पैसा : दु:खको मुहान

- अधिकारी रवीन्द्र

भाद्र १, २०७५

 

पैसा जीवन जिउने साध्य होइन, साधन मात्र हो तथापि सालनाल काट्नदेखि अर्थी उठाउनसम्म पैसाको आवश्यकता पर्छ । गरिबलाई पैसाको अभाव छ, धनीलाई पैसाले पुगेको छैन । ओछ्यानबाट उठेदेखि पुन: ओछ्यानमा आएर नढलुन्जेलसम्म पैसाकै लागि दौडन्छ मान्छे । परेली निदाए पनि पैसा कमाउने योजना बुन्छ मान्छे, तर जिन्दगीचाहिँ मनग्य पैसा भए पनि चल्छ र हुँदै नभए पनि चल्ने रहेछ । 

पैसा देखेपछि जस्तै मै हुँ भन्नेको पनि मुखमा पानी आइहाल्छ । एक दिन त्यस्तै चमत्कारिक घटना घट्यो । शनिबारको दिन दिउँसो मध्यघाममा म र गौतम श्रेष्ठ दाइ उहाँको स्कुटरपछाडि बसेर एउटा भोजमा जाँदै थियाँै । लोकन्थलीको ओरालोमा एउटा यस्तो अजीवको नजारा देख्ने सुअवसर प्राप्त भयो कि त्यो कसैले कि त सपनामा देख्छन् कि त फिलिममा । 

अगाडिबाट सरर्र पनौतीको मिनिबस जडीबुटीतर्फ हुँईकियो । त्यसको गतिले धूवाँ र धूलोको साथसाथमा हजारका थुप्रै नोट वायुमण्डलभरि उडायो । एकछिन विश्वासै लागेन । गाडी निकै पर पुग्यो । हामी अगाडि रहेका केही बाइक र स्कुटर धर्मरिँदै रोकिए । ती सबै आश्चर्य र संशयले भर्दै पालाकपुलुक एक अर्काको अनुहारमा हेर्न थाले । गौतम दाइले स्कुटर मन्द गतिमा अघि बढाउनुभयो । यसबीच मैले चारैतिर नजर दौडाएँ । क्यामेरा कतै छैन । विश्वस्त भएँ– फिलिमको सुटिङ होइन, प्य्राङ्क भिडियो पनि होइन र हाम्रो स्कुटर सबैभन्दा अगाडि गएर रोकियो । पिच सडकमा धुलो लागेका हात्तीछाप नोटहरू सर्वत्र छरिएको देख्दा लगभग पागलै भइने रहेछ, विशेष गरी त्यस्तो बेला जतिबेला त्यसको स्वामित्व कसैले जाहेर गरेको हुँदैन । 

गौतम दाइको कानमा मैले खासखुस गरेँ– ‘नक्कली नोट ?’ गौतम दाइले हकार्दै भन्नुभयो– ‘हरे, के ट्वाँ परेर बसिरा’ ? नक्कली न सक्कली जानुस् भन्या टिप्न छिटो ।’ त्यतिबेलासम्म पैसा टिप्ने सोच कसैको दिमागमा आइसकेको थिएन । सब अकमक्क । म स्कुटरबाट ओर्लिएर पैसाको बाक्लो थाक भएको ठाउँतिर तुफानी वेगमा हुर्रिएँ । सास नफेरी टिप्दा २० सेकेन्डमा मैले ६० हजारजति जम्मा गरँे हुँला । त्यतिन्जेल पछाडि ट्राफिक जाम भैसकेको थियो र अगाडि घचेडाघचेड गर्दै मानिसहरूको भीड जम्मा भयो । सल्याङबल्याङ हातहरूले तानातान र खोसाखोस गर्दा कति नोट आँखै अगाडि च्यातिए । कोही घोप्टो परेर नालीमा परेको पैसा टिप्दै थिएँ । अब त्यहाँ पैसा टिपेर टिपिसाध्य थिएन । एउटा सेडानबाट ओर्लिएर चस्मा लगाएकी हेर्दै खान्दानी लाग्ने मोटी महिला अगाडिका मानिसहरू पेलपाल गर्दै पैसा टिप्न थालिन् । म वाल्ल परँे । यसरी शान्त राजमार्ग पैसाको आगमनले १ मिनेटमै कुरुक्षेत्रमा परिणत भयो । म भीडबाट छलिँदै स्कुटरमा आएर बसँे । हाम्रो स्कुटर अघि बढ्यो । 

हाम्रो मन १ सय ८० डिग्रीमा घुमिसकेको थियो अर्थात् हामी अब विवाहमा जानेवाला थिएनौँ । त्यो छोटो अन्तरालमा मैले जे–जे सोच्न भ्याएँ, गौतम दाइले तत्तत् सोच्न भ्याइसक्नुभएछ । मुठ्ठीभरी भएको नेपालकै सबैभन्दा ठूलो नोट काठमाडौंको बजारमा आधा दिन लगाएर सक्ने बिचार दुवैको मनमा आइसकेको थियो । त्यो रकमले जे–जे आउँछ त्यो सब किन्नँ चाहन्थ्याँै हामी । आधा दिनकै लागि भए पनि हामी काठमाडौं सहरले त्यो पैसामा दिन सक्ने सम्पूर्ण मस्ती खरिद गर्न चाहन्थ्यौँ । अनपेक्षित धनलाभका कारण हाम्रो ओठ अनियन्त्रित हाँसो हाँसिरहेको थियो । पछाडि के भैरहेछ हामीलाई पर्वाह थिएन । फूलबुट्टे सोचले दिमाग त्यसै–त्यसै तरङ्गित थियो ।

गौतम दाइले भन्नु भयो– ‘कस्तो गर्मी, सीधै सातदोबाटो गएर पौडी खेल्ने है ? मैले थपे– ‘अनि दरबारमार्ग गएर खाना खाने ।’ मनोहरा पुल नसकिँदै एउटा पल्सर हाम्रोअघि आएर तेर्सियो । अगाडि हट्टाकट्टा केटो, पछाडि ढाका टोपी लगाएका एक जना चाउरे बुढा थिए । केटोले भन्यो– ‘हेर्नुस् दाइ, त्यो हाम्रो पैसा हो । 

बुवाको ब्यागको फस्नर खुस्केर बाटोभरि झरेको । दिइहाल्नुस् छिटो, अरूलाई पनि रोक्नु छ ।’ अब त्यहाँ पैसा फिर्ता दिनुको विकल्प थिएन । हिस्स बुढी हरिया दाँत भन्ने उखान सायद यस्तै बेलामा प्रयोग गर्न बनाइएको होला । ती हात्तीका बथान मैले गोजीमा कोच्न पनि भ्याइसकेको थिइनँ । ६० हजारको गह्रुङ्गो मुठ्ठी उचालेर पैसा थमाउँदा मेरो अन्तरआत्माले ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत गायो । पसिनाले निथ्रुक्कै भिजेको हातमा हजार–हजारको नोटको अपत्यारिलो गन्धमात्र बाँकी थियो । रिक्त मन लिएर अब हामी पुन: पेप्सिकोला पार्टी प्यालेसतर्फ जाँदै थियौं– दुई कान बाजा सुन्न र एक पेट भोक मार्न । 

हावामा उडेर आयो, मोटरसाइकलमा गुडेर गयो । यसमा दु:ख मनाउ गर्नुपर्ने कुनै कारण थिएन, तैपनि किन मन यतिविघ्न दु:खी र असन्तुष्ट भयो ? हामी जुन उमङ्गका साथ विवाहमा सरिक हुन हिंडेका थियौं त्यो सबै पैसा सँगै उडेर गयो । किनभने पैसा नै सबै दु:खको मुहान हो । भ्रमात्मक सुखका लागि हामी पैसा कमाउन दगुर्छौं, तर वास्तवमा यसले दु:ख मात्र सिर्जना गरिरहेको हुन्छ । पैसाले बाहिरी सुख देला तर भित्री खुसी दिन सक्दैन, किनभने यसले मानिस किन्न सक्छ तर इमान खरिद गर्न सक्दैन । 

facebook.com/AdhiQarie/

ravinems@iom.edu.np

प्रकाशित :भाद्र १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्