साहित्यकारहरूको सवारी

- नरेन्द्र रौले

श्रावण ३१, २०७५

 

मदन पुरस्कार विजेता लेखक युवराज नयाँघरे काठमाडौं छिरेको ३५ वर्ष भयो । त्यति नै भयो, उनले सार्वजनिक सवारी साधन चढ्न थालेको । यस क्रममा उनले थुप्रै निबन्ध लेखे । मदन पुरस्कार प्राप्त एक हातको ताली पुस्तकमा एउटा अध्याय छ– जाबो १८ हजार जसमा गाडी चालक र सहचालकको मनोदशा तथा प्रवृत्तिलाई मिहिन ढंगले केलाइएको छ । उनका अरू पनि निबन्ध छन्, जुन सार्वजनिक सवारी साधनमा यात्राको अनुभवबाट जन्मिएका हुन् । लासमाथि प्याज, वैशाखका पाहुनाहरू केही प्रतिनिधि 

निबन्ध हुन् ।

गाडी किन्ने विचार छैन ? नयाँघरेसँग सोधियो । लगत्तै छैन । म सार्वजनिक सवारी साधन नै चढ्न रुचाउँछु । हालैको एक भेटमा उनले भने । सार्वजनिक यातायातमा हिंड्दा नेपाली समाजका विविध पाटासँग साक्षतकार हुने उनको अनुभव छ । कलेजका विद्यार्थीहरूको बोली, भाषा र संवाद बुझ्न कहिलेकाहीं उनी बिहानै ५ बजे उठेर गाडी चढ्छन् । जब उनी सार्वजनिक यातायातमा कसैले पुस्तक पढेको देख्छन्, त्यो दृश्य सबैभन्दा सुन्दर लाग्छ । यी सबै दृश्य नियाल्न पाइने भएकाले नयाँघरे निजी गाडी किन्ने सोचमा छैनन् । बाइक पनि किनिन्न । ट्रायल दिने आँट नै छैन । नयाँघरे भन्छन्— झुन्डिएर यात्रा गर्नुपरे पनि त्यही बस–ट्याम्पु ठीक छ ।

अर्का लेखक अमर न्यौपाने पनि सार्वजनिक सवारी साधन नै प्रयोग गर्छन् । उनले ०५८ देखि ०६८ सम्म १० वर्ष बाइक चलाएपछि बेचिदिए । अर्को किन्छु भन्ने उद्देश्यले वाइन बेचेका न्यौपाने त्यसपछि पूरै लेखनमा समर्पित भए । पुस्तकको रोयल्टी अन्तै लगानी गरेकाले उनी तत्काल सवारीसाधन किन्ने सोचमा छैनन् । किने भने बाइक नै किन्छु । उनले भने— सवारीसाधन किन्न भन्दा त्यसलाई धान्न गार्‍हो हुन्छ । आफ्नो सवारी साधन नहँुदा यात्रा गर्न धेरै सास्ती झेल्नुपरेको न्यौपानेको अनुभव छ । भनेको समयमा गाडी पाइँदैन । पाइए पनि सिट पाइँदैन । ट्राफिक जामले गर्दा भनेको समयमा गन्तव्यमा पुग्न सकिँदैन । बाटाहरू सार्‍है साँघुरा छन् । धूलो–धूवाँ तथा भीडभाड पनि उस्तै हुन्छ । यस्तोमा गाडीमा यात्रा गर्दा उनलाई बसमा होइन, गाडामा हिंडेको जस्तो लाग्छ ।

सार्वजनिक सवारीमा यात्रा गर्दा न्यौपाने मानिसहरूलाई मज्जाले पढ्छन् । मानिसहरूको भाव, भंगीमा गहिरोसँग नियाल्छन् । उनलाई गाडीमा गाउँ जानुपर्दा वा अलि टाढा, लामो यात्रा गर्दा रमाइलो लाग्छ । सँगै बसेको मानिसले खाजा खाएको, पानी पिएको देख्दा र उनीसँग कुराकानी गर्दा उपन्यासको पात्र फेलापरे जस्तो लाग्छ । गाउँतिर छोटो यात्रामा पनि मानिसहरू एक–अर्काप्रति हार्दिकता देखाउँछन्, काठमाडौंमा भने बोल्दैनन् । न्यौपानेको बुझाइमा सहरका मानिसहरूको आँखामा कुनै सपना देखेजस्तो, एकोहोरो भाव देखिन्छ । काठमाडौंमा मानिसहरूको आँखामा आफ्नो सपनासम्म पुग्छु कि पुग्दिन भन्ने चिन्ता हुन्छ । न्यौपाने भन्छन्— विद्यार्थीहरूको आँखामा विदेशको सपना हुन्छ । मोबाइलमा खेलिरहेका, इयरफोन लगाएका दृश्यले उनलाई तान्छ । सहरमा धेरैले मास्क लगाउने हुनाले अनुहार पनि हेर्न पाइँदैन । त्यो देख्दा भने सहरमा बुर्का युग सुरु हँुन बाँकी भएजस्तो लाग्छ । 

साहित्यकार उषा शेरचनले आफ्नो निजी गाडी चलाएको २२ वर्ष भयो । सुरुमा उनी निशान गाडी चलाउँथिन्, त्यसपछि हुन्डाईको एक्सेन्ट चलाइन् । यतिबेला भने टोयोटा कोरोला र सुजुकीको ब्रेजा हाँक्छिन् । निजी गाँडी हाक्दा उनले बाटोघाटो र गाडीका बारेमा थुपै्र अनुभव बटुलिन् । टोयोटा चिल्ला बाटोका लागी बनाइएको हो भने ब्रेजा काठमाडौंको बाटोका लागि सुहाउँदो छ । यसले माइलेज पनि बढी दिने उषाको अनुभव छ । अहिले सहरमा मोटरको संख्या बढे पनि पार्किङको सुविधा भने बढेको छैन । शेरचन भन्छिन्– यी गाडी मेरा श्रीमान् र छोराको पैसाले किनेको हो । साहित्यबाट आर्जन गरिएको पैसाले गाडी किन्न नसकिने शेरचन बताउँछिन् । उनको पुस्ताका थुप्रै समकालीन साहित्यकार गाडी चढ्छन् जुन लेखेर होइन, अन्य क्षेत्र (व्यापार) को कमाइले सम्भव भएको शेरचनको तर्क छ ।

कवि दिनेश अधिकारी हुन्डाईको सेन्ट्रो गाडीमा हुइँकिन्छन् । उनलाई यो सुविधा साहित्यले दिएको होइन, सरकारी जागिरले दिएको अधिकारीले बताए । साहित्यमा लागेर नेपाली लेखकहरू गाडी चढ्ने दिन कहिले आउला ? यो प्रश्नको जवाफमा उनले निर्धक्क भने— प्रतिलिपि अधिकार ऐनको पूर्ण पालना र कार्यान्वयन हुने हो भने कविताको कुरा छोडौं, मलाई गीतले नै गाडी चढाउँछ । प्रकाशक र चलचित्र निमार्ताहरूमा सर्जकहरूको पसिना सित्तैंमा खानु हुँदैन भन्ने भावनाको विकास आवश्यक भएको अधिकारी बताउँछन् । 

लेखक अर्चना थापाले निजी गाडी चलाउन थालेको २५ वर्ष भयो । पहिले उनको पारिवारिक व्यापार थियो । यसबीच उनले चारवटा गाडी फेरिन् । हिजोआज उनी सुजुकीको भिटारा चढ्छिन् । नेपाली बजारमा यो महँगो गाडी मानिन्छ । थापा अहिले आफ्नो ससुराले प्रयोग गर्ने गाडी प्रयोग गरिरहेकी छिन् । थापाले आफ्नो टाटा इन्डिका गाडी बेचेर भिटारा चढ्न थालेकी हुन् । नेपालमा किताब लेखेर, किताब बेचेर गाडी किन्न सार्‍है गार्‍हो अवस्था भएको थापा बताउँछिन् । त्यस्तो स्थिति सिर्जना हुनु राम्रो हुन्थ्यो भन्ने थापालाई लाग्छ । साहित्यकार राजेन्द्र थापा पहिले हुन्डाईको स्यान्ट्रो हुँदै आइटेन चढ्थे । अहिले कियाको पिकान्टो चढ्छन् । लोन लिएर गाडी किनेको हुँ । थापाले भने— मैले साहित्यकारको हैसियत गाडी चढेको होइन । 

लेखक सरस्वती प्रतीक्षा स्कुटरमा हुइँकिन थालेको १० वर्ष भयो । अब गाडी चढ्ने सोख भएको उनी बताउँछिन् । पार्किङ भएको घर खोज्दैछु । आवश्यकता भैसक्यो । प्रतीक्षा भन्छिन्— सार्वजनिक सवारी साधन खासै चढिँदैन, हतार छ भने ट्याक्सी चढ्छु । साहित्यकार तीर्थ श्रेष्ठ, राजेन्द्र सलभ, विधान आचार्य, किशोर पहाडी, अशेष मल्ल पनि निजी सवारी हाँक्ने साहित्यकार हुन् ।

 

प्रकाशित :श्रावण ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्