काठमाडौंका मेयरलाई के सुझाव छ ?

- महेश तिमल्सिना

श्रावण २९, २०७५

तपाईंले राजीनामा दिए हुन्छ, अब तपाईंको काम छैन । ठूला गफ गरेर मात्र हुँदैन । 

नीता ढुङ्गााना, अभिनेत्री 

काठमाडौंमा पछिल्ला केही वर्षमा सुधारका प्रयासहरू भएका छन् तर ती काम व्यवस्थित रूपमा हुन नसकेका कारण सन्तोषप्रद भने हुन सकेका छैनन् । हामी तत्काल परिवर्तन हेर्न चाहन्छौं । हाम्रा योजना तथा रणनीति राम्रै हुन्छन् तर त्यसको कार्यान्वयन भने सधै फितलो हुने गरेको छ । 

लिना दवाडी, प्रधान सम्पादक, विटिफिड 

तपाईंले मेयरका रूपमा काम सम्हालेयता कुनै यस्तो काम छ, जुन अरूलाई सुनाउन लायक छ ? एक पटक आफ्नो कामको समीक्षा गर्नुहोस् त, कहाँबाट कहाँ पुगेँ जस्तो लाग्छ ? चुनावअघि तपाईंका आश्वासन सहिद भएजस्तो लाग्दैन ? 

श्रद्धा अर्याल, सञ्चारकर्मी

कम्तीमा एक दिन पैदल, एक दिन साइकल तथा एकदिन सार्वजनिक बसको यात्रा गर्नुहोस् अनि त्यहाँ तपाईंलाई जे–जे असहज लाग्छ त्यसमा सुधार ल्याउनुहोस् । संसारभर यस्तो महानगरपालिका हुनु हुँदैन भन्ने उदाहरण काठमाडौं महानगरपालिका नबनोस् ।

हेमन्त शर्मा, गायक 

म ०६० सालयता काठमाडौंमा बसोबास गर्दै आएको छु । यो १५ वर्षको अवधिमा २०७४/०७५ साल सबैभन्दा कष्टकर सावित भएको छ । धूवाँ, धूलो, हिलो अनि खाल्डाखुल्डी तथा अव्यवस्थित सहरीकरणले मन साह्रै पोलेको छ । दिन बिताउन गाह्रो भएको छ । त्यसैले सबैभन्दा पहिले सडक बनाउनुपर्‍यो, बढ्दो सहरीकरणलाई व्यवस्थापन गर्नुपर्‍यो । हामी नेपालको राजधानीमा छौँ है भन्ने महसुस हुने वातावरण सिर्जना गर्नुहोला । 

याम क्षेत्री, गायक 

म त काठमाडौं महानगरपालिकाका मेयरलाई धन्यवाद दिन्छु । किनभने उहाँले यति सुन्दर काठमाडौँलाई धूलोमाण्डु र हिलोमाण्डु बनाइदिनुभएको छ । 

पल शाह, अभिनेता 

काठमाडौँ महानगरपालिकाका मेयरलाई मेरो सुझाव छ— अझै आराम गरेर बस्नुस् । 

ऋचा शर्मा, अभिनेत्री 

एक दिन अफिस समयमा चश्मा र मास्क नलगाई रिङ्ग रोडको १५–२० किलोमिटर बाटो आफैँ मोटरसाइकल चलाएर हिँड्न सल्लाह दिन्छु । त्यसपछि चाहिँ उहाँको चेत खुल्छ कि ?

प्रकाश सपूत, गायक 

काठमाडौँको धूवाँ धुलो तथा खाल्डाखुल्डीहरू हटाउन पहल गर्नुहोला । 

अर्जुन तिवारी, छायांकार 

एउटा मेयरको हैसियतले पूर्ण रुपमा उत्तरदायी र जिम्मेवार भएर काम गर्ने सल्लाह सुझाव दिन्छु ।

शिव परियार, गायक 

मेयरज्यू, सडक कहिले बनाउनुहुन्छ ? स्मार्ट सिटी र मेट्रो रेल बनाइसकेपछि ?

सञ्जम रेग्मी, क्रिकेटर

एकैपटक ठूलो सपना देख्नु भन्दा स–साना काम गरेर देखाउनु उपयुक्त हुन्छ । जस्तै,सडकका खाल्डाखुल्डी पुर्ने, धूवाँ–धूलो, फोहोरमैला र बढ्दो सहरीकरणलाई व्यवस्थापन गर्ने तर उहाँले गर्न सक्नुभएको छैन । ठूला–ठूला भाषण गर्ने तर माखो नमार्ने काठमाडौं महानगरपालिकाका मेयर ज्यू काठमाडौँका जनताले स्वच्छ सास फेर्ने वातावरण बनाइदिनुहोला । 

सुनिता दुलाल, गायिका 

तपाईंको कार्यकालमा युवापुस्तालाई विदेश पलायन हुन बाध्य नबनाउनुहोस् भन्न चाहन्छु । 

सरिता गिरी, रंगकर्मी

जब तपाईं काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभयो । त्यतिबेला मैले आशा गरेकी थिएँ कि अब राजधानी काठमाडौँले मुहार फेर्छ । सम्भवत: प्राकृतिक स्रोतले सजिएको हाम्रो देशको राजधानी काठमाडौँ विदेशी पर्यटकको समेत रोजाइको गन्तव्य हो । देशका ७७ जिल्ला नै पर्यटकीय सम्भावना बोकेको देशको राजधानीकै अवस्था दयनीय छ । हिउँदमा धूलो र वर्षामा हिलोले राजधानीका सडकमा हिँड्न गाह्रो छ । बाटोमा पहिले भन्दा अहिले बढी फोहोरको थुप्रो छ । समय सँगै राजधानीका हरेक व्यक्तिको सपना टुटेको छ । वास्तवमै भन्ने हो भने काठमाडौंका जनताको कुनै ठूलो अपेक्षा छैन केवल काठमाडौं सुन्दर, सफा र सहज बाटोको मात्र आशा छ । 

सुप्रिया कटुवाल, मोडल  

काठमाडौंका सडक राम्रो बन्नुपर्‍यो, समयमै फोहोर उठाएर डम्पिङ गर्नुपर्‍यो र धारामा निरन्तर खानेपानी आउने व्यवस्था बनाउनुहोला । 

शिल्पा पोखरेल, अभिनेत्री 

तपाईंमा जे हुनुपथ्र्यो त्यो क्षमता रहेनछ । क्षमतावान्लाई समयमै आफ्नो पद हस्तान्तरण गर्नुभयो भने सबैको भलो हुने थियो । 

सुरेन्द्र केसी, हास्यकलाकार 

उहाँलाई हाम्रो महानगरपालिकाको अवस्था कस्तो छ भन्ने सबै थाहा छ । त्यसैले एकबारको जुनीमा काम गरेर देखाइदिनुहोस् । तपाईंलाई भगवानले मौका दिनुभएको छ । यो अवसर गुमाउनुभयो भने अर्को जुनीमा हामी जस्तै दु:ख पाउने सर्वसाधारण भएर जन्मिनु पर्दा निकै पीडा हुनेछ ।

राजनराज शिवाकोटी

गायक तथा संगीतकार

 

प्रकाशित :श्रावण २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्