मानिसलाई परिस्थितिले नियन्त्रण गर्छ

- साप्ताहिक संवाददाता

श्रावण १६, २०७५

भारत, मध्यप्रदेश भिण्डस्थित सानो गाउँ सिंहपुरको सामान्य किसान परिवारमा जन्मिएका हुन्– पञ्चम सिंह । सन् १९२२ मा क्षेत्री कुलमा जन्मिएका पञ्चमले ४ कक्षासम्म मात्र अध्ययन गरेका छन् । गाउँमा त्यतिबेला भएको स्थानीय चुनावका सिलसिलामा उनका विरोधी पक्षका सामन्त परिवारका ६ जनाले उनी तथा उनका पितामाथि निर्घात कुटपिट गरे । त्यही कुटपिटको प्रतिशोध लिन उनी ३६ वर्षको उमेरमा चम्बल घाटी (उपत्यका) मा उत्पात मचाइरहेका डाँकाहरूको समूहमा समावेश हुन पुगे । १४ वर्षसम्म डाँकाहरूको संगत गरेर कालान्तरमा उनी ५ सय ५६ सदस्यीय डाँका दलको सरदार नै हुन पुगे । सिंहमाथि त्यतिबेला १ सयभन्दा बढीको हत्याको आरोप थियो भने उनलाई पक्राउ गर्ने वा पक्राउ गर्न सघाउने वा उनका बारेमा सूचना दिने व्यक्तिलाई (सन् ७० को दशकमा) भारत सरकारले २ करोड भारतीय रुपैयाँ इनाम घोषणा गरेको थियो । तत्कालीन इन्दिरा गान्धीको सरकारसँग सहमति भएपछि ५० वर्षको उमेरमा सन् १९७२ मा उनले आफ्नो दलबलसहित आत्मसमर्पण गरे । पछि जेलमा प्रवचन दिन आएका ब्रह्मकुमारीका प्रचारकहरूबाट प्रभावित भएपछि पञ्चम सिंह साधुमा रूपान्तरित भए । तिनै पञ्चम सिंह नेपाल भ्रमणका क्रममा रहँदा साप्ताहिकले गरेको कुराकानी :

के तपाईं आफूलाई आधुनिक युगको वाल्मीकि सम्झनुहुन्छ ? 

यो कुरा कि तपाईंलाई थाहा होला, कि परमात्मालाई । हामी कसैले पनि वाल्मीकिलाई देखेका छैनौं । मेरो विचारमा वाल्मीकि काल्पनिक पात्र हुन् । म त्यो कुरामा मात्र विश्वास गर्छु जसलाई आफ्नै आँखाले देखेको छु । जुन मानिसमाथि १ सय जनाभन्दा बढीको हत्या आरोप छ, जसले सयौं पटक डकैती गरेको छ, जसको गिरफ्तारीमा सरकारले २ करोड भारु पुरस्कार तोकेको छ, त्यस्तो व्यक्तिलाई भारतजस्तो मुलुकका प्रधानमन्त्रीले नै माफी दिनु ईश्वरको कृपा हो । 

तपाईंले कस्तो पृष्ठभूमिमा आत्मसमर्पण गर्नुभएको थियो ? 

सन् १९७२ मा हामी ५ सय ५६ जना डाँकाले आत्मसमर्पण गरेका हौं । त्यो आत्मसमर्पणको घटना भारतमा मात्र नभै भारतबाहिर पनि चर्चित थियो । त्यतिबेलाका सत्याग्रही नेता जयप्रकाश नारायणको माध्यमबाट हामीले आत्मसमर्पण गरेका थियौं । आत्मसमर्पणपछि पनि हामीविरुद्ध मुद्दा चलाइएको थियो । त्यो मुद्दाको सुनुवाइका लागि हामीलाई मध्यप्रदेशको भोपाल नजिकैको मुगौली भन्ने ठाउँमा बनाइएको खुला जेलमा राखिएको थियो । त्यतिबेला हामीले जे माग्यौं, सरकारले हामीलाई दियो । हामीले आत्मसमर्पण गर्दा सरकारसमक्ष ८ वटा सर्त राखेका थियौं । ती सर्त कसैलाई पनि मृत्युदण्ड नदिइयोस्, खुला जेलमा राखियोस्, बी ग्रेडको खाना दिइयोस्, हरेकलाई जीविकोपार्जनका लागि ३० बिघासम्म जमिन दिइयोस्, केटाकेटीलाई पढाइ–लेखाइको व्यवस्थाका साथ जागिरको ग्यारेन्टी गरियोस् र हामी सबैलाई परिवारसँगै राखियोस् भन्ने थियो । त्यसबाहेक यस्ता सुविधा ती पीडितहरूलाई पनि दिइयोस्, जसलाई हामीले लुटेका थियौं वा जसले हाम्रा कारणले मृत्युवरण गरेका थिए भन्ने हाम्रो सर्त थियो । हाम्रा ती सर्तलाई बिना कुनै संशोधन तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले स्वीकार गरेकी थिइन् । त्यसका बाबजुद पनि अदालतमा चलाइएको मुद्दामा मलाई मृत्युदण्डको फैसला सुनाइयो । अदालतको उक्त फैसलाविरुद्ध जयप्रकाश नारायणले राष्ट्रपतिसमक्ष आममाफीको अपिल गरेका थिए, जसलाई राष्ट्रपतिले शालिनताका साथ स्वीकार गरेपछि म सन्त स्वभावका विद्रोही जयप्रकाश नारायणको व्यक्तित्वबाट प्रभावित भएँ र त्यसपछि मैले पनि त्यस्तै कालजयी बाटो रोज्ने निर्णय गरें । यसका लागि मसँग ब्रह्मकुमारी समूहले दिएको ज्ञानको चेत थियो । त्यही चेतलाई कालान्तरमा मैले आफ्नो भविष्यको बाटो बनाएँ । जसले मलाई पुनर्जीवन मात्र दिएन, अहिलेको ख्याति पनि दिलायो । म एउटा घटना सम्झन्छु— जतिबेला हामी जेलमा थियौं त्यतिबेलातिरै हुनुपर्छ, तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले ब्रह्मकुमारी विश्वविद्यालयलाई चुनौती दिएकी थिइन् कि तिमीहरूको शिक्षाले त्यतिबेला मात्र अर्थ राख्छ जब तिमीहरूले डाँकाहरूको हृदय परिवर्तन गराउन सक्छौ । उक्त चुनौतीपछि हामी भएको जेलमा आएका ब्रह्मकुमारी विश्वविद्यालयका साधकहरूले हामीलाई जसरी दीक्षित गरे त्यसले हाम्रो ह्दय परिवर्तनमा ठूलो भूमिका निर्वाह गर्‍यो । 

तपाईं कति वर्ष जेलमा बस्नुभयो ? 

अदालतले आजीवन कारावास भने पनि तत्कालीन सरकारले हामीलाई ८ वर्षमै आममाफी दिँदै रिहा गरेको थियो । 

कसरी तपाईंको ह्दय परिवर्तन भयो ? 

हामीले आत्मसमर्पण गरेपछि पनि चम्बल उपत्यका डाँकाविहीन भएको थिएन । चम्बलमा एकपछि अर्को गर्दै फुलनदेवी, अन्ना, मल्खानसिंहजस्ता डाँकाहरूको समूह सक्रिय हुँदै आएको थियो । हामीले तिनीहरूलाई पनि आत्मसमर्पण गरायौं । एउटा कुरा के बुझ्नुपर्छ भने चम्बल नदीले बनाएको चम्बल उपत्यका निकै विकट ठाउँ हो । कम पानी पर्ने भएकाले त्यहाँ खेतीपाती पनि राम्रो हुँदैन । प्राकृतिक अवस्थितिका कारण पनि दुर्गम भएकाले त्यो डाँकाहरूका लागि सुरक्षित शरणस्थल मानिन्छ । त्यही चम्बल उपत्यकामा सयौ वर्षदेखि सामाजिक विभेदको सिकार भएकाहरू बदलाको भावनासहित डाँकामा रूपान्तरित हुँदै आएका थिए । मैले आत्मसमर्पणपछि आफूजस्तै डाँकाहरूका बीच ब्रह्मकुमारीको शिक्षाको प्रचार–प्रसार गरे त्यही कारणले आज चम्बल उपत्यकामा डाँकाहरू देखिँदैनन् । मेरो ह्दय परिवर्तनको कारण पनि ब्रह्मकुमारीको शिक्षा नै हो । भारतमा जुन काम सरकारले बल प्रयोग गरेर गर्न सकेको थिएन, त्यही काम आध्यात्मिक बाटोबाट भएको थियो । मेरो विचारमा मानिसलाई सदाचारी बनाउन चार महत्वपूर्ण तथ्य छन्, ती हुन्— ब्रह्मचर्य, शुद्ध धन, दैवी गुण तथा सत्संग । यिनै चार कुराले मेरो हृदय परिवर्तन भएको हो । 

के तपाईं आफ्नो डाँका जीवनका बारेमा केही भन्न चाहनुहुन्छ ? 

अवश्य, जतिबेला हामी डाँका थियौं त्यतिबेला मध्यप्रदेश, उत्तर प्रदेश तथा राजस्थानका २५ भन्दा बढी जिल्लामा हाम्रो आतंक कायम थियो । त्यतिबेला त्यहाँको स्थानीय सरकार पनि हाम्रो इसारामा बन्थ्यो, रेल्वेको रुटिन पनि हाम्रो इसारामा चल्थ्यो । चुनावमा हामीले उठाएको उम्मेदवार निर्विरोध हुन्थ्यो । कसैले विरोध गरे उसले परमधामको बाटो तताउँथ्यो । जतिबेला म डाँकाको सरदार थिए, त्यतिबेला कसैले पनि महिलाहरूप्रति कुदृष्टि लगाउँदैनथ्यो । एकपटक मेरो एउटा साथीले एक किसानकी छोरीमाथि हातपात गरेछ । ती किसान रुँदै म कहाँ न्याय माग्न आए । मैले मेरो त्यो साथीलाई जिउँदै जलाइदिएँ । म डाँका भएपछि समाजप्रति मेरो बेग्लै दृष्टिकोण थियो, बेग्लै नियम र कानुन थियो, जसलाई मैले इमान्दारीका साथ पालना गरेको थिएँ । 

डाँका हुँदा तपाईंको जीवनशैली कस्तो थियो ? 

त्यतिबेला हामीसँग सयौं दुहुना भंैसी थिए, सयौं जिप पनि थिए । चलचित्रमा देखाएजस्तो डाँकाहरूसँग घोडा हुँदैनथ्यो । मेरै जीवनकथामा पनि चलचित्र बनिरहेको छ । उक्त चलचित्रमा निर्देशकले हाम्रो ह्दय परिवर्तनको घटनालाई केन्द्रमा राख्ने कुरा गरेका छन् । चलचित्रमा सायद त्यतिबेलाको हाम्रो जीवनशैलीलाई पनि देखाइनेछ । जहाँसम्म हाम्रो खानपिनको कुरा छ, हामी त्यो बेला दूध, नौनी तथा फलफूल बढी खान्थ्यौं । अनाजको अभाव भएकाले हाम्रो खानपिनमा त्यसको अंश थोरै थियो । हरेक दिन हाम्रो समूहको प्रत्येक व्यक्तिका लागि एउटै मेसमा एकै किसिमको खाना बन्थ्यो । त्यहाँ सरदार वा सन्तरीका रूपमा कसैमाथि भेदभाव गरिँदैनथ्यो । 

त्यस्तो कुन घटना थियो, जसले तपाईंलाई डाँका बनायो ? 

यो सन् १९५८ तिरको कुरा हो, त्यतिबेला गाउँमा पञ्चायतको चुनाव थियो । त्यसमा दुई पार्टीका उम्मेदवार थिए । हाम्रो विरोधी पक्षका ६ जनाले मलाई निर्घात कुटपिट गरे । त्यसपछि मेरो बुवाले प्रहरी चौकीमा रिपोर्ट लेखाउनुभयो । म २० दिन अस्पतालमा स्वास्थ्यलाभ गरेर घर फर्किएँ । विरोधीहरूले त्यसपछि पनि हामीलाई पछ्याइरहे । त्यही क्रममा उनीहरूले मेरा पिताजीलाई पनि कुटपिट गरे । त्यसपछि ममा बदलाको भावना जागृत भयो र म चम्बल उपत्यकामा डाँकाहरूको संगतमा पुगे । उनीहरूले मलाई शरण दिए । त्यसको केही दिनपछि म १२ जना डाँकासहित गाउँमा गएर आफूलाई कुटपीट गर्ने ६ का ६ लाई ठाउँको ठाउँ गोली हानी मारिदिए । त्यसपछि म पूर्णकालीन डाँका हुन पुगे । डाँका भए पनि हामी गाउँघरमा दिदिबहिनीको विवाहमा सरिक भएर आर्थिक सहयोग गथ्र्यौं, स्कुल सञ्चालनमा जोड दिन्थ्यौं । वास्तवमा म अन्यायको विरोधमा डाँका भएको थिए, हामी समाज विरोधी थिएनौं । त्यसैले पनि हामीले समाजसेवालाई प्राथमिकतामा राखेका थियौं । 

तपाईंलाई आफ्नो विगतप्रति कुनै पश्चाताप छ ? 

केही त्यस्ता घटना छन्, जसमाथि अहिले विचार गर्दा नगरेको भए हुन्थ्यो जस्तो लाग्छ । मैले डाँका जीवन बाँच्ने क्रममा राम्रो काम मात्र गरें भनेर दाबी गर्न सक्दिनँ । त्यतिबेला राम्रा सँगसँगै थुप्रै नराम्रा काम पनि भए । मलाई लाग्छ, त्यतिबेलाको परिस्थिति पनि त्यस्तै थियो ।

डाँकाको सरदारचाहिँ कसरी हुनुभयो ? 

जब म डाँका दलमा सामेल भएँ त्यतिबेला त्यो समूहको सरदार मानसिं बाबा थिए । उनी समाज सेवक थिए । त्यतिबेला डाँका दलमा सामेल हुन पढेलेखेको हुनु हुँदैनथ्यो । जो झगडालु स्वभावको हुन्थ्यो, जसले बन्दुक चलाउन जान्दथ्यो त्यसैले डाँका हुने योग्यता राख्थ्यो । ममा ती योग्यताहरू थिए, त्यसैले म सरदार भएँ । पछि मेरै रेखदेखमा विरप्पनजस्ता डाँकाहरू दीक्षित भएका हुन् ।

 

अनि आध्यात्मिक बाटोमा कसरी आउनुभयो ? 

खुला जेलमा बस्ने क्रममा ब्रह्मकुमारीबाट ज्ञान प्राप्त गरें । उनीहरूले उल्लेख गरेका चारवटा कुरा मलाई राम्रो लाग्यो र त्यसैलाई पछ्याउँदैं म आध्यात्मिक बाटोमा आइपुगे । 

आध्यात्मिकताको आनन्द के होला ? 

तपाईंले जे देखिरहनुभएको छ, त्यही नै सत्य हो । मैले ५० वर्षको उमेरमा आत्मसमर्पण गरेको थिएँ । अहिले ९७ वर्षको उमेरमा पनि म निरोगी छु । 

डाँका बन्नुअघि के गर्नुहुन्थ्यो ? 

हामी सानो गाउँमा खेती–किसानी गथ्र्यौं । हाम्रो परिवार राजपूत क्षेत्री परिवार हो । मेरो विवाह पनि भएको थियो । डाँका बन्नुपूर्व छोरी पनि जन्मिएकी थिइन् । 

सुख–दु:खजस्ता कुराले तपाईंको जीवनमा के अर्थ राख्छ ? 

हेर्नुहोस्, सुख–दु:ख भनेको जीवनको खेल हो । जसले दु:खमा भगवानलाई सम्झन्छ, त्यसले सुखमा कसैलाइ सम्भँmदैन । जो परिस्थितिसँग जुधेर माथि उठ्न सक्छ त्यसैले जीवनको अर्थ बुझेको हुन्छ । भगवान् रामसमक्ष पनि त्यस्ता परिस्थिति उत्पन्न भएका थिए, जसले रामायण नै रचना हुन पुग्यो । मेरो विचारमा जसले जस्तोसुकै कठिन परिस्थितिसँग पनि संघर्ष गर्न सक्छ, त्यसैले इतिहास बनाउँछ । मेरा लागि जीवनको अर्थ यति नै हो । मेरो विचारमा मानिसलाई परिस्थितिले नै नियन्त्रण गर्छ ।

प्रकाशित :श्रावण १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्