पदक जित्ने सम्भावना बोकेका नेपाली खेलाडी

- साप्ताहिक संवाददाता

भाद्र ७, २०७५

शनिबारबाट इन्डोनेसियामा १८ औं एसियाली खेलकुद प्रारम्भ भएको छ । दुई साता चल्ने यो प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो हुने हो, त्यसलाई लिएर विभिन्न अनुमान चलिरहेको छ । साँच्चै नेपालका लागि पदक जित्ने सम्भावना बोकेका खेलाडी को–को हुन् त ? अथवा नेपालका लागि राम्रो प्रदर्शन गर्ने खेलाडी को–को हुन सक्छन ? एउटा तथ्य के निश्चित छ भने नेपाली खेलाडीले यसपटक पदक जित्ने हो भने निकै कडा मेहनत गर्नुपर्नेछ । 

प्याराग्लाइडिङ टिम

लगभग दाबी जस्तै गर्न सकिन्छ, सम्भवत: यसपटकको एसियाली खेलकुदमा नेपालका लागि पदक भित्र्याउने सबैभन्दा बढी सम्भावना भएको खेल हो— प्याराग्लाइडिङ । एसियाली खेलकुदमा पहिलो पटक प्याराग्लाइडिङ खेल समावेश गरिएको छ र यसमा विमल अधिकारी, विशाल थापा, सुशील गुरुङ, विजय गौतम, युकेश गुरुङ, पार्वती भुजेल, सविता तामाङ तथा त्रिशा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । पूरा टिमलाई नै व्यक्तिगत भन्दा पनि समूहमा पदकको प्रत्यासी मान्न सकिन्छ । 

यसपटक प्याराग्लाइडिङका खेलाडीहरू निकै उत्साहित पनि छन् र उनीहरूले स्वर्ण पदककै सपना देखिरहेका छन् । प्याराग्लाइडिङमा नेपालका सबैभन्दा ठूला प्रतिस्पर्धी हुन्, दक्षिण कोरिया र जापानसँगै इन्डोनेसियाका खेलाडी । उनीहरूको दाबेदारीलाई कुनै न कुनै स्पर्धामा काट्न सक्ने हो भने नेपालले प्याराग्लाइडिङबाट पदक ल्याउने निश्चित छ । हुन पनि नेपालले अहिलेसम्म प्याराग्लाइडिङका जति पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको छ, त्यसमध्ये कुनैमा पनि पदकविहीन हुनुपरेको छैन, भलै यसको इतिहास लामो भने छैन । 

नेपाली टिमका कप्तान हुन्– विमल । उनले केही समयअघि मात्र प्रि–वल्र्डकपमा तेस्रो स्थान हात पारेका थिए । नेपालको सम्भावना पुरुषतर्फ नै बढी छ । महिलातर्फ नेपालले पहिलो पटक यति ठूलो प्रतियोगिता खेल्न लागेको हो । 

निशा रावल

तेक्वान्दो

पछिल्ला दुई एसियाली खेलकुदमा कुनै पदक जित्न नसकेको तेक्वान्दोले यसपल्ट इन्डोनेसियामा पनि बलियो चुनौती पेस गर्न संघर्ष गर्नुपर्नेछ । यद्यपि यो खेलमा नेपालले पदक जित्ने सम्भावना भने प्रत्येक अवसरमा जीवन्त रहन्छ । नेपालले एसियाली खेलकुदको आफ्नो सहभागितामै हात पारेको सबैभन्दा ठूलो प्रदर्शन हो, तेक्वान्दोमा सबिता राजभण्डारीले जितेको रजत पदक । यस्तोमा नेपालका लागि सबैभन्दा बलियो सम्भावना बोकेकी खेलाडी हुन सक्छिन्— निशा रावल । उनीसँग ओलम्पिकको अनुभवसमेत छ । त्यति मात्र होइन, निशाले खेल्ने ७८ किलो तौल समूहमा पदकको सम्भावना अरूमा भन्दा बढी भएको बताइन्छ । 

गौरिका सिंह, पौडी

पछिल्लो ओलम्पिकमा सबैभन्दा चर्चा बटुलेकी नेपाली खेलाडी हुन्— गौरिका सिंह । सन् २०१६ को रियो डे जेनेरियो ओलम्पिकमा सहभागी सबै खेलाडीमध्ये सबैभन्दा कान्छी सिंह त्यतिबेला अन्तर्राष्ट्रिय मिडियाको नजरमा परिन् । यसपटक पनि उनी भर्खर १५ वर्ष पुगेकी छिन्, तर नेपालका अधिकांश कीर्तिमान उनकै नाममा हुन थालेका छन् । यसपटक उनले आफ्नो प्रदर्शनमा अझ सुधार्ने र नयाँ कीर्तिमान कायम गर्ने अपेक्षा गर्न सकिन्छ । गौरिका लन्डनमा अभ्यास गर्छिन् र आफ्नो प्रदर्शनमा लगातार सुधार ल्याइरहेकी छिन् ।

इन्द्रबहादुर श्रेष्ठ, जुडो

इन्द्रबहादुर श्रेष्ठले इन्डोनेसियामा जुडोतर्फ पुरुष ६६ किलो तौल समूहमा प्रतिस्र्पा गर्दैछन् र उनी नेपालका तर्फबाट राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएका खेलाडी हुन् । केही समयअघि काठमाडौंमा भएको दक्षिण एसियाली जुडोमा पनि उनले राम्रो प्रदर्शन गरेका थिए । जुडोमा आफ्नो खेलमा सबैभन्दा सुधार गर्ने खेलाडी हुन्— इन्द्रबहादुर । यस दृष्टिकोणले पनि उनलाई इन्डोनेसियामा पदकको सम्भावना बोकेका खेलाडीका रूपमा लिन सकिन्छ । 

मीनप्रसाद गौचन, आर्चरी

नेपालको सम्भावना भएको अर्को खेल हो— आर्चरी अनि यसमा सबैभन्दा राम्रो सम्भावना भएका खेलाडी हुन्— मीनप्रसाद गौचन । उनीसँग पछिल्लो एसियाली खेलकुदको समेत अनुभव छ । गौचनले इन्चेन एसियाली खेलकुदमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । त्यसयता उनले आफ्नो खेललाई अझ तिखारेका छन् र थप अनुभव समेत बटुलेका छन् । यसपटक उनलाई पदक जित्न सक्ने नेपाली खेलाडीका रूपमा लिन सकिन्छ । 

फुपुल्हामु खत्री, जुडो

नेपाली जुडोका सबैभन्दा सफल खेलाडी हुन्— फुपुल्हामु खत्री । दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण जितेकी फुपुले पछिल्लो दक्षिण एसियाली जुडोमा भने राम्रो गर्न सकिनन्, तर उनी नेपाली जुडोले अहिलेसम्म पाएका सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक हुन् । फुपुको पदक सम्भावना नभएको दाबी गर्नु अन्याय हुनेछ । केही वर्षयता फुपुल्हामुले विदेशी प्रशिक्षणको अनुभवसमेत बटुलेकी छिन्, त्यसैले उनका तर्फबाट पनि पदकको आशा गर्न सकिन्छ ।

पर्शुराम बास्तोला, कराँते

पदक सम्भावनाको दृष्टिकोणले नेपालका लागि मार्सल आर्ट बलियो सावित हुन सक्छ भने त्यसमा पनि सबैभन्दा बलियो हो, कराँते । कराँतेमा पनि नेपाल कुमुतेभन्दा कातामा बलियो छ र यसपटक इन्डोनेसियामा पदकको सबैभन्दा बढी सम्भावना बोकेका खेलाडी हुन्— पर्शुराम बास्तोला । सम्भवत: आफ्नो खेल जीवनको अन्तिम एसियाली खेलकुद सहभागिता जनाइरहेका खेल्न लागेका पर्शुरामको सबैभन्दा बलियो पक्ष हो, अनुभव । चार वर्षअघि इन्चेन एसियाली खेलकुदमा आफ्नो विधामा पाँचौं भएका पर्शुरामसँग यसपटक केही राम्रो गर्ने पूरा आत्मविश्वास छ । 

प्रकाशित :भाद्र ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्