आफ्नै जीवनलाई दोहोर्‍याउँदा धेरै पटक भक्कानियौं

- कृष्ण भट्टराई

श्रावण २४, २०७५

 

तीन साताअधि नेपाली चलचित्र ‘बोबी’ प्रदर्शन भएपछि सिनेमा हलहरूमा झन्डै एक दर्जन नेपाली चलचित्र आए अनि गए, यद्यपि यो चलचित्र भने जति पुरानो भयो, उति धेरै दर्शकको साथ पाएर सिनेमा हलमा टिकिरहेको छ । नर्वेमा बसोबास गर्ने एक जोडी नेपालीको वास्तविक कथा समेटिएको उक्त चलचित्रको ‘माउथ पब्लिसिटी’ उत्कृष्ट भएपछि सिनेमा हलमा दर्शकको ताँती लाग्न थालेको हो । रमाइलो कुरा के छ भने पेसाले इलेक्ट्रोनिक्स इन्जिनियर उमेश थापा तथा उनकी जीवनसंगिनी कविता गुरुङले चलचित्र बोबीमा आफ्नै जीवनको भोगाइलाई पर्दामा उतारेका छन् । अन्तर्जातीय विवाह गर्ने उक्त जोडीको प्रेम, भागी विवाह, संघर्ष तथा सफलताको कथा चित्रण गरिएको चलचित्र बोबीको कथालाई अधिकांश युवा दर्शकले आफ्नै जीवन कथासँग तुलना गरेपछि मिलन चाम्सको निर्देशनमा तयार भएको उक्त चलचित्रले सफलता पाएको हो । उक्त चलचित्रका वास्तविक अभिनेता–अभिनेत्री उमेश तथा कवितासँग साप्ताहिकका कृष्ण भट्टराईले गरेको कुराकानी :

पहिलो पटक आफैंलाई चलचित्रको पर्दामा देख्दा कस्तो लाग्यो ? 

उमेश : पहिलो पटक पर्दामा आफैंलाई हेर्दा हामी नै हौं र ? भनेजस्तो लाग्यो । त्यो क्षण वास्तवमा निकै रोमाञ्चक थियो । 

कविता : मलाई त ठूलो पर्दामा कुनै अर्कै हिरो–हिरोइनले अभिनय गरेको चलचित्र हेरिरहेको अनुभव भयो । 

आफ्नै जीवन–संघर्षमा चलचित्र बनाउने योजना कसरी बन्यो ? 

कविता : यसको सम्पूर्ण श्रेय निर्देशक मिलन चाम्सलाई जान्छ । उहाँकै पहलमा यो चलचित्र तयार भएको हो भन्दा फरक पर्दैन । 

कसरी ? 

कविता : एउटा भ्रमणका सिलसिलामा डेढ वर्षअघि म बेलायत पुगेकी थिएँ । त्यस क्रममा निर्देशक मिलन चाम्ससँग भेट भएको थियो । त्यति बेला उहाँको चलचित्र ‘वीरविक्रम’ प्रदर्शन भैरहेको थियो । उहाँसँग कफी गफ गर्ने क्रममा मैले ‘दाइ तपाईं त चलचित्र बनाउने मान्छे, हाम्रो प्रेम–कथा त डेन्जर छ नि’ भन्न पुगेछु । उहाँले सुनौं न त भन्नु भएपछि हाम्रो प्रेम–विवाहको कथा छोटकरीमा सुनाएँ । उहाँले गम्भिर भएर सुन्नुभयो । त्यसमध्ये एउटा घटनाले उहाँको मन छोएछ । 

के थियो त्यो घटना ? 

कविता : हामी पोखराबाट भागेर ललितपुरको लूभु आएको केही दिनमा मन्दिरमा विवाह गर्ने निर्णय भयो । यद्यपि हामीसँग पैसा थिएन । विवाहमा मैले सारीदेखि गहनासम्म अरू कसैसँग मागेर लगाएकी थिएँ । यद्यपि उमेशले एउटा कुरा चाहिं आफैंले किनेर ल्याउनु भएको थियो, दुलहीले ओढ्ने घुम्टी । मलाई सानैदेखि क्षेत्री–बाहुनका दुलही जस्तो सजिएर विवाह गर्न मन थियो, त्यसैले घुम्टीचाहिं किनिदिनुपर्छ है भनेकी थिएँ । त्यो घुम्टी मैले अहिलेसम्म साँचेर राखेकी छु । विवाहमा अर्कैको सारी र गहना लगाएको कुराले निर्देशक चाम्सको मन छोएछ । उहाँ, म तिम्रो कथा विस्तृतमा सुन्न चाहन्छु भन्नुभयो । पूरै कथा सुन्न त मेरै घर आउनुपर्छ भन्दै मैले उहाँलाई नर्वे आउने निम्तो दिएँ ।

निर्देशक चाम्स नर्वे पुगेपछि के भयो ? 

उमेश : निर्देशक चाम्स २०१६ को नोभेम्बरताका हाम्रो घर नर्वे आउनुभयो । कविताले दाइ बनाएको व्यक्तिलाई मैले पनि दाइ मानें । उहाँ हाम्रो घरमा करिब पाँच दिन बस्नुभयो । त्यसक्रममा म र कविताले उहाँलाई हाम्रो विगतका धेरै कुरा सुनायौं । खाना पकाउँदा, ड्राइभ गर्दा, सपिङ गर्दा, डिनर गर्दा हाम्रो विगत सुनाउँदै गयौं । 

कविता : दाइले त हामीलाई जानकारी नै नदिई हाम्रो विगतका कुरा आºनो मोबाइलमा रेकर्ड गरिरहनुभएको रहेछ । चार–पाँच दिनपछि उहाँ बेलायत फर्कनुभयो । त्यसपछि यो कुरा 

त्यत्तिकै सेलायो । 

त्यसपछि ? 

कविता : हाम्रो सबै कुरा सुनेपछि उहाँ खुसी हुँदै फर्कनुभएको थियो । त्यसपछि दुई–तीन दिनसम्म सम्पर्क भएन । यद्यपि चार दिनपछि उहाँले फोन गरेर ‘मलाई तिमीहरूको कथा असाध्यै मन पर्‍यो, मैले तिमीहरूको वास्तविक कथामा चलचित्र बनाउने निर्णय गरें’ भन्नुभयो । हामी बूढाबूढी आश्चर्यचकित भयौं । कुराकानी मात्र होला भन्ने सोचेका थियौं, चार–पाँच दिनपछि फेरि फोन गरेर ‘यो चलचित्रमा त तिमीहरूले नै अभिनय गर्नु पर्छ’ पो भन्नु भयो । 

त्यस्तो प्रस्ताव सुनेपछि तपाईंहरूको प्रतिक्रिया के रह्यो ? 

कविता : हामी त हाम्रो कथामा आधारित चलचित्र बन्ने भयो । नेपालका नाम चलेका कलाकारले हाम्रो भूमिका निर्वाह गरेर बन्ने चलचित्र कस्तो होला भन्ने कल्पना गरिरहेका थियौं, अचानक हामीलाई नै अभिनयको प्रस्ताव आउँदा थप आश्चर्यचकित भइयो । केही समयपछि म त खुसी भएँ, तर उमेशले ‘कहाँ हुन्छ ?’ भन्ने विरोध जनाउनुभयो । 

उमेश : हाम्रो संघर्षमा आधारित चलचित्र बन्ने कुरा त ठीकै थियो, आफैंले अभिनय गर्नुपर्छ भन्ने प्रस्ताव आफैंमा अनौठो थियो । म ८५ केजी तौल भएको मोटो व्यक्ति कसरी हिरो बन्न सुहाउँछ भनेर मैले उहाँको प्रस्ताव ठाडै अस्वीकार गरेको थिएँ । 

अभिनयका लागि कसरी तयार हुनु भयो त ? 

कविता : म त अभिनयका लागि तयार भैसकेकी थिएँ, उमेश आफ्नो काममा असाध्यै व्यस्त भएकाले मनाउन गार्‍हो भयो । यद्यपि मैले अनुरोध गरेपछि उमेशले कुनै पनि कुरा नाईं नभन्ने भएकाले केही दिनको मेहनतपछि नै मनाउन सफल भएँ । 

उमेश : मेरो व्यस्तता एकातिर थियो, अर्कातिर मेरो मोटो ज्यानले चलचित्रमा अभिनय गर्ने भनेपछि मैले कसरी पत्याउने ? यद्यपि कविताले मरिहत्ते गरेपछि मैले ‘नो’ भनिरहन सकिनँ । अभिनय गर्नै पर्ने निश्चित भएपछि सर्वप्रथम मैले ज्यान घटाउने निर्णय गरें । झन्डै तीन महिनामा मैले आफ्नो ८५ केजीको शरीरलाई ६६ केजीमा झारें । त्यसअघि निर्देशक चाम्सले हाम्रो वास्तविक जीवनको कथामा अन्य कलाकारले न्याय गर्न नसक्ने कुरा पनि बताउनुभएको थियो । ती सबै कुरा बुझेपछि म अभिनयका लागि तयार भएको थिएँ । 

ज्यान घटाउन के–के गर्नुभयो ? 

उमेश : चलचित्रमा १८ वर्षको युवादेखि अहिलेसम्मको चरित्र निर्वाह गर्नुपर्ने भएकाले आफ्नो शरीरलाई त्यही अनुसार ढाल्नु मेरा लागि चुनौतीकै विषय थियो । ज्यान घटाउन मैले ‘अन बड एक्सरसाइज’ विधि अपनाएँ । त्यसक्रममा अत्यधिक शारीरिक व्यायाम हुने काम जस्तै दौडिने, उफ्रिने, पुसअप गर्ने, झुन्डिने आदि सबै काम गरें । केही समय जिमशाला पनि धाएँ । त्यसबाहेक मैले योग गरें, हप्ताको दुई पटक फुटबल खेलें, टेनिस खेलें, स्वीमिङ गरें । दिनहुँ केही न केही गरिरहें । कठोर व्यायाम प्रारम्भ गरेको पहिलो तीन महिनामै म घटिसकेको थिएँ । 

कविता : खानामा पनि असाध्यै नियन्त्रण गर्नुभयो । मदिरारहित जीवन बिताउनुभयो । फलफूल तथा तरकारीमा जोड दिनुभयो । 

छायांकनको पहिलो दिनको अनुभव सुनाउनुहोस् न ?

उमेश : सबैभन्दा पहिले गीतको छायांकन गरियो । गीतको पहिलो शटको छायांकनपछि मलाई क्यामेरा पर्सन पुरुषोत्तम प्रधानले बोलाएर मेरो हाउभाउ देखाउनुभयो । मैले त्यसअघि आफूलाई त्यति सुन्दर (हेन्डसम) कहिल्यै अनुभव गरेको थिइनँ । 

कविता : गीतको छायांकन भएकाले धेरै अभिनय गर्नै परेन । म त त्यसै पनि अभिनयका लागि उत्साहित भएकाले पहिलो दिन म अति एक्साइडेट थिएँ । 

नर्वेको समग्र छायांकन कस्तो रह्यो ? 

उमेश : ठ्याक्कै एक वर्षअघि जुन महिनामा यो चलचित्रको छायांकन नर्वेबाट प्रारम्भ भएको हो । नर्वेमा झण्डै १५ दिन छायांकन भयो । प्रारम्भमा गीतको छायांकन गरियो । गीतका लागि हामी नर्वेका विभिन्न सुन्दर लोकेसन पुग्यौं । हाम्रो १५–२० जनाको युनिटले दिनरात नभनी काम गर्दा राम्रै परिणाम प्राप्त गर्‍यो ।

अभिनय गर्ने क्रममा कत्तिको असहज महसुस भयो ? 

कविता : छायांकनमा जानुअघि हामी वर्कशपमा सहभागि भएका थियौं । उक्त वर्कसपले गर्दा हामीलाई आफ्नै जीवनमा भोगेका कुरा व्यक्त गर्न खासै असहज भएन । 

उमेश : हो, कतिपय दृश्यमा अभिनय गर्ने क्रममा हामी भक्कानियौं पनि । धनाढ्य गुरुङ परिवारमा जन्मिएकी कविताले विवाहपछि तथा म नर्वे गएपछि घरमा गर्नु परेको ढिकी–जाँतो, चुलो–चौका, कुटो–कोदालोको कुरा सुनेर म दु:खी मात्र हुन्थें, उनले अभिनय नै गरेपछि भने म अझ बढी भक्कानिएको थिएँ । कविताले अभिनय गरेका कतिपय दृश्य मैले हेर्न समेत सकेको थिइनँ । 

चलचित्र बनेपछि यसले व्यवसायिक सफलता पाउने कुरामा कत्तिको विश्वस्त हुनुहुन्थ्यो ? 

कविता : हाम्रो कथा नै बेजोड थियो । हामीले भोगेका भोगाइहरू निकै रोचक थिए । उक्त कथालाई चलचित्रको स्वरूप प्रदान गर्ने व्यक्ति स्थापित निर्देशक मिलन चाम्स हुनुहुन्थ्यो । यही कुराले म यो चलचित्रको सफलताप्रति करिब–करिब ढुक्क थिएँ । 

उमेश : हाम्रो कथा दर्शकलाई रोचक लाग्ने छ भन्ने कुरा त थाहा थियो, यद्यपि हाम्रो कामले यसरी चौतर्फी प्रशंसा पाउँदा, हामी कलाकारका रूपमा चिनिनेछौं भन्ने कुरा मैले त अनुमान समेत गरेको थिइन । 

चलचित्रमा नदेखाइएको एउटा विषय, नर्वे गएर तपाईंले कुन विषय पढ्नुभयो ? 

उमेश : मैले पोखरामै तीन वर्षको ओभरसियर पूरा गरेकाले नर्वे गएर दुईवटा टेलिकम्युनिकेसन तथा इलेक्ट्रिकल विषयमा इन्जिनियरिङ गरें । त्यसपछि इलेक्ट्रिकल इन्जिनियरिङमै मास्टर्स पनि सिध्याएँं । जागिर खाने क्रममा अफिसकै खर्चमा नर्वेकै सबैभन्दा ठूलो विश्वविद्यालय नर्वेजियन विजनेस स्कुलबाट एमबीए समेत गरें । म अहिले पनि मल्टिनेसनल कम्पनी सिमेन्समा प्रोजेक्ट म्यानेजरका रूपमा कार्यरत छु । यी कुरालाई चलचित्रमा देखाइएको छैन । त्यसो त हामी पोखराबाट भागेर काठमाडौं आएका बेला मेरो ओभरसियरको अन्तिम परीक्षा बाँकी नै थियो । विवाह गरेको एक महिनापछि पुन: पोखरा फर्किएर मैले उक्त परीक्षा दिएको थिएँ । परीक्षा दिने क्रममा कविता मलाई भेट्न पोखरा आएकी थिइन् । त्यतिबेला उनको माइतबाट हामी दुवैलाई खतरा भएकाले हामी लुक्दै, भाग्दै पोखरामा बसेका थियौं । यी कुरालाई पनि चलचित्रमा देखाइएको छैन । 

विवाहलगत्तै नर्वेचाहिं कुन भिसामा जानुभएको थियो ? 

उमेश : म इन्जिनियरिङ गर्न विद्यार्थी भिसामा नर्वे गएको थिएँ । त्यसअघि नै नर्वेसंग मेरो बेग्लै नाता जोडिएको थियो । आर्थिक पृष्ठभूमि त्यति बलियो नभएकाले म एसएलसी दिनेबित्तिकै केही महिना काम गर्ने हिसाबले पहिलो पटक नर्वे गएको थिएँ । नर्वेमा समर जब गर्ने हिसाबले पहिलो पटक तीन महिनाका लागि म नर्वे पुगेको थिएँ । त्यतिबेला मैले फार्म हाउसमा काम गरेर केही पैसा जोगाएको थिएँ, त्यो पैसाले लुभुको हाम्रो घरमा ट्वाइलेट बनाएँ, आमालाई १४ इन्चको टिभी किनिदिएँ, पहिलो पटक आफ्नै लागि साइकल किनेँ अर्थात् १५ वर्षको उमेरदेखि नै मैले घर चलाउन थालिसकेको थिएँ । त्यसको एक वर्ष पछि म पुन: तीन महिनाका लागि नर्वे गएँ । उताबाट स्वदेश फर्किएपछि मैले इलेक्ट्रिकल इन्जिनियरिङ पढ्ने निर्णय गरेँ, किनभने नर्वेमा यो विषयको भविष्य छ भन्ने मैले बुझेको थिएँ । त्यतिबेला नेपालमा पोखरा र धरानमा मात्र इलेक्ट्रिकल इन्जिनियरिङको पढाइ हुन्थ्यो, मैले पोखरामा इलेक्ट्रिकल ओभरसियरमा नाम निकालें । पोखरामै अध्ययनरत छँदा कवितासँग भेट भएर माया–पिरती बसेको हो । चलचित्र ‘बोबी’ मा भने पोखरामा कवितासँग भेट भएपछिका दृश्यहरू मात्र समावेश गरिएका छन् । कुनै दिन चलचित्रको प्रिक्वेल/सिक्वेल बनेछ भने मेरो बाल्यकाल तथा किशोरावस्थाका यी कुरा समेट्नुपर्ला । 

विद्यार्थीका रूपमा नर्वे पुगेपछि भाषाको समस्या भएन ?

उमेश : ठूलै समस्या भयो नि । पहिलो सेमेस्टरमा मैले अंग्रेजी भाषामा परीक्षा दिन्छु भनेको, कलेजले मानेन । नर्वेजियन भाषामा परिक्षा दिएर उत्तीर्ण नभए कलेजमा पढ्नै नपाउने बताइएको थियो । त्यसपछि मैले दिन–रात एक गरेर नर्वेजियन भाषा मात्र पढें । त्यतिबेला मैले यति धेरै पढेंछु कि मेरो आँखाको पावर नै कम भएको थियो । अन्तत: मेरो मेहनतले सकारात्मक परिणाम ल्यायो, मैले छोटो समयमै भाषा सिकेर परीक्षा पनि त्यही भाषामा दिएँ, म त्यो सेमेस्टरको नजितामा तेस्रो स्थान ल्याउन सफल भएँ । अँ...धेरै पढेकाले चस्माचाहिँ सधैंका लागि लगाउनुपर्ने भयो । 

श्रीमान् नर्वे गएपछिका दिनहरू कसरी बिताउनु भयो ? 

कविता : धेरै कुरा त चलचित्रमै देखाइएको छ । ती दिनहरू सजिला थिएनन् । काठमाडौं र पोखराको धनाढ्य गुरुङ परिवारबाट लुभुको निम्न आर्थिक अवस्था भएको क्षेत्री परिवारमा भित्रिएकी बुहारीले जे–जे गर्नुपथ्र्यो, त्यो सबैं गरें । यद्यपि ती काम गर्नुपर्दा मैले कहिल्यै कसैसँग गुनासो गरिन, किनभने मैले उमेशलाई माया गरेकी थिएँ । मायामा हरेक कुरा जायज हुन्छ भनेको साँच्चै रहेछ । 

प्रसंग बदलौं, चलचित्रबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 

उमेश : चलचित्र प्रदर्शन भएको पहिलो एक–दुई दिनसम्म सिनेमा हलमा खासै दर्शक आउनुभएको थिएन, तर जति–जति दिन बित्दै गए, दर्शकहरूको संख्या बढ्दै गयो । आज हामीलाई दर्शकले कलाकारका रूपमा दिन थाल्नु भएको मायाले हामी अत्यन्त भावुक भएका छौं । 

 

कविता : हाम्रो कथालाई दर्शकहरूले यति धेरै मन पराउनु हुन्छ भन्ने कुरा हामीले सोचेकै थिएनौं । एउटा सामान्य व्यक्तिको जीवन संघर्षको कथालाई दर्शकहरूले यति धेरै साथ र सहयोग दिनु भएकोमा हामी सम्पूर्ण दर्शकप्रति कृतघ्न छौं । 

चलचित्रको लगानी सुरक्षित हुने सम्भावना कत्तिको छ ? 

उमेश : निर्देशक मिलन चाम्सका अनुसार चलचित्रमा झन्डै ३ करोड रुपैयाँ लगानी भएको छ । नर्वेको छायांकनमै हामीले झन्डै १ करोड रुपैयाँ लगानी गरेका थियौं । नेपालको छायांकन तथा प्रचार–प्रसारमा निर्देशक चाम्सले झण्डै दुई करोड रुपैयाँ लगानी गर्नुभएको छ । अहिले आएर दर्शकले चलचित्रलाई जसरी साथ दिनु भएको छ, नेपालबाट जसरी माग आएको छ, त्यो हिसाबले हाम्रो चलचित्रको लगानी सुरक्षित होला भन्ने अपेक्षा गरेका छौं । 

विदेशबाट पनि राम्रो माग आएको चर्चा छ नि ? 

उमेश : मैले प्रत्येक दिन तीन–चार सयवटा म्यासेज पाइरहेको छु । तीमध्ये अधिकांश म्यासेजमा विदेशमा यो चलचित्र कहिले आउँछ भन्ने छ । यद्यपि हामी विदेशको पहिलो शो अगष्ट १० का दिन कुवेतमा गर्दैछौं । त्यसपछि युरोप, अमेरिकासहित विश्वका अधिकांश देशमा प्रदर्शन हुनेछ । 

भविष्यमा पुन: चलचित्रमा दोहोरिने सम्भावना छ ? 

कविता : बोबीको सिक्वेल बन्यो भने मात्र पुन: चलचित्रमा आउने सम्भावना छ । 

उमेश : मलाई चाहिं केही चलचित्रबाट अभिनयको प्रस्ताव आइरहेको छ । यद्यपि मैले ती चलचित्रलाई समय दिन असम्भव छ । किनभने अबको केही दिनभित्रै मैले नर्वे पुग्नैपर्ने हुन्छ ।

 

सिक्वेल बन्ने सम्भावनाचाहिं छ हैन ?

उमेश : निर्देशक मिलन चाम्ससँग सल्लाह भैरहेको छ । अबको केही महिना यही चलचित्र विदेशमा प्रदर्शन हुनेछ । त्यसपछि हामी अर्को चलचित्र निर्माण गर्ने कि नगर्ने भन्ने निक्र्यौलमा पुग्नेछौं । 

अन्त्यमा, चलचित्रमा विजय लामाले निर्वाह गर्नुभएको कविताको काकाचाहिँ को हो ? 

कविता : चलचित्रकी नायिका बोबीलाई असाध्यै माया गर्ने काका, बोबी घर छाडेर उमेशसँग भागेपछि असाध्यै क्रूर बन्ने काका, भतिजीले विवाह गरेको झन्डै १५ वर्षपछि मात्र पहिलो पटक घरमा बोलाउने काका अनि आज कविता, उमेश र नातिलाई बोलाएर सम्मान नै गर्ने काका हुनुहुन्छ— निर्मल गुरुङ । उहाँ सगरमाथा टेलिभिजनका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायीका रूपमा स्थापित हुनुहुन्छ ।

प्रकाशित :श्रावण २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्