हिजोसम्म ‘खराब’ शेरबहादुर तामाङ आज नैतिकवान् भए

- साप्ताहिक संवाददाता

श्रावण १२, २०७५

 

पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत चेलीहरूका सन्दर्भमा बोलेको कुरा विवादास्पद भयो । त्यसपछि उनले एउटा विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिका लागि माफी मागे । आफूले नेपाली विद्यार्थीहरूले भोग्नुपरेको समस्या उजागर गरेको भन्दै माफी मागिए पनि विरोध मत्थर हुनुको साटो बढ्दै गएपछि प्रधानमन्त्री एवं उनी सम्बद्ध पार्टीका नेताहरूले तामाङलाई राजीनामा दिन सुझाए । मंगलबार पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामा दिएपछि भने मन्त्री तामाङको आलोचना होइन, प्रशंसा हुन थाल्यो । तामाङ सिन्धुपाल्चोकमा पशुपतिशमशेर जबरालाई हराएर सांसाद निर्वाचित भएका थिए । सामाजिक सञ्जालमा यस विषयमा प्राप्त केही टिप्पणी :

हल्लालाई सत्य मान्ने, अरूले भनेका कुरा आफैंले देखेझै गर्ने, आफुलाई थाहा नभएको कुरा प्वाक्क बोलिदिने हामी नेपालीको पुरानै बिमारी हो । यो बिमारीबाट सामान्य जनता देखि प्रधानमन्त्रीसम्म (गैंडा प्रवचन याद होला) ग्रसित छन् । यत्ति हो कानुन मन्त्री शेरबहादुर तामाङ पनि यो बिमारीको सिकार भए ।

रोशन सेढाई

बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्ने चेलीहरूको अवस्थाका सम्बन्धमा बोलेको हो, खिल्ली उडाएको पक्कै होइन । मिडियामा नराम्रो रूपमा आयो, माफी पनि मागे तर दबाबको राजीनामा अलि पच्न सकेन । सरकारले दुर्गा प्रसाईंलाई कारबाही गर्नुपर्छ । महानता र त्याग भएका मन्त्री तामाङलाई सलाम छ !

एनसी गौतम

कानुनमन्त्री शेरबहादुर तामाङ मन्त्री भएपछि तोकिएकै समयभित्र आफ्नो सम्पत्ति विबरण बुझाउने यो सरकारका एक मात्र मन्त्री थिए । अहिले उनले राजीनामा दिएर भविष्यका लागि नजिर छाडेका छन् ।

कृष्ण शर्मा

नेपाली राजनीतिमा इमान्दारिता तथा नैतिकता मरिसकेको छैन रै’छ । यसको बलियो प्रमाण हुन् शेरबहादुर तामाङ ।

माधवराज जोशी

बोल्दा गलत शब्द उच्चारण गरेबापत राजीनामा दिने शेरबहादुर तामाङ सम्भवत: पहिलो मन्त्री हुन सक्छन् । यसले सार्वजनिक पद धारण गर्नेहरू कति जिम्मेवार हुनुपर्छ भन्ने सन्देश उजागर गरेको छ ।

भवानी शंकर

आफ्नो विवादित भनाइमा अडिग रहने तथा माफी नमाग्नेहरूलाई पो कारबाही गरिन्छ । कहि नभाको जात्रा नेपालमा । शेरबहादुर तामाङ मन्त्री भएको यो समाजलाई पचेकै थिएन, बहाना मिल्यो ।

इन्द्रजित लामा

कानुनमन्त्री शेरबहादुर तामाङलाई त मन्त्री पदबाट राजीनामा दिन लगाइयो । अब त्यही भाषा प्रयोग गर्ने, त्यही भाषा बोल्ने मार्सी धानवाला दुर्गा प्रसाईंलाई चैं के हुन्छ ?

कविराज घिमिरे

नेपालमा पनि नैतिकता भएका नेता छन् भन्ने उदाहरण हुन्— शेरबहादुर तामाङ । उनको आशय नारीको अपमान गर्ने पक्कै थिएन होला, तर बोल्दा ध्यान नपुर्‍याउँदा गलत अर्थ लाग्ने शब्द बोल्न पुगेकोमा नैतिकताका आधारमा राजीनामा दिएकोमा धन्यवाद दिनैपर्छ, नैतिकताको खडेरी परेको बेला ।

बिपी खनाल

हिजोसम्म ‘खराब’ शेरबहादुर तामाङ आज नैतिकवान् भए । उनले आफ्नो उचाइ मात्र अग्लाएनन्, सँगसँगै आफ्नै उडन्ते मुखियाहरूलाई ‘धरतीमै लडियो भने, उठ्न सकिन्छ’ भन्ने सन्देश पनि दिए तर सिक्लान् त तिनीहरूले ?

गोबिन्द बानियाँ

कानुनमन्त्री शेरबहादुर असभ्य शब्द बोलेर सरकारबाट बिदा भए तर सबैलाई सभ्य हुन सिकाएर गए । बधाई छ शेरबहादुर तामाङज्यू ।

किसानको छोरो

जसले महसुस गर्न जानेको छ, त्यो मानिस अवश्य नै भावुक हुन्छ । शेरबहादुर तामाङलाई सलाम छ, सामाजिक सन्जालको दुरुपयोग गर्नेहरूको मुख बन्द गराईदिनु भएको छ ।

शर्मा युवी

शेरबहादुर तामाङको राजीनामा राज्यस्तरमा देखिएको उच्च स्तरको नैतिकता हो । यो राजीनामाबाट तामाङ अझ बलिया भएका छन् भने सरकारको स्वाभिमान बढेको छ । नागरिक समाज तथा मिडियामा पनि यस्तै नैतिकताको आवश्यकता छ ।

बडाबा

प्रकाशित :श्रावण १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्