गैरविषालु सर्प

- साप्ताहिक संवाददाता

श्रावण ३१, २०७५

गैरविषालु सर्प

संसारमा उपलब्ध २ हजार ८ सय गैरविषालु सर्पका प्रजातिमा सबैभन्दा ठूलो सर्प एनाकोन्डा हो जुन अमेजनको जंगलमा पाइन्छ । यो सूचीको दोस्रो स्थानमा दक्षिण एसियामा पाइने अजिंगर छ भने तेस्रो स्थानमा मिल्क स्नेक भनिने सर्प छ । मुसाको मुख्य शत्रु मानिने उत्तर अमेरिकामा पाइने ब्ल्याक र्‍याट स्नेक विषरहित सर्पको सूचीमा चौथो स्थानमा छ भने पाँचौं स्थानमा अमेरिकी उपमहाद्वीपमा पाइने बुल स्नेक छ । यो सूचीको छैटौं स्थानमा रफ ग्रिन स्नेक छ, जुन दक्षिण अमेरिकाको जंगलमा पाइन्छ । सातौं स्थानमा दक्षिण अमेरिकाको जंगलमा पाइने एमरल्ड ट्री बोआ प्रजातिको सर्प छ । यो सर्प अजिंगरजस्तो देखिन्छ भने उड्न पनि सक्छ । 

यो सूचीको आठौं स्थानमा स्टर्न गार्टर स्नेक छ । उत्तर अमेरिकाको जंगलमा पाइने यो सर्प प्राय: घाँसेमैदानमा पाइन्छ । सूचीको नवौं स्थानमा फोर लाइन स्नेक छ । शरीरमा चारवटा समानान्तर धर्का हुने यो सर्प युरोपको घाँसेमैदानमा पाइन्छ । सूचीको अन्तिम स्थानमा उत्तरपूर्वी अमेरिकाको नदी तथा ताल क्षेत्रमा पाइने नर्दन वाटर स्नेक छ । यो सर्प प्राय: गरेर ताजा पानीमा बस्न रुचाउँछ । रमाइलो कुरा के छ भने विषालु सर्पको तुलनामा गैरविषालु प्रजातिका सर्प अत्यन्तै सुन्दर देखिन्छन् । यी सर्प गैरविषालु भए पनि डरलाग्दो आवाज निकाल्न खप्पिस हुन्छन् । त्यसैले पनि शत्रुहरू उनीहरूसँग डराउँछन् । 

विषालु सर्प

संसारमा उपलब्ध ३ हजार ४ सयभन्दा बढी प्रजातिका सर्पमा ६ सय जति प्रजातिमात्र विषालु हुन्छन् । तीमध्ये सबैभन्दा विषालु सर्प अमेरिकामा पाइने र्‍याटल स्नेक हो । यो सूचीको दोस्रो स्थानमा अस्ट्रेलिया तथा न्युुगिनी क्षेत्रमा पाइने डेथ एडर प्रजातिको सर्प छ । तेस्रो स्थानमा मध्यपूर्व तथा मध्यएसियामा पाइने भाइपर वर्गका सर्प छन् भने फिलिपिन्स कोब्रा चौथो विषालु सर्प हो । पाँचौं विषालु सर्प अस्ट्रेलियातिर पाइने टाइगर स्नेक हो भने अफ्रिकी महादेशमा पाइने ब्ल्याक माम्बा यो सूचीको छैटौं स्थानमा छ ।

सातौं विषालु सर्प अस्ट्रेलियामा पाइने ताइपान प्रजातिको सर्प हो । मलेसियाको जंगलमा पाइने नीलो करेत प्रजातिको सर्प यो सूचीको आठौं स्थानमा छ । यो सूचीको नवौं स्थानमा स्टर्न ब्राउन स्नेक छ । अस्ट्रेलियाको मरुभूमिमा पाइने यो सर्प अहिले लोपोन्मुख छ । दसौं विषालु सर्पमा फियर्स स्नेक अथवा इनल्यान्ड टाइपान हो । हाम्रोतिर पाइने सर्वाधिक विषालु भनिएको राज गोमन विषालु सर्पको यो सूचीमा निकै पछाडि छ ।

सर्पको विषको मूल्य

पृथ्वीमा उपलब्ध सर्पमध्ये सबैभन्दा विषालु नभए पनि राजगोमन सर्पको विष सबैभन्दा महँगो मानिन्छ । १ ग्यालेन राजगोमन सर्पको विषको मूल्य १ लाख ५३ हजार डलर पर्छ । राजगोमनको १ ग्यालेन विष एउटा हात्तीको बथानलाई मार्न पर्याप्त हुन्छ । राजगोमनको विषमा पाइने विशेष प्रकारको प्रोटिनलाई ओहानिन भनिन्छ । यो तत्त्व मर्फिनभन्दा २० गुणा बढी नसालु हुन्छ । त्यसैले औषधी विज्ञानले प्रभावकारी पेनकिलर निर्माण गर्न ओहानिन नै प्रयोग गर्छ ।

 

 

प्रकाशित :श्रावण ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्