कानुनमन्त्रीको गल्ती र राजीनामा

- मनोज गजुरेल

श्रावण १३, २०७५

कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुभयो वा दबाबमा दिनुभयो, त्यसको पछि चर्चा गरौंला, तर पदत्याग गर्ने उहाँँको घोषणालाई अहिल्यै धन्यवाद भन्नुपर्छ । आज जताततै नैतिकता, इमानदारिता र क्षमाशीलताको खडेरी परेको छ । दुराचारीहरू पैसाको बलमा छुट्छन् । भ्रष्टाचारीहरू शक्तिको भरमा चोखिन्छन् अनैतिकहरू सत्ताको आडमा जोगिन्छन् । 

सकेसम्म गल्ती नगर्ने, गरिहाले सुधार्ने, सुधार्न नसके क्षमा माग्ने, अक्षम्य छ भने सजाय भोग्न तयार हुने— यी नैतिकवान् मानिसका सद्गुणहरू हुन् । यस्ता मानिस फेला पार्न निकै गाह्रो छ । यही भीडमा नैतिकताको सानो दियो बनेर उदाएका शेरबहादुर तामाङ धन्यवादको पात्र छन् ।

मार्सी प्रसाईंले अराजक, अनैतिक र अव्यवहारिक तरिकाले उठाएको प्रसंग र मन्त्री तामाङले बोलेका कुरा उस्तै थिए । दुर्गा प्रसाईंको नियतमा खोट थियो होला तर शेरबहादुरले नेपाली नारीको रक्षार्थ बोलेका थिए, तर सिंगारी हराउनु र बाघ कराउनु सँगै भैदियो । दुर्गा र तामाङबाट एकैपटक एउटै कुरा आएपछि मान्छेले दुवैलाई उस्तै माने । मुर्गाको भाउँतोमा सोझा मन्त्री पनि तानिए ।

यदि नेपाली विद्यार्थीमाथि हल्लामा आएजस्तो जघन्य अपराध भएकै हो भने पनि त्यसरी बोल्नु हुँदैनथ्यो । अपराधीहरूको पनि अनुहार छोपेर मात्र मिडियामा देखाइन्छ । ती निर्दोष चेलीहरूका बारेमा त्यस्तो कुरा बोल्दा दस पटक सोच्नुपथ्र्याे । उनीहरूको सिंगो जीवनको कुरा छ । अराजक सामाजिक सञ्जाल छ । तिललाई पहाड बनाउनेको भीड छ । मन्त्रीको नियतमा खोट नभए पनि गलत समयमा गलत कुरा आएको हो, जसको बोध गरेर उनले राजीनामा पनि दिए ।

घटनाबाट सिक्ने हो । संवेदनशील विषयमा बोल्नुअघि त्यसका बारेमा गहिरो अध्ययन गर्नुपर्दो रहेछ । सुनेका भरमा मात्र कुरा गर्दा त्यसले अरूका लागि दुखद र आफ्ना लागि घातक हुँदो रहेछ । मन्त्रीजस्तो जिम्मेवार ठाउँमा बसेपछि कतिपय गोपनियता कायम गर्नुपर्दो रहेछ । सत्य नै भए पनि त्यसलाई हल्का ढंगले प्रस्तुत गर्नु हुँदो रहेनछ । शेरबहादुर बोलबाट सिक्ने कुरा यी हुन् ।

हुन त उनले भाषणमा बढो भावुक ढंगले नेपाली चेलीको सुरक्षाको कुरा गरेका छन् । विदेशी कलेजहरूमा हुने दु:ख र समस्याको कुरा उठाएका छन्, तर एकाध घटनाका बारेमा कुरा गर्दा त्यहाँ पढ्ने सयौं चेलीको मन दुखेको छ । उनीहरूको स्वच्छ छविमा प्रश्न उठ्ने ठाउँ मिलेको छ । अझ दुर्गाज्यूको आरोपले त उनीहरूको आत्मसम्मानमाथि बज्रपात नै भएको छ । बोल्नुअघि बार–बार सोच्नुपर्छ, शिक्षा हो ।

शेरबहादुरले गल्ती महसुस गरे । क्षमा मागे । सहज ढंगले राजीनामा दिए । रुँदै बिदा भए । यसबाट थाहा हुन्छ, उनको नियत गलत थिएन, नियतिले धोका दियो । उनीबाट सिक्नु जरुरी छ, लामो दौडको राजनीति गर्नेले दुर्घटनाहरूबाट सिक्नुपर्छ ।

मान्छेले सजिलै कुर्सी छोड्न चाहँदैन । गल्तीहरू ढाकछोप गर्ने, गलत तर्कले जित्न खोज्ने, गलत प्रचारबाजीले बच्न खोज्नेजस्ता काम गर्छ, तर शेर बहादुरजीले सहज ढंगले क्षमा मागे । सम्यक् ढंगले कुरा राखे । सजिलै राजीनामा दिए । नैतिकता मरेको छैन भन्ने उदाहरण दिए । इमान्दारिताको उज्यालो कतै–कतै बाँकी छ भन्ने संकेत छाडे । आगामी दिनका लागि धेरैलाई धेरै कुरा सिकाए । आफ्ना लागि पनि थुप्रै अनुभव बटुले । इमानदार राजनीतिज्ञको परिचय दिएर गए ।

यो पाठलाई उनले आफ्नो जीवनमा लागू गरून् । अरूले ठूलो शिक्षाका रूपमा लिउन् । शेरबहादुरजीको आगामी राजनैतिक, सामाजिक एवं व्यक्तिगत जीवन सुन्दर होस् । राजनीतिमा इमान्दारिताको दियो बलिरहोस्— शुभकामना । 

प्रकाशित :श्रावण १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्