इन्दिरा जोशीलाई सरी भन्थें
- प्रदीप बास्तोला, अभिनेता/संगीतकर्मी
श्रावण २२, २०७५
तपाईंले गीत गाउने क्रममा स्वर परिवर्तन भएर गायिकाको जस्तो भयो भने ?
मौन बस्न मिल्ने भए मौन बस्थेँ, नभए गायिकाजस्तै गाउन थाल्थेँ ।
सुतेर उठ्दा आफू गर्भवती भएको कुरा थाहा पाउनुभयो भने ?
प्रकृति र विज्ञानलाई चुनौती दिने यो कुरा सबैलाई भन्थेँ । आफ्नो विशेष भोगाइलाई सौभाग्य र कर्तव्य मानेर स्वस्थ शिशु जन्माउन आवश्यक सतर्कता अपनाउँथें ।
अचानक तालु खुइले हुनुभयो भने ?
ऐनामा आफूलाई हेर्दै, अहिलेको बाक्लो र सिल्की केश सम्झेर दु:खी हुन्थेँ । बाहिर चाहिँ केहि समय वीग लगाएर हिँड्थें कि ?
हिंडिरहेका बेला यमराजसँग जम्काभेट भयो भने ?
सबैभन्दा पहिले यमराजलाई न्यानो अभिवादन टक्र्याउँथेँ, उनको प्रिय बन्न खोज्थेँ र ‘हाम्रो यस्तो स्वर्ग समान देश बिगार्ने मुख्य जिम्मेवारहरू, नालायक, भ्रष्टाचारी तथा कपुतहरूलाई हामीले चिन्न सकेनौँ प्रभु, हजुरले नै चिनेर सबैलाई नर्कमा लगेर राख्नुपर्यो’, भनेर आग्रह गर्थें ।
अन्डा उसिन्ने क्रममा चल्ला निस्कियो भने ?
ग्याँस निभाएर भान्साबाट भाग्थेँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गर्नुभयो भने ?
प्रधानमन्त्रीज्युले नै फोन गर्नुभयो भने त त्यो विषयगत अथवा त्यसको उचित कारण पक्कै हुन्छ । पहिले त्यो कारण बुझ्नेछु । मेरो विचार र काम या त उहाँको जिज्ञासा मेटाउने हुनेछ अथवा निर्देशन पालना गर्ने ।
घर पुग्दा भान्सामा ऐश्वर्या रायले चिया पकाइरहेको पाउनुभयो भने ?
एकछिन त अचम्मित हुन्थें । त्यसपछि अभिषेक बच्चन र अमिताभ बच्चन पनि आउनु भा’छ कि भनेर सोधखोज गर्थे ।
मनिप्लान्टबाट साँच्चिकै पैसा फल्न थाल्यो भने ?
पहिले राम्रोसँग चेक गर्थें— त्यो नोट बजारमा चल्छ कि चल्दैन ? यदि चल्ने रहेछ भने त कोठाभरि मात्र किन घरभरि नै मनिप्लान्ट रोप्थेँ नि ।
गायिका इन्दिरा जोशीले विवाह गर्छु भनेर मरिहत्ते गरिन् भने ?
हाहा....‘सरि, यसपालि तपाईंलाई म काठमाडौंको मेरो घर लिएर जान सक्दिनँ, अर्को वर्ष प्रयास गर्नुस्’ भन्थेँ । वास्तवमा म विवाहका लागि तयार नभएरै हो, अन्यथा यति राम्री र प्रतिभावान् श्रीमती पाउने अवसर किन गुमाउथेँ र ?
प्रकाशित :श्रावण २२, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्