नेपाली भाषा स्विट लाग्छ
- दीपशिखा मिश्र, गायिका
श्रावण २१, २०७५
भारतको उडिसाकी लोकप्रिय गायिका नेपाली संगीतमा कसरी आकर्षित हुनुभयो ?
म झन्डै १२ वर्षदेखि वीरगन्जमा छु । नेपालमा रहँदा आफूले जानेको गायन कलालाई निरन्तरता दिनुपर्छ भन्ने लागेर नेपाली गीत गाउन थालेकी हुँ ।
गायनमा सक्रिय भएको कति भयो ?
मैले छ वर्षको उमेरमा पहिलो पटक अल इन्डिया रेडियोमा भक्ति संगीतमा आधारित गीत रेकर्ड गराएकी थिएँ । त्यसयता मैले नेपाली, हिन्दी, उडिया, बाङ्ला तथा संस्कृत भाषाका गरी झन्डै १ सयभन्दा बढी गीत रेकर्ड गराइसकें ।
नेपाली गीत गाउने अवसर कसरी पाउनुभयो ?
केही वर्षअघि वीरगन्जमा आयोजित एउटा सांस्कृतिक कार्यक्रममा गायिका अञ्जु पन्तको ‘न बिर्सें तिमीलाई...’ गाउँदा दर्शकबाट पाएको उत्साहजनक प्रतिक्रियाले नै मलाई नेपाली गीत गाउन प्रेरित गरेको हो ।
तपाईंले गाएका नेपाली गीत कस्ता छन् ?
मैले हालसम्म सात वटा नेपाली गीत रेकर्ड गराएकी छु । अधिकांश गीत सुगम संगीतमा आधारित छन् । रमेश परियार, राजन तिमिल्सिना, हरि लम्साल आदि संगीतकारका कम्पोजमा गाउने मौका पाएकी छु । मेरा केही गीत युट्युबमा समेत उपलब्ध छन् ।
उडिया भाषाकी गायिकालाई नेपाली गीत गाउन कत्तिको गार्हो भयो ?
मलाई त नेपाली भाषा बंगाली, उडिया र संस्कृति भाषाको सम्मिश्रण जस्तो लाग्यो । बंगाली जत्तिकै स्विट छ नेपाली भाषा । यस्तो मीठो भाषामा गीत गाउन पाउँदा असहज महसुस हुने कुरै भएन ।
नयाँ के गर्दै हुनुहुन्छ ?
संगीतकार हरि लम्सालको संगीतमा निकट भविष्यमै ‘खुसी हुँदा...’ गीत लिएर आउँदैछु । त्यसपछि संगीतकार किरण कँडेलको संगीतमा पनि गाउँदैछु । नेपाली भाषाका गीतको एल्बम नै प्रकाशित गर्ने योजना छ । काठमाडौं तथा वीरगन्जमा आयोजना हुने सांगीतिक कार्यक्रममा नियमित रूपमा सहभागिता जनाइरहेकी छु ।
प्रकाशित :श्रावण २१, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्