तपाईंलाई साउन कत्तिको लागिरहेको छ ?

- साप्ताहिक संवाददाता

श्रावण १३, २०७५

साउन महिनाभन्दा बढी अहिले साउने झरीचाहिँ लागिरहेको छ । 

वर्षा बस्नेत, सञ्चारकर्मी 

साउन महिनाभरि माछा–मासु खाइँदैन, शिवजीको पूजा–आराधना नियमित रूपमा गरिन्छ अनि हातमा मेहन्दीसमेत लगाएकी छु । 

सरिता लामिछाने, अभिनेत्री 

यसपालि स्वास्थ्यस्थितिका कारण साउने सोमबारको व्रत बस्न सकिएन । यद्यपि साउनको हरियालीले मन भने हराभरा छ । मेहन्दी, हरिया चुरा लगाएर पूजापाठहरूमा संलग्न भैरहेकी छु । व्रत बस्न नसकेकाले केही खल्लो भएको छ, तैपनि साउन महिना विशेष रूपमा बितिरहेको छ । 

जानुका पौडेल, हास्य अभिनेत्री 

असाध्यै रमाइलो तरिकाले लागेको छ— साउन । सबैभन्दा रमाइलो चाहिं भगवान शिवजीको महिनामा उहाँको पूजाआजा नै हो । व्रत बस्ने अनि सोर्‍हश्रृंगारमा सजिएर मन्दिरमा पूजा गर्नुको रमाइलो पनि छुट्टै हुन्छ । 

मञ्जु कार्की पाण्डे, मेकअप आर्टिष्ट

साउन सबैलाई लाग्छ । आकाशलाई लाग्छ कालो बादल बनेर, बादललाई लाग्छ झरी बनेर, झरीले दिन्छ माटोलाई नयाँ सृजना, माटोले लिन्छ नयाँ रूप, सृजना गर्छ बालीनालीको, मानिसहरू भन्छन् कालो साउन, म भन्छु हामीलाई जीवन दिने साउन, उत्पादन दिने साउन । त्यसैले यो महिनाहरूको उत्कृष्ट महिना पनि हो, जल वर्षाको महिना, जलले जीवन दिन्छ । त्यसैले साउन सबैलाई लाग्छ । कृषकलाई, खेतीलाई, नारीलाई, व्यापारीलाई, देवतालाई, राता हरिया र पहेंला चुरामा श्रृंगार गर्नु साउनको सुन्दर परम्परा हो । मलाई असाध्यै मन पर्छ साउन । बादल वर्षा झरी सबै–सबै कुरा, तर अहिले मलाई साउनभन्दा बढी संसद् लागिरहेको छ । 

कोमल वली, गायिका/सांसद

ठीक–ठीकै लागेको छ, रमाइलै छ ।

खुश्बु खड्का, अभिनेत्री 

खासै लागेको छैन, मेरा लागि सधैं साउन । 

अम्बिका प्रधान, आरजे

काम लागेको छ साउनभन्दा पनि । 

सम्झना उप्रेती रौनियार, चलचित्रकर्मी 

मलाई त एकदम लागेको छ । यो वर्षको साउनमा त अझ छुट्टै उमंग फिल गर्दैछु । त्यसैले साउन १ गतेदेखि नै आफूसँग भएका हरिया पहिरन मात्र लगाइरहेकी छु । साउनको पहिलो दिन नै हातमा मेहन्दी लगाएँ, हरियो टीका अनि चुरा पनि कहिल्यै छुटाएकी छैन । 

सन्ध्या थापा, टेलिभिजनकर्मी 

मलाई त अलि–अलि मात्र लागेको छ । साउने संक्रान्तिचाहिं राम्रै लाग्यो, अब सोमबार–सोमबार मात्र अलि बढी लाग्छ— साउन । 

मनिता ढुंगेल, मोडल

मलाई एकदमै लागेको छ । मैले साउनको पूर्वसन्ध्या अर्थात् असार ३२ गते हातमा मेहन्दी लगाएँ, साउन १ गते नै नाडीलाई हरियो चुराले सजाएँ । साउन लागेपछि विभिन्न शिवशक्ति पीठमा आमालाई लिएर दर्शन गर्न गैरहेकी छु । त्यसैले मेरा लागि यसपालिको साउन गज्जब होला जस्तो छ । 

नानी थापा, रंगकर्मी 

साउन महिना महिलाहरूका लागि विशेष हुन्छ । त्यसैले यसले मलाई पनि अलि–अलि छोएको छ । 

रेश्मा भण्डारी, खेलाडी 

हिजोआज काममा अलि बढी व्यस्त भएकाले साउन आए पनि त्यसले खासै छोएको छैन । 

बिनु शाक्य, मोडल 

मलाई यो साउन महिनाले धेरै रमाइलो महसुस गराउँछ । विशेषगरी छपक्क मेहन्दीले भरिएको हातभरि हरियो, पहेँलो, रातो चुरा अनि सिउँदोभरी सिन्दूर, गलामा पहेँलो पोतेका साथमा रातो साडीमा सजिएर साथीसङ्गीहरूसँग रमाउँदै भगवान् शिवको पूजाआजामा दिन बिताउन रुचाउने मलाई यो वर्ष पनि मज्जाले साउन लागेको छ । 

चाँदनी मल्ल ठकुरी, गायिका 

लागेकै छ । साउनमा माछामासु खान्न । यो महिना अलि बढी स्टेज कार्यक्रम छन् । त्यसैले त्यतैतिर व्यस्त हुन्छु । जे होस् अरू केही नगरे पनि साउन १५ गते चाहिँ मज्जाले खिर खान्छु । 

शिवहरि पौडेल, हास्यकलाकार

एकदमै धेरै लागेको छ । साउन पवित्र महिना हो । सोमबार भगवान शिवको पूजा आराधना गरे राम्रो बर पाइन्छ भन्ने विश्वास छ । त्यसैले साउन महिनाको सोमबार महत्वपूर्ण मानिन्छ । म पनि सोमबार शिव मन्दिर दर्शन गर्न जान्छु, व्रत बस्छु अनि यो महिनाभरि मेहन्दी तथा हरियो चुरा लगाउँछु । 

रमिला न्यौपाने, गायिका 

मलाई यसपालिको साउन ठीक–ठीकै लागेको छ । 

इन्दु भण्डारी, मोडल 

मलाई साउन अत्यधिक लागेको छ । हात मेहन्दी र हरियो चुराले सजिएको छ । 

इष्टु कार्की, रंगकर्मी 

साउन महिना भन्ने बित्तिकै हामी हिन्दू नारीहरूका लागि हरियो पहिरन अनि हातभरि चुरा र मेहन्दीको महिना हो यस्तो विशेष संस्कृतिबाट म कसरी टाढा रहन सक्छु ? मैले पनि साउन महिनालाई पूरै मनले मनाइरहेकी छु । 

सृष्टि खड्का, मोडल

साउन भर्खरै सुरु भएको छ, त्यसैले मैले हातभरि हरियो चुरा लगाएकी छु । मेरो तीज गीतको सुटिङ भर्खरै सकियो । अब अलि फ्रि भएकी छु । म साउनमा कुनै व्रत बस्दिनँ, तर मठमन्दिरहरू पुग्ने योजना भने बनाएकी छु ।

सुनिता दुलाल, गायिका 

म धर्म–कर्ममा एकदमै आस्था राख्छु जसले गर्दा मलाई पनि साउन लागिसकेको छ । १ गते नै हातभरि हरियो तथा पहेँलो चुरा लगाइसकेँ । साउनका सोमबार व्रत पनि बस्छु, मठमन्दिर जान्छु अनि यो महिनाभर माछा मासु खाँदिन । 

प्रश्ना शाक्य, गायिका 

एकदमै धेरै लागेको छ । शरीर पूरै हरियाली भएको छ । हातमा हरियो चुरा लगाएकी छु, मेहन्दी लगाएकी छ्रैन अब लगाउने योजनामा छु । 

राधिका हमाल, गायिका 

लागेकै छ । हातमा हरियो, रातो तथा पहेँलो चुरा लगाएकी छु । मेहन्दी लगाउन भ्याएकी छैन, लगाउने सोंचमा छु । सोमबार शिव मन्दिरहरूमा दर्शन गर्न गैरहेकी छु । 

झरना थापा, अभिनेत्री 

मलाई त एकदमै लागेको छ । मलाई अरू महिनाको तुलनामा साउन महिना एकदमै मनपर्छ । पानी परेपछि सबैतिर हरियाली हुन्छ भने साउन महिना एकदमै रंगीन हुन्छ । मेरो घर नजिकै पशुपतिनाथ मन्दिर भएकाले विशेषगरी सोमबार पूजाआजाका लागि जान्छु । जे होस् साउन महिना रमाइलोसँग बिताउने सुर कसेकी छु । 

सञ्चिता लुइँटेल, अभिनेत्री 

अरू महिला दिदी–बहिनीहरूलाई जस्तै लागेको छ साउन मलाई पनि । मैले आफ्नो हात हरियो चुरा तथा मेहन्दीले सजाइसकेकी छु ।

जुनु रिजाल, गायिका 

 

प्रकाशित :श्रावण १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्