सिनेमा र राजनीतिका हस्ती

- किशोर नेपाल

भाद्र ३, २०७५

भरतशमशेर जंगबहादुर राणाको नाम कसले सुनेको थिएन र ? यो कुनै प्रश्नै होइन । उनका बारेमा यति धेरै सत्य कथा र किंवदन्ती फैलिएका छन्, ती सबैको सम्झना कमैले गरेका होलान् । उनको व्यक्तिगत जीवन पनि गजबको थियो । उनले आफ्नो फुलेको कपाल टिप्न मात्र एक जना हट्टाकट्टा मानिस राखेका थिए । हरेक दिन बिहान निश्चित समयमा ऊ भरतशमशेरको फुलेको कपाल टिप्न आइपुग्थ्यो । यो उनको दैनिक कार्य थियो ‘मेकअप’ को । उनको कपाल पातलिँदै गएको थियो । तुलनात्मक रूपमा पनि कालाभन्दा सेता कपाल धेरै थिए उनको शिरमा । उनको अर्को अनौठो र रमाइलो बानी थियो— बिहान कतै सामाजिक, राजनीतिक भेट वा प्रभात भ्रमणमा जाँदा उनी छाता ओढेर निस्किन्थे । पानी परोस कि हुस्सु लागोस् कि घाम चर्कियोस, भरतशमशेर छाता ओढेरै निस्किन्थे ।

निकै वर्षअघि किशुनजीसँग म भरतशमशेरको घर पुगेको थिएँ— कलकत्ता । उनी किशुनजीको प्रतीक्षामा थिए । उनको मेकअप असिस्टेन्ट फुलेको कपाल टिप्दै थियो । किशुनजीले मलाई भरतजीसँग चिनाइदिनु भयो । त्यतिबेला देशमा प्रजातन्त्र आइसकेको थिएन । उक्त परिचयपछि मेरो र भरतजीको दोस्ती भयो । काठमाडौंमा बसेर उनी जनमत संग्रहमा नीलो रंगको पक्षमा मत माग्ने अभियानमा लागे । उनको अभियानमा सबै केटैकेटा थिए— वर्ष १५ देखि ३० सम्मका । युवा जमातमा उनको ठूलो आकर्षण थियो । कलकत्तामा बस्दा पनि उनीसँग अनियमित हिसाबले नियमित भेटन थालें म । वर्षको त्यस्तै एक वा दुई पटक । किशुनजीसँग भरतजीको सम्बन्ध व्यक्तिगत र राजनीतिक दुवै बन्धनमा बाँधिएको थियो । किशुनजीले गणेशमान सिंह र भरतशमशेरको सल्लाहविपरीत गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएपछि भरतशमशेर र किशुनजीबीचको सम्बन्ध धमिलिएको थियो ।

मुम्बई, भारतमा पढ्न बसेका बेला भरतशमशेरले नेपाली क्रान्तिका नेता बीपी कोइरालालाई आफू स्वतन्त्रताको पक्षमा रहेको पत्र लेखेर आफ्नो प्रसिद्धिको जग हालेका थिए । क्रान्तिको सफलतापछि उनको पारिवारिक पार्टी खुल्यो । उनले आफ्ना पिता मृगेन्द्रशमशेरलाई अध्यक्षबाट हटाएर आफैं गोरखा परिषद्को नेता भए । भरतशमशेर त्यसपछि गोर्खा परिषदका सेना–मेना लिएर बीपीलाई आक्रमण गर्न पुगेका थिए । त्यतिबेला बीपी राणा–कांग्रेस सरकारका गृहमन्त्री थिए । भरतशमशेर ‘ज्यूँदा मानिस’ थिए– कवि विमल वैद्यको कथनसँग म हार्दिक रूपले सहमत छु । हो, उनी ज्यूँदा मानिस थिए : सधैं विद्रोहको पक्षमा, सधैं क्रान्तिको पक्षमा । राणाकालीन समयपछि पनि उनी शक्तिशाली रहे । किनभने, उनले कुनै कुरा लुकाएनन् । उनी नास्तिक थिए । कहिल्यै कुनै टुना–मुनाबाट प्रभावित भएनन् ।

भरतशमशेर जंगबहादुर राणाको राजनीतिक जीवनको वर्णन इतिहासकार राजेश गौतमले गरेका छन्, तर इतिहासकार गौतम आफै पनि त्यसबाट सन्तुष्ट छैनन् । किनभने भरतशमशेर सचेत थिए । ‘हात्तीले मान्छे किचाएर’ मार्नेहरूको इतिहास लेखिने परम्परासँग उनी जोडिन चाहँदैनथे । भरतशमशेरको राजनीतिक जीवनका घटनाक्रमहरू अब अनन्तमा गाडिएका छन् । शनिबार बिहान उनको देहान्त भएको छ कलकत्तामा । उनको जेथा पनि उतै थियो । कलकत्ता बस्नुको अर्को कारण थियो काम । भरतशमशेर सिनेमाका निर्देशक, निर्माता, संवाद लेखकजस्ता विभिन्न अवतारमा देखा परे । उनी बंगाली सिनेमा बनाउँथे । बंगाली सिनेमाका कीर्तिमानी मानिसहरूको लहरमा उनलाई ससम्मान राखिन्थ्यो ।

भरतशमशेरले कति सिनेमाको निर्माण गरेका थिए, कति सिनेमाको निर्देशन गरेका थिए, कति सिनेमामा संवाद लेखेका थिए ? यसको हिसाब–किताब तत्काल गर्न सकिँदैन । भरतशमशेर आफैंमा एउटा विविधतापूर्ण र बहु–आयामिक व्यक्तित्व थिए । उनको सिनेमा व्यवसाय र व्यक्तित्वका बारेमा धेरै कम नेपालीलाई मात्र जानकारी छ । नेपाल आउँदा भरतशमशेरले आफ्नो यो व्यक्तित्वलाई कहिल्यै प्रदर्शनीमा राखेनन् । कांग्रेसका केही ठूला नेताबाहेक धेरैलाई उनको सिनेमा व्यवसायका बारे केही जानकारी थिएन ।

सिनेमाका व्यक्तित्वका रूपमा उनका दसवटा चलचित्र छन् । सन् १९८५ मा बनेको प्रतिज्ञाका निर्देशक असित सेन थिए । मौसमी चटर्जी र भिक्टर बनर्जी थिए मुख्य भूमिकामा । उक्त चलचित्र हिट भएको थियो । सन १९७१ मा बनेको सीमाबद्ध (कम्पनी लिमिटेड) भरतशमशेरद्वारा निर्माण गरिएको सर्वाधिक चर्चित चलचित्र थियो— विश्वव्यापी रूपमा । त्यसका निर्देशक थिए सत्यजित रे । मणिशंकर मुखर्जीको कथामा आधारित यो सिनेमाले महानगरहरूमा मानिसले भोग्नुपर्ने विसंगत अवस्थाको चित्रण गरेको छ । यो सिनेमा अहिले पनि चर्चित छ । भरतशमशेर आफैंले निर्देशन तथा निर्माण गरेको सन् १९७१ को चलचित्र कविताको अभिनेत्री थिइन् : माला सिन्हा । उक्त चलचित्रका अरू हस्ती थिए, कमल हसन, रणजित मल्लिक, अनिल चटर्जी, समित पान्जा इत्यादि ।

सिनेमा संसारमा स्थापित आफनो प्रतिभालाई नेपालीसँग लुकाएर संसारमा प्रदर्शित गर्ने नायक हुन्— भरतशमशेर । राजनीतिक हिसाबले उनलाई जसले जे भने पनि हुन्छ । उनी थिए ठेट लोकतन्त्रवादी । देशमा लोकतान्त्रिक राजनीतिक कू भएर निर्वाचित प्रधानमन्त्री थुनिएपछि आफू र आफ्नो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराउने लोकतन्त्रवादी ।

प्रकाशित :भाद्र ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्