बाउन्सको बबन्डर

  • काठमाडौंमा मात्रै दैनिक १ करोडको चेक बाउन्स

- साप्ताहिक संवाददाता

श्रावण १०, २०७५

 

 करोडौं रुपैयाँको चेक बाउन्स भएपछि प्रहरी परिसर काठमाडौंमा राजनकुमार शाही–७ करोड रुपैयाँ, हुमनाथ पाठक–५ करोड ४५ लाख रुपैयाँ, टिकाराम पाण्डे–३ करोड ६५ लाख रुपैयाँ तथा रवीन्द्र नेमकूलले २ करोड रुपैयाँ बिगो माग दाबी गर्दै उजुरी दिएका छन् । करोडौं र लाखौं रुपैयाँ उल्लेख अन्य सयौं बाउन्स चेकसहितका उजुरी प्रहरी परिसर काठमाडौंमा छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा चालू आर्थिक वर्षका ११ महिनामा बैंकिङ कसुरका झन्डै १ हजार २ सय उजुरी दर्ता भएका छन् । चेक बाउन्सको चंगुलमा परेका सयौं मानिसले अर्बौं रुपैयाँ विगो माग दाबी गरेका छन् । काठमाडौंमा मात्र बैंकिङ कसुरका सयभन्दा बढी उजुरी दैनिक दर्ता हुने गरेका छन् जसमा मासिक ३० करोड रुपैयाँ बराबरको बिगो माग दाबी हुन्छ । 

 

 चालू आर्थिक वर्षका ११ महिनामा ललितपुरमा ४८ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । ५० हजारदेखि झन्डै ४ करोड रुपैयाँसम्मका बैंकिङ कसुरका ती घटनामा १४ करोड ४८ लाख २७ हजार १ सय ८३ रुपैयाँ माग दाबी गरिएको छ । 

 

यी दुई त प्रतिनिधिमूलक तथ्यांक मात्र हुन् । आर्थिक कारोबारका लागि सुविधासम्पन्न र सुरक्षित मानिने बैंकिङ प्रणालीको प्रयोगमा भएको वृद्धिसँगै बैंकिङ क्राइम ग्राफ पनि डरलाग्दो गरी आकासिँदै गएको छ । नेपाल प्रहरी केन्द्रीय कार्यालयको पछिल्ला चार आर्थिक वर्षको तथ्यांकले पनि यही देखाउँछ । आर्थिक वर्ष ०७१/०७२ मा देशभर ३६ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएकोमा त्यसको चार वर्षपछि ०७४/०७५ को पछिल्ला १० महिनामा मात्र ५ सय ५३ मुद्दा दर्ता भएका छन्, जुन बैंकिङ कसुरका अघिल्ला वर्षहरूको मुद्दाको तुलनामा ५ सय गुणाभन्दा बढी हो, जसमा २ अर्ब ४४ करोड ५७ लाख ६८ हजार रुपैयाँ विगो माग दाबी गरिएको छ । 

 

देशभर बैंकिङ कसुरमा मुद्दा चलाइएका घटनामात्र प्रहरी केन्द्रीय कार्यालयको तथ्यांकमा समावेस छन् । कतिपय बैंकिङ कसुरका घटना जिल्ला प्रहरी कार्यालय त कतिपय स्थानीय प्रहरी एकाइहरूले नै समाधान गर्छन् । जुन घटनाको विवरण केन्द्रले नराख्ने भएकाले यसको संख्या अझ उल्लेख्य रूपमा बढ्ने देखिन्छ, जुन कुरा महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएका बैंकिङ कसुरका उजुरीहरूबाट पनि छर्लङ्ग पार्छ । किनभने काठमाडौंमा आर्थिक वर्ष ०७४/०७५ मा दर्ता भएका बैंकिङ कसुरसम्बन्धी उजुरीको संख्या झन्डै १ हजार २ सय छ । जबकि प्रहरीको केन्द्रीय कार्यालयसँग ५ सय ५३ वटा बैंकिङ कसुरका घटनाको मात्र तथ्यांक छ । 

 

यसले के देखाउँछ भने बैंकिङ प्रणाली झाँगिएसँगै बैंकिङ क्राइममा समेत उल्लेख्य वृद्धि भएको छ । अझ रोचक त के भने काठमाडौं, ललितपुर र भक्तपुरले चलाएका बैंकिङ कसुरका अधिकांश मुद्दा चेक बाउन्ससँग सम्बन्धित छन् । ठूला व्यापारिक डिल, घरजग्गा कारोबारदेखि सामान्य लेनदेनसम्ममा पनि चेक बाउन्सको लफडा देखिन्छ । यसले भरपर्दो र सुरक्षित मानिने बैंकिङ प्रणालीलाई नै चुनौती दिएको छ । 

 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार जिल्लामा दर्ता भएका ६ हजार मुद्दामध्ये ११ सय ५ वटा मुद्दा बैंकिङ अपराधसँग सम्बन्धित छन् । अहिले आर्थिक अपराध धेरै बढेका छन्, झन्डै ८० प्रतिशत आर्थिक अपराधका उजुरी आइरहेका छन्, थापा भन्छन्– औसतमा मासिक करिब ३० करोड रुपैयाँको चेक बाउन्स हुने गरेको छ । यही अनुपातमा चेक बाउन्स हुने हो भने काठमाडौंमा मात्र वार्षिक ३ देखि ४ अर्ब रुपैयाँ बराबरको चेक बाउन्स हुने उनको दाबी छ । काठमाडौंका प्रहरी परिसरमा ५ हजारदेखि ५ करोड रुपैयाँसम्मको चेक बाउन्सको उजुरी दर्ता भएको छ । 

 

चेक बाउन्सका ठगी, घरजग्गा कारोबार, रोजगारी, व्यवसाय, लेनदेनसँग जोडिएका सयौं घटनामा सर्वसाधारणको अर्बौं रुपैयाँ ठगहरूको हातमा परेको छ । चालू आर्थिक वर्षमा ७९ वटा बैंकिङ कसुरका मुद्दामा कारबाही चलाएको महानगरीय अपराध महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेती चेक बाउन्सका धेरै उजुरी आफूहरू कहाँ आएको बताउँछन् । हामी कहाँ धेरैजसो चेक बाउन्सका घटना छन्, उप्रेती भन्छन्, ‘७९ वटा बैंकिङ कसुरका घटनामा ९६ जना पिडकबाट १ सय ७ जना पीडित भएका छन् ।’ महानगरीय अपराध महाशाखाले कारबाही चलाएका ७९ वटा घटनामा १० करोड १९ लाख ७१ हजार रुपैयाँ विगो दाबी गरिएको छ । 

 

काठमाडौंमा मात्र होइन, उपत्यकाका थप दुई जिल्ला ललितपुर र भक्तपुरमा केही कम भए पनि अवस्था लगभग उस्तै छ । ललितपुर जिल्लामा मात्र चालू आर्थिक वर्षको ११ महिनामा ४८ वटा बैंकिङ कसुरका घटना दर्ता भएका छन् । ५० हजारदेखि झन्डै ४ करोडसम्मका बैंकिङ कसुरका घटनामा १४ करोड ४८ लाख २७ हजार १ सय ८३ रुपैयाँ माग दाबी गरिएको छ । ललितपुर प्रहरीका प्रवक्ता नरेन्द्र चन्द बैंकिङ कसुरका अधिकांश घटना चेक बाउन्सकै रहेको बताउँछन् । हामी कहाँ आएका सबै बैंकिङ कसुरका घटना चेक बाउन्सकै हुन्, प्रवक्ता चन्द भन्छन्, आपसी लेनदेन, सामान खरिद बिक्री, घरजग्गा कारोबार आदि सबै क्षेत्रमा चेक बाउन्स भएका छन् ।

 

भक्तपुर जिल्लामा आर्थिक वर्ष २०७४/०७५ को जेठसम्म मात्र ११ वटा बैंकिङ क्राइमका मुद्दा दर्ता भए, जसमा १ करोड ४७ लाख रुपैयाँ ठगिएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ । उपत्यकाका तीन जिल्लामध्ये कम जनघनत्व भएका अन्य दुई जिल्ला काठमाडौं र ललितपुरको तुलनामा कम आर्थिक गतिविधि हुने जिल्लामा बैंकिङ ठगीको यो रकम आफैंमा ठूलो हो । भक्तपुरका डिएसपी रेवतीरमण पौडेलका अनुसार भक्तपुर प्रहरीले बैंकिङ कसुरअन्तर्गत मुद्दा चलाएका यी सबै घटना चेक बाउन्सका हुन् । चेक बाउन्सको डरलाग्दो स्वरूपपछि महानगरीय अपराध महाशाखाले बैंकहरूसँग मिलेर जनचेतना जगाउने काम पनि अघि बढाउने तयारी थालेको छ । 

 

विभिन्न स्वरुप

कोही वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने आश्वासन पूरा नभएपछि दिएको चेकका आधारमा आफ्नो रकम फिर्ता गराउने उजुरी लिएर प्रहरी कहाँ पुगेका छन् । कोही ठगले जग्गा आफ्नो नाममा पास गराई बाउन्स चेक दिएर ठगेको उजुरी लिएर प्रहरीकहाँ धाइरहेका छन् । 

 

सामान्य कारोबारदेखि करोडौं रुपैयाँसम्म ‘चेक बाउन्स’मार्फत ठगिने सर्वसाधारणको ठूलो समूह प्रहरी शरणमा पुग्ने गरेको छ । चेक बाउन्सका विभिन्न स्वरूप एवं प्रकार छन् । वैदेशिक रोजगारी, घरजग्गा किनबेच, जागिर लगाइदिने, सेयर तथा चिठ्ठाका नाममा ठगी, अनलाइनमार्फत ठगी, कीर्ते कागजात बनाई ठगी गर्नेहरूले दिने अधिकांश चेक बाउन्स हुने गरेका छन् । अझ यसमा पनि धेरैजसो चेक बाउन्स वैदेशिक रोजगारीमा पठाउन नसकेर रकम फिर्ता गर्न चेक दिने तर चेक नसाटिने प्रहरी बताउँछ । ठगी गर्ने मनसायले यस्ता चेक दिइने काठमाडौं प्रहरी परिसरका डिएसपी थापा बताउँछन् । 

 

सुस्त फस्र्यौट 

महानगरीय अपराध महाशाखामा परेका ७९ वटा बैंकिङ कसुरका मुद्दामा ९६ जना पिडकमार्फत १ सय ७ जना पीडित भएको पाइन्छ । १० करोड १९ लाख ७१ हजार रुपैयाँ बिगो दाबी गरिएका ती ७९ वटा केसमध्ये महाशाखाले ३९ वटा केस मिलापत्रमा टुंग्याएको छ । मिलापत्र गरिएका केसको बिगो रकम ३ करोड २८ लाख ४३ हजार रुपैयाँ रहेको महाशाखाले जनाएको छ । 

 

ललितपुरले जिल्लामा दर्ता भएका ४८ वटा उजुरीेमध्ये ५ वटा मात्र फस्र्यौट भएका छन् । ती पाँचवटा फस्र्यौट भएका मुद्दामा १ करोड ४२ लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको थियो । ललितपुरमा दर्ता भएका ४३ वटा बैंकिङ कसुरका मुद्दा फस्र्यौट हुन बाँकी नै छ । 

 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार बैंकिङ कसुरमा चालू आर्थिक वर्षमा मुद्दा चलेका ५ सय ५३ मुद्दामध्ये नेपालभर ७७ वटा मुद्दा फस्र्यौट भएका छन् । चालू आर्थिक वर्षमा मात्र देशभरका ४ सय ७६ मुद्दा अझै फस्र्यौट हुन सकेका छैनन् ।

 

के छ कानुनमा ? 

बैंकिङ कसुर सजाय ऐन–२०६४ मा बैंकिङ कसुर गर्नेलाई तीन महिनासम्म कैद, बिगो भराउने तथा बिगोबमोजिमको जरिवाना हुने व्यवस्था छ । 

 

बैंकिङ कसुरका मुद्दा

आर्थिक वर्ष दर्ता संख्या फस्र्यौट बिगो 
०७१/०७२ ३६ ३६ १,६८,३९,५७,६८७
०७२/०७३ ४६ ४२ २८,९२,८७,७००
०७३/०७४ ९३ २७ १४,८४,१५,५३६

०७४/०७५ (वैशाखसम्म) ५५३ ७७ २,४४,५७,६८,४६५

                                                                     -नेपाल प्रहरी, केन्द्रीय कार्यालय

 

अज्ञानताका कारण ठगिने धेरै छन्

नरेन्द्रप्रसाद उप्रेती, प्रहरी उपरिक्षक, महानगरीय अपराध महाशाखा

 

बैंकिङ कसुरमा जो ठगिनुभएको छ उहाँहरूमा पनि ज्ञान छैन । चेक दिनेलाई पनि चेक बाउन्स भयो भने कारबाही हुन्छ भन्ने जानकारी छैन । आज खाता खोल्यो भोलि बन्द गरिदिने चलन पनि बढेको छ । चेक साट्न जाँदा कतिपय अवस्थामा बैंकमा खाता नै हुँदैन । अरूलाई झुक्याएर र विश्वासमा पारेर पनि चेक लिने र ठग्ने काम भएको पाइन्छ । अर्काको चेक काटिएको पनि देखिन्छ । बैंकिङ कसुरमा धेरै प्रकारका समस्या देखिएका छन् । 

 

सबैभन्दा पहिले बैंकिङ ट्रान्जेसनमा कानुनले बन्देज लगाएका कुरा गर्न रोक्नुपर्‍यो । त्यसको पालना गर्नुपर्‍यो, जथाभावी अरूलाई चेक काटेर दिनु भएन । त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्नुपर्‍यो । चेक नभएको खाताको चेक काट्नु भएन, मानिसहरूलाई यसरी झुक्याउनु ठग्नु भएन् । ठग्ने क्रम जुन रूपमा बढिरहेको छ, त्यसलाई नियन्त्रण गर्न प्रहरीको प्रयासले मात्र पुग्दैन, सबैको प्रयास आवश्यक छ । बैंकहरूले पनि आफ्ना ग्राहकहरूलाई यो कुरा गर्न हुन्छ, यो कुरा गर्नु हुँदैन भनेर सूसुचित गर्ने, बैंकमै ठूला बोर्डहरूमा त्यो कुरा लेखेर राखिदिने हो भने पनि ठूलो परिवर्तन आउँछ । 

 

बैंकिङ कसुर घटाउन, नियन्त्रण र निरुत्साहित गर्न बैंकहरूको पनि निकै ठूलो भूमिका हुन्छ । महाशाखाले यसमा बैंकहरूसँग सहकार्य समेत गर्न खोजिरहेको छ । के गरे बैंकिङ कसुर हुन्छ भन्ने जनचेतना जगाउन सकियो भने पनि त्यसले सकारात्मक परिवर्तन ल्याउँछ । प्रभावकारी प्रहरी कारबाही त हामीले गरिरहेकै छौं । चेक पाएपछि नसाटेरै पैसा नै पाएको विश्वास गर्ने अज्ञानताले पनि मानिसहरू ठगिएका छन् । हामीले चेक बाउन्समार्फत ठगिएको करोडौं रुपैयाँ रिकभर पनि गरिदिएका छौं, तर त्यो पर्याप्त छैन । बैंकिङ कसुरमा बिगो दाबी अनुसारको जरिवाना र कैद सजायसमेत हुन्छ । प्रहरीले एक वर्षभित्रमा बाउन्स भएका चेकहरू हेर्छ, तर अदालतबाट बाउन्स भएको ५ वर्षसम्म सजाय हुन सक्छ ।

 

 

प्रकाशित :श्रावण १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्