Teej banner

अग्र्यानिक भनेर कालिमाटीको तरकारी पनि बेचिन्छ

- साप्ताहिक संवाददाता

भाद्र ५, २०७५

सहृद चापागाईंले मेकानिकल इन्जिनियरिङ पढेका हुन् । उनले बैंगलुरुबाट रुलर इन्टरप्रेनरसिपमा एमबीए समेत गरेका छन् । इन्जिनियरिङ सकेर फर्कंदा उनका अगाडि दुईवटा विकल्प थिए सेल्स इन्जिनियर बन्ने वा सर्भिस इन्जिनियर बन्ने । चापागाईंले सेल्स इन्जिनियरको विकल्प रोजे । मोरङ अटो वक्र्समा सेल्स इन्जिनियरका रूपमा काम गर्दा उनले मार्केटिङको अनुभव लिने अवसर पाए । त्यसैले उनलाई तान्दै–तान्दै इन्जिनियरबाट अग्र्यानिक व्यवसायी बनाएको छ ।  अहिले बिल नेपाल म्यानेजमेन्ट कम्पनीमार्फत अग्र्यानिक उत्पादन, प्रवद्र्धन एवं बजार व्यवस्थापनमा जुटेका सहृदसहितको समूहले उत्तर काठमाडौंको गोलढुंगा, धर्मस्थली आदि ठाउँमा स्थानीय सरकारसँग मिलेर कृषि व्यवसायलाई प्रमोट गरिरहेको छ भने बाग्लुङ तामाङखोला गाउँपालिकासँग मिलेर त्यहाँ वैकल्पिक ऊर्जा तथा कृषिसम्बन्धी काम गरिरहेको छ ।  नेपालको अग्र्यानिक बजार, यसका सम्भावना तथा चुनौती आदि विषयमा केन्द्रित रहेर साप्ताहिकले चापागाईंसँग गरेको कुराकानी : 

अग्र्यानिक कृषि बजारको अवस्था कस्तो छ ? 

अग्र्यानिक उत्पादन एकदम हाइयर मार्केटमा गैरहेको छ, त्यो निकै महँगोमा आइरहेको छ । जस्तो— अग्र्यानिक टमाटर डिपार्टमेन्ट स्टोरहरूले किलोकै १ सय ५० रुपैयाँमा बेचिरहेका छन् । टमाटरको त्यो मूल्य निकै उच्च हो । निकै महँगोको मारमा परेका अग्र्यानिक उपभोक्तालाई हामीले प्रिमियम मूल्यमा अग्र्यानिक उत्पादन दिन खोजिरहेका छौं । 

बजारमा अग्र्यानिकको खुबै ह्विम चलिरहेको छ, खासमा अग्र्यानिक उत्पादन कस्तो हुन्छ ? 

अहिलेसम्म हामीले अग्र्यानिक भनेर विषादीमुक्त एवं परम्परागत जैविक मल प्रयोग गरेर उत्पादित वस्तुलाई मानिरहेका छौं । यो अग्र्यानिकल्ली प्राक्टिस हो, तर अग्र्यानिक शब्द प्रयोगका लागि सर्टिफिकेसन गर्नुपर्ने हुन्छ । त्यसका लागि अन्तर्राष्ट्रिय सर्टिफाइड एजेन्सीहरू पनि छन्, नेपालमा पनि सर्टिफिकेसन गर्ने प्रक्रिया अघि बढिरहेको छ । हामीले अग्र्यानिक नै भनेर बेचेका छैनौं, त्यसका लागि त सर्टिफिकेट चाहियो, हामीले अग्र्यानिकल्ली प्राक्टिस भनेर आफ्ना सामान बेचिरहेका छौं । 

अग्र्यानिकको बजार चर्चा कति यथार्थमा आधारित छ ? 

हामीले विश्वासका आधारमा काम गरिरहेका छौं । हामी सीधा ग्राहक तथा कृषकसम्म पुग्छौं । बी टु बीको कन्सेप्टमा हामी जुन बिजनेस पार्टनरहरूसँग काम गरिरहेका छौं, जो ग्राहकसँग तथा कृषकसँग एकसाथ जोडिएका छन् । उनीहरूलाई ग्राहकले विश्वास गरेका हुन्छन् । काठमाडौं अग्र्यानिक, ग्रिन ग्रोथजस्ता कम्पनीको सामान अग्र्यानिक हुन्छ भनेर ग्राहकले विश्वास गरिरहेका छन् । यद्यपि हाम्रा लागि चुनौती के हो भने कतिपय ठाउँमा अग्र्यानिक सामानमा मिसावट पनि देखिएको छ । अग्र्यानिक भनिएका कतिपय पसलमा कालिमाटीबाट ल्याइएको तरकारी पनि बेचिएको पाइन्छ । हिमालयन कलेज अफ एग्रिकल्चर एन्ड टेक्नोलोजीसँग मिलेर त्यसको मनिटरिङ कसरी गर्ने भन्ने विषयमा पनि हामीले काम अघि बढाइरहेका छौं । 

अग्र्यानिक तरकारीको बजार कति ठूलो छ नेपालमा ? 

ठ्याक्कै यति नै छ भनेर दाबी गर्न त गाह्रो छ । अहिले अग्र्यानिक भनिएका उत्पादनहरू मूलत: तीन–चारवटा मार्केटमा जान्छ । फार्मर्स मार्केट भन्ने पनि चलिरहेको छ । ठाउँ–ठाउँमा पसल पनि खुलेका छन्, केहीले अनलाइनमार्फत पनि अग्र्यानिक तरकारी, फलफूल आदिको व्यापार गरिरहेका छन् । यसरी हेर्दा औसत दैनिक ४–५ हजार किलोजतिको बजार होला । 

ग्राहकहरू के चाहन्छन् ? 

ग्राहकले अग्र्यानिक उत्पादन मागेका हुन्छन् । गोलढुंगामा २० रोपनीमा हाम्रो आफ्नै अग्र्यानिक फार्म छ । अग्र्यानिक उत्पादनमा कीरा लागेको हुन्छ । उपभोक्ताहरूले कीरा लागेको होइन, राम्रो खोजिरहेका हुन्छन् । उपभोक्ताहरूलाई चिल्लो–चाप्लो तरकारी चाहिन्छ, जसका कारण हामीलाई अलि लस पनि छ । अग्र्यानिक उत्पादन कीराले खाएको वा चरा लागेको हुन्छ, त्यसलाई पनि ग्रहण गर्न सक्ने बनाउन सकिएको छैन । त्यसका लागि अब हामीले प्रविधिसँग जोडिंदै प्रोडक्टलाई ड्राई गर्दैछौं । स्टार होटल तथा डिपार्टमेन्ट स्टोरहरूमा ड्राई प्रोडक्टको निकै माग भएकाले हामी त्यसमा पनि लागिरहेका छौं । अर्कातर्फ ग्राहकले निकै महँगोमा किन्नुपरेकाले हाइयर मिडिल क्लास तथा अपर मिडिल क्लासले जति पनि पैसा हालेको छ, तर मिडिल क्लासमा अग्र्यानिक उत्पादन पुर्‍याउन चुनौती छ । अर्को कुरा हामी किसानका उत्पादन सीधै ग्राहकसम्म पुग्ने गरी काम गरिरहेका छौं । हामी हाउजिङ तथा कोलनीहरूमा पनि जाँदैछौं । अहिले हामीले आफ्नो ध्यान मिडिल क्लासलाई प्रिमियम मूल्यमा कसरी अग्र्यानिक उत्पादन दिने भनेर केन्द्रित गरिरहेका छौं । 

अग्र्यानिक उत्पादनमा लगानी पनि बढिरहेको छ । खास के कारणले लगानी आकर्षित भैरहेको छ ? 

कृषि तथा तरकारीमा केही नाफा पनि छ अनि जोखिम पनि । धेरैले ह्विमकै आधारमा अग्र्यानिक खेती गरिरहेका छन् । अहिले बजारमा टमाटरको आपूर्ति निकै छ । यद्यपि बजारको माग अन्य कुराहरूमा पनि छ । त्यसतर्फ ध्यान गैरहेको छैन । सबैको लगानी एकै ठाउँमा परेपछि त्यो डुब्न सक्ने खतरासमेत छ । त्यसैले उत्पादनमा विविधीकरण ल्याउनुपर्ने आवश्यकता छ । कतिले ४०–५० रोपनीमा ठूला अग्र्यानिक खेती गरेका छन् । यद्यपि त्यति ठूलो मात्राको उत्पादन खपत हुने बजार फेला पार्न गाह्रो छ । हामीले अहिले त्यसका लागि बजार व्यवस्थापन गर्ने प्रयासस्वरूप डिपार्टमेन्ट स्टोर, हाउजिङ तथा अनलाइनहरूसँग काम गरिरहेका छौं । हाम्रो जोड अग्र्यानिक फार्मधनीहरूलाई त्यसमै जोड दिन लगाएर हामी उनीहरूका लागि बजारीकरणमा लाग्नेछ । 

नेपालमा अग्र्यानिक उत्पादकका उपभोक्ता को हुन् ? 

अहिले नेपाली अग्र्यानिक उत्पादनका उपभोक्ता हाइयर मिडिल क्लास तथा अपर मिडिल क्लासका हुनुहुन्छ । उहाँहरू शेर्पा मलको फार्मर्स मार्केट जानुहुन्छ, त्यहाँ विदेशीहरू पनि पुग्छन् । यो रेस्टुराँ हो, उसले शनिबार फार्मर्स मार्केट लगाउँछ । नेपाली सामानहरू स्ट्यान्र्ड प्याकिङमा राम्रोसँग दिन सक्ने हो भने त्यहाँ एकदमै उच्च मूल्यमा उत्पादनहरू खपत हुन्छन् । विदेशीहरू, कूटनीतिक नियोगका मानिसहरू, एनजीओ, आईएनजीओलगायत उच्च वर्गका मानिसहरू यो बजारका ग्राहक हुन् । नाइन्टिनो फाइभ भन्ने कमलपोखरीतिर छ, हयात होटलले पनि यस्तो काम गर्छ । फार्मर्स मार्केटको चलन धेरै ठाउँमा छ । फार्मर्स बजारमा पुग्ने मानिसहरू उच्च वर्गकै छन् । अर्काे, बानेश्वरस्थित डाइनिङ पार्क रेस्टुराँमा पनि फार्मर्स मार्केट छ, जसमा मध्यवर्गका मानिसहरू पुग्छन् । अग्र्यानिक उत्पादन मिडिल क्लाससम्म पुग्न नसक्नुको एउटा कारण उक्त वर्गले मूल्यमा एकदमै बार्गेनिङ गर्नु पनि हो । 

अग्र्यानिक उत्पादनहरूमध्ये के–कस्ता तरकारीको बढी माग छ बजारमा ? 

ग्राहकहरूले अग्र्यानिक उत्पादनहरू सिजनअनुसार माग गर्छन् । अहिले अग्र्यानिक सागको निकै माग छ । फर्सीको मुन्टा, रायोको साग आदि ग्रिन भेजिटेबलहरू हाताहात बिक्री हुन्छन् । डिपार्टमेन्ट स्टोरहरूमा सलादका आइटम बढी गैरहेका छन् । सामान्य प्रयोगका आइटमले कालिमाटी बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । हामीले हरेक अग्र्यानिक फार्मलाई बजारको मागअनुसार उत्पादन गर्न लगाउने सोच बनाएका छौं । 

विदेशी उत्पादनहरूमा कत्तिको अग्र्यानिक खोज्ने चलन छ ? 

विदेशी उत्पादन प्याकेजिङ भएर आएका हुन्छन् । राम्रो कुरा, अहिले डिपार्टमेन्ट स्टोरहरूमा विदेशी अग्र्यानिक उत्पादनहरूको तुलनामा नेपाली नै बढी देखिन थालेको छ । खाद्यान्नमा चामल, दाल आदि पनि बिस्तारै बजारमा आउन थालेका छन् । 

अग्र्यानिक उत्पादन बजारमा कहाँबाट आपूर्ति हुन्छ ? 

खाद्यान्न नेपालका विभिन्न पहाडी जिल्लाहरूमा सम्पर्क गरेर भित्र्याइरहेका छौं । अग्र्यानिक उत्पादनका लागि जुम्ला अहिले सबैभन्दा लोकप्रिय छ, मार्सी चामल, ओखर, स्याउसम्मका लागि । ढोरपाटन क्षेत्रको आलु पनि आइरहेको छ । सिमीलगायतका विभिन्न उत्पादन ल्याउन सोलु तथा दोलखातिर पनि हामीले सम्पर्क गरिरहेका छौं । तरकारीचाहिँ खासगरी काठमाडौं वरिपरिका जिल्लाहरूबाटै आउँछ । 

तराईका जिल्लाहरूबाट कत्तिको ल्याइरहनुभएको छ ? 

उत्पादनका दृष्टिकोणले निकै राम्रो मानिने तराईका जिल्लाहरूबाट न्यून उत्पादन मात्र आउने गरेका छन् । हामी र हाम्रा पार्टनरहरूले तराईका जिल्लामा काम गर्न पाएका छैनौं, अब त्यसतर्फ प्रयास गरिरहेका छौं । 

अग्र्यानिक उत्पादनको बजार व्यवस्थापन कसरी भैरहेको छ ? 

अग्र्यानिक बजारमा विभिन्न सेगमेन्ट छन् । एउटा सेगेमेन्ट शनिबार फार्मर हाउसबाट चल्छ । अर्को डिपार्टमेन्ट स्टोरहरूले राम्रो प्याकेजिङ गरिएका अग्र्यानिक उत्पादनहरू खोजिरहेका हुन्छन् । अर्को अनलाइन बजार पनि छ, जस्तो मेट्रो तरकारी, ग्रीन ग्रोथ आदि । मिडिल क्लासमा पुग्न शंखमूलमा हरेक हप्ता उत्पादन बेच्छौं । अग्र्यानिक तरकारी किन्न बाहिर निस्कनुपर्ने र केही महँगो समेत पर्ने भएकाले पनि यो मूल बजार होइन, वैकल्पिक बजार हो । 

अग्र्यानिक उत्पादनहरूमा कुन जिल्लाको के बढी लोकप्रिय छ ?

तरकारी काठमाडौं र वरिपरिका जिल्लाहरूकै हो । ओखर तथा चामलमा जुम्ला लोकप्रिय छ । भीरमौरी, मह तथा आलुमा बाग्लुङ फेमस छ । सिमी पनि धेरैजसो कर्णाली प्रदेशबाटै आइरहेको छ । स्याउ जुम्ला, मनाङ तथा मुस्ताङबाट आइरहेको छ । चन्द्रागिरितिरबाट आँप तथा मकै अलिअलि आइरहेको छ । अहिले अग्र्यानिक भनेर सागपात तथा तरकारीमा बढी फोकस गरिएको छ । यसलाई फलफूल, खाद्यान्न आदिमा समेत बढाउनुपर्नेछ । 

कालिमाटीका विचौलिया र तपाईंहरूबीच के फरक छ ? 

हामी र उनीहरू उस्तै हौं । फरक, हामी धेरै च्यानलमा नगै सिधैं ग्राहकसम्म पुग्छौं, उनीहरूलाई पनि राम्रो मूल्यमा सामान दिन्छौं । हाम्रो प्रोफिट मार्जिन १०/२० प्रतिशत मात्र छ । अर्को हामी आफैंले पनि फार्म चलाएका छौं । हामी बिचौलिया हौं, तर बिचौलियाले सामान मात्र ट्रेड गर्छ, हामीले प्रविधि, नेटवर्क र गुणस्तर सुधारको पक्षमा समेत काम गरिरहेकाले हामी कनेक्टर हौं, बिचौलिया मात्र होइनौं । 

 

प्रकाशित :भाद्र ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्