Teej banner

पुरुषबाट यसरी बनें महिला

- साप्ताहिक संवाददाता

श्रावण १९, २०७५

 

मलाई नै हेर्नुस्, छोरा भएर जन्मिएँ । यौनाङ्ग छोराकै छ तर लैङ्गिक चेतना आएपछि मैले आफूलाई महिला महसुस गर्न थालेँ । सलवार, कुर्ता, सारी, चोलोमा सजिएर हिँड्न थालेँ । लिपिस्टिक, क्रिम, पाउडर लगाउन अनि दाह्री–जुँगा आउन नदिने हरेक प्रयास गर्न थालेँ । महिलाको जस्तो स्तन बनाउन हार्मोन खाएँ तर नआएपछि थाइल्यान्ड पुगेर स्तन प्रत्यारोपण गराएँ । काठमाडौँकै एक निजी अस्पतालमा सर्जरी गरेर यौनाङ्गको केही भाग निकालिदिएँ । यसरी म हरसम्भव महिला बन्न उद्यत छु ।  

०००

ब्रेस्ट इम्प्लान्टपछि बल्ल मैले केटीको जस्तो आकृति पाउन सकेँ । अब यौनाङ्ग पनि परिवर्तन गर्न पाए हुन्थ्योजस्तो लाग्न थाल्यो, तर नेपालमा यौनाङ्ग परिवर्तनको सेवा उपलब्ध थिएन । विदेश जाँदा पनि महँगो पर्ने भएकाले काठमाडौँकै एक निजी अस्पतालमा यौनाङ्गको केही भाग हटाउने निर्णय गरेँ । यद्यपि पूरै यौनाङ्ग हटाएर स्त्रीको जस्तो आकृति बनाउन गाह्रो रहेछ । त्यही भएर डाक्टरको परामर्शमा अर्किटोमी अर्थात् टेस्टिज मात्र फाल्ने निर्णय गरेँ । पुरुषहरूमा हुने फरक हार्मोनकै कारण स्वर धोद्रो अनि ज्यान ठूलो हुन्छ । नसा देखिन्छ । छाला कडा हुन्छ । यी सबैबाट मुक्ति पाउनकै लागि मैले टेस्टिज हटाएँ । अहिले मेरो शरीरमा यस्तो हार्मोन विकास हुँदैन ।

टेस्टिज निकालेपछि शारीरिक रूपमा कमजोर महसुस गर्न थालेँ । त्यसैले आफूलाई बलियो र मजबुत बनाउन नियमित महिला हार्मोन खाइरहेकी छु । यो हार्मोनले व्यापक साइड इफेक्ट पनि गर्छ । ग्यास्टिक, दम, थाइराइड, चायाँपोतो, डन्डीफोर, उच्च रक्तचापजस्ता समस्या निम्तिन सक्छन् । तैपनि हार्मोन सेवन हाम्रा लागि जरुरी छ । कतिपय तेस्रोलिङ्गी साथीहरू विभिन्न गर्भनिरोधक औषधिसमेत खाइरहन्छन् । यसको अनियन्त्रित र अव्यवस्थित प्रयोगबाट ब्रेस्ट क्यान्सरजस्तो जटिल समस्या सिर्जना हुनसक्छ । त्यसैले सजग हुनैपर्छ । 

हार्मोन साथसाथै लिभ ५२ पनि प्रयोग गर्नुपर्छ । यससँगै पानी प्रशस्त पिउनुपर्छ, अन्यथा धेरै नकारात्मक असर पर्न सक्छ । कतिपय साथी परिवार नियोजनका लागि प्रयोग हुने ‘निलोकन’ चक्की पनि प्रयोग गर्छन् । मैले भने हार्मोन मात्र प्रयोग गरिरहेकी छु । 

०००

स्तन राखेपछि र अर्किटोमी निकालेर फालेपछि मेरो पनि केटापन हट्दै गएको छ । महिलाको जस्तो कोमल आभास बढ्दै गयो । हात, गोडा र अनुहार सबैतिर महिलाकै जस्तो नरम छाला भयो अनि मैले पुरुष–लिङ्ग हटाएर महिला–यौनाङ्ग प्रत्यारोपण गर्ने सोच बनाएँ । तर, नेपालमा यो सम्भव रहेनछ । बैङ्ककमा गरे सस्तो र भरपर्दो हुन्छ भन्ने जानकारी पाएँ । त्यहाँ पनि ११ लाख रुपैयाँ त कम्तीमा लाग्ने रहेछ । मसित अहिले त्यति धेरै पैसा छैन । अब दुई विकल्प छन्– लिङ्ग परिवर्तनका लागि पैसा नजुटुन्जेल पर्खेर बस्ने वा जेजस्तो अवस्थामा छु त्यसमै बाँकी जीवन बिताउने ।

लिङ्ग परिवर्तन असम्भव छैन, जटिल भने अवश्य छ । शल्यक्रियामा तेस्रोलिङ्गी महिलाको हकमा लिङ्ग हटाई योनि प्रत्यारोपण गरिन्छ भने पुरुषको हकमा योनिको स्थानमा लिङ्ग बनाइन्छ । लिङ्गलाई योनिमा परिणत गर्न जति सहज छ, लिङ्ग राख्नचाहिँ अलि जटिल मानिन्छ । लिङ्ग परिवर्तनपछि पनि उनीहरूले यौनसुख प्राप्त गर्न सक्छन् । अपरेसनका क्रममा अण्डाशय बाहिर निकालेर लिङ्गलाई योनि आकारमा बदलिन्छ । लिङ्गमा तीन किसिमका नसा हुँदा रहेछन् । पिसाब उत्पादन हुनेबाहेक बाँकी नसा काटिन्छ । लिङ्गलाई योनिको आकारमा बदलेर योनिद्वार बनाइन्छ । यो शल्यक्रिया आठ घण्टासम्म चल्छ । कतिपय पश्चिमी देशमा चिकित्सकको दुई वर्षको निगरानीपछि मात्र शल्यक्रिया गर्ने प्रावधान छ । एसियाली देशहरूमा भने यतिको समय लाग्दैन । 

जे होस्, लिङ्ग परिवर्तन, अङ्ग प्रत्यारोपण र हार्मोन सेवन सबै प्रविधि खर्चिलो छ । जोकसैले बेहोर्न सक्दैनन् । त्यसमाथि घरपरिवार, समाज र रोजगारस्थलमा अनेकौँ विभेद सामना गर्नुपर्ने । तेस्रोलिङ्गीको आयस्रोत भरपर्दो हुँदैन । धेरैले त घरपरिवार छाडेर टाढा र अपरिचित ठाउँमा गुजारा गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरू डिप्रेसन, खिन्नताजस्ता मानसिक समस्याले ग्रस्त रहन्छन् । कतिले सहन नसकेर आत्महत्याको बाटो पनि रोज्छन् । सर्वेक्षण गर्ने हो भने लिङ्ग परिवर्तन चाहने तेस्रोलिङ्गी थुप्रै छन् ।

हुन त अहिले समाज निकै उदार हुँदै गएको छ । तेस्रोलिङ्गीहरूले आफ्नो पहिचानमा जिउन पाउने भएका छन् । नेपाल मात्र होइन, दर्जनौँ मुलुकका कानुनमा तेस्रोलिङ्गीको पहिचान स्थापित छ । राज्यले सुविधा दिएको छ । नेपालमै पनि तेस्रोलिङ्गी भएकै आधारमा राजनीतिक दलमा प्रवेश पाएका छन् । नीलहिरा समाजका संस्थापक अध्यक्ष सुनीलबाबु पन्त सभासद्समेत हुनुभयो । तेस्रोलिङ्गीले आफ्नै पहिचानमा नागरिकता पाइरहेका छन् । त्यसैले हामीले लघुताभास गर्नुहुँदैन । आफ्नो पहिचानका सम्बन्धमा खुलेर बोल्नुपर्छ । नेपालको संविधानअनुसार लैङ्गिक आधारमा कसैप्रति पनि विभेद गर्न पाइँदैन । हामीले सम्मानजनक तबरले बाँच्ने दिन आइसकेको छ । 

०००

म पनि महिलाको पूर्ण यौनाङ्ग राख्ने कि नराख्ने, सोचिरहेकी छु । निर्णय लिइसकेकी छैन । ऐनाअगाडि उभिँदा आफैँलाई के नमिले–के नमिलेजस्तो अनुभव हुन्छ । यौनाङ्ग परिवर्तन गरे पनि तेस्रोलिङ्गी महिलाको पाठेघर हुँदैन । महिनाबारी हुँदैन, त्यसैले बच्चा जन्माउन सकिँदैन अनि फेरि प्रकृतिले आफूलाई जुन रूपमा जन्म दियो त्यही स्वरुपको माया पनि लाग्दो रहेछ । त्यसैले कतिपय तेस्रोलिङ्गी महिला–पुरुष आफू जुन रुपमा जन्मिइयो त्यसमै रमाएर जीवन बिताइरहेका छन् । 

०००

हाम्रो समुदायका धेरै साथीलाई जन्मिँदा पाएका यौनाङ्ग बोझिला लाग्छन् । केटाको अङ्ग छ, भावना केटीको । केटीको अङ्ग छ, भावना केटाको । ममा पनि यो भावना आइरह्यो । हरेक क्षण ‘हे भगवान्, भोलि उठ्दा मेरा सबै पुरुष अङ्ग गायब भइदिऊन्, नारी–अङ्गले शरीर सजिएको होस्’ भन्दै पुकारिरहन्थेँ । बिहान–बेलुका पूजा गर्थें । मन्दिर जान्थेँ । व्रत बस्थेँ । तर अहँ, भगवान्ले मेरो पुकार कहिल्यै सुनेनन् । 

भगवान्ले नसुनेर के भयो त ? वैज्ञानिकहरूले हाम्रा लागि धेरै अनुसन्धान गरिसकेका रहेछन् । आत्मबल चाहियो, पैसा पनि हुनुपर्‍यो, सबथोक सम्भव रहेछ दुनियाँमा । मेरा धेरै साथी हार्मोन सेवन गर्छन् । आफ्नो इच्छाअनुसार महिला वा पुरुषको शारीरिक आकृति र हाउभाउ बनाउने प्रयास गरिरहेका छन् । महिला–शरीर भएका धेरै तेस्रोलिङ्गीले पुरुषको जस्तो दाह्रीजुँगा उमारेका छन् । पुरुषकै जस्तो कडा छाला र मोटो स्वर बनाएका छन् । 

घोष्ट राइटिङ नेपालले बजारमा ल्याउन लागेको भूमिका श्रेष्ठको आत्मकथा ‘भूमिका’ को केही अंश । 

प्रकाशित :श्रावण १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्