टेक्सासमा के गर्दैछन् नेपाली कलाकार

- शिव शर्मा

भाद्र ४, २०७५

अमेरिकामा नेपाली कलाकारहरूको बसोबास बढ्दै छ । अमेरिकाको बाल्टीमोरलाई नेपाली कलाकारहरूको ‘हब’ का रूपमा लिइन्छ । नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास राज्यमा पनि नेपाली कलाकारहरूको आगमन एवं बसोबास बढिरहेको छ । निर्देशक नारायण पुरी दुई वर्षदेखि टेक्सासको राजधानी अस्टिनमा सपरिवार बसोबास गर्दै आएका छन् । 

पुरीले अमेरिकाकै विषयवस्तुमा केन्द्रित भएर नेपाली कलाकारहरूलाई समेटी चलचित्र निर्माणको गृहकार्यसमेत गरिरहेका छन् । पुरी नेपालमा कलाकारिता गरेर जीविका चलाउन मुस्किल भएकै कारण धेरै कलाकारले विदेश पलायनको बाटो रोज्नुपरेको बताउँछन् । पुरी भन्छन्, ‘परदेशमा सबैले आ–आफनो काम गरेर कला गतिविधिमा समेत संलग्नता जनाउँदै आएका छन् । हामी केही नयाँ काम गरांै भनेर लागिरहेका छौं ।’ 

‘पर्खि बसे’बाट अभिनेत्रीका रूपमा उदाएकी युना उप्रेतीले पनि टेक्सासलाई नै आफ्नो कर्मथलो बनाएकी छिन् । युनाले टेक्सासमै स्थायी बसोबास गर्दै आएका विकास अधिकारीसँग २०१२ मा लगनगाँठो कसेर यतै घरजम बसाएकी हुन । आइटीको क्षेत्रमा काम गर्दै आएकी युना नेपाली समुदायका कार्यक्रमहरूमा खासै उपस्थिति जनाउँदिनन् । 

अमेरिका छिरेका कलाकारहरू सुरुमा सांगीतिक कार्यक्रमको सिलसिला आएर यता हराएका हुन् । पछिल्लो समय भने ‘एक्स्ट्रा अर्डिनरी’ भिसामा आउने धेरै छन् । सन् २००८ मा अमेरिका आएका हास्यकलाकार नारायण त्रिपाठी पनि टेक्सास राज्यमै सपरिवार बस्दै आएका छन् । त्रिपाठीले अमेरिकामा पनि कलाकारितालाई निरन्तरता दिइरहेका छन् । स्टेज कार्यक्रममा उनको प्रहसन अमेरिकाका विभिन्न राज्यमा देख्न पाइन्छ । कुनै बेला टेलिसिरियल ट्वाक्क–टुक्कमा ‘प्रेम चरो’ पात्रका रूपमा उनको निकै चर्चा थियो । 

आफ्नो व्यस्त समयबाट फुर्सद निकालेर आफ्नो कला क्षेत्रलाई निरन्तरता दिँदै आएका अर्का कलाकार हुन्— निरज बराल । चलचित्र कुसुमे रुमालबाट डेब्यु गरेका बराल विवाहपछि टेक्सासमै बस्दै आएका छन् । मोडलिङबाट करिअर सुरु गरेका बराललाई सौन्दर्य प्रतियोगितामा निर्णायकदेखि फेसनसम्बन्धी कार्यक्रमहरूमा अतिथिका रूपमा निम्त्याउने गरिएको छ । एक सन्तानका पिता बराल आइटीसम्बन्धी काम गर्छन् । उनले हालसालै गीतकार भूपेन्द्र न्यौपानेको अरूसँग हास्दै गीतमा अभिनय गरेका छन् । 

सहज बसाइ र नेपाली समुदायको बाक्लो उपस्थितिका कारण पनि नेपाली कलाकारहरूले बसोबासका लागी टेक्सास रोज्न थालेको पाइन्छ । लेखक, निर्माता तथा गीतकार शैलेस आचार्य पनि टेक्सासमै बसोबास गर्छन् । टेक्सासको युलेसमा बस्ने आचार्य कला–साहित्यसम्बन्धी गतिविधिमा अग्रसर हुँदै आएका छन् । अभिनेता राजबल्लभ कोइराला टेक्सासबाटै मेरील्यान्डमा बसाइँ सरेका हुन् । अभिनेता गणेश उप्रेती भर्जिनियाबाट हालै मात्र टेक्सासमा राज्यको हुस्टन बसाइँ सरेका छन् । थुप्रै नेपाली चलचित्रका लेखक युगेश रायमाझी पनि स्थायी बसोबासका लागि नेपालबाट टेक्सास आइपुगेका छन् । नेपाली चलचित्र मुनामदनमा मदनको भूमिकामा अभिनय गरेर चर्चा पाएका दीपक त्रिपाठी पनि टेक्सासमै बसोबास गर्छन् । नेपाली चलचित्रका सम्पादक बद्री सिग्देलदेखि रंगकर्मी दीपक हुमागाईं तथा सुवास थापा पनि टेक्सासमै छन् भने निर्माण नियन्त्रक हरि बराल, चिन्तामणि बराल आदि पनि यतै बस्छन् । 

 

प्रकाशित :भाद्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्