विदेशी सेलिब्रेटीको नेपाल डेस्टिनेसन

  • फर्केर आउने वाचा अधुरै

- रामजी ज्ञवाली

भाद्र २, २०७५

 

सुन्दरताका हिसाबले नेपाललाई कसैले पछि पार्न सक्दैन भन्ने कुरामा अब दुईमत रहेन । बर्सेनि बढिरहेका पर्यटक तथा विश्वविख्यात सेलिब्रेटीको नेपाल आगमनले पनि यो कुरालाई पुष्टि गर्छ । पर्यटकीय दृष्टिले नेपाल वास्तवमै गज्जबको छ † यही आकर्षणका कारण पनि अभिनय, गीत–संगित तथा विश्वको रंगीन दुनियाँमा ख्यातिप्राप्त सेलीब्रेटीहरूले बेलाबखत नेपालको भ्रमण गर्दै आएका छन् ।

बलिउड स्टार सलमान खान दोस्रो पटक नेपाल आउने कुरा अझै सेलाएको छैन । उनी द दबंग टुरअन्तर्गत काठमाडौं आउने कार्यक्रम पटक–पटक सरेको छ । सलमान यसअघि चलचित्र बुलन्दीको छायांकनका लागि नेपाल आएका थिए । सलमानले त्यतिबेला काठमाडौं नजिकका पर्यटकीय स्थलको भ्रमणसमेत गरे । यद्यपि सलमान अभिनीत उक्त चलचित्र विभिन्न कारणले प्रदर्शनमा आउन सकेन । सलमान नेपालप्रति भावनात्मक रूपमा भने निकै नजिक छन् । त्यतिबेला उनले भनेका थिए, ‘नेपाल निकै सुन्दर छ, फेरि आउनेछु ।’ सलमानले भूकम्पका बेला आर्थिक तथा भौतिक सहयोगसमेत गरेका थिए । 

शाहरूख खान २०७१ मा नेपाल आए । कान्साई न्यारोलेक पेन्ट्सले आयोजना गरेको कार्यक्रमका लागि नेपाल आएका थिए, त्यतिबेला शाहरूखलाई भेट्न सयौं प्रशंसक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । शाहरूख पर्याप्त समय मिलाएर नेपाल आउने वाचा गरी भोलिपल्टै मुम्बई फर्किए ।

बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ उपमा पाएका आमिर खान चलचित्रका लागि जति चर्चित छन्, उनले उति नै ख्याति कमाएका छन् सामाजिक अभियन्ताका रूपमा । आमिर केही वर्षअघि राष्ट्रसंघीय बालकोष युनिसेफको बालबालिकाको पोषणसम्बन्धी कार्यक्रमका लागि नेपाल आएका थिए । नेपाल सरकार तथा युनिसेफ काठमाण्डु कार्यालयको संयुक्त पहलमा तीनदिने भ्रमणमा आएका आमिर काठमाडौंपछि लुम्बिनी गएका थिए । आमिरले पनि त्यतिबेला आफूलाई नेपाल एकदमै मन परेको भन्दै परिवारलाई लिएर पुन: आउने कुरा बताएका थिए । खानले लुम्बिनीलाई विश्वभरिकै भ्रमण गर्न लायक उत्कृष्ट गन्तव्य भन्दै प्रशंसा गरेका थिए ।

लियोनार्दो डिक्याप्रियो सर्वाधिक रुचाइएका हलिउड कलाकार हुन् । चलचित्र एवार्डमा संसारकै सबैभन्दा प्रतिष्ठित मानिने ओस्कार एवार्डसमेत जितिसकेका लियोनार्दोले २०१० मा नेपाल भ्रमण गरेका थिए । त्यतिबेला उनी बर्दिया राष्ट्रिय निकुन्जको भ्रमण गरी फर्किएका थिए । त्यसबेला डिक्याप्रियो बाघ संरक्षणको विश्वव्यापी अभियानका लागि नेपाल आएका थिए । 

गायिका सेलेना गोमेजले नेपालको भ्रमणपछि पुन: आउने सोच बनेको कुरा बताएकी थिइन् । जस्टिन बिबरसँग प्रेमसम्बन्धमा रहेका बेला उनी २०१४ मा युनिसेफको गुडविल एम्बेस्डरका रूपमा नेपाल आएकी थिइन् । उनले त्यतिबेला पश्चिम तराईको भ्रमण गरिन् । 

हलिउड कलाकार रिचार्ड ग्रे पटक–पटक नेपाल आएका छन् । ६८ वर्षीय रिचार्डले पहिलो पटक १९७८ मा नेपालको भ्रमण गरेका थिए । धार्मिक प्रयोजनका लागि समय–समयमा नेपाल आउने ग्रे मिडियालाई भने आफ्नो भ्रमणको सुइँको दिँदैनन् ।

क्यानेडियन गायक ब्रायन एडम्स २०११ मा नेपाल आएका थिए । नेपालमा अहिलेसम्म भएका सांगीतिक कार्यक्रममध्ये सबैभन्दा बढी रुचाइएको सांगीतिक कार्यक्रम ब्रायन एडम्सकै मानिन्छ । उक्त कन्सर्ट २०११ को फेब्रुअरीमा भएको थियो, जहाँ २० हजार दर्शक झुमेका थिए । 

अमेरिकी कलाकार, निर्देशक तथा संगीतकार स्टिभन सिगलले कैयन् पटक नेपाल भ्रमण गरेका छन् । उनी तिब्बतमा भिक्षुका रूपमा समेत बसेका छन् । हिमालय पाण्डा संरक्षण समितिको सस्थापकमध्येका एक स्टिभन चलचित्र क्षेत्रमा कहलिएको नाम हो । 

भूकम्प गएको दुई महिनापछि हलिउड सेलिब्रेटी ज्याकी च्यान राहत वितरणमा सहयोग गर्न नेपाल आए । उनले भूकम्पपीडितहरूलाई ज्याकी च्यान फाउन्डेसनमार्फत विभिन्न सामग्री वितरण गरेका थिए । भूकम्प प्रभावित क्षेत्रमा पुगेर आफैंले राहत सामग्री वितरण गरेपछि सारा विश्वका मिडियाको ध्यान ज्याकीतर्फ तानिएको थियो ।

१६ पटक ग्रामी एवार्ड जित्ने गोर्डन माथ्युलाई धेरैले स्टिङ्गका रूपमा चिन्छन् । उनी प्रख्यात गायक तथा संगीतकार हुन् । म्याथ्युले २००५ तथा २००८ मा नेपाल आएर र्‍याफ्टिङ, ट्ेरकिङ एवं दृश्यावलोकन गरेका छन् । उनले ठमेलको ज्याज बारमा लोकल ब्यान्डसँग गीतसमेत गाएका थिए ।

झन्डै तीन दशकदेखि गायनमा सक्रिय रिकी मार्टिनले गाएका गीत धेरैको मन–मुटुमा बस्न सफल छन् । युवापुस्ताका लोकप्रिय गायक रिकीले दुई पटक नेपाल आएर भ्याकेसन मनाएका छन् । १९९९ र २००० मा नेपाल आएका रिकीले त्यतिबेला ७ दिनको ट्ेरकिङसमेत गरेका थिए ।

बलिउडका अभिनेता अक्षय कुमार पनि नेपाल आएका छन् । काठमाडौंको बौद्धस्थित होटल हायातमा बसेका अक्षयले बौद्ध स्तूपका तस्बिर इन्स्ट्राग्राममा राख्दै बौद्ध स्तूपलाई संसारकै सबैभन्दा सुन्दर प्रार्थनास्थल बताएका थिए । 

हलिउडका फाइट मास्टर सेरिल राफेइलीसमेत नेपाल आएका छन् । उनी एक चलचत्रिको द्वन्द्व निर्देशनका लागि नेपाल आएका थिए ।

बलिउडकी अभिनेत्री सन्नी लियोनी पटक–पटक नेपाल आएकी छिन् । जिंक भोड्काले आयोजना गरेको पार्टीमा सहभागी हुन उनी पछिल्लो पटक नेपाल आएकी थिइन् । सन्नी दुई वर्षअघि पनि नेपालमा आएकी थिइन् । 

अभिनेत्री सोनाक्षी सिन्हा २०१६ मा नेपाल आएकी थिइन् । काठमाडौको टुँडिखेलमा सञ्चालित ‘अमरपन्छी’ कार्यक्रममा सहभागी हुन उनी सँगै चर्चित अभिनेत्री मलाइका अरोरासमेत नेपाल आएकी थिइन् ।

चर्चित अभिनेत्री माधुरी दीक्षित केही वर्षअघि चलचित्र आरजुको छायांकनका लागि नेपाल आएकी थिइन् । त्यतिबेला उनले नेपालको सुन्दरताबाट मोहित भएको बताएकी थिइन् । यद्यपि उनको केही भनाइ त्यतिबेला विवादमा समेत तानियो ।

भारतका अर्का चर्चित अभिनेता हुन्— सैफ अली खान । सैफ चलचित्र आरजुको छायांकनका लागि नेपाल आएका थिए । नेपालको छोटो बसाइमा पनि उनले काठमाडौं वरपरका केही स्थानको भ्रमण गरेका थिए ।

दरबारमार्गस्थित मेरीगोल्ड ज्वेलरी उद्घाटन गर्न भारतकी चर्चित अभिनेत्री करिश्मा कपुर गत वैशाखको अन्तिममा नेपाल आइन् । उनको यो दोस्रो नेपाल भ्रमण थियो । यसअघि उनी १५ वर्षअघि पनि घुमघामका सिलसिलामा नेपाल आएको बताइन्छ । हाल आफ्ना छोराछोरी हुर्काएर जीवन बिताइरहेकी करिश्माले साप्ताहिकसँगको अन्तरवार्तामा भनेकी छिन्– ‘वास्तवमा मलाई नेपालमा लामो समय बस्न मन थियो । यद्यपि व्यक्तिगत कारणले यसपटक त्यो सम्भव भएन, तर भ्रमण छोटो भए पनि असाध्यै मीठो भयो । सबैको माया पाएर असाध्यै खुसी लाग्यो ।’ करिश्माले अर्को पटक काठमाडौं र नेपालका रमणिय स्थानको ढुक्कसँग भ्रमण गर्ने गरी आउने समेत बताएक थिइन् ।

भारतीय चलचित्रका सदाबहार अभिनेता देव आनन्दले तीन दर्जन चलचित्रको निर्माण गरे । देव आनन्दको राजा महेन्द्रसँग राम्रो सम्बन्ध भएकाले उनी बेला–बेलामा नेपाल आइरहन्थे । आनन्दले अभिनय गरेका हरे राम हरे कृष्णा, जोनी मेरा नाम र इश्क इश्क ईश्क चलचित्रको छायांकन नेपालमा गरिएको थियो, जतिबेला उनी लामो समय नेपाल बसेका थिए । नेपालमा ७० को दशकमा चलेको हिप्पी संस्कृतिको सेरोफेरोमा निर्माण गरिएको चलचित्र हरे राम हरे कृष्णले नेपाली संस्कृति तथा रहनसहनलाई बाहिरी विश्वमा चिनाउन मद्दत गरेको थियो । नेपालसँग आत्मीय सम्बन्ध रहेको बताउँदै आएका देव आनन्दले दरबार हत्याकाण्डसम्बन्धी चलचित्र निर्माण गर्ने घोषणासमेत गरेका थिए, यद्यपि उनको रहर पूरा हुन सकेन । उनको सात वर्षअघि बेलायतमा ह्दयाघातका कारण निधन भयो । 

बलिउड अभिनेत्री जुही चावला हालसालै नेपाल भ्रमणमा थिइन् । जुही नेपाल बसाइका क्रममा काठमाडौं वरपरका केही आकर्षक ठाउँ घुमिन् । उनले बौद्धनाथमा तस्बिर खिचाउँदै त्यहाँको सुन्दरताको प्रशंसा गरिन् । जुहीले ललितपुरस्थित पाटन दरबार स्क्वायर तथा धुलिखेलस्थित द्वारिकाज वेलनेस होटल पुगेर सुन्दर तस्बिर खिचेर ट्विटरमा राखिन् । उनले नेपाल निकै सुन्दर र हरियाली आकर्षक रहेकाले असाध्यै मन परेको बताईन । 

भारतका महानायक अमिताभ वच्चन धेरै वर्षअघि नेपाल आएका थिए । समय–समयमा नेपालप्रति चासो राख्दै आएका अमिताभले ३३ वर्षअघि नेपालको भ्रमण गरेका थिए । त्यतिबेला उनी चलचित्र महानको छायांकनमा व्यस्त थिए । उक्त चलचित्रको छायांकन भक्तपुरलगायत काठमाडौंका केही स्थानमा गरिएको थियो । त्यसअघि सन् १९९१ मा अमिताभ चलचित्र खुदागवाहको छायांकनका बेला पनि नेपालमा आएका थिए । उक्त चलचित्रमा अभिनय गर्न श्रीदेवीसमेत नेपाल आएकी थिइन् । उक्त चलचित्रको छायांकन जोमसोममा भएको थियो ।

भारतका चर्चित गायक सोनु निगम लभ ईन नेपाल चलचित्रको छायांकनका बेला नेपाल आएका थिए । सोनुले उक्त चलचित्रमा झरना बज्राचार्यसँग अभिनय गरेका छन् । त्यसअघि उनले पोखराको एक कार्यक्रममा प्रस्तुति समेत दिएका थिए । सोनुले नेपालमा हुने एक कार्यक्रमका लागि पुन आउने बताए पनि विविध कारणले उक्त कार्यक्रम रोकिएको थियो । नेपाल आएका बेला उनले पोखरा र काठमाडौंका केही स्थानको भ्रमण भने गरेका थिए ।

अभिनेता विनोद खन्नाले विभिन्न समयमा नेपाल भ्रमण गरे । केही कार्यक्रमको सिलसिलामा नेपाल आएका खन्ना भारतमा सांसदसमेत थिए । ७० वर्षको उमेरमा १४ वैशाख २०७४ मा स्र्वारोहण भएका खन्नाले नेपाल प्रकृतिले दिएको सुन्दर उपहार हो भन्दै प्रशंसा गरेका थिए । 

यसैगरी गोविन्दा, शत्रुघ्न सिन्हा, सुभाष घई, मनोज बाजपेयी आदि कलाकार पनि बेला–बेलामा नेपाल भ्रमण गरिसकेका छन् । 

प्रकाशित :भाद्र २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्