विश्वभर बिक्ने प्राविधिक शिक्षा
श्रावण ८, २०७५
स्कुल एजुकेसन एक्जामिनेसन (एसईई) को परीक्षाफल सार्वजनिक भएलगत्तै विद्यार्थीहरू रोजगारमूलक उच्च शिक्षा अध्ययन गर्ने शिक्षालयको खोजीमा दौडधूप थाल्छन् । सामान्यत: विश्वविद्यालयहरूमा पढाइ हुने विषयहरूप्रति धेरैको आकर्षण भए पनि व्यवसायिक तथा सीपमूलक शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरूको संख्यासमेत ठूलो छ । उनीहरू पढाइ सकिएलगत्तै रोजगारी मिलोस् भन्ने विषय रोज्न चाहन्छन् । एसईई परीक्षाको नतिजा ग्रेडिङ अर्थात् जीपीए प्रणालीअनुसार हुन थालेपछि धेरैलाई विश्वविद्यालय स्तरका विषय छनौट गर्ने कि प्राविधिक शिक्षालयमा पढाइ हुने विषय रोज्ने भन्ने अन्यौल पनि हुन्छ ।
एसईईमा कोही अनुत्तीर्ण नहुने भनिए पनि प्लस टु पढ्न भने जीपीए प्रणालीका आधारमा बेग्लै व्यवस्था गरिएको छ । यस्तो अवस्थामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रदान गर्ने सीपमूलक तालिम एवं प्राविधिक कोर्सहरूमा विद्यार्थीको आकर्षण बढेको छ । सामाजिक विषयमा डी र ई ग्रेड प्राप्त गर्ने विद्यार्थीले मात्र होइन ए प्लस प्राप्त गर्ने विद्यार्थीहरूले समेत प्राविधिक कोर्सहरूमा आफ्नो भविष्य देख्ने गरेका छन् । कतिपय विद्यार्थीले राम्रो ग्रेड प्राप्त गरे पनि आर्थिक अभावका कारण रोजेको विषय पढ्न पाउँदैनन्, तर भविष्यमा बेरोजगार भएर भौंतारिनु नपरोस् भनेर रोजगारमूलक विषय छनौट गर्नेहरूको संख्यामा बर्सेनि वृद्धि भैरहेको सिटिइभिटीअन्तर्गतको एनएसटीभीका उप–निर्देशक टैलेन्द्र आचार्य बताउँछन् । सिटिइभिटीले प्राविधिक विषयको कोटा पनि बर्सेनि बढाउँदै लगेको आचार्यले बताए ।
स्वदेश वा विदेशमा पनि रोजगारी प्राप्त गर्न सकिने प्राविधिक शिक्षा नपढे पछि परिन्छ भन्ने कुरा २१ औं शताब्दीका विद्यार्थीले बुझिसकेका छन, आचार्य भन्छन्– हाम्रो लक्ष्य भनेकै प्राविधिक शिक्षामा दक्ष बनाएर नेपाली युवाहरूले विश्वका कुनै पनि ठाउँमा रोजगारी प्राप्त गर्न सकून् भन्ने हो ।
नेपालमा बर्सेनि नयाँ–नयाँ विषय भित्रिरहेका छन् । रोजगारमूलक प्राविधिक शिक्षाका थुप्रै विषय नेपालमै पढ्न पाइन्छ ।
विश्वविद्यालयहरू तथा उच्च माध्यमिक शिक्षा परिषद्ले युग सुहाउँदो प्राविधिक कोर्सहरू भित्र्याएका छन् त्यसमध्ये सिटिइभिटीले प्रदान गर्ने प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमले व्यक्तिलाई गरी खान सक्ने बनाउँछ भन्ने बुझेका विद्यार्थीहरू यतातर्फ आकर्षित छन् । वि.सं.२०४५ सालमा स्थापना भएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले ल्याएका विभिन्न रोजगारमूलक शिक्षा एवं तालिमले धेरैलाई रोजगार बनाई जीवन धान्न सक्ने बनाउँदै आएको छ ।
सिटिइभिटीले जीपीएमा अयोग्य ठहरिएर कक्षा ११ मा भर्ना हुन नपाएका सहित उच्च ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई समेत लक्षित गरी रोजगारमूलक सीप सिक्न पनि आह्वान गरिरहेको छ ।
सिटिइभिटीले कम जीपीए र विषयगत ग्रेड ल्याउने विद्यार्थीलाई १८ महिने टीएसएलसी कोर्सहरू अध्ययन गर्न पाउने व्यवस्था मिलाएको छ । विगतका वर्षहरूमा एसईई उत्तीर्ण हुनेले पढ्ने १५ महिने तथा अनुत्तीर्ण हुनेले पढ्ने २९ महिने कोर्सलाई समायोजन गरेर अहिले सबैका लागि १८ महिने कोर्सको व्यवस्था गरिएको छ ।
नेपालमा परम्परागत ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा एवं त्यसमा समय सापेक्ष विकास नगरिँदा युवाहरू सीपविहीन बन्न पुगेका छन । हातमा सीप नभएकै कारण युवाहरू स्वरोजगारको बाटोमा लाग्न नसकी विदेश पलायन हुनुपरेको छ । सीपको अभावमा थुप्रै युवा बेरोजगार बस्नुपरेको छ । प्राविधिक कोर्स पढे नयाँ सीप सिक्ने मौका मिल्ने भएकाले बेरोजगार बस्नु नपर्ने शिक्षाविद्हरू बताउँछन् । प्राविधिक शिक्षाको माध्यमबाट स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले सिटिइभिटीले विभिन्न तहमा कक्षा सञ्चालन गर्दै आएको छ । सिटिइभिटीका आंगिक एवं सम्बन्धन लिएका शिक्षालयहरूले बजार सुहाउँदो सीप प्राप्त हुने गरी प्राविधिक शिक्षा प्रदान गरिरहेका छन् ।
ग्रेडअनुसार कोर्स
सिटिइभिटीका आंगिक तथा सम्बन्धन प्राप्त निजी शिक्षालय वा कलेजहरूले तीनवर्षे डिप्लोमा तथा प्रमाणपत्र तहका कोर्सहरू सञ्चालन गरिरहेका छन । सिटिइभिटीबाट सञ्चालित कुनै पनि कोर्सलाई ग्रेडिङ प्रणालीले छेकेको छैन । विद्यार्थीहरूले सिटिइभिटीले प्रदान गर्ने टीएसएलसीका विभिन्न कोर्स पढ्न पाउँछन् । ई ग्रेड ल्याउनेहरूका लागि पनि प्राविधिक कोर्सहरूको व्यवस्था छ । यसमा ८० प्रतिशत प्रयोगात्मक तथा २० प्रतिशत सैद्धान्तिक विषयवस्तु पढ्नुपर्छ । टीएसएलसी सकेपछि भने तीनवर्षे कोर्स गर्न पाइन्छ । त्यसबाहेक उनीहरूले आफ्नो रोजाइअनुसार छोटो अवधिका सीपमूलक तालिमहरू पनि लिन सक्छन ।
प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्यतर्फका सम्पूर्ण कार्यक्रमका लागि एसईईको अंग्रेजी, गणित तथा विज्ञान विषयमा न्यूनतम सी ग्रेड तथा जीपीए २ अंक अनिवार्य प्राप्त गरेको हुनुपर्छ । त्यसैगरी डिप्लोमा इन्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्यूनतम सी ग्रेड तथा अंग्रेजीमा न्यूनतम डी प्लस ग्रेड अनिवार्य मानिएको छ । डिप्लोमा तहका कृषि, खाद्य, डेरी टेक्नोलोजी तथा फरेस्ट्री कार्यक्रमका लागि अंग्रेजी, गणित एवं विज्ञानमध्ये कुनै दुई विषयमा न्यूनतम सी र कुनै एक विषयमा न्यूनतम डी प्लस ग्रेड प्राप्त गर्नुपर्छ । त्यसैगरी डिप्लोमा इन होटल म्यानेजमेन्ट, उद्यमशिलता विकास र सोसल वर्कका लागि अंग्रेजी, विज्ञान तथा गणितमा न्यूनतम डी प्लस ग्रेड अनिवार्य मानिएको छ । कतिपय शिक्षालयले यस्ता कोर्सका लागि परियोजना नै सञ्चालन पनि गरेका छन्, जसमा गरिब एवं दुर्गम क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ ।
प्राविधिकतर्फ मुख्य विषय
स्वास्थ्य : सीएमए, अनमी, ल्याब टेक्निसियन, आम्ची, आयुर्वेद, डेन्टल हाइजेनिस्ट, अक्युपन्चर आदि ।
इन्जिनियरिङ : इलेक्ट्रिकल, मेकानिकल, सर्भे, सिभिल, जेटीसी (कम्प्युटर), अटो मेकानिक्स, रेफ्रिजेरेटर एन्ड एयर कन्डिसनिङ, स्यानिटेरी आदि ।
कृषि : जेटिए, प्लान्ट साइन्स, टेक्सटाइल एन्ड सेरिकल्चर आदि ।
उपरोक्त विषयबाहेक कार्यालय व्यवस्थापन, सामाजिक परिचालक, उद्यमशिलता, अफिस व्यवस्थापनका कोर्सहरू पनि पढ्न पाइन्छ ।
खर्च कति लाग्छ ?
प्राविधिक विषय अध्ययन गर्न फरक–फरक विषयका लागि कोर्स र अवधिअनुरूप फरक–फरक शुल्क निर्धारण गरिएको छ । सरकारी तथा निजी शिक्षालयले फरक–फरक शुल्क लिन्छन् । जुनसुकै कोर्स पूरा गर्दा सरकारीतर्फका शिक्षालयमा १५ हजारदेखि १ लाख रुपैयाँसम्म लाग्छ । त्यसैगरी निजी क्षेत्रमा भने ६० हजारदेखि ५ लाख रुपैयाँसम्म खर्च लाग्छ भने आर्थिक अवस्था कमजोर भएकाहरूलाई छात्रवृत्तिको सुविधा उपलब्ध हुन सक्छ ।
छनौट प्रक्रिया
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले प्राविधिक एसएलसी तह तथा तीनवर्षे डिप्लोमा/प्रमाणपत्र तहका कोर्सहरू सञ्चालन गर्दै आएको छ । भर्नाका लागि छनौट हुन अंग्रेजी, विज्ञान, गणित, स्वास्थ्यजस्ता विषयमा केन्द्रित रहेर प्रवेश परीक्षा दिनुपर्छ । प्रवेश परीक्षामा सामेल भएर प्रतिस्पर्धाका आधारमा तोकिएको कोटामा विद्यार्थी छनौट गरिन्छ । छोटो अवधिको तालिम अर्थात सीप परीक्षणका लागि भने छुट्टै व्यवस्था छ । जीपीए प्रणाली सुरु हुनुअघि नै एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि भने फरक व्यवस्था छ । प्रवेश परीक्षामा अंग्रेजीमा–२०, गणीतमा–२०, विज्ञान वा स्वास्थ्यमा–२० गरी ६० पूर्णाङ्कको वस्तुगत प्रश्नहरू सोधिन्छ ।
छोटो अवधिको तालिम
हातमा सीप भयो भने रोजगारी प्राप्त गर्न समस्या हुँदैन । प्राविधिक ज्ञानको अभावमा धेरै नेपाली युवाले बेरोजगार बस्नुपरेको छ । यही समस्यालाई मध्यनजर गर्दै सिटिइभिटीअन्तर्गतको सानोठिमी प्राविधिक शिक्षालयले छोटो अवधिको तालिम सञ्चालन गरी स्किल टेस्टमार्फत धेरैलाई आत्मनिर्भर हुन सक्ने बनाएको छ ।
सन १९८३ मा स्थापना भएको यो शिक्षालयले १२ महिने लाइट भेइकल मेकानिकदेखि एक महिने सवारी चालक तालिमसम्म प्रदान गर्छ जसमा लाइट भेइकल सर्भिस मेकानिक, इन्टेरियर डिजाइन, मोटरसाइकल मेकानिक, लेथ सेटर अपरेटर, प्रिन्टिङ प्रेस टेक्निसियन, जुनियर प्लम्बर, हाउस वायरिङ, हेभी इक्विमेन्ट मेकानिकजस्ता १८ वटा क्षेत्रमा तालिम सञ्चालन गरिन्छ । ती तालिम लिन भर्ना शुल्कबापत न्यूनतम २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । हरेक वर्षको साउन, भदौ तथा फागुनमा तालिम सत्र प्रारम्भ हुन्छ ।
प्रकाशित :श्रावण ८, २०७५
















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्