अर्ब बढीले हेर्छन्

- साप्ताहिक संवाददाता

श्रावण १५, २०७५

गत जुलाई २० तारिखमा युट्युबले आफ्नो मिड एयर अपडेट जारी गर्दै संसारभरि हरेक महिना १ अर्ब ९० करोडभन्दा बढी मानिसले युट्युब हेर्ने गरेको जनाएको छ । ती प्रयोगकर्ताले हरेक दिन १८ करोड घण्टाभन्दा बढी समय युट्युब हेर्न खर्च गर्दै आएका छन् । 

युट्युबकी प्रमुख कार्यकारी अधिकृत सुजैन ओझकीका अनुसार युट्युबमार्फत अहिलेका युवाहरूले आफूलाई व्यापार–व्यवसायमा समेत स्थापित गर्दैछन् र उनीहरूले केवल एक फोन र इन्टरनेटको सहयोगले संसारलाई जोड्ने प्रयास गरिरहेका छन् । 

पछिल्लो एक वर्षमा युट्युबका आधिकारिक ट्वीटर ह्यान्डिल @teamyoutube, @YTcreators तथा @YouTube मा दिइएका प्रतिउत्तरमा ६ सय प्रतिशतले वृद्धि भएको छ । 

सन् २०१७–१८ मा युट्युबले आफ्नो पहुँच क्षेत्रमा ३० प्रतिशतले वृद्धि गरेको छ । हरेक दिन ६ करोड प्रयोकर्ताले युट्युब कम्युनिटीका पोस्टहरूमा क्लिक गर्छन् र त्यससँग कुनै न कुनै रुपमा जोडिन्छन् । 

पछिल्ला एक वर्षमा युट्युबमा हुने लाइक, कमेन्ट तथा च्याटमा ६० प्रतिशतले वृद्धि भएको छ । पछिल्लो ३ वर्षमा युट्युबमा हुने लाइभ स्ट्रीमिङ हेर्ने समय १० गुणाले बढेको छ । 

युट्युबले आफ्ना क्रियटर्सका लागि हालसालै कपीराइट म्याच नामक टुल सुरु गरेको छ । यो टुलले प्रयोगकर्तालाई कन्टेन्ट आइडी चिन्न सहयोग गर्छ भने यसको सहयोगले आफूद्वारा निर्मित वा अपलोड गरिएको भिडियो कतै कपी गरिएको छ कि पत्ता लगाउन समेत सकिन्छ । 

गत फ्रेबुअरीमा युट्युबले आफ्ना क्रियटरहरूको सहयोगमा एउटा नयाँ ड्यासबोर्डको परीक्षण गरिरहेको थियो, जसलाई अहिले अंग्रेजी च्यानल्सहरूका लागि लन्च गरिएको छ । यो ड्यासबोर्ड आगामी केही दिनमै अन्य ७६ भाषाका लागि जारी गरिनेछ । 

प्रकाशित :श्रावण १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्