कर तिर्ने रहर

- मनोज गजुरेल

भाद्र ६, २०७५

अहिले सिंगो देश करमय भएको छ । सामाजिक सञ्जाल, असामाजिक जञ्जाल सबैतिर करकै कुरा सुनिन्छ । कसैले बुझेर, कसैले नबुझेर, कसैले बुझ पचाएर करको विरोध गरिरहेको देखिन्छ । 

मैले बुझेको कर नागरिकको दायित्व हो । हरेक देशमा नागरिकले करलाई कर्तव्य सम्झन्छन् । सरकारी बाटो प्रयोग गरेबापत कर तिर्छन् । सुविधा लिएबापत कर तिर्छन् । सेवाबापत कर तिर्छन् । कर तिर्न उनीहरूलाई कति पनि गाह्रो लाग्दैन । किनभने कर तिरेपछि तिरोअनुसारको सुविधा मिलिरहेको हुन्छ । यद्यपि हामीकहाँ करको विरोध भैरहेको छ । केहीले विरोधका लागि विरोध गरे होलान् । केहीले नबुझेर विरोध गरे होलान् । कसैले बुझ पचाएर विरोध गरे होलान् तर धेरैले करकापमा परेर करको विरोध गरेका हुन् ।

करकाप अर्थात् सुविधा नदिने, तर करचाहिँ काटिरहने । सडकको अवस्था कस्तो छ, भन्नै पर्दैन तर रोड ट्याक्सचाहिं लिने । प्रशासनिक अस्तव्यस्तता ज्यूँका त्यूँ छ तर सेवाशुल्क लिएरै छाड्ने । शान्ति र सुरक्षा यथेष्ट छैन तर सुरक्षा कर ठटाउनैपर्ने ! यही अस्तव्यस्ताका कारण जनताले कर नीतिप्रति चित्त दुखाएका हुन् ।

करको अर्थतन्त्र थाहा नभएर होइन । जनतालाई राम्रोसँग थाहा छ, संसार चल्न सरकार चल्नुपर्छ । सरकार चल्न पैसा चाहिन्छ । पैसाका लागि सरकारले उद्योग खोल्नुपर्छ । खोलेका उद्योग बन्द छन् । नयाँ खोल्ने हुती छैन । शान्ति, सुरक्षा, न्याय, प्रशासन, दैनिक क्रियाकलाप चल्न पैसा चाहिन्छ । त्यो पैसाको प्रमुख स्रोत भनेकै कर हो, तर कर तिरेअनुसारको सुविधा १० प्रतिशत पनि छैन भने विरोध त भैहाल्छ नि । 

अर्को कुरा, कर कसले उठाउने ? केमा उठाउने ? के–केमा नउठाउने भन्ने विषयमा स्पष्ट तयारी पनि देखिँदैन । केन्द्रले कर उठाइसकेको ठाउँमा पनि प्रदेशले हात हालेको छ । गाउँले ठटाइसकेकोमा पनि प्रदेशले उठाइदिन्छ । हामी प्रदेश सिस्टममा छौं कि परदेश सिस्टममा गैरहेका छौं, जनताले बुझ्न सकेका छैनन् । सरकारले तुरुन्तै बुझाउनुपर्ने देखिन्छ ।

कर तिर्नुपर्छ तर जेमा पनि कर उठाउनु हुँदैन । नाफामूलक संस्थाबाट कर उठाउनुपर्छ, तर सेवामूलक कामलाई करको भारी बोकाउनु हुँदैन । दोकान थापेको छ भने कर लिन मिल्छ तर किन्न आउने ग्राहकलाई पनि करको मारमा पार्नु हुँदैन, तर स्थानीय सरकारको करनीतिले यही देखाइरहेको छ । 

संघीयता नामको नयाँ व्यवस्था भर्खर प्रयोगमा आउँदैछ । यसलाई व्यवस्थित, सुदृढ एवं सफल बनाउन करनीतिका सम्बन्धमा स्पष्ट धारणा तयार पार्नुपर्ने देखिन्छ । व्यापार छैन । आयस्रोतको अभाव छ । रोजगारी पाइँदैन । सामान्य कमाइ भएका जनतालाई करको भारी बोकाइँदा तिनमा व्यवस्थाप्रति नै नकारात्मक विचार पैदा हुन सक्छ । 

कर गरेर कर तिराउने होइन, रहरले कर तिर्ने अवस्था सिर्जना गर्नुपर्छ । नयाँ व्यवस्थामा आएका हुनाले बिस्तारै जानुपर्छ, एकैचोटी करले घाँटी कर्‍याप्प पार्नु हुँदैन । रहरले कर तिर्ने अवस्था सिर्जना गर्न बिस्तारै खुट्टाबाट पेल्दै लैजानुपर्छ ।

पेवामा कर, मेवामा कर, गल्लीमा कर, पुलमा कर, धारामा कर, पानी कर लगाउन थालियो भने जनताले जनप्रतिनिधिलाई पनि कर लगाइदिन सक्छ । गाडी चढेबापत कर, गाउँको बाटोमा हिंडेबापत कर, आफ्नो आँगनमा झरेबापत कर, भाषण गरेबापत कर भनेर जनताले कर काट्न थाले भने के होला ?

त्यसैले करलाई रहर बनाऔं, कर गरेर होइन । 

प्रकाशित :भाद्र ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्