वल्र्ड इमोजी डे

- साप्ताहिक संवाददाता

श्रावण १०, २०७५

गत मंगलबार अर्थात् जुलाई १७ को बिहानै फेसबुक खोल्दा सबैले ‘ह्याप्पी वल्र्ड इमोजी डे’ भन्ने सन्देश प्राप्त गरे । फेसबुकले इमोजीकै माध्यमबाट आफ्ना प्रयोगकर्तालाई शुभकामना सन्देश दियो । फेसबुक मात्र होइन, ट्विटरलगायतका अन्य सामाजिक सञ्जालले समेत इमोजी डेलाई यसरी नै सेलिब्रेट गरे । फेसबुक तथा अन्य सामाजिक सञ्जालकै कारण इमोजीको प्रयोग बढेको हो । इमोजीले नै भाषालाई एक कदम अघि बढाएको हो । पहिले बोलेर गरिने सञ्चार हाल इमोजीबाट समेत गर्न थालिएको छ । 

के हो इमोजी ?

इलेक्ट्रोनिक चित्रको एउटा समूह नै इमोजी हो । यसले अनुहारको भावलाई सानो चित्र अर्थात इमेजद्वारा प्रदर्शित गर्छ । साथीभाइ तथा परिवारसँग सम्पर्कमा रहन हामी फेसबुक, ट्विटर, स्न्यापच्याट, इन्स्टाग्राम तथा ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल प्रयोग गर्छौ । ती सामाजिक सञ्जालमा यस्ता इमोजी प्रयोग हुन्छन् । खुसी, दु:खी, रिसाएको आदि भाव व्यक्त गर्न यस्ता इमोजी बनाउन सकिने विभिन्न एप्ससमेत उपलब्ध छन् । इमोजीले मनको भावनालाई चित्रद्वारा व्यक्त गर्छ ।

 

इमोजीको प्रारम्भ

इमोजीको पहिलो प्रयोग जापानमा भएको थियो । त्यसपछि यसको प्रयोग संसारभर हुन थालेको हो । यसको पहिलो प्रयोग जापानका सिगाटेका कुरिताले गरेका थिए । जापानी भाषामा इको अर्थ तस्बिर तथा मोजीको अर्थ चरित्र हुन्छ । कुनै पनि प्रकारको चरित्रलाई तस्बिरमार्फत व्यक्त गरिने भएकाले यसलाई इमोजी भनिएको हो । 

सन् २०११ मा आइफोनले प्रयोग गरेपछि यसको प्रयोग बढ्न थालेको हो । इमोजीलाई सर्वाधिक तीव्र गतिमा बढेको भाषा पनि भनिन्छ । यसको व्यापक प्रयोगका कारण सन् २०१५ मा यसलाई अक्सफोर्ड डिक्सनरीले ‘वर्ड अफ द इयर’ घोषणा गरेको थियो । त्यतिबेला निकै प्रचलित हाँस्दा हाँस्दै आँशु आएको देखाउने इमोजी नै वर्ड अफ द इयर भएको थियो । अक्सफोर्ड डिक्सनरीले पहिलो पटक कुनै शब्दलाई नभई पिक्टोग्राफलाई वर्ड अफ द इयर घोषणा गरेको हो ।

 

इमोजी दिवस

इमोजीका विभिन्न प्रतीक तथा तिनका डिजाइनलाई सफ्टवेयरमार्फत रजिस्टर गर्न इमोजिपिडिया नामक एक अनलाइन वेबसाइट छ । इमोजिपिडियाका संस्थापक जेरेमी बर्ज हुन् । उनले सन् २०१४ मा विश्व इमोजी दिवस मनाउने निर्णय लिएका थिए । त्यसपछि नै जुलाई १७ लाई विश्व इमोजी दिवसका रूपमा मनाउन थालियो । विश्व इमोजी दिवस मनाउन थालिएपश्चात् सामाजिक सञ्जालमा यसको उपयोग गर्न थप प्रोत्साहन मिल्यो । एप्पल, गुगल तथा एन्ड्रोइडजस्ता डेभलपरहरूले पनि इमोजी दिवसका दिन थप इमोजीहरू सार्वजनिक गर्छन् ।

 

इमोजीको प्रयोग

इमोजी दिवसकै अवसरमा विभिन्न सामाजिक सञ्जालले विभिन्न तथ्यहरू सार्वजनिक गरेका छन् । फेसबुकले सार्वजनिक गरेको तथ्यांक अनुसार फेसबुकमा प्रत्येक दिन ६० अर्ब भन्दा बढी इमोजी प्रयोग हुन्छन् । त्यसैगरी दैनिक ५ खर्ब इमोजी म्यासेन्जरमार्फत पठाइन्छ । फेसबुकमा धेरै इमोजी प्रयोग गर्ने १० देश बेलायत, जर्मनी, फ्रान्स, इटाली, अमेरिका, स्पेन, थाइल्यान्ड, इन्डोनेसिया, मेक्सिको तथा ब्राजिल हुन् । त्यसैगरी म्यासेन्जरमा सर्वाधिक इमोजी प्रयोग गर्ने १० देश बेलायत, फ्रान्स, इजिप्ट, क्यानाडा, अमेरिका, थाइल्यान्ड, भारत, इन्डोनेसिया, ब्राजिल तथा अस्ट्रेलिया हुन् । यसपटकको इमोजी दिवसका अवसरमा एप्पलले आइफोन, आइप्याड, एप्पल वाच एवं म्याकमा प्रयोग गर्न यो वर्ष ७० वटा नयाँ इमोजी उपलब्ध गराउने घोषणा गरेको छ । 

प्रकाशित :श्रावण १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्