साउदी जेलमा ९ सय दिन

- साप्ताहिक संवाददाता

श्रावण ३०, २०७५

इलाम जिल्लास्थित माई नगरपालिका–४ को सामान्य किसान परिवारमा जन्मिएका हुन्– प्रेमबहादुर राई । ३२ वर्षीय राई स्वदेशमै बसेर घर गर्जोटार्न समस्या भएपछि बूढा बुबा–आमा, युवा श्रीमती तथा छोरीलाई छाडेर सन् २०१३ मा गाडी चालकको काम गर्न साउदी अरेबिया गएका थिए । सुरुमा तीन वर्ष उनले सल्वावी इन्टरनेशनल होल्डिङ कम्पनीमा काम गरे, समय राम्रै बित्यो । तीन वर्षपछि बिदामा घर फर्किए । केही महिना नेपाल बसेपछि राई गर्भवती श्रीमती तथा सानी छोरी बूढा बुवाआमाको जिम्मामा छाडेर पुन: साउदी अरेबियाको काममा फर्किए ।

नेपालबाट फर्किएको केही महिनामै उनले पार्किङ गरेको लरी चोरी भयो, लरीमा केबुलको करोडौं मूल्यको तार थियो । साउदी अदालतले उनलाई २ महिना जेल तथा ५० कोर्राको सजाय सुनाएको थियो । ३१ मार्च २०१६ मा जेल परेका उनी उक्त सजाय भोगे पनि उनी जेलमुक्त भएनन्, मालिकले उनलाई छुटाउन कुनै पहल गरेनन्, बरु उनको पासपोर्ट आफैंसँग राखे फिर्ता दिएनन् । त्यसपछि राई कार्यरत कम्पनीले निजी कानुनअनुसार क्षतिपूर्ति दाबी गर्दै मुद्दा हाल्यो जसमा अदालतले उनले ३ लाख १० हजार साउदी रियाल अर्थात् झन्डै ९५ लाख रुपैयाँबिगो बुझाउनुपर्ने फैसला सुनायो । सामान्य आर्थिक हैसियतका प्रेमका लागि यति ठूलो रकम जुटाउन सम्भव थिएन । उनले साउदी अरेबियास्थित नेपाली दूतावास गुहारे, दूतावासले पनि त्यसमा कुनै ठोस कदम चाल्न सकेन । त्यसपछि प्रेमको रिहाईका लागि उक्त बिगो रकम जुटाउन कुलुङ संघले ‘प्रेम राई बचाउ’ अभियान चलायो । विदेशी जेलमा कष्टपूर्ण जीवन बिताइरहेका राईलाई जेलमुक्त गर्न हजारौं नेपाली उक्त अभियानसँग जोडिए । पाँच महिनामै ९२ लाख रुपैयाँ जुटेपछि उनलाई नेपाल ल्याउने प्रयास प्रारम्भ भयो । १ लाख ५० हजार रियाल नेपाली राजदूतावासमार्फत मालिक मोहम्मद सल्वाईलाई बुझाएपछि प्रेम झण्डैं ३० महिना लामो साउदी अरेबियाको जेलजीवनबाट मुक्त भए । जेलबाट छुटेर गत आइतबार मात्र काठमाडौं आइपुगेका प्रेमसँग साउदी अरेबियामा जेल पर्नुको कारण, जेल जीवन जस्ता विषयमा केन्द्रित रहेर गरिएको कुराकानी :

साउदी अरेबिया जानुपूर्व के गर्नुहुन्थ्यो ? 

साउदी जानुपूर्व कतारमा वैदेशिक रोजगारीमै थिए । सन् २००६ मा कतार गए, ४ वर्ष कतार बसेर फर्किएपछि नेपालमै केही गर्ने प्रयास गरे । सफल हुन नसकेपछि पुन: विदेश जान बाध्य भए । 

कतारबाट कति पैसा ल्याउनुभएको थियो ? 

म श्रमिकका रूपमा कतार गएको हुँ, त्यति धेरै पैसा ल्याउन सकिन । त्यतिबेला तलब पनि उति राम्रो थिएन । अलिअलि घर खर्च लिएर स्वदेश फर्किएको थिएँ । 

नेपालमै केही गर्नुको साटो फेरि किन विदेश जान बाध्य हुनुभयो ? 

वैदेशिक रोजगारीमा रहँदा कतारमा पाएको दु:खकै कारण विदेश नजाने मन बनाएर आएको थिएँ । दुई वर्ष नेपालमै विभिन्न प्रयास गरे । गाडी चलाए, त्यसमा जम्न सकिएन । कुखुरा पालें, त्यसमा पनि सफल हुन सकिनँ अनि फेरि वैदेशिक रोजगारी जानुपर्ने अवस्था आइलाग्यो । त्यस क्रममा एउटा म्यानपावरमार्फत साउदी अरेबियामा ड्राइभिङको अवसर आएको खबर मैले पाएँ । काठमाडौंमा कम्पनीको अन्तर्वार्ता थियो, त्यसमा पास भएर साउदी अरेबिया गए । 

कहिले जानुभएको थियो साउदी अरेबिया ? 

म सन् २०१२ को जुलाईमा साउदी अरेबिया पुगें । मैले साउदी जान ८५ हजार रुपैयाँ खर्च गरेको थिएँ । त्यहाँ गएर म लरी चलाउन थालें । मासिक कमाइ ५० देखि ७० हजारसम्म हुन्थ्यो । ट्रिप राम्रो पाइयो भने राम्रो पैसा आउने र ट्रिप पाइएन भने कम पैसा आउने हुन्थ्यो । तीन वर्षपछि अर्थात सन् २०१६ को जनवरीमा म बिदामा नेपाल आए अनि घरपरिवारसँग भेटघाट सकेर पुन: उतै फर्किएँ । 

कहाँ–कहाँ चलाउनुपथ्र्यो लरी ? 

पूरै साउदी अरबभरि चलाउनुपथ्र्यो । कम्पनीले ट्रान्सपोर्टेसन र कन्ट्रक्सनको काम गर्ने भएकाले विभिन्न सामान ओसार–पसार गर्नुपथ्र्यो । 

साउदी अरेबियामा काम गर्ने वातावरण कस्तो थियो ?

सन् २०१६ मा बिदामा नेपाल आउनुपूर्व काम गर्ने राम्रो वातावरण थियो । दोस्रो पटक साउदी पुग्दा चाहिँ मलाई ठूलै दशा लागेको रहेछ, नमज्जाले फसे । सपनामा पनि यस्तो होला भनेर सोचेको थिइनँ, थुप्रै रंगीचंगी सपना एकै झमटमा चकनाचुर भए । 

कसरी फस्नुभयो ? 

दशा बिग्रिएपछि केही लाग्दो रहेनछ । सन् २०१६ को जनवरीमा पुन: त्यहाँ पुगेपछि म नियमित काममा थिएँ । केही मिनेटको सानो लापरवाहीका कारण फसेको हुँ । त्यतिबेला म लरीमा सामान लिएर साउदीको जुबेलबाट जेद्दा पुगेंको थिएँ । त्यहाँ माल अनलोड गरेपछि कम्पनीका मानिसहरूले केबुलको तार लोड गर्न लगाए । फर्कंदा दुई दिन सडक खाली नहुने र जाम हुने भएकाले ठूलो गाडी बन्द गर्छ भन्दै मैले केबल तार लोड गर्न मानिनँ, तर जबरजस्ती लोड गराइयो । 

 

रियादमा दुई दिन नो इन्ट्री थियो । नो इन्ट्रीका बेला लामै समय झन्डै २४ घण्टा बाटोमै बस्नुपर्ने हुन्छ । २४ घण्टामा जम्मा ५ घण्टा बाटो खुल्छ, त्यसैले म रियादमै बसें । बेलुका राति १२ बजेतिर बाटो खोलेर फेरि ५ बजेतिर बन्द गरिन्छ । त्यही बन्द भएका बेला गाडी पम्पमा पार्क गरेर दिनभर गाडीमै सुतें । साथीको कोठा त्यहाँबाट दुई–तीन मिनेट नजिक थियो । उसले आऊ केही मिनेट गफ गरौं भनेपछि म गाडी लक गरेर उसकहाँ गएँ । फर्केर आउँदा गाडी छैन । मैले साहूको घरकै छेउको पम्पबाट गाडी चोरी होला भनेर कल्पनै गरेको थिइनँ । दायाँतिरको सिसा फुटाएर गाडी चोरी भएको थियो । गाडीमा ८–९ टनका केबुलको तारका ठूला—ठूला बन्डल थिए, ती उतार्न सक्दैनन्, चोर्न सक्दैनन् भन्ने लागेको थियो, तर गाडी नै यसरी चोरी होला भन्ने त कल्पनासम्म थिएन । 

गाडी हराएपछि के गर्नुभयो ? 

पार्किङ गरेर राखिएको ठाउँमा गाडी नदेखेपछि मेरो होसहवास उड्यो । तत्काल कम्पनीमा खबर गरे । कम्पनीमा गाडी कहाँ छ भनेर थाहा पाइने जीपीएसको लिंक हुन्छ । कम्पनीले तुरुन्तै जीपीएसमा हेर्‍यो, गाडी हिँडिरहेको थियो । ५ सय किलोमिटर टाढा रहेकाले कम्पनी तुरुन्तै आउन नसक्ने भएपछि मैले पुलिसलाई फोन गरें । पुलिसले मेरो कुराको खासै वास्ता गरेनन् । कम्पनीको वकिल वा साहू बोला भन्यो, कम्पनीका मानिसहरू १२ घण्टापछि रजिस्ट्रेसन गरेर इन्क्वारीका लागि आए । मलाई त्यही राखेर उनीहरू जीपीएसको सहायताले गाडी खोज्न निस्किए, गाडी फेला परे पनि सामान गायव थियो । सामान हराएपछि मलाई इन्क्वारीका लागि पुलिस अफिसमै राखियो । 

कसरी जेल पुग्नुभयो ? 

मालिकले केस बढाउँदै गए, उनकै कारणले मैले जेल बस्नुपर्‍यो । मालिकले सपोर्ट गरेको भए म एक मिनेटमै छुट्ने थिएँ । पुलिस, वकिल सबैले मैले चोरेको होइन भन्ने कुरामा विश्वास गरेर सपोर्ट गरेका हुन् । मालिकले यो मेरो ड्राइभर हो, यसको जिम्मा म लिन्छु, मलाई यो चाहिन्छ भनेको भए मैले जेल र प्रहरी हिरासतमा बस्नुपर्ने थिएन । नेपाली रुपैयाँ ३/४ करोडजतिको सामान गाडीमा थियो होला । अदालतले पहिलो चरणमा मलाई मानवीय गल्ती भन्दै २ महिना जेल तथा ५० कोर्रा जरिवाना सुनाएको थियो, तर मालिक जमानत गरिदिन र साक्षी बसिदिन आएनन् । पुलिसले पनि २/३ हजार जमानत तिरेर कसैलाई जमानी राखी बाहिर निस्की तेरो मालिक आउँदैन भन्थ्यो, तर मसँग त्यति पनि पैसा भएन । मलाई घर पठाउने कागजमा हस्ताक्षर समेत भैसकेको थियो । गल्ती गरेअनुसार ममाथि ५० कोर्रा हानिइसकिएको थियो । अन्तिममा पासपोर्टमा आएर कुरा अडकियो, पासपोर्ट माग्दा मालिकले दिएनन् । उनले पुलिस, वकिल सबै चिनेका थिए । ९ महिनापछि मेरो ठूलो क्षति भयो, क्षतिपूर्ति ड्राइभरले दिनुपर्छ भन्दै मालिकले दोस्रो पटक मुद्दा हाले । पक्राउ परेको १०/११ महिनापछि मलाई अदालतमा बोलाइयो, अदालतले मैले ३ लाख १० हजार रियाल क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनायो । मैले त्यति रकम तिर्न सक्ने अवस्था थिएन, जसका कारण मैले झण्डैं ३० महिना नारकीय जीवन बिताउनुपर्‍यो ।

नेपाली राजदूतावासमा खबर गर्नुभएन ? 

गाडी चोरी भएको पाँच दिनसम्म पनि मालिकले मलाई थानाबाट ननिकालेपछि मैले नेपाली राजदूतावास गुहारे । मलाई प्रहरी हिरासतमा राखिएको छ, सहयोग गर्नुहोस् भने । उनीहरूले हामी आइहाल्छौं भनेर आश्वासन दिए, तर आएनन् । 

जेलको वातावरण कस्तो थियो ? 

जेलमा सुरुमा एक हप्ता मात्र बसें । विदेशीहरूका लागि त्यहाँको जेल नर्क नै हो । जेलमा साउदी अरेबियनहरूलाई मात्र बेड दिइन्छ । हामीले सिमेन्टको भुइमै सुत्नुपथ्र्यो । १ सय जना साउदी भएको कोठामा १ सय ९० जना विदेशीलाई खाँदेर राखिन्छ । खाना मात्र दिइन्छ, त्यो खाना थाप्न भाडाको व्यवस्था समेत आफैं गर्नुपर्छ । पानीसमेत आफैंले किन्नुपर्छ । तीन महिनापछि १ सय ५० रियाल दिन्छन्, त्यो पनि नियमित हुँदैन । जेलभित्रको पसल पनि निकै महँगो हुन्छ, हामीले किन्नै नसक्ने ।

 

प्रहरी हिरासतको अवस्था कस्तो थियो ? 

त्यहाँको अवस्था अझ पीडादायक थियो । एउटा सानो कोठामा १५–२० जनाभन्दा बढी मानिस राखिन्थ्यो सुत्ने ठाउँ पनि नपाइने । सरकारले जेलमा दिने सुविधा प्रहरी हिरासतमा पाइँदैन्थ्यो । खाना दिन्थ्यो, पानी दिँदैनथ्यो । बाथरुमको पानी खाएर प्यास मेटाउनुपर्ने अवस्थामा थियो । फोन गर्न पनि नदिने, साउदी अरेबियन र हामी विदेशीबीच त्यहाँ पनि भेदभाव हुन्थ्यो । 

 

सबैभन्दा कठिन समय कतिबेला लाग्यो ? 

नेपालमा पुलिस चौकीसम्म नपुगेको म सानो गल्तीले जेलमा लामो समय बिताउनुपरेपछि आफंैले आफैंलाई धिक्कार्थें । दुई जीउकी श्रीमतीलाई झल्झल्ती सम्झन्थें, छिनछिनमा रुन्थें ।  तीन महिनाजतिमा फोन गर्न दिन्थ्यो, म फोनमै भक्कानिन्थे ।

 

कोही नभएको पराई ठाउँको जेलमा के सोचिँदो रहेछ ? 

हे भगवान्, यहाँबाट छिटोभन्दा छिटो निकालिदेऊ भनेर म हरक्षण पशुपतिनाथलाई पुकार्थें । म मनमनै पशुपतिनाथको प्रार्थना गर्थे । मेरै सहारामा सबै परिवार चल्नुपर्ने, बुढा बुवाआमा, दुई जिउकी श्रीमती तथा सानी छोरीका कारण म निकै हैरान थिए । 

छुट्छु भन्नेमा कत्तिको आशावादी हुनुहुन्थ्यो ? 

जब ९५ लाख रुपैयाँ तिनुपर्ने फैसला आयो, मलाई लाग्यो मेरो जीवन अब यही जेलमै सकिने भयो । त्यतिबेला ९५ लाख रुपैयाँको त के कुरा मसँग ९५ रुपैयाँ पनि थिएन । मैले आफू छुट्ने आशा नै मारिसकेको थिए । 

सहयोग अभियान कसरी सुरु भयो ?

नेपाली राजदूतावासबाट सहयोग नहुने देखेपछि मैले अरूलाई गुहारें । श्रीमती र कुबेतमा रहेका मेरा दाइले कुलुङ संघ गुहारे । कुलुङ संघले ‘प्रेम राई बचाउ अभियान’ सुरु गर्‍यो । त्यसमा मिडियाको पनि ठूलो सहयोग रह्यो । सबै नेपाली नि:स्वार्थ भावनाका साथ मलाई जेलबाट मुक्त गराउन लागिपरे, जसका कारण ५ महिनामै मनकारी नेपालीहरूले ९२ लाख पैसा जुटाए अनि मलाई बन्द जेलबाट खुल्ला संसार दिए । 

त्यति ठूलो रकम क्षतिपूर्ति दाबी गरेका मालिक कसरी झन्डै ५० प्रतिशत मिनाह गर्न सहमत भए ? 

जेलमै रहेका एक वृद्ध साउदी मार्फत मालिकसँग अनुनय–विनय गरेँ । उनले बारम्बार मालिकलाई मेरो पीडा सुनाए, आफ्ना भाइहरू मार्फत पनि भन्न लगाए । उनले आफ्नो धर्मको स्मरण गराउँदै मालिकलाई निकै सम्झाए । त्यसपछि मात्र मालिक ५० प्रतिशत रकम छुट दिन राजी भए । 

झण्डैं ३० महिनापछि अँध्यारो जेलबाट खुला संसारमा आउँदा कस्तो अनुभूति भएको थियो ? 

जेलबाट बाहिर निस्कँदा सुरुमा त आँखा नै देखिएनन् । आँखा तिरिमिरी भए, कमजोरी भएजस्तो भयो, बोल्न पनि सकिनँ । त्यति लामो जेल जीवनपछि आफैंलाई सुस्त मनस्थिति अथवा लाटोजस्तो महसुस हुँदोरहेछ । 

आफ्नो अनुभवका आधारमा वैदेशिक रोजगारीमा जानेहरूलाई के सल्लाह दिनुहुन्छ ? 

विदेशमा सचेततापूर्वक काम गर्नुहोला, आफ्नो घरपरिवार तथा बालबच्चालाई सम्झनुहोला । मैले त आफ्नो सानो गल्तीले गर्दा अढाई वर्ष जेलमा बिताए ।

प्रकाशित :श्रावण ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्