भोगिरहेको वा विश्लेषण गरिरहेको हुन सक्छ । अझ भनौं घरमा वा विद्यालयमा, कलेजमा अभिभावकले वा शिक्षकले सिकाएको वा भनेको एउटै कुराको पनि भिन्न–भिन्न असर 

परिरहेको हुन्छ, किनभने हामी भिन्न विचार र भिन्न परिवेशमा हुन्छौं । कतिको यति ठीक यति बेठीक भनेर विश्लेषण गर्ने क्षमता हुन्छ, कतिको जे भने त्यही ठीक हो भन्ने लाग्छ त कतिको सबै बेठीक हो भन्ने हुन्छ । विचारमा भिन्नता आएपछि बहस, मन्थन वा द्वन्द्व सिर्जना हुन्छ । फरक विचार सुन्न गार्‍हो हुन्छ, किनभने यसले आफ्नो अहंमा ठेस पुर्‍याउँछ । भन्नेले आफ्नो विचारमा सहमत गराउन खोज्छ, सुन्नेले आफ्नो कुरामा जोड दिन्छ । उत्तर आधुनिकताको सिद्धान्तले भन्छ यो संसारका सबै ज्ञान भनेका केवल व्याख्या हुन् र कुनै पनि व्याख्या अन्तिम सत्य होइनन । 

मानिसको बानी कस्तो हुन्छ भने आफ्नो कुरा काट्यो भने सकेसम्म त्यसलाई निषेध नै गर्ने, कतै आफ्नो कुरामा पनि खोट छ कि भनेर समय नै नलिने । अरूको कुरा सुनेपछि झन् आफ्नो विचारमा भएको कमजोरी पनि सुधारेर थप मजबुत हुन सक्थ्यो, तर निषेधको नीति लिएपछि सबै कुरा समाप्त हुन्छ । हामी सबैका बेग्लै आस्था र विश्वास छन् । मानौं न, हामी कसैलाई कुनै पार्टीको विचार वा नीति मन पर्छ कसैलाई अर्काको, तर हामी यति अन्ध भैदिन्छौं कि विपक्ष पार्टीले राम्रै बोले पनि गरे पनि एकोहोरो खेद्छौं । यसो गर्दा हामी आफ्नो विवेक गुमाउँछौं । हुनुपथ्र्यो त स्वस्थ आलोचना र दिनुपथ्र्यो रचनात्मक सल्लाह र समर्थन । सकारात्मक कामका लागि विपक्ष वा शत्रु नै भए पनि सँगै हिँड्न र हातेमालो गर्न सकिन्छ, तर हामी यति भेडा र मुर्ख भैदिन्छौं कि अरूले गर्न लागेको काम राम्रो हुनै सक्दैन ।

सम्बन्धमा पनि यही कुरा लागू हुन्छ । केटा वा केटी अथवा केटा–केटा र केटी–केटीको भेट हुन्छ । भेट भएपछि विचार र भावनाको आदान–प्रदान हुन्छ । एक–अर्काको कुरा सुनिसकेपछि आफ्नो विचार वा भावना मिल्नेछ भने हामी नजिक हुन्छौं, कुरा मिलेन भने संगत गर्दैनौं । फरक विचारसँग हामी यति डराउँछौं कि, कि त भाग्छौं कि त 

एकोहोरो प्रहार गर्छौं । फरक विचार भएको फरक कोण वा नवीनता सुन्ने र चिन्तन–मनन गर्ने धैर्य राख्ने हो भने हाम्रो सोच नै बदलिन सक्छ । हामी कुनै वादको यति भक्त हुन्छौं कि त्यो वादको प्रतिवाद सुन्नै, पढ््नै चाहँदैनौं । कुनै दार्शनिक वा गुरुको कुरा सुनिसकेपछि लट्ठ पर्छौं तर उसको प्रतिवादमा अर्कोले के भनेको थियो पढ्दैनौं, जान्न खोज्दैनौं अनि हामी मान्छे कम भेडा बढी हुन्छौं । सबैको सबैसँग शतप्रतिशत विचार कहिल्यै मिल्दैन । जसरी प्रेमसम्बन्धमा पनि राम्रा–राम्रा कुरालाई जोड दिएर कमजोरीलाई सहेर सुधारेर भए पनि एउटै बाटो सँगै हिंड्न दुई भिन्न प्राणी सहमत हुन्छन् त्यसैगरी अन्य कर्ममा पनि भिन्न विचार राख्दै भए पनि सकारात्मक काम वा विकासमा सँगै यात्रा गर्न सकिन्छ । 

गन्तव्य एउटै भयो भने भिन्न विचार राख्दै पनि सँगै अघि बढ्न सकिन्छ । आफूले चाहेजस्तो खाँदै, लाउँदै आफ्नै मर्जीको गीत गाउँदै अघि बढे भयो । बरु आफूले गाएको बेला तिमी पनि लय हाल, तिमीले गाएको बेला म पनि साथ दिन्छु । आफ्नो स्वादको तिमी पनि चाख, तिम्रो स्वादको म पनि चाख्छु भन्यो भने फरक भैकन पनि हामीसँगै हुन सक्छौं । फरकमतको सम्मान गर्ने, एक–अर्कालाई भाँजो नहाल्ने, सकेसम्म सहयोग गर्ने, कुरा सुन्ने, बरु बहस गर्ने अनि निचोड निकालेर अघि बढ्ने बानी गर्‍यौं भने विपरीत धु्रव पनि साथसाथ तर समानान्तर तरिकाले यात्रा गर्न सक्छन् ।  यत्ति बुझौं हामी फरक छौं तर सबै अपूर्ण छौं । फरक भएरै यो संसार रमाइलो छ । आउनुहोस्, फरक–फरक कुरा गर्दै एउटै यात्रामा निस्कौं ।

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :भाद्र ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्