आन्तरिक टेलिफोन उपकरण र टेलिफोन

- सुष्मा खत्री रञ्जित

श्रावण १६, २०७५

हेलो–एस फोर ट्रेडिङ यहाँलाई स्वागत गर्दछ । यदि यहाँलाई एक्सटेन्सन नम्बर थाहा भए नम्बर डायल गर्नुहोस्, नभए अपरेटरको सहयोगका लागि शून्य डायल गर्नुहोला । टेलिफोन डायल गर्नेबित्तिकै आउने यस्तो आवाज हामी सबैले सुनेका छौं । नेपाल दूरसंचार सेवादेखि लिएर मोबाइल सेवा जहाँ पनि विभिन्न आवाजले यो पछि यो गर्नु भन्ने निर्देशन दिइरहेको हुन्छ । यसमा टेलिफोन व्यस्त छ भन्नेदेखि लिएर, टेलिफोन सम्पर्क हुन सकेन, मोबाइल बन्द गरिएको छ, पर्याप्त व्यालेन्स छैन आदि सूचना प्रसारण गरिन्छ । 

यी आवाज विभिन्न स्टेसनबाट प्रसारण हुन्छन् । जस्तो घरको एक पिएसटिन लाइनबाट अर्को पिएलटिएन लाइनमा फोन गरिएको छ भने त्यसमा आउने निर्देशित आवाज दूरसंचार सेवाबाट उपलब्ध गराइन्छ । मोबाइलबाट मोबाइलमा गरिएको छ भने मोबाइल स्टेशनमा यी आवाज रेकर्ड गरी प्रसारण गरिन्छ । त्यस्तै मोबाइलबाट पिएसटिएन लाइनमा वा पिएसटिएनबाट मोबाइलमा फोन गर्दा आ–आफ्नो स्टेशनमा कसले के निर्देशन वा सूचना दिनुपर्ने हो, त्यो अटोमेटिक सिस्टमबाट प्रसारित हुन्छ । कतिपय अवस्थामा फोनमा बज्ने टोनले पनि के भैरहेको छ भन्ने कुरा स्पष्ट पार्छ । व्यस्त भएको अवस्थामा आउने टोन र डायल गर्नुअघि र डायल टोन फरक–फरक हुन्छ । त्यसैले रिङ टोन पनि फरक हुन्छ । रिङ टोन त प्रत्येक टेलिफोन सेट वा मोबाइल सेटअनुसार फरक–फरक हुन्छ । अझ रिङ टोन आफ्नो मोबाइलमा इच्छाअनुसार डाउनलोड गरेर पनि बजाउन सकिन्छ । 

कतिपय कार्यालय, बैंक, स्वास्थ्य संस्था, होटल आदिले दूरसंचारबाट विएसटिएन लाइन लिएर कार्यालयको प्रत्येक तल्ला, कोठा वा टेबल–टेबलमा टेलिफोन सेवा उपलब्ध गराएका हुन्छन् । यो आन्तरिक टेलिफोन सेवा दूरसंचारले गर्ने वा दिने होइन यो छुट्टै अन्य प्राइभेट कम्पनीहरूले गर्ने काम हो । यसरी आन्तरिक टेलिफोन लाइनका लागि छुट्टै उपकरणको आवश्यकता पर्छ । त्यसलाई इपीएबीएक्स भनिन्छ । यो आन्तरिक टेलिफोन एक्सचेन्ज उपकरण विभिन्न कम्पनीबाट उपलब्ध हुन्छन् । 

दूरसंचारबाट ल्याइएको पिएलटिएनको २–४ वटा लाइनलाई यो उपकरणमा जोडेर आन्तरिक रूपमा थुप्रै लाइन निकाली टेबल–टेबलसम्म वितरण गरिन्छ । कार्यालय वा संघसंस्थाको आवश्यकताअनुरूप ठूला–साना एवं मझौला इपिएबीएक्स उपकरण जडान गर्न सकिन्छ । जस्तो २–६, ३–४–३२, ८–६४ हुँदै ४–६ सय लाइन वा त्यसभन्दा बढी पनि हुनसक्छ । होटलमा ४ सयदेखि ५ सय कोठा छन् भने त्यहीअनुरूप ठूलो उपकरणको आवश्यकता पर्छ भने सानो घरका लागि प्रयोग गर्ने हो भने २–६, ३–८ लाइनको उपकरण लिन सकिन्छ र त्यसमा माथि भनेजस्तो, आफ्ना संघसंस्था वा कम्पनीको नाम भनेर एक्सटेन्सन नम्बरका लागि अपरेटर वा के डायल गर्नुपर्ने भन्ने हो, त्यो कुरा रेकर्ड गराएर निर्देशित गराउन सकिन्छ । यसलाई आउटगोइङ म्यासेज भनिन्छ । यो म्यासेज पिएबीएक्स उपकरणभित्रै पनि रेकर्ड गराउन सकिन्छ भने छुट्टै अर्को उपकरणमा रेकर्ड गराएर लिंक गराउन समेत सकिन्छ । 

त्यस्तै भ्वाइसमेल बक्स समेत भएको उपकरण छ भने फोन उठाउन नसक्ने अवस्था आफ्नो कुरा रेकर्ड गराएर छोड्न सकिन्छ । विदेशतिर यस्तो उपकरण जडित टेलिफोनको प्रयोग प्रशस्तै भएको पाइन्छ । त्यस्तै टेलिफोनमा भ्वाइस लगर जडान गरिएको छ भने टेलिफोनमा गरिएको कुराकानी रेकर्ड गरेर कम्प्युटरमा सुरक्षित राख्न सकिन्छ । 

मोबाइलको प्रयोग एवं विकाससँग यो आन्तरिक टेलिफोन उपकरणमा नयाँ–नयाँ सुविधा, नयाँ प्रविधि थपिँदै गएर कार्यालय, संघसंस्था, ठूला,–साना घरहरूमा समेत यसको प्रयोग बढेको छ । हरेकको हातमा मोबाइल भए पनि पिएसटिएन लाइनको प्रयोग पनि उत्तिकै छ । अझ यसलाई पनि तारसहित र ताररहित दुवै प्रकारले प्रयोग गरिँदै आएको छ । घरमा तल–माथि गर्न कठिन हुँदा कर्डलेस फोन प्रयोग गर्न सकिन्छ । 

अब तारलाई विस्थापित गर्दै ताररहित टेलिफोन बढी प्रयोग हुँदैछ । अझ त्यसमा पनि संसारले आइपी टेक्नोलोजीतर्फ फड्को मारिसकेको छ । यो आन्तरिक टेलिफोन उपकरणसमेत आइपी टेक्नोलोजीमा आधारित भै नयाँ स्वरूपमा परिणत भैसकेको छ ।

प्रकाशित :श्रावण १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्