पूजा शर्मासँग इन्काउन्टर

- रामजी ज्ञवाली

भाद्र ६, २०७५

 

रामकहानीको प्रदर्शन मिति नजिकिँदै जाँदा फेरि विवादमा फस्नुभयो नि ?

त्यो कुरामा खासै मैले बोलिराख्नुपर्ने केही छ जस्तो लाग्दैन । मैले चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेलसँग आफूजस्तै एक नारिले निर्माण गरेको चलचित्रसँग किन आफ्नो चलचित्र जुधाउन आउनुभएको भनेर गुनासो मात्र गरेकी हुँ । जबकि हामीले रामकहानी ४ महिनाअघि प्रदर्शन मिति लिएका थियौं । चलचित्र क्षेत्रकी अभिभावक जस्ती मान्छेले स्वयं चलचित्र जुधाउन आउनु कहाँसम्म सही हुन्छ ?

तपाईंले गत वर्ष म यस्तो गित गाउँछुलाई ४–५ महिनाअघि नै प्रदर्शन मिति तय भैसकेको सायद–२ सँग लगेर भिडाएको बिर्सनुभयो ?

त्यतिबेलाको कुरा र अहिलेको विषयवस्तु फरक छ । अहिले निकिता पौडेल हामी सबैको अभिभावक जस्तो पदमा हुनुहुन्छ, कम्तीमा उहाँले त सवैको भलो सोच्नुपर्‍यो नि । अर्को कुरा उहाँ पनि नारी म पनि नारी, एउटी नारीले अर्को नारीको कुरा पनि बुझ्नुपर्ला नि ?

साउनमा पनि ३ देखि ४ वटा चलचित्र जुधेको तपार्इंले थाहा पाएकै हुनुपर्छ । ती सबै चलचित्रका निर्माता पुरुष थिए, उनीहरूले पनि झगडा गर्नुपर्ने हैन र ?

मैले भनिसकेँ । म निकिता दिदीसँग उहाँ अभिभावक भएकाले मात्र रिसाएकी हुँ ।

तपार्इंलाई धेरैले अपरिपक्व अभिनेत्री भन्छन्, कहिल्यै त्यस्तो महसुस गर्नुभएको छ ?

यस्तो कुरा नगरौं । कसले के भन्छ भन्ने कुरामा म खासै चासो राख्दिनँ । म जे गर्छु त्यसमा गल्ती भयो भनेर रिग्रेट गर्दिनँ । अर्को कुरा गल्ती भयो पनि भन्दिनँ । मैले जे गरेकी छु त्यो गलत पनि छैन ।

चलचित्र कायरा हेरिरहेका बेला तपाईं बीच–बीचमा खिल्ली उडाउँदै हाँस्नुभयो रे, विचमै चलचित्र छोडेर हिँड्नुभयो भन्ने खबर पनि आएको थियो, खास कुरा के हो ?

मैले न कायराको खिल्ली उडाएकी छु, न बीचमा छोडेर हिँडेकी छु । म पूरा चलचित्र हेरेर फर्किएकी छु । बरु मार्केटिङको मान्छेसँगको मिटिङमा जानुपर्ने भएकाले सुदर्शन थापा चलचित्र छोडेर गएको हो । मैले त्यो समाचार छाप्ने सञ्चारकर्मीलाई फोन गरेर पनि भनें । त्यो खबर नै गलत हो ।

पलसँग प्रेम छ भन्दै यसअघिको अन्तर्वार्तामा गज्जबले ढाँट्नुभयो, अहिले आकाश खड्कासँग नजिकिएको हल्ला छ । तपाईं किन जोसँग अभिनय गर्नुहुन्छ उसैलाई मेरो ब्वाइफ्रेन्ड भन्दै हिँड्नुहुन्छ ?

त्यो त चलचित्र चलाउने फण्डा हो नि !

तपाईं सुदर्शन थापासँगको गहिरो प्रेममा भएको चर्चा त सदावहार नै छ नि ? 

मेरो डिप लभ कसैसँग छैन । सुदर्शनसँग मेरो व्यवसायिक सम्बन्ध मात्र हो ।

तपाईंले आफ्नो चलचित्रको ट्रेलर​ लन्च कार्यक्रममा सुदर्शनबाहेक अरू कसैको चलचित्रमा काम गर्दिनँ भन्नुभयो, हरेकजसो मिडियामा केही वर्षदेखि निरन्तर प्रेमिप्रेमीका भनेर समाचार आईरहेका छन्, अनि के हो त रहस्य ?

मैले सुदर्शन बाहेक अरू कसैको क्याम्पमा काम गर्दिन भनेकी छैन, सुदर्शनसँग जहिलेसम्म व्यवसायिक रूपमा सफल हुन्छु त्यो बेलासम्म निरन्तर काम गर्छु भनेकी हुँ ।

केही समयअघि प्रदीप खड्का र पल शाहले दिएको एक अन्तर्वार्ताका सम्बन्धमा तपाईंले को फुच्चे हो, ठुला कुरा गर्ने भन्दै कमेन्ट गर्नुभएको थियो । चलचित्रमा काम गर्दा नजिक हुने, काम सकेपछि लात हान्ने यो बानी कहिलेसम्म चल्ला ?

त्यतिबेला पललाई भन्या हैन है, प्रदीपलाई भन्या हो । पललाई भन्या भए आगामी चलचित्रमा हामीले किन पललाई लिन्थ्यौ त ?

तपाईंले फुच्चे भनिरहेका तिनै प्रदीप अहिले नेपालका सबैभन्दा महँगा अभिनेता हुन् भन्ने त थाहा पाउनुभएको होला नि ! 

प्रदीप प्रेम गीतबाट चम्किएको हो, प्रेम गीत–२ बाट होइन । उसको करिअर जब मसँग अभिनय गर्‍यो तब चम्कियो, यो मेरा लागि खुसीको कुरा हो । पूजा शर्मा अहिले प्राउड फिल गर्छे कि आफूसँग अभिनय गरेको एउटा हिरो स्टार भएर निस्कियो । फ्लप भएर अष्ट्रेलिया त पुग्या छैन नि !

 

प्रकाशित :भाद्र ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्