निजी सवारीको अनुभव

- सुबिन भट्टराई

भाद्र ३, २०७५

 

मैले अहिले चढ्ने गाडी मारुती–सुजुकीको अल्टो हो । गाडी चढ्नुभन्दा अघि म बाइक कुदाउँथें । गाडी चढ्नुका फाइदा पनि छन्, बेफाइदा पनि छन् । बाइकका पनि फाइदा र बेफाइदा दुवै छन् । जस्तो— बाइक चढ्दा धूलो, धूवाँ र दुर्घटनाको जोखिममा परिन्छ भने गाडीमा यस्ता जोखिम कम हुन्छ, तर जतिबेला पनि एसी खोल्दा नाक पोल्ने भएकाले गर्मी मौसममा चाहिँ गाडी पनि सास्ती हुन्छ ।

गाडी चढ्दा काठमाडौंजस्तो ठाउँमा पार्किङको समस्याले पनि पिरोल्छ । यसले गर्दा भित्री सहरी क्षेत्रतिर जादा हत्तपत्त गाडी लान मन लाग्दैन । बाइकमा पार्किङको त्यति ठूलो समस्या हुँदैन । बाइकले गाडीको तुलनामा जाम पनि कम खेप्छ । 

बाइक चढ्नुअघि म सार्वजनिक यातायातमै ओहोरदोहोर गर्थें । त्यसका पनि फाइदा–बेफाइदा दुवै थिए । सिट नपाएर झुन्डिएर यात्रा गर्दाका अनुभव पनि छन् । कहिलेकाहीं घण्टौं कुर्दा पनि गाडी नआएको अनुभव पनि छ । बीस मिनेटको बाटोलाई डेढ घण्टा लगाएर यात्रा गरेको अनुभव पनि छन्, तर सार्वजनिक यातायातको एउटा फाइदालाई चाहिं म नराम्रोसँग मिस गर्छु । 

धेरै मानिस चढ्ने भएकाले त्यहाँ धेरै कथा भेटिन्थे । धेरै मानिसका कुरा सुन्ने मौका पाइन्थ्यो । कतिपय कथा मैले सार्वजनिक यातायात मै भेटेको हुँ । सिर्जना गर्ने मानिसलाई भीडभाडको छुट्टै महत्व हुन्छ ।

अहिले पनि कहिलेकाहीं सार्वजनिक यातायात चढ्छु । त्यो एक दिनकै सास्तीले म अनुभव गर्न सक्छु, सार्वजनिक यातायात चढ्ने यात्रुको पीडा । वास्तवमा अलिकति व्यवस्थित भैदिने हो भने निजी सवारीभन्दा सार्वजनिक यातायात निकै सुलभ र रमाइलो हुन्छ । 

प्रकाशित :भाद्र ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्