रिहाबबाट चलचित्र

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७५

२०४० सालमै नाचघरमा दाइजो, समाज जस्ता नाटकमा अभिनय गरेर चर्चामा आएका कलाकार महेश मुडवरी यतिबेला चलचित्र निर्माताको रुपमा दर्शकमाझ आउन तयार भएका छन् । त्यही बेला घरको न घाटको, कान्छा र कान्छी जस्ता नाटक मञ्चन गरेका मुडवरीले २०४६ सालभन्दा अघि नै कानून र कर्तब्य, कमारो, माया जाल जस्ता चलचित्रहरु निर्माण गरेका थिए । 

२०६७ सालमा नेपाल बैंक लिमिटेडबाट राजीनामा दिनुअघि नै यी कलाकार मदिराको लतमा फसे । अत्यधिक मदिरा सेवन गरेपछि परिवारले उनलाई भक्तपुरस्थित एउटा सुधार केन्द्रमा राखिदियो । सुखद पक्ष के रह्यो भने रिहाब सेन्टरमा राखिएको एक वर्षमै उनी मदिरामुक्त भए । मदिरामुक्त त भए, तर उनका परिवारका सम्पूर्ण सदस्य अमेरिका सेटल भैसकेका थिए । 

रिहाब बाहिर उनको बस्न ठाउँ भएन, बैंकिङ क्षेत्रमा कार्यरत व्यक्ति भएकाले उनलाई त्यही सेन्टरले ‘एकाउन्ट हेर्ने’ जागिर दियो । जीवनले सहज मार्ग अपनाउन थाले लगत्तै मुडभरीले आफ्नो रुचीको काम गर्ने निर्णय गरे, अर्थात चलचित्र निर्माण गर्ने योजना बनाए । बैंकको जागिर छाड्दा पाएको राम्रै रकम, रिहाब सेन्टरका सञ्चालकहरुको हौसला तथा युवावस्थादेखिकै रुचीको विषय भएकाले उनले केही वर्ष लगाएर चलचित्र ‘सुकुलगुण्डा’ निर्माण गरे ।

 जीवन लुईंटेल जस्ता चल्तिका अभिनेता राखेर निर्माण गरिएको उक्त चलचित्र प्रदर्शनका लागि तयार छ । आफूले निकै दु:ख गरेर निमाण गरेको चलचित्र प्रदर्शन हुने भएपछि यी ७२ वर्षे निर्माताको खुशीको सिमा नै छैन । भन्छन्—‘मनोरञ्जक चलचित्र बनाएको छु, दर्शकलाई मन पर्न सक्छ ।’

प्रकाशित :श्रावण ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्