विश्वकप फुटबलपछि अब एसियाड

- हिमेश

श्रावण २२, २०७५

 

खेलकुदले सबैको ध्यान खिच्नेछ । एसियाको सबैभन्दा ठूलो खेल महोत्सव भएकाले पूरा महादेशमा यसको चर्चा हुनेछ । नेपालको पनि सहभागिता रहने यो प्रतियोगितामा हाम्रो खेलकुदको पनि गहिरो नजर रहनेछ । चार वर्षअघि दक्षिण कोरियाको इन्चेनमा सम्पन्न एसियाली खेलकुदका क्रममा इन्डोनेसियाले प्रतियोगिताको १८ औं संस्करण आयोजना गर्ने अवसर पाएको थियो । यसपटक इन्डानेसियाका दुई सहर जाकार्ता र पालेबाङले एसियाली खेलकुद प्रतियोगिताको आयोजना गर्दैछन् । 

जाकार्ता इन्डोनेसियाको राजधानी मात्र नभएर सबैभन्दा ठूलो सहर पनि हो । पालेबाङ भने दक्षिण सुमात्राको राजधानी हो । एसियाली खेलकुदको इतिहासमा दुई फरक सहरमा प्रतियोगिता हुन लागेको यो पहिलो अवसर हो । भदौ २ देखि १७ गतेसम्म चल्ने यो प्रतियोगितामा ४० खेलका ४ सय ६५ विधामा प्रतिस्पर्धा हुनेछ । सहभागी देशको संख्या ४५ छ । ‘इनर्जी अफ एसिया’ अर्थात एसियाको शक्ति नारासहित सञ्चालन हुने यसपटकको एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन तथा समापन समारोह गेलोरा बुङ कार्नो रंगशालामा हुनेछ । 

पहिले २०१८ को एसियाली खेलकुद भियतनामले गर्ने तय जस्तै थियो, तर उसले समयमै आफ्नो तयारी गर्न त सकेन नै, त्यसमाथि उसले पूरा प्रतियोगिताको खर्च उठाउन पनि असमर्थता देखायो । यस्तोमा एसियाली खेलकुदको एक अगुवा इन्डोनेसियाले प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी लियो । फिलिपिन्स र भारतले समेत आयोजनामा रूचि देखाएपनि इन्डोनेसियाको दावेदारी बलियो रह्यो । 

यसपटकको एसियाली खेलकुदमा नेपालको सहभागिता पनि ठूलै रहनेछ । नेपालले कुल २९ खेलमा सहभागिता जनाउनेछ । हालै मात्र नेपालले स्क्वासमा समेत सहभागिता जनाउने निर्णय भएको छ । अब नेपालका तर्फबाट १ सय ८५ जना खेलाडीले सहभागिता जनाउनेछन् । नेपालबाट यति धेरै खेलमा यति धेरै खेलाडीले एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको यो पहिलो अवसर हो । इन्चेन र ग्वान्जाउमा भएका पछिल्ला एसियाली खेलकुदमा नेपालले समान २० खेलमा भाग लिएको थियो । 

इन्डोनेसियामा नेपालले यसपटक ९ वटाभन्दा बढी खेलमा सहभागिता जनाउनेछ । नेपालले सहभागिता जनाउने खेलमा अब स्क्वाससँगै भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबल टेनिस, कराँते, ब्याडमिन्टन, पाराग्लाइडिङ, कवड्डी, साइक्लिङ, सेपाकताक्रो, स्पोर्टस क्लाइम्बिङ, पेन्केक सिलात, भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस, बास्केटबल तथा स्केट बोर्डिङ छन् । 

नेपालले पाराग्लाइडिङ, पेन्केक सिलात, स्पोर्टस क्लाइम्बिङ, कुराँस एवं स्केट बोर्डिङमा पहिलो पटक सहभागिता जनाउँदैछ । यसपटकको एसियाली खेलकुदका नयाँ १० खेलमा यी खेल पनि पर्छन् । नेपालको कुल सहभागिता ३ सयको हाराहारीमा रहनेछ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर विष्टले टिमको नेतृत्व गर्नेछन् भने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ‘सेभ द मिसन’ रहने छन् ।

अहिलेसम्मकै धेरै पदक

केशवबहादु्र विष्ट

सदस्य सचिव

अहिलेसम्म नेपालले जति पनि एसियाली खेलकुद खेलेको छ, त्यसमध्ये यसपटक प्रदर्शन अहिलेसम्मकै सबैभन्दा राम्रो हुने विश्वास छ । नेपालले कति पदक जित्छ, ठ्याक्कै दाबी गर्न सकिँदैन । हाम्रो पहिलो लक्ष्य त स्वर्ण पदक नै हो, तर कम्तीमा दुई रजत र तीन कांस्यको आशा गर्न सक्छौं । हामीले तीन चरणमा तयारी गरेका छौं । अहिले प्रमुख खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा छन् । नेपालको बढी सम्भावना मार्सल आर्ट्ससम्बन्धी खेलमै हो । प्याराग्लाइडिङमा पनि पदक जित्ने उत्तिकै सम्भावना छ । सम्भवत: महिला बक्सिङमा पनि हाम्रो सम्भावना छ । हामीले जुन खेलबाट बढी आशा राखेका छौं, तिनै खेलका खेलाडीलाई विदेशमा विशेष प्रशिक्षणको व्यवस्था गरेका हौं । मार्सल आर्टसका खेलमध्ये दक्षिण कोरियामा तेक्वान्दो, चीनमा उसु, जापानमा कराँते तथा हंगेरीमा जुडोको प्रशिक्षण भैरहेको छ । बजेटको समस्या नभएको भए, हामीले अझ राम्रो तयारी गर्न सक्थ्यौं, तैपनि हामीले सक्दो राम्रो तयारी गरेका छौं । यसभन्दा पहिलेका एसियाली खेलकुद अघि जुन प्रकारको विवाद हुन्थ्यो, यसपटक त्यस्तो केही देखिएको छैन । 

पदकको सम्भावना कम

जीवनराम श्रेष्ठ

अध्यक्ष, ने.ओ.कमिटी

इन्डोनेसियामा हुने एसियाली खेलकुदबाट हामीले पदकको ठूलो आशा राख्नु हुँदैन । सबैलाई थाहा छ, एसियाली खेलकुदमा अब्बल दर्जाको प्रतिस्पर्धा हुन्छ र हामीले जुन प्रकारको तयारी गरेका छौं, त्यो पदक जित्न अपुग हुन सक्छ । हाम्रा लागि एसियाली खेलकुद अनुभव बटुल्ने राम्रो अवसर हो । हामीले यसमा अनुभव बटुलेर दक्षिण एसियाली खेलकुदका लागि राम्रो तयारी गर्न सक्छौं । हामीले यसपटक राम्रो तयारी गरेका छौं, तैपनि पदक जित्न सजिलो छैन । विशेषत: स्वर्ण पदकको त सम्भावना छैन भने पनि हुन्छ ।

प्रकाशित :श्रावण २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्