असार–साउनमै तीज गीतको बाढी

- महेश तिमल्सिना

श्रावण २२, २०७५

 

हिन्दू धर्मावलम्बी महिलाहरूको महान् चाड हरितालिका तीज आउन अझै एक महिना बाँकी छ, तर गाउँ–बस्ती तथा सहरबजारमा तीजका भाकाहरू घन्किन थालिसकेका छन् । कलाकारहरू तीज गीतकै कारण भ्याइनभ्याइ छन् । विशेषगरी लोकदोहोरी गायक/गायिका तथा मोडलहरूलाई तीज गीतले बेफुर्सदी बनाएको छ । 

यतिबेला गायक पशुपति शर्मा तीजकै चटारोमा छन् । शर्माले यसपालि आफ्नै शब्द–संगीतमा चारवटा गीत तयार पारेका छन् । लौरी हरायो, गोली मार्दे पुतली, माननीयज्यू, यही माया हो आदि गीतमा शर्माकै स्वर सुन्न सकिन्छ । ती गीतले युट्युबमा राम्रै भ्युज पाएका छन् । तीमध्ये लौरी हरायो गीतले यसपालि सार्वजनिक भएका तीज गीतमध्ये सबैभन्दा धेरै भ्यूज पाएको छ । शर्मा भन्छन्– मैले गतवर्ष धेरै गीत गाएँ तर, २ वटा गीतले मात्र चर्चा पाए, त्यसैले यसपालि थोरै गाउने तर, राम्रो गाउने सोंच बनाएको छु । शर्मा तीज विशेष कार्यक्रममा सहभागी हुन यो वर्ष अस्ट्रेलिया, जापान, भारत आदि देश जाँदै छन् । 

तीजको रंगमा गायक बद्री पंगेनी पनि रंगिएका छन् । उनले यसपालि ३ वटा तीज गीत बजारमा ल्याइसकेका छन् । माइतीघर, जमुना र मोतीराम, चिटिक्कै मलाई सुहायो गीतमा पंगेनीको स्वर छ । पंगेनी भन्छन्– हामी तीज गीत पैसा कमाउन भन्दा पनि स्टेज कार्यक्रम पाउन गाउँछौं । यसपालि मेरो आशा पनि त्यही हो । पंगेनी पनि यो वर्षको तीज विशेष कार्यक्रममा सहभागी हुन दुबई तथा भारत जाँदै छन् । 

गायक खुमन अधिकारीले यो वर्ष थुप्रै गीत गाएका छन् । बरिलै, उल्टो सुनेर, हरियो चुरा, चम्किए तरुनी, शिरफूल खस्यो मेरो, मोटा मोटा छन्, भुरुरु उडेको पुतली आदि ३० वटा गीतमा अधिकारीको स्वर सुन्न सकिन्छ । जसमध्ये १५ वटा गीत बजारमा आइसकेका छन् । खुमनले आफैंले गाएका ४ वटा तीज गीतमा अभिनय समेत गरेका छन् । गायक अधिकारीले यो वर्ष तीज गीत गाएरै ४ लाख रुपैयाँ आम्दानी गरेका छन् । उनी तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया, दुबई, जापान, इजरायल आदि देश पनि जाँदै छन् । 

गायिका राधिका हमालले यसपालि १६ वटा तीज गीतमा स्वर भरिसकेकी छिन् । आफूले एउटा गीतमा स्वर दिएबापत १५ हजार रुपैयाँ पारिश्रमिक लिने हमाल बताउँछिन् । यसपालि तीज गीत गाएर २ लाख रुपैयाँको हाराहारीमा आम्दानी भएको उनी बताउँछिन् । राधिका तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया तथा जापान जाने तयारीमा छिन् । त्यहाँका स्टेज कार्यक्रमबाट ७ लाख रुपैयाँभन्दा माथि आम्दानी गर्ने लक्ष्य रहेको हमाल बताउँछिन् । गायिका पूर्णकला बिसीलाई पनि तीजले छोपिसकेको छ । उनले यो वर्ष २६ वटा तीज गीतमा स्वर दिएकी छिन् । बिसी एउटा गीतमा स्वर दिएबापत ७ हजार रुपैयाँ पारिश्रमिक लिने गरेको बताउँछिन् । उनले यसपालि तीज गीत गाएर २ लाख रुपैयाँजति आम्दानी गरिसकेकी छिन् भने देश–विदेशमा हुने तीज विशेष कार्यक्रममार्फत २ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अपेक्षा उनको छ । बीसी तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया, जापान तथा भारत जाने पक्का भैसकेको छ । 

गायिका देवी घर्ती र तीज गीत एक–अर्काका पर्याय झैं भैसकेका छन् । यो वर्षको तीजमा मात्र उनले एक दर्जनभन्दा बढी तीज गीत गाइसकेकी छिन् । यस पटकको तीजको अवसरमा गायिका देवी अस्ट्ेरलियामा आयोजना हुने तीज विशेष कार्यक्रममा सहभागी हुँदैछिन् । सिड्नीको अस्फिल्ड पार्कमा हुने तीज मेला–२ मा गायिका घर्तीले आफ्ना लोकप्रिय गीतहरूका साथै तीज गीतसमेत प्रस्तुत गर्नेछिन् । कार्यक्रममा देवी घर्तीका साथै गायक पशुपति शर्मा, गायिका मञ्जु पौडेल, गायक सन्तु थापा, विजय थापासहितका लोकप्रिय गायक–गायिकाहरू सहभागी हुने छिन् ।

गायक तथा मोडल रामजी खाँडलाई पनि तीजले छपक्कै छोपेको छ । उनले अहिलेसम्म ८ वटा गीतमा स्वर दिइसकेका छन् भने ३५ वटाभन्दा बढी तीज गीतको भिडियोमा अभिनय गरिसकेका छन् । एउटा गीत गाएबापत १० हजार रुपैयाँ तथा मोडलिङबापत २५ देखि ३५ हजार रुपैयाँसम्म पारिश्रमिक लिने खाँड बताउँछन् । उनले यसपालि तीजमा ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । खाँड यसपालिको तीज विशेष कार्यक्रमका लागि जापान, इजरायल, कोरिया आदि देश पुग्दै छन् । 

गायनका साथै मोडलिङमा समेत राम्रो दख्खल राख्ने गायक प्रकाश सपूतले यसपालि ४५ वटाभन्दा बढी तीज गीतका भिडियोमा अभिनय गरेका छन्, भने ३ वटा गीतमा स्वर दिएका छन् । उनले यसपालि गायन तथा मोडलिङबाट ४ लाख रुपैयाँको हाराहारीमा आम्दानी गरिसकेका छन् । सपूत यो वर्ष जापान, दुबई तथा बेंगलुरुको तीज विशेष कार्यक्रममा सहभागी हुँदैछन् ।

मोडल अञ्जली अधिकारीले हालसम्म ६५ वटा भन्दा बढी तीजका भिडियोमा अभिनय गरिसकेकी छिन् । करिश्मा ढकाललाई पनि तीजले भ्याइनभ्याइ बनाएको छ । ढकालले ५५ वटा तीज गीतमा अभिनय गरिसकेकी छिन् । यो तीजमा ७० भन्दा बढी भिडियोमा अभिनय गर्ने ढकाल बताउँछिन् । एउटा भिडियोमा अभिनय गरेबापत ढकाल १५ हजार रुपैयाँ पारिश्रमिक लिन्छिन् । उनले यो तीज अवधिभर म्युजिक भिडियोमा अभिनय गरेबापत १० लाख रुपैयाँजति आम्दानी हुने अपेक्षा गरेकी छिन् । ढकाल तीज विशेष कार्यक्रमका लागि दुबई जाने तयारीमा छिन् ।

फेरि आइन् माननीय कोमल वली 

कोमल वली राजनीतिमा लागिन्, अब उनले गीत गाउँदिनन् भन्ने अनुमान धेरैको थियो । यद्यपि धेरैको अनुमान विपरीत वलीले यसैपालि एक दर्जन तीज गीतमा स्वर दिएकी छिन्, जसमध्ये उनको आफ्नै स्वर तथा अभिनयको आउँ दिदी–बहिनी हो तथा माननीयज्यू गीत बजारमा आइसकेका छन् । विगतका वर्षको तुलनामा यो वर्ष आफूले केही बढी तीज गीत गाएको वली बताउँछिन् । तीज गीतबाटै चर्चा बटुलेकी वलीको २०६३ मा बजारमा आएको पोइल जान पाम गीत अझै पनि जनजिब्रोमा छ । पोइल जान पामले तीज गीतमा क्रान्ति नै ल्याएको गायिका वलीको दाबी छ । उक्त गीत सार्वजनिक भएको वर्ष करिब ९ महिना जति विदेशका कार्यक्रममै बितेको उनी सम्झन्छिन् । करिब १२ वर्ष पहिले सार्वजनिक भएको उक्त गीतबाट उनले त्यतिबेला २० लाख रुपैयाँजति आम्दानी गरेकी थिइन् । वली यतिबेला राष्ट्रिय सभा सदस्य भैसकेकी छिन् । यो वर्षको तीजमा उनले १५ लाख रुपैयाँजति आम्दानी गर्ने अनुमान गरेकी छिन् । उक्त रकमबाट एउटा एम्बुलेन्स किन्ने योजनामा छिन् वली । उनी यो वर्ष तीज विशेष कार्यक्रमका लागि अष्ट्रेलिया तथा क्यानाडा पनि पुग्दैछिन् ।  

भड्किला गीत बहिष्कार

गत वर्ष पूर्णकला बिसी तथा गोपाल नेपालको स्वरको कट्टुमा बुट्टा गीतको सर्वत्र आलोचना भयो । उक्त गीतको धेरै आलोचना भएपछि बिसीले लोकदोहोरी प्रतिष्ठानमा लिखित रूपमा क्षमा समेत मागेकी थिइन् । यो वर्ष पनि बिसीलाई त्यस्तै, अश्लील शब्द प्रयोग भएका गीत गाउने अफर आएका थिए, तर उनले त्यस्ता गीत गाउन अस्वीकार गरिन् । उता गायिका राधिका हमाललाई पनि अश्लील शब्द प्रयोग भएका गीत गाउन अफर आएको थियो, तर उनले पनि अश्लील शब्द प्रयोग भएकै कारण ती गीत नगाएको बताइन् । बिसी र हमालसहित मुना थापामगर, टीका पुन, देवी घर्ती आदि गायिकाले पनि अश्लील गीत गाउन अस्वीकार गरेको बताइन्छ । 

घाटामा तीज गीत 

महिलाहरूको महान चाड तीजमा अनगिन्ती गीत सार्वजनिक हुन्छन् । यसरी गीत सार्वजनिक भएको देख्दा तीज गीतबाट प्रसस्तै आम्दानी हुने अनुमान गरिन्छ, तर तीज गीतबाट लगानी उठाउनै गाह्रो पर्ने संगीतकर्मीहरू बताउँछन् । कलाकारहरूले देश–विदेशको स्टेज कार्यक्रम पाउने आशाले तीज गीत सार्वजनिक गर्ने गायक बद्री पंगेनी बताउँछन् । अहिले एउटा तीज गीतको भिडियो निर्माण भएर बजारसम्म आउन सामान्यतया: १ लाख ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म लगानी हुन्छ । अहिलेको परिस्थितिमा तीज गीतको लगानी उठाउन कलाकारहरू स्टेज कार्यक्रममै निर्भर छन् । 

तीजका लागि सबै अष्ट्रेलिया

तीज आउन डेढ महिना बाँकी नै छ, यद्यपि तीज विशेष गीत–संगीतले तीजको वातावरण सिर्जना गरिसकेका छन् । साउने सोमबारको क्रेजले गाउँ–सहरमा तीजको रौनक ल्याइसकेको छ । यसबीच यो वर्षको तीजमा अधिकांश गायक–गायिका स्वदेशमा उपलब्ध नहुने निश्चित छ । झन्डै दुई दर्जन गायक–गायिका करिब–करिब उस्तै समयमा अष्ट्रेलिया जाँदै छन् । कोमल वली, पशुपति शर्मा, मेलिना राई, खुमन अधिकारी, तेजस रेग्मी, देवी घर्ती, माण्डबी त्रिपाठी, मञ्जु पौडेल, कल्पना कुसुम, शान्तिश्री परियार, शन्तु थापा, लक्ष्मी मल्ल आदि अबको दुई साताभित्र अष्ट्रेलिया पुगिसक्ने बताइन्छ । उनीहरूसँगै अभिनेत्री करिश्मा मानन्धर, गौरी मल्ल, प्रियंका कार्की आदि पनि अष्ट्रेलियाका तीज कार्यक्रमहरूमा सहभागी हुँदैछन् । नाम चलेका कलाकार अष्ट्रेलिया पुग्दा स्वदेशका तीज विशेष कार्यक्रमहरू खल्लो पो हुने हुन् कि भन्ने चिन्ता पारखीहरूको छ । 

 

प्रकाशित :श्रावण २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्