एसियाली खेलकुदमा नेपाल

- साप्ताहिक संवाददाता

श्रावण २१, २०७५

 

एसिया महादेशको सबैभन्दा ठूलो महोत्सव हो— एसियाली खेलकुद । इन्डोनेसियाले भदौ २ देखि १७ गतेसम्म १८ औं संस्करणको एसियाली खेलकुद प्रतियोगिताको आयोजना गर्दैछ र नेपाल पनि त्यसमा ठूलो उत्साहका साथ सहभागी हुँदैछ । खासमा एसियाली खेलकुदको इतिहास जति पुरानो छ, नेपालको सहभागिता पनि उत्तिकै पुरानो छ । प्रतियोगितामा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) सँग आवद्ध देशले भाग लिन पाउँछन् र नेपाल त्यसको एक सक्रिय सदस्य हो । नेपालले दोस्रो एसियाली खेलकुदबाहेक अरू सबैमा सहभागिता जनाउँदै आएको छ । 

पदकका आधारमा भने एसियाली खेलकुदमा नेपालको प्रदर्शन उल्लेखनीय छैन । सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुददेखि नेपालले लगातार पदक जितेको छ र यो क्रम अहिलेसम्म भंग भएको छैन, तर नेपालले जितेका अधिकांश पदक कांस्य छन् । नेपालले अहिलेसम्म १ रजत तथा २२ वटा कांस्य पदक जितेको छ । त्यसमध्ये नेपालका लागि सर्वाधिक सफल खेल तेक्वान्दो हो । यो खेलले नेपाललाई १ रजत तथा १३ वटा कांस्य पदक दिएको छ । 

यस्तै बक्सिङबाट ६ तथा कराँतेबाट ३ वटा कांस्य पदक प्राप्त भएको छ । सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दोतर्फ सबिता राजभण्डारीले रजत पदक जितेकी थिइन र यो नै एसियाली खेलकुद प्रतियोगितामा नेपालको सबैभन्दा राम्रो प्रदर्शन हो ।

सहभागितालाई आधार मान्ने हो भने भारतको नयाँ दिल्लीले सन् १९५१ मा पहिलो एसियाली खेलकुदको आयोजना गरेको थियो र त्यसमा मात्र ११ देशको सहभागिता थियो । ती भाग्यमानी ११ देशमा नेपाल पनि पर्छ । नेपालले फिलिपिन्सको मनिलामा सम्पन्न दोस्रो एसियाली खेलकुदमा भने आफ्नो टिम पठाएन । त्यसपछि नेपालको सहभागिता निरन्तर छ । सन् १९५८ मा जापानको टोकियोमा भएको तेस्रो एसियाली खेलकुदमा नेपालले दुई सदस्यीय टोली पठाएको थियो । सन् १९६२ मा इन्डोनेसियाको जाकार्ता भएको चौथो एसियाली खेलकुदमा नेपालका तर्फबाट आठ सदस्यीय टोलीले भाग लियो । चौथो एसियाली खेलकुदसम्म प्रतियोगितामा नेपालको सहभागिता ट्रयाक एन्ड फिल्डमै सीमित रह्यो । 

थाइल्यान्डको बैंककमा भएको पाँचौं एसियाली खेलकुदयता नेपालले एथलेटिक्ससहित अन्य खेलमा समेत भाग लिन थाल्यो । सन् १९६६ मा नेपालले ब्याडमिन्टन तथा टेबलटेनिसमा भाग लिएको थियो । बैंककमै सन् १९७० मा भएको छैटौं एसियाली खेलकुदमा नेपालको सहभागिताले तीन खेल पनि नाघ्यो । नेपालले एसियाली खेलकुदमा भाग लिएको चौथो खेल लनटेनिस थियो । त्यतिबेला नेपालको १५ सदस्यीय टोली बैंकक पुगेको थियो । सन् १९७४ मा इरानको तेहरानमा सम्पन्न सातौं एसियाली खेलकुमा नेपालबाट चार खेलमा २६ जना खेलाडीले सहभागिता जनाएका थिए । 

आठौं एसियाली खेलकुद सन् १९७४ मा पुन: एकपटक बैंकक फर्किएको थियो र त्यसमा नेपालले एथलेटिक्स, टेबल टेनिस, बक्सिङ, भलिबल, ब्याडमिन्टन, जिम्न्यास्टिक तथा भारोत्तोलन गरी ७ खेलमा भाग लियो । त्यति बेला नेपालले ६८ सदस्यीय टोली बैंकक पठाएको थियो । सन् १९८२ मा भारतको नयाँ दिल्लीले नवौं एसियाली खेलकुदको आयोजना गर्‍यो र त्यसमा सहभागी नेपाली टोलीको सदस्य संख्या १ सयभन्दा बढी थियो । त्यो एसियाली खेलकुदमा नेपालले सयभन्दा बढीको टोली पठाएको त्पहिलो अवसर थियो । नयाँ दिल्लीमा सहभागी १ सय २४ सदस्यीय नेपाली टिमले ११ खेलमा भाग लिएको थियो । 

सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाडमा नेपालले १२ वटा खेलमा सहभागी हुन ८७ जना पुरुष तथा १९ जना महिला खेलाडी पठाएको थियो । सोल एसियाडमा नेपालको प्रदर्शन पनि ऐतिहासिक रह्यो । नेपालले प्रतियोगिमा ८ वटा कांस्य पदक जित्यो । नेपालका लागि बक्सिङमा दलबहादुर रानामगर, मनोज बहादुर श्रेष्ठ, सुशिल पोखरेल र तुलबहादुर श्रेष्ठ तथा तेक्वान्दोमा विधान लामा, राजकुमार राई, राजकुमार बुछे र रामबहादुर घच्छेले पदक जितेका थिए । सोल एसियाडमा पहिलो पटक प्रदर्शनी खेलका रूपमा तेक्वान्दोलाई समावेश गरिएको थियो ।

सन् १९९० मा चीनको बेइजिङमा भएको ११ औं एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व १ सय ४१ सदस्यीय टिमले गर्‍यो । बक्सर चित्रबहादुर गुरुङले नेपालका लागि एक मात्र कांस्य जिते । सन् १९९४ मा जापानको हिरोसिमामा भएको १२ औं एसियाली खेलकुदमा नेपालले १ सय १० सदस्यीय टोली पठाएको थियो । त्यहाँ मानबहादुर शाहीले तेक्वान्दो तथा सीता राईले कराँतेमा कांस्य पदक जिते । सीता एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने पहिलो महिला खेलाडी भइन् । 

फेरि एकपटक १३ औं एसियाली खेलकुद बैंककमा भयो र त्यसमा नेपालले १ रजत तथा ४ कांस्य पदक जितेर ऐतिहासिक सफलता हात पार्‍यो । सबिताले तेक्वान्दोमा ऐतिहासिक रजत पदक जितिन । तेक्वान्दोमै किशोरबहादुर श्रेष्ठ र सपना मल्ल तथा कराँतेमा सम्बर बहादुर गोलेले पनि कांस्य पदक हात पारे । कोरियाको बुसानमा आयोजित चौधौं एसियाली खेलकुदमा नेपालका लागि तेक्वान्दोतर्फ दीपक विष्ट, रेनुका मगर तथा रितु जिमी राईले ३ कांस्य जितेका थिए । 

कतारको दोहामा सम्पन्न १५ औं एसियाली खेलकुदमा मार्सल आर्ट्सबाट मात्र पदक प्राप्त भयो । त्यसमा दीपक विष्ट, मनिता शाही तथा आयशा शाक्यले कांस्य पदक जिते । चीनको ग्वान्जाओमा सम्पन्न १६ औं एसियाली खेलकुदमा भने बक्सिङका दीपक महर्जनले एक मात्र कांस्य जिते । दक्षिण कोरियाको इन्चेनमा सञ्चालित १७ औं एसियाली खेलकुदमा भने नेपाल एक कांस्यमै सीमित भयो । प्रतियोगितामा विनिता तामाङले उक्त सफलता हात पारेकी थिइन् । 

प्रकाशित :श्रावण २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्