आशान्तको अशान्त मन

- किशोर नेपाल

भाद्र २, २०७५

आशान्त– जसरी हामी बोल्छौं त्यस्तो अशान्त होइन । शब्दको अर्थ न त एकता बुक्सको नेपाली–अंग्रेजी शब्दकोशले दिन सकेको छ, न त नेपाल एकेडेमीको बृहत् नेपाली शब्दकोशले । कलाकारहरू यस्तै हुन्छन् । यतिखेर, कुनै सिनेमा हलमा कलाकार सुनिल पोखरेल र कलाकार अनुप बरालले शब्द ज्योतिषको फेला परेर उनीहरूसँग आफ्नो नाममा उपस्थित भएका अक्षरहरूमा एक–दुई मिल्ने अक्षरलाई ब्याजजस्तै एडिसनल शुभ–अक्षरका रूपमा थप्ने सल्लाह ती ज्योतिषले दिए भने ती कलाकारले के गर्लान् ? सुनिलले ‘एन’ पछि ‘इ, इ र इ’ थप्लान् । अनूपले ‘एएन’ पछि चारवटा ‘ओ’ र अनि मात्र पी जोडलान् । जे होस्, यो साता यहाँ प्रस्तुत भएका आशान्तले आफ्नो नाममा अतिरिक्त अक्षरको ब्याज थप्ने प्रयास गर्ने छैनन् । 

आशान्त सुनिल पोखरेल र अनुप बरालका गुड ब्वाय हुन । आशान्त यी दुई भाइलाई समकालीन नेपाली नाटकको आधारस्तम्भ मान्छन् । उनी आफैं यी दुवै गुरुका गुड ब्वाय हुन् । एकपटक असल बन्ने बानी लागेपछि मानिस ब्याड हुनै सक्दैन । ‘आशाको अन्त्यसम्म’ उनले बोल्दाबोल्दै मैले रोकें– आशाको अन्त्य भएपछि त सक्किइहाल्यो नि । आशाको अन्त्यसम्म नपर्खी आशान्तले जवाफ दिए, ‘रंगमञ्चप्रति त्याग, समर्पण र शिल्पी भएका कलाकार पाउनै गाह्रो छ । नाटकको सानो स्टेज र सिनेमाको ठूलो पर्दामा ठूलो अन्तर छ । मानवीय संवेदनाका हिसाबले हेर्ने हो भने स्टेजका कलाकारहरूको प्रत्यक्ष सम्पर्क रहन्छ दर्शकसँग । मानवीय संवेदना भएका दर्शकले नाटकका कलाकारलाई मायाले जिस्क्याउन, परिचालित गर्न र कुममा कुम जोडेर तस्बिर खिचाउन सक्छन् । 

सिनेमाका कलाकार र नाटकका कलाकार, यी दुवैथरीको ‘इगो’ को संसार ठूलो हुन्छ अनि जटिल पनि । नेपाली नाटक वा सिनेमामा यो इगोको खेल वडो रमाइलोसँग देख्न पाइन्छ । जे कुरा अस्तित्वमा आइसकेको हुन्छ त्यसलाई रिपिट गर्नुको औचित्य हुँदैन । यद्यपि त्यही एउटा कुरा सवैले चाहेका हुन्छन् । आशान्त आफैंले निर्माण गरेका ‘तीन एकान्त’ मा अनुप थिए । वर्तोल्त व्रेख्तको नाटक थियो त्यो । पूरा अनुवाद होइन, एडप्सन । पूरा त गाह्रो छ अनि यी आशान्त भाइले सआदत हसन मन्टोका कथाहरू पढेका छन् ।

 विजय तेन्दुलकर र गिरीश कर्नाड नाटकमा अभिनय गर्ने अथवा नाटकमा रुचिराख्ने सबैले पढ्नैपर्छ । मन्टोका कथा पढ्नेहरू भयमुक्त र स्वावलम्बी हुन्छन् । मानिस त एउटा जीवित ढिस्को हो माटोको । जब त्यसमा नयाँ विचार र दृष्टिकोण भरिन थाल्छ, त्यसपछि मात्र मानिस समग्र हुन्छ । कला, साहित्य र सिर्जनाले विद्रोहको हाँक दिन्छ । शून्य चेतनाको मानिसलाई म सचेत हुँ भन्न सिकाउनु र बोल्न लगाउनु हामी कलाकार आफंैले सुरु गरेको काम हो । हामीले हामीभन्दा अघिका कलाकारहरूलाई पछ्यायौं । त्यो बाध्यता पनि थियो । कति थिए र नाटककार त्यतिबेला । हामीले विवरण लेख्न सिक्यौं, ‘गाइ एउटा चारखुट्टे जनावर हो । यसका चार खुट्टा हुन्छन् । हामीले गाइ भन्ने शब्दैपिच्छे चारखुट्टे लेखिरहनु पर्दैन भन्ने धेरै ढिलो थाह पायौं ।’

आशान्तालाई राज्यले व्यावसायिक ‘सोच’ प्रशस्त दिए पनि ‘स्रोत’ दिने कुरा सोचेको छ जस्तो लाग्दैन । प्रज्ञा–प्रतिष्ठान, कला प्रतिष्ठान, संगीत–नाटक प्रतिष्ठान, अरू पनि होलान् तर यी सरकारका संस्थाहरू एक त लोकतान्त्रिक छैनन् । दोस्रो स्वेच्छाचारी छन् । त्यसमाथि पनि कला, संगीत, नाटक र प्राज्ञको समाजमा पनि अचाक्ली दलाली छ । कलाकार, निर्देशक सबले यस्ता दलालहरूबाट आफैं जोगिनुपर्छ । अहिलेको पद्धतिमा राज्यले स्रोतको खर्च राम्रोसँग गरिँदैन । जहाँ अपुग छ, जहाँ विकास छैन : सरकारका आँखा त्यहाँ पो पुग्नुपर्छ । अब दलालहरू प्रज्ञा–प्रतिष्ठानहरूमा हाबी छन् भने गर्ने के ?

प्रकाशित :भाद्र २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्