साउनका चलचित्र पनि चलेनन्

- रामजी ज्ञवाली

भाद्र ४, २०७५

साउन महिनामा भैरे, चक्कर, पण्डित बाजेको लौरी, चीँ मुसी चीँ, रोमियो एन्ड मुना, सुकुलगुन्डा, कायरा, झमकबहादुर, कहीं कतै, टिन ए तथा पिरिम पर्‍या छन् गरी ११ वटा चलचित्र प्रदर्शनमा आए । यद्यपि, यी ११ वटा चलचित्रमध्ये आर्यन सिग्देलको कायराले मात्र औसत व्यवसाय गरेको छ भने बाँकी सबै चलचित्रले लगानी उठाउन समेत धौ–धौ परेको छ ।

साउन १८ गते प्रदर्शनमा आएको निर्देशक लक्ष्मण रिजालको ‘कायरा’ आर्यन सिग्देल तथा साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीका कारण सफल हुने अपेक्षा गरिएको थियो । अनुमान गरेअनुरुप नै उक्त चलचित्रले दुई साताको अवधिमा करिब सवा २ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको बताइन्छ । चलचित्रका निर्मातासमेत रहेका निर्देशक रिजाल भन्छन्– ‘पछिल्ला दुई दिनको रिपोर्ट आउन बाँकी छ, सबैतिरको रिपोर्ट प्राप्त हुँदा यो चलचित्र वर्षको राम्रै व्यवसाय गर्ने चलचित्रको सूचीमा पर्न सक्छ ।’ डेढ करोडको लगानीमा निर्माण भएको कायराले लगानी सुरक्षित गर्न नै झन्डै साढे ४ करोडको व्यवसाय गर्नुपर्नेछ । 

असारमा खासै व्यापार नगरे पनि साउनमा आएर चलचित्र बोबीले राम्रै व्यापार गर्‍यो । मिलन चाम्सको निर्देशनमा तयार भएको बोबीको इनिसियल ओपनिङ भने सुस्त थियो । चलचित्रको प्रदर्शनले दोस्रो साता प्रवेश गरेलगत्तै दर्शक बढ्दै गए । फलस्वरूप यसलाई दर्शकले मन पराएको भन्न सकिन्छ । 

साउनको पहिलो हप्ता (साउन ४ गते) सार्वजनिक तीन चलचित्र भैरे, पण्डित बाजेको लौरी तथा चक्कर व्यवसायिक रूपमा असफल भए । दयाहाङ राई अभिनीत भैरेले अन्य दुई चलचित्रलाई व्यापारिक हिसाबले उछिन्ने अनुमान गरिएको थियो । भैरेले स्वदेशमा उत्साहजनक सफलता हासिल नगरे पनि विदेशबाट भने राम्रै आशा गरेको छ । यसै साता यो चलचित्रले काठमाडौंमा सक्सेस पार्टी दिएको छ भने चलचित्रका निर्माता–निर्देशकहरूले युरोप, अमेरिका तथा अस्ट्ेरलिया आदिबाट लगानी सुरक्षित गर्ने योजना बनाएका छन् । उता, सेक्स कमेडी पण्डित बाजेको लौरी पनि नराम्रोसँग पछारियो । चलचित्र चक्कर कुन चक्करमा फस्यो, कसैले पत्ता लगाउन सकेनन् । 

साउन ११ गते पनि तीनवटा चलचित्र जुधे । प्रशस्त प्रचार गरिएको चीँ मुसी चीँ तथा रोमियो एण्ड मुनासँगै प्रचार–प्रसार नै नगरिएको जीवन लुइँटेल अभिनीत सुकुलगुन्डा एकै दिन प्रदर्शनमा आए । नरमाइलो पक्ष के रह्यो भने यी तीनवटै चलचित्र असफल भए । चीँ मुसी चीँका नयाँ अनुहार (सुनिल क्षेत्री तथा सोनिया शर्मा) लाई दर्शकले पत्याएनन्, न त रोमियो एण्ड मुनामा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ तथा विनय श्रेष्ठको जोडीलाई रुचाइयो । झन्डै २ करोड लगानी गरिएको रोमियो एन्ड मुनाले लगानी सुरक्षित गर्न ६ करोड रुपैयाँ बराबरको व्यवसाय गर्नुपर्ने हुन्छ, यद्यपि उक्त चलचित्रले एक करोड रुपैयाँसमेत ग्रस कलेक्सन गर्न नसकेको निर्माण पक्षले स्वीकार गरिसकेको छ । यति हुँदाहुँदै पनि चलचित्रका निर्देशक नरेशकुमार केसीले आफ्नो चलचित्रले सन्तोषजनक व्यवसाय गरेको दाबी गरेका छन् । ‘चीँ मुसी चीँ’ का निर्देशक दिनेश श्रेष्ठका अनुसार उनले अहिलेसम्म चलचित्रको व्यवसायिक रिपोर्ट प्राप्त गरेका छैनन्, यद्यपि उनी आफ्नो चलचित्र असफल भएको कुरा स्वीकार गर्न गाह्रो मान्दैनन् । चीँ मुसी चीँ ६० लाखमा तयार पारिएको थियो । 

साउन १८ गते प्रदर्शित कायरा तथा झमकबहादुरमध्ये कायरा औषत रह्यो भने झमकबहादुरको व्यवसाय निराशाजनक रह्यो । भारतीय चलचित्र मुम्बई एक्सप्रेसको नक्कल गरिएको आरोप खेपेको उक्त चलचित्रलाई अनुप विक्रम शाहीको जोडदार अभिनयले समेत जोगाउन सकेन । 

साउन २५ गते कहिं कतै, टिनएज तथा पिरिम पर्‍या छन् प्रदर्शन त भए, तर ती तीनवटै चलचित्रले दर्शकको माया पाएनन् । केही वर्षअघि नै निर्माण सम्पन्न भएको कहीँ कतैका नयाँ अनुहारप्रति दर्शकले विश्वास नै गरेनन् । हास्य विधाको पिरिम पर्‍या छन्ले दर्शकहरूलाई हँसाउन सकेन । टिनएजमा प्रदर्शित प्रेम पनि सामान्य नै रह्यो । 

अनुमानअनुसार साउन महिनामा प्रदर्शित चलचित्रमा झण्डै ७ करोड ७० लाख रुपैयाँ लगानी भएको छ, यी सबै चलचित्रको लगानी सुरक्षित हुन झन्डै २१ करोड रुपैयाँको व्यवसाय हुनुपर्छ । यद्यपि यो महिना प्रदर्शित सबै चलचित्रले कुल मिलाएर ५ करोड रुपैयाँको समेत व्यवसाय गर्न नसकेको बताइन्छ ।

प्रकाशित :भाद्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्