पदकको सम्भावना भएका खेल

- साप्ताहिक संवाददाता

श्रावण २८, २०७५

तेक्वान्दो

एसियाली खेलकुदमा नेपालका लागि सबैभन्दा समृद्ध इतिहास भएको खेल हो— तेक्वान्दो । नेपालले तेक्वान्दोमा जति पदक जितेको छ, त्यति अरू कुनै पनि खेलमा जित्न सकेको छैन । नेपालले अहिलेसम्म जितेको एक मात्र रजत पदक पनि तेक्वान्दोबाटै प्राप्त भएको हो । यो त भयो इतिहासको कुरा । इतिहासले वर्तमानलाई प्रेरणा दिने हो, बाँकी काम त वर्तमानमै देखाउनुपर्छ । खासमा नेपाली तेक्वान्दोको स्वर्णिम समय अब इतिहास भैसकेको छ । 

अहिले नेपाली तेक्वान्दो राम्रो प्रदर्शनका लागि संघर्षरत छ । एसियाली खेलकुदका पछिल्ला दुई संस्करणमा नेपालले तेक्वान्दोमा कुनै पदक जित्न सकेन । तय छ, नेपाली तेक्वान्दोले इन्डोनेसियामा पनि संघर्ष गर्नेछ, तर आशा के पनि छ भने यसपटक यो खेलबाट पदक आउने हो कि ? अहिले नेपाली तेक्वान्दो टोली दक्षिण कोरियामा छ र त्यहाँ प्रशिक्षण चलिरहेको छ । संयोगले नेपाली टिमका दुई प्रशिक्षक छन्, संगीना वैद्य र दीपक विष्ट । दीपक भन्छन्, ‘यसपटक हाम्रो तयारी राम्रो छ । हामीले तयारीका लागि चाहिनेजति सबै गरेका छौं । यसपटक हाम्रो एक मात्र उद्देश्य यो खेलबाट नेपालका लागि पदक जित्ने हो । हामीलाई पूरा विश्वास छ, यसमा हामी सफल हुनेछौं ।’ 

कराँते

पछिल्लो एसियाली खेलकुदमा नेपालले जितेको एक मात्र पदक कराँतेबाटै प्राप्त भएको थियो । त्यसैले पूरा सम्भावना छ, यसपटक पनि नेपालका लागि पदक भित्र्याउने खेल यही हुनेछ । इन्चेनमा नेपालका लागि विमला तामाङले कातामा कांस्य पदक जितेकी थिइन । यसपटक पनि पदक आशा गरिएको यही काताबाट हो । यसपटक पदकका सबैभन्दा ठूला प्रत्याशी छन्— पर्शुराम बास्तोला । उनी इन्चेनमा पदकको निकै नजिकसम्म पुगेका थिए । 

अहिले नेपाली कराँते टिम जापानमा छ र खेलाडीहरूलाई विश्वास छ, जापानको अनुभवले प्रतियोगितामा पदक जित्न मद्दत गर्नेछ । टिमले सुरुवाती तयारी भने पोखरामा गरेको थियो । नेपाली टिमका प्रशिक्षक दीपक श्रेष्ठ भन्छन्, ‘हाम्रो सम्भावना जीवन्त छ, तर हामीले यसका लागि कडा मेहनत गर्नुपर्ने हुन्छ । जापानको तयारीले यसमा केही सहयोग पुगेको छ ।’ श्रेष्ठलाई विश्वास छ— कराँतेमा यसपटक खालि हात फर्कनुपर्ने छैन । 

जुडो

पछिल्लो समय जुडोका नेपाली खेलाडीले अन्तर्रा्ष्टि्रय प्रतियोगिताको राम्रो अनुभव बटुलिरहेका छन् । त्यही अनुभव इन्डोनेसियामा पनि काम लाग्नेछ । एउटा तथ्य के निश्चित छ भने नेपालका लागि एसियाली खेलकुदमा पदकको सम्भावना भएको अर्को खेल हो— जुडो । अहिले नेपाली जुडो टिम थाइल्यान्डमा छ । यसअघि टिमले जापानमा प्रशिक्षण लिएको थियो । अब बुढापेस्टमा थप अभ्यास हुनेछ । जुडोमा पदकको सबैभन्दा बढी सम्भावना बोकेकी खेलाडी हुन्— फुपुल्हामु खत्री । 

बक्सिङ

नेपालका लागि इन्डोनेसियामा पदकको सम्भावना बोकेको अर्को खेल हो— बक्सिङ । तेक्वान्दोले जस्तै बक्सिङले पनि नेपाली खेलकुदमा आफ्नो स्वर्णिम समय बिताइसकेको छ र अहिले राम्रो प्रदर्शनका लागि संघर्षरत छ । आठ वर्षअघि ग्वान्जाउ एसियाली खेलकुदमा प्राप्त एक मात्र कांस्य बक्सिङबाटै प्राप्त भएको थियो तथा खेलाडी थिए— दीपक महर्जन । अहिले उनी नै प्रशिक्षक छन् र दुई महिनायता टिमले थाइल्यान्डमा विशेष प्रशिक्षण लिइरहेको छ । 

प्याराग्लाइडिङ

साहसिक खेल प्याराग्लाइडिङलाई यसपटकको एसियाली खेलकुदमा नयाँ खेलका रूपमा समावेश गरिएको छ र यो नेपालले पदक जित्ने सबैभन्दा बढी सम्भावना भएको खेल हो । अहिले प्याराग्लाइडिङको नेपाली टिम पोखरामा प्रशिक्षणरत छ । नेपालले यो खेलका तीनवटा विधामा प्रतिस्पर्धा गर्नेछ— व्यक्तिगत एक्युरेसी, टिम एक्युरेसी तथा टिम क्रसकन्ट्रीमा । प्रि–वल्र्डकपमा नेपालले राम्रो प्रदर्शन गरेको हुनाले नै यो खेलबाट पदकको आशा गरिएको हो । 

पहिलो पटक समावेश खेल 

यसपटकको एसियाली खेलकुदमा कुल ४० खेल समावेश छन् र त्यसमा ४ सय ६५ विधामा प्रतिस्पर्धा हुनेछ । यसपटकको एसियाली खेलकुदमा नयाँ १० खेल समावेश छन् । ती हुन्— पेन्केक सिलात, रोलर स्पोर्टस, बास्केटबल ३ गुणा ३, सम्बो, कुराँस, जिउ–जित्सु, ब्रिज, जेट स्की, रक क्लाम्बिङ तथा प्याराग्लाइडिङ । 

नेपालले पाराग्लाइडिङ, पेन्केक सिलात, स्पोर्टस क्लाइम्बिङ, कुराँस तथा स्केट बोर्डिङमा सहभागिता जनाउनेछ । आयोजकका रूपमा इन्डोनेसियासँग तीन खेल रोज्ने अवसर थियो, त्यस क्रममा उसले चयन गरेको एउटा खेल हो— पेनकेक सिलात । यो इन्डोनेसियाको परम्परागत मार्सल आर्ट्स हो । 

सुमात्राबाट सुरु भएको मानिएको यो खेल इन्डोनेसियामा मात्र नभएर मलेसिया, सिंगापुर, थाइल्यान्ड तथा भियतनाममा समेत लोकप्रिय छ । सम्बो पनि मार्सल आर्ट्सअन्र्तगत पर्ने खेल हो । तत्कालीन सोभियत संघमा विकास गरिएको यो खेलमा कुस्तीको प्रभाव बढी पाइन्छ । यो खेल मंगोलिया, उज्वेकिस्तान तथा अजरबैजान जस्ता देशमा लोकप्रिय छ । जिउ–जित्सु पनि मार्सल आर्ट्स नै हो र यसको सुरुवात जापानमा भएको हो । 

प्रकाशित :श्रावण २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्