कस्ता बाघ कति ?

- साप्ताहिक संवाददाता

श्रावण १४, २०७५

 

अहिले हाम्रो पृथ्वीमा ५ थरीका बाघ पाइन्छन् । तीमध्ये सबैभन्दा धेरै पाइने बाघ हाम्रो पाटेबाघ अर्थात् रोयल बंगाल टाइगर हो । भारतीय उपमहाद्वीपका भारत, नेपाल, बंगलादेश तथा भुटानमा पाइने यो बाघको संख्या जंगलमा पाइने बाघको कुल संख्याको दुईतिहाइ छ । पाटे बाघको संख्या अहिले २ हजार ५ सयभन्दा बढी भएको अनुमान गरिन्छ । 

 

साइबेरियन वा अमुर बाघ भनिने मन्चुरियन टाइगरको संख्या ५ सयको हाराहारीमा छ । यो बाघ, बाघका प्रजातिहरूमध्ये सबैभन्दा ठूलो शारीरिक बनावट भएको बाघ हो । मन्चुरियन टाइगर विशेष गरेर चीन र रूसको सीमा क्षेत्रका जंगलमा पाइन्छ । 

 

मुख्य रूपमा इन्डोनेसियाको सुमात्रा टापुमा बसोबास गर्ने सुमात्रेली बाघको संख्या ५ सयदेखि ६ सयको हाराहारीमा छ भने त्यसको छिमेकी मलेसियाका टापुहरूमा पाइने मलयाली बाघको संख्या २ सय ५० देखि ३ सय ४० सम्म भएको अनुमान गरिन्छ । 

 

म्यानमार, कम्बोडिया, चीन, लाओस, थाइल्यान्ड तथा भियतनामका जंगलमा पाइने इन्डो—चाइनिज बाघको संख्या ३ सय ५० को हाराहारीमा छ । सन् १९९८ सम्म यो बाघको संख्या १ हजार २ सयभन्दा बढी थियो । 

 

अहिले पृथ्वीमा अत्यन्तै संकटापन्न अवस्थामा रहेको बाघको प्रजाति साउथ चाइना बाघ हो । ४० वर्षअघिसम्म हजारौंको संख्यामा उपलब्ध यो बाघको संख्या अहिले जंगली अवस्थामा जम्मा २० छ । चिनियाँ औषधी विज्ञानले प्रयोग गर्ने मुख्य बाघ यही नै थियो । त्यही कारणले पनि यो बाघ लगभग लोप भैसकेको अवस्था छ ।

 

कहाँ कति बाघ ? 

सन् २०१६ को तथ्यांकअनुसार यो संसारमा जंगली अवस्थामा जम्मा ३ हजार ८ सय ९० बाघ छन् । ती बाघ संसारका १२ देशमा फैलिएका छन् । 

भारत २ हजार २ सय २६

रूस ४ सय ३३

इन्डोनेशिया ३ सय ७१

मलेसिया २ सय ५० 

नेपाल १ सय ९८ 

थाइल्यान्ड १ सय ८९ 

बंगलादेश १ सय ६

भुटान १ सय ३ 

चीन ७ भन्दा बढी 

भियतनाम ५ भन्दा कम 

लाओस २

 

बाघको सिकार गाथा

सिकारीहरूका लागि बाघको सिकार सबैभन्दा ठूलो आकर्षणको विषय हो । अहिले घट्दो संख्याका कारण बाघको सिकारलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाइएको छ । बाघको मुख्य बास स्थान दक्षिण एसिया कुनै बेला बाघको सिकारका लागि प्रसिद्ध थियो । इतिहासमा उल्लेख भएअनुसार बाघका ठूलाठूला सिकार नेपालमै भएका छन् । तीमध्ये केही प्रमुख सिकार :

 

सन् १८६१ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चितवनमा १ महिना लामो सिकार क्याम्पका बेला ३१ वटा बाघ, १वटा गैंडा, ४ वटा भालु तथा ३ वटा चितुवा मारेका थिए । 

 

सन् १९११ मा नेपाल भ्रमणमा आएका बेलायतका राजा जर्ज पंचमले चितवनमा सिकार खेल्ने क्रममा ३९ वटा बाघ, १ वटा गैंडा तथा ४ वटा भालु मारेका थिए ।

 

सन् १९३८ मा बेलायतका लर्ड लिनलिथ गोले चितवनमा १ सय २० वटा बाघ, ३८ वटा गैंडा, १५ वटा भालु र २७ वटा चितुवा मारेका थिए ।

प्रकाशित :श्रावण १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्