Teej banner

निष्पक्ष नेपाली कता गए ?

- अधिकारी रवीन्द्र

श्रावण १५, २०७५

 

हामी मानवीय चेतना भएका नेपाली हौं अनि मात्र यो वा त्यो हौं । बाबुआमाको पृष्ठभूमिका आधारमा जन्मनासाथ शिशुलाई उताको र यताको भनेर कित्ताकाट गरिन्छ । फलस्वरूप ऊ पनि पछि गएर आफ्नो अभिमत राख्दा स्वतन्त्र मानिसभन्दा पहिले प्रजातन्त्रवादी वा वामपन्थी हुन्छ । राजनैतिक पूर्वाग्रहले उसको स्वतन्त्र विचारको घैंटोमा बिर्को लगाइदिन्छ र ऊ वैचारिक अपाङ्ग बन्न पुग्छ । कोही कांग्रेस छ भने उसको दैनिक उठबस कांग्रेससँग मात्र हुन्छ । उसले कांग्रेसकै पसलमा चिया पिउँछ, कांग्रेसकै गफ सुन्छ अनि कांग्रेसकै गुणगान गाउँछ । पत्रिका पनि कांग्रेस समर्थित मिडिया हाउसकै पढ्छ । ऊ आफंैले आफ्नो घेरा कति संकुचित तुल्याइरहेको छ भन्ने ख्याल गर्दैन । उसका लागि अन्य विचारधारा पाच्य हुँदैन । अरू पार्टीका तर्क उसले सहन सक्दैन । 

एमाले वा माओवादीका कार्यकर्ता पनि अर्को ठाउँमा त्यसरी नै आफ्नै सर्कल बनाई अन्धभक्त रूपमा हुर्किरहेका हुन्छन् । यसरी उनीहरू आफ्नो पार्टीको सबै कुरा ठीक र अर्को पार्टीको सबै कुरा गलत भन्ने मनोदशा विकास गर्छन् । किनभने उनीहरू आफंै ओपिनियन मेकर बन्ने क्षमताबाट वञ्चित भैसकेका हुन्छन् र माथिल्लो तहका नेताहरूबाट प्रदत्त रेडिमेड विचार मात्र ग्रहण गर्न सक्छन् । आफ्ना नेताले कुनै कुरा ठीक भनिदिए ताली ठोक्छन्, बेठीक भनिदिए ढुङ्गा हान्छन् । एमालेका कार्यकर्ताले जे कुरा पनि एमालेको लेन्स लगाएर हेर्छ, अनि कांग्रेसी कार्यकर्ताले कांग्रेसी लेन्स । दृश्य एउटै भए पनि उनीहरूले देख्ने कुरा फरक हुन्छन्, कारण माथिबाट जे निगाह भएको हुन्छ उनीहरूले त्यहीमात्र देख्नुपर्ने हुन्छ । फेरि कुनै स्वतन्त्र व्यक्तिले देख्ने कुरा भिन्नै हुन्छ । उसले खुदबखुद आफ्नै आँखाले त्यो कुरा हेर्छ र दिमागले मन्थन गर्छ । स्वतन्त्र व्यक्तिले प्रत्येक घटना–परिघटनालाई आफ्नो अध्ययन एवं अनुभवका आधारमा विश्लेषण गर्छ, तर विडम्बना, नेपालमा स्वतन्त्र तथा निष्पक्ष व्यक्तिहरू शिला खोज्नुपर्ने अवस्थामा पुगेका छन् ।

विशुद्ध नेपाली भएर आफ्नो स्वविवेक प्रयोग गर्न हामीलाई के–ले रोकेको छ ? किन हामी कुनै विचार राख्नुअघि नै कांग्रेस वा नेकपा, बाहुन वा शूद्र, पुर्वेली वा पश्चिमेली, मधेसी वा पहाडे, हिन्दू वा क्रिस्चियन, धनी वा गरिबको खोल ओढ्छौं ? चुनावमा पक्ष–विपक्ष हुनु त स्वभाविक नै हो, तर हामी नमरुन्जेलसम्म पार्टीगत सोचको गुलाम भैदिन्छाँै । यो परिपाटी यतिसम्म जकडिएको छ कि राजनैतिक दलहरूलाई खासै महत्व नदिने एक स्वतन्त्र व्यक्तिले केही कुरा सार्वजनिक गर्‍यो भने त्यसको आशयका आधारमा उसलाई कुनै पार्टीको लालमोहोर लगाइन्छ । यो दीर्घरोग हो जुन कुरा गोविन्द केसीको अनशनका बेला पनि टड्कारै देखियो ।

नेपाली कांग्रेस केसीको समर्थनमा सडकमा नओर्लिउन्जेल उनका पक्षपातीहरू स्वतन्त्र मानिन्थे । जब तरुण दलमार्फत् कांग्रेस मैदानमा ओर्लियो स्वत: केसीलाई कांग्रेसीकरण गरियो । यही रालगोलमा केसीका समर्थकलाई कांग्रेसी भनियो । अब पार्टीको ह्विपअनुसार कांग्रेस जतिले गोविन्द केसी ठीक भन्नुपर्‍यो, नेकपाजतिले गलत भन्नुपर्‍यो ।

डाक्टर गोविन्द केसी अब अभियान बनिसके । उनको पहिलो भोक हड्तालदेखि नै लागिपरेका समर्थक अलग छन् । केसीको विरोध प्रणालीको सुधारका लागि हो । हाल सरकारमा नेकपा भएकाले धेरैलाई भ्रम छ, एमालेको विरुद्धमा छन्— डा. केसी । अहिले कांग्रेसले धमिलो पानीमा माछा मार्न खोज्दैछ । केही निहँु नपाएर सुषुप्त रहेको कांग्रेस केसीलाई ढाल बनाएर सरकारलाई कमजोर बनाउन चाहन्छ र आफ्नो अस्तित्व दर्बिलो देखाउन चाहन्छ । कांग्रेस साँच्चिकै केसीको मागप्रति सचेत र गम्भीर थियो भने उनले पटक–पटक उठाइरहेको मुद्दालाई वर्षौं अघि नै सम्बोधन गर्नुपर्ने थिएन र ? अहिले बर्खे भेलमा दुवाली छेक्न खोजेर हुन्छ ? हुन त जुनसुकै राजनीतिक पार्टीको रङ समयअनुसार परिवर्तन हुन्छ । त्यसैले कांग्रेस पनि आफ्नो धर्म निर्वाह गर्दैछ ।

नेकपाका नेताहरू पनि मरिहत्ते गरेर मेडिकल विधेयक पास गर्न लागिपरेका छन् । प्रधानमन्त्री ओली विवस छन् । कम्युनिज्मको खास्टो ओढेर चर्को लगानी गरी अस्पातल खोल्ने र सहज नाफाका लागि पार्टीकै संरक्षण र पहलमा विधेयक पास गराई मेडिकल कलेजमा रूपान्तरण गर्ने खेलमा प्रधानमन्त्री ओलीकै भाइभारदार तथा मित्रहरू लिप्त छन् । यो नीतिगत भ्रष्टाचार (पोलिसी करप्सन) को चरम उदाहरण हो । नीति–नियम तर्जुमा गर्ने व्यक्ति नै व्यवसायमा लागेपछि आफ्नो अनुकूल निर्णय गराउन उनीहरू लाग्ने नै भए । केसीका मागहरू यसकारण ठीक छन् भनेर ओलीलाई सम्झाउने कोही छैनन् । वरिपरि जो छन् उनीहरूको जालो ठूलै छ र अन्तत: ती लगानीकर्ताको स्वार्थ अघोषित रूपमा एमालेको राजनैतिक एजेन्डामा परिणत भएको छ अनि पहिलेको अध्यादेश प्रतिस्थापन गर्दै आफ्नो एजेन्डा घुसाएर विधेयक ल्याउन लागिएको छ । 

डा. केसीको यो आन्दोलनलाई सुनियोजित रूपमा पार्टीकरण गर्न खोजिएको छ । केसी प्राय: सबै दलको सरकार हुँदा अनशन बसेका छन् । एक ऋषिमनको यो सत्याग्रह नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने गैर–राजनीतिक अभियान हो । कांग्रेस भएर समर्थन होइन, नेकपा भएर विरोध होइन, एकपटक डाक्टर केसीका मागहरू स्वतन्त्र, निष्पक्ष नागरिकका रूपमा अक्षरश: पढेर विश्लेषण गरौँ ।                                  ravinems@iom.edu.np

प्रकाशित :श्रावण १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्