सन्दर्भमा साहित्य

- किशोर नेपाल

श्रावण १०, २०७५

अचानक एउटा कार हुइँकिएर आयो । अचम्म कि त्यस्तो अवस्थामा मेरो दिमागमा वैरागी काइँलाको कविता ‘युवती’को सम्झना आयो, जसलाई चौरस्तामा हुइँकिँदै आएको कारले झन्डै ठक्कर दिएको थियो । मलाई गाढा पहेँलो रङ मन पर्दैन । मुर्दालाई ओढाएर लाने पीताम्बरजस्तो पहेँलो । त्यो कारको रङ त्यस्तै थियो । झन्डै हिर्काएको त्यो हुइँकिदै आएको कारले मलाई । यो उनीहरूकै सडक थियो । यस्तो राम्रो र चिल्लो सडकमा गुड्ने, हुइँकिने, आतिशबाजी गर्दै फन्किने अधिकार उनीहरूलाई नै हुन्छ ।

छेउमा उभिएको ट्राफिकको आँखा मलाई सुनाउँदै थियो, ‘यो त उनीहरूको सडक हो । यो सडकमा त्यसरी जथाभावी हिँड्न हुन्छ त ? जेब्रा क्रसिङ भो त के भो ? यो सडकमा जेब्रा क्रसिङबाट पनि बाटो काट्न पाइँदैन । कतैबाट पनि पाइँदैन । तिमीलाई त्यो कारले हिर्काएको भए पनि म के गर्न सक्थेँ र ? तिम्रो मृत अथवा घाइते शरीरलाई पन्छाउनसम्म पनि सक्दिनथँे । कारहरू आइरहन्थे । तिमीलाई कुल्चिइरहन्थे । राजमार्गमा एउटा ट्रकले कुल्चिएर मरेको कुकुरलाई अरू ट्रकले पनि कुल्चिएर आन्द्राभुँडी छताछुल्ल पारेको जस्तो । यो सडकमा तिम्रो सार्वभौमिक सम्प्रभुताको कुनै अर्थ छैन । कुन ट्राफिक नियमले जेब्रा क्रसिङमा सार्वभौमिक सम्प्रभुताको सम्मान गर्नु भनेको छ ? तिमीले बुझ्नुपर्छ– तिम्रो सार्वभौमिक सम्प्रभुता तिम्रो आँगनसम्म, अझ सानो अँध्यारो कोठासम्म सीमित छ । जस्तो कि मेरो सार्वभौमिक सम्प्रभुता र स्नातकोत्तर तहको प्रमाणपत्र मिसम्याच भएपछि म यहाँ, यो ट्राफिक पोस्टमा उभिएको छु । यो जागिर मेरो सानो दु:खले आर्जिएको होइन ।’

ट्राफिकको आँखामा भोक र थकाइ स्पष्ट देखिन्थ्यो । यो समृद्ध सडकमा अन्यत्र सडकको जस्तो छयालब्याल गरिबी र फोहोर देख्न पाइँदैन । सवारीको कार्यक्रम नटुङ्गिउन्जेल ट्राफिकको आँखामा भोक र थकाइ टल्किनैपर्छ । त्यो भोक सडकछेउको चिया र दुनोट पसलमा बिसाउन पाइँदैन । किनभने त्यो पसल अहिलेका लागि ठूला भवन पछाडिका बलेसीहरूको आडमा लुकाइएको छ । भीडभन्दा बाहिर, मटन बार्बिक्यूको बास्नाको परिधिभित्र हराएको छ । त्यो पसललाई सडकछेउको भवनमा झुन्डयाइएको रक्सीको ठूलो होर्डिङ बोर्डले छोपेको छ । जोनी वाकर– किप वाकिङ ।

के हो यो सार्वभौमिकता ? उहिल्यै तुलसीमेहर नाम गरेका एक जना सन्तलाई लाख रुपैयाँको नेहरू पुरस्कार प्रदान गरिँदा उनले सत्वचन दोहोर्‍याएका थिए– न त्वहं कामये राज्यं न च: स्वर्ग सुखादपि, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । सायद त्यही हो सार्वभौमिकता । कहाँ छिन् ती स्वर्गभन्दा पनि ठूली पृथ्वी ? अघि मलाई ताकेर हुइँकिँदै आएको कारले हिर्काएर ती सन्त मरेका भए के हुन्थ्यो ? अहिलेसम्म बाँचेका भए टुक्रा–टुक्रामा मर्ने र मर्दै जाने सार्वभौमिकता देखेर ती आफैँ छक्क पर्थे होलान् । आफ्ना गुरु सावरमतीका सन्तलाई सम्झेर अलिकति आँशु पनि झार्थे होलान् । पक्कै †

हान्स कोहनले लेखेका छन्, ‘रूसले पश्चिमी मुलुकको प्रवृत्ति र रोमान्टिक राष्ट्रवादलाई अपनायो । रूसबाट तिनै कुरा एसियाका देशमा दोहोरिए ।’ जाग जाग जाग हे नौजवान हो...। जेब्रा क्रसिङमाथि व्यक्तिको सार्वभौमिकता स्थापित गर्न अनेक आन्दोलन भए । रुवावासी, पीप, रगत, जेल–नेल र कालकोठरीपछि अँध्यारो हटे पनि मानिसको अनुहारमा मुक्तिको सूर्य किरण कहिल्यै टल्किन पाएन । यो मेरो देशको कथा थिएन, मेरो देशको पनि कथा थियो । 

म हान्स कोह्नको पुस्तक सम्झिन थालेको छु । ठीक २५ वर्षअघि पालोआल्टा, क्यालिफोर्नियाको ग्रीन एप्पल बुक्समा किनेको उक्त पुस्तकको मूल्य अहिले २४ सय रुपैयाँभन्दा बढी पर्छ । बुकस्टोरमा बसेर त्यो पुस्तक पल्टाउँदापल्टाउँदै त्यसमा लेखिएको एउटै वाक्यको प्रभावमा परेर मैले त्यो पुस्तक किनेको थिएँ– ‘दासहरूको अन्तरआत्मा र मानसिकता स्वतन्त्र मानिसको जस्तो हुँदैन ।’ दासहरूको देशले एउटा पतञ्जली, एउटा बुद्ध र एउटा वाल्मिकी कहिल्यै जन्माउन सक्दैन । बुद्ध, वाल्मीकी र पतञ्जलीले राजनीतिक हीनताबोधका दाग धुन स्वतन्त्रताको नारा लगाएका थिए । विशाल धर्तीका मानिसहरूका बीचमा आफ्नो शिर उँचो पारेर हिँड्न स्वशासनको माग गरेका थिए । अबको १८ वर्षपछि त्यो पुस्तक ‘ए हिस्ट्री अफ नेसनालिज्म इन दि इस्ट’ ले आफ्नो जन्मशताब्दी मनाउनेछ ।

साँच्चै, चन्द्रशमशेरले दासहरूको अमलेख गरे । यता कसैले पनि त्यो अमलेख शब्दको उच्चारणसम्म गरेको छैन । नयाँ आवरणमा देखिएका छन् दासहरू । अन्तर्आत्माको स्वतन्त्रता पूरै गुमेको छ । मानसिकतामा कुनै परिवर्तन आएको छैन । राज्यले चिनेका १३ हजारभन्दा बढी र नचिनेका अथवा चिन्न इन्कार गरेका २६ हजारभन्दा बढी मानिसको रगत पनि बालुवामा हालेको पानी साबित भएको छ । धर्ती सुख्खा छ । कुन दिनदेखि कोसी–कर्नालीमा पानी स्वात्तै बहन छाड्ने हो : मौसमको कुनै भरोसा छैन ।

राक्षसको गीत र माइकल ज्याक्सनको गीतमा धेरै ठूलो अन्तर छ । राक्षसको गीतमा रिदम हुँदैन । माइकल ज्याक्सनले पच्चीस वर्षअघि अमेरिका थर्काएका थिए– वी आर दि वल्र्ड, वी आर दि चिल्ड्रेन । २५ वर्षभन्दा पहिलेदेखि हामीलाई सवारीले थर्काउँदै छ, बेग्लै भाषामा । राक्षसको गीत सुनाएर । 

मन्दिरका सिँढीमा एक हूल मानिस उभिएका छन् । उनीहरू सारा जनतालाई खिज्याउँदै छन् र एकै स्वरमा बोल्दै छन्, ‘तिमीहरू राम्रा हैनौ । राम्रो त म हुँ । राम्रो म ।’ त्यो हुलमा को राम्रो हो ? कसैले ठम्याउन सकेको छैन । एउटा राम्रो व्यङ्ग्य बनेको छ । 

ठूलो सडकमा हुइँकिँदै आएको त्यो पीत कारले मलाई धक्का नै दिएको भए पनि के हुन्थ्यो र ? पीडाका अनन्त लाभाहरूले पोलेकै छन् ज्यानलाई । अलिकति भौतिक पीडा बढ्थ्यो । मुचुल्का उठाइन्थ्यो । पोस्टमार्टमको टेबुलमा पुर्‍याएर मेरो त्यो ज्यानलाई पहिले टुक्रा–टुक्रा पारिन्थ्यो । ती टुक्रा खरानीमा परिणत हुन्थे । एउटा कथित सार्वभौमसत्ताको इकाई ढल्थ्यो । 

किन मर्नु त्यस्तो मृत्यु ? सडकको जेब्रा क्रसिङ पनि कुनै मर्ने ठाउँ हो र ? उनीहरूको इच्छाको ट्रयापमा परेर किन मर्नु म ? जीवनमाथि कुनै अधिकार स्थापित हुन नपाए पनि मेरो मृत्युमाथि मेरै अधिकार हुनुपर्छ । 

देशको सार्वभौमसत्ताका रूपमा चिनिने एकाइलाई स्वाभाविक मृत्युको पनि अधिकार छैन जस्तो छ । कसलाई सोध्नु ? सडकमा उभिएको ट्राफिक चियामा दुनोट चोपेर खान व्यस्त छ । उसलाई साँच्चै भोक लागेको छ । 

प्रकाशित :श्रावण १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्