तीन वर्षपछि ट्वान्टी–२० क्रिकेट

- साप्ताहिक संवाददाता

श्रावण १४, २०७५

सन् २०१४ को वल्र्ड ट्वान्टी–२० पछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट ट्वान्टी–२० टिमको मान्यता पाएको थियो, तर नेपालले त्यसलाई लामो समय कायम राख्न सकेन । अर्को संस्करणको वल्र्ड ट्वान्टी–२० मा छनौट हुन नसकेपछि नेपालले ट्वान्टी–२० टिमको मान्यता चाँडै गुमायो । नेपालले अन्तिम पटक सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग मान्यता प्राप्त ट्वान्टी–२० खेलेको थियो । 

त्यसको तीन वर्षपछि आउने साता नेपालले फेरि नेदरल्यान्ड्सविरुद्ध ट्वान्टी–२० खेल्दैछ । उक्त खेल पर्सि आइतबार लर्डसमा हुनेछ । त्यो एकै दिन नेपालले दुई ट्वान्टी–२०खेल्नेछ । त्यसमध्ये पहिलो खेल मेरिलेबोन क्रिकेट क्लबविरुद्ध हुनेछ भने दोस्रो खेल नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ र यही खेलले औपचारिक मान्यता पाउन लागेको हो । यो कसरी सम्भव भयो हो त ? यसका लागि आईसीसीको नियम पल्टाउनुपर्ने हुन्छ । 

आईसीसीको नियमअनुसार कुनै टिमलाई एकदिवसीय टिमको पनि मान्यता छ भने उसलाई ट्वान्टी–२० टिमको समेत मान्यता हुनेछ । नेपालले चार वर्ष वान डे क्रिकेटको मान्यता पाएको आधारमा त्यस अवधिमा नेपालले ट्वान्टी–२० मान्यता पाएको अर्को टिमविरुद्ध खेल खेले, त्यसले पनि औपचारिक मान्यता पाउने छ । ट्वान्टी–२० टिमको मात्र मान्यता पाएको टिमले भने एकदिवसीय टिमको मान्यता पाउनेछैन । त्यसैले चार वर्षअघि ट्वान्टी–२० को मान्यता पाए पनि नेपाललले वान डे खेल्न पाएन् । 

यसैका लागि नेपाली राष्ट्रिय टिम अहिले युरोपको भ्रमणमा छ । लर्डसमा हुने खेलअघि नेपालले चार अभ्यास खेलमा पनि सहभागिता जनाउने कार्यक्रम छ । त्यसमध्ये तीन खेल भैसकेका छन् भने आज अन्तिम अभ्यास खेल हुँदैछ । आइतबारको खेलपछि नेपाल नेदरल्यान्ड्सतर्फ लाग्नेछ । नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निकै महत्वपूर्ण हुनेछ । एक त यो मान्यता प्राप्त खेल भयो, अर्को यसले एकदिवसीय खेल्नुअघि टिमलाई लयमा ल्याउन मदत गर्नेछ, –कप्तान पारस खड्काले भनेका छन् । 

नेपालले सन् २०१४–०१५ बीच कुल ११ मान्यता प्राप्त ट्वान्टी–२० खेल खेलेको छ, जसमध्ये सुरुआती तीन खेल वल्र्ड ट्वान्टी–२० का हुन्, जसमा नेपालको प्रतिद्वन्द्वी अफगानिस्तान, बंगलादेश तथा हङकङ थिए । त्यसयता नेपालले हङकङविरुद्ध थप दुई तथा नेदरल्यान्ड्सविरुद्ध चार खेल खेलेको छ । अन्तिम खेल भने पुपुवा न्युगिनीविरुद्ध रह्यो । यस्तोमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पर्सि पाँचौं पल्ट ट्वान्टी–२० क्रिकेट खेल्न लागेको छ ।

प्रकाशित :श्रावण १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्