जीवन आफ्नै स्टाइलमा बाँच्ने हो

- रामजी ज्ञवाली

श्रावण ८, २०७५

कुनै बेला नेपाली चलचित्रमा आर्यन सिग्देलको बोलवाला थियो । सिग्देल लभस्टोरी चलचित्रमा नियमितजसो देखिन्थे । आर्यनको अभिनयले दर्शकको ध्यान खुबै तान्यो । उनी भन्दाअघि त्यसरी लगातार लभस्टोरी चलचित्रमा देखिने अभिनेता थिएनन् भन्दा पनि हुन्छ । लुक्स तथा अभिनयका हिसाबले उनका अधिकांश चलचित्रलाई दर्शकले मन पराए । एकाएक उनको फ्यान फ्लोइङ बढ्यो । चलचित्र किस्मतबाट नेपाली चलचित्रमा भित्रिएका आर्यनको दौड पछिल्ला वर्षमा केही सुस्त भएको छ । सिग्देलले आफ्नै लगानीको चलचित्र ‘कायरा’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई महँगो पारिश्रमिक दिएर आफ्नो जोडी बनाई करिअर जोगाउन लागेको आरोपसमेत छ । कायराको प्रचार प्रसारमा व्यस्त रहेकै बेला सिग्देलले रामजी ज्ञवालीसँग लामो कुराकानी गरेका थिए ।

कायराको प्रदर्शन मिति नजिकिँदैछ, तयारी कस्तो छ ?

धेरै समयपछि म पूर्ण लभस्टोरी चलचित्रमा देखिँदैछु । विगतमा मैले अभिनय गरेका लभस्टोरी चलचित्रलाई दर्शकले खुबै मन पराउनुभएको छ, त्यसैले अहिले ती दर्शकका लागि थप मेहनत गरेर अलिकति फरक शैलीमा चलचित्र निर्माण गरिएको छ । केही वर्ष भएको छ, दर्शकले मबाट गरेको अपेक्षाअनुसार चलचित्र नपाएको, त्यस हिसाबले पनि एकदमै एक्साइटेड छु । अलिकति नर्भस पनि छु ।

अभिनयसँगै चलचित्र निर्माणमा पनि हात हाल्नु भएको छ, अभिनय सहज हुँदो रहेछ कि निर्माण ?

अभिनय नै सहज लाग्यो । अभिनय मेरो पेसा हो, जुन काम मैले वर्षौंदेखि गर्दै आएको छु । अभिनयमा लगानी गर्नु पर्दैन, तर मेहनतचाहिँ गर्नुपर्छ । काम गर्न मज्जा चलचित्रमा निर्माणमा पनि हो । आफूले सोचेको कुरा पर्दामा ल्याउन चलचित्र निर्माण गर्नुपर्दो रहेछ । कलाकारका रूपमा मात्र काम गर्दा आफूले सोचेको सबै कुरा सम्भव हुँदैन, तर निर्माणबाट त्यो सम्भव हुँदो रहेछ ।

चलचित्र निर्माण निरन्तर अघि बढ्ला त ?

राम्रो कथा फेला पारें भने चलचित्र निर्माण गरिरहनेछु । अभिनयसँगै चलचित्र निर्माण पनि निरन्तर अघि बढ्नेछ । जतिबेलासम्म राम्रो स्क्रिप्ट पाउँछु त्यतिबेलासम्म मेरो चलचित्र निर्माणले निरन्तरता पाउनेछ ।

पछिल्लो समय तपाईंका कुनै पनि चलचित्र चलेनन्, किन होला ?

हो, यो कुरा मैले स्वीकार गर्नैपर्छ । चलचित्र दमदार बनेका हुन्, प्रस्तुतीकरण दमदार नभएकाले कतिपय चलचित्र असफल भएँ । 

भनेपछि नेपाली चलचित्रका स्क्रिप्ट राम्रा हुँदैनन् भन्न खोज्नुभएको हो ? 

हो, मैले अनुभव गरेको कुरा यो पनि हो । कुनै पनि चलचित्र दमदार हुन उक्त चलचित्रको कथा निकै राम्रो हुनुपर्छ । स्क्रिप्टमा मेहनत नगर्दाको परिणाम प्रदर्शन मितिमा थाहा हुँदो रहेछ । 

कायरामार्फत आर्यन सिग्देल पुन नेपाली चलचित्रमा फरक ढंगले फर्कन लागेका हुन् ?

म चलचित्र क्षेत्रमा निरन्तर संघर्षरत यात्री छु । मैले जब चलचित्र यात्रा प्रारम्भ गरें त्यतिबेलैदेखि वर्षमा १–२ वटा चलचित्रमा मात्र काम गरें । अन्य कलाकारहरू जस्तो वर्षमा १०–१२ वटामा काम गर्न सक्ने क्षमता मसँग पनि थियो तर मैले त्यसो गरिनँ । अहिलेसम्म पनि आफ्ना प्रशंसकहरूलाई बोर नहुने हिसाबले काम गरिरहेको छु । 

तपाईंका चलचित्रको कथा तथा अभिनय सधैं उस्तै–उस्तै खालका भए भन्ने गुनासो छ नि ? 

त्यो चलचित्र समीक्षकहरूमा भएको भ्रम मात्र हो । खासमा मैले जतिवटा चलचित्रमा काम गरेको छु, सबै चलचित्रका कथा तथा प्रस्तुतीकरण फरक नै छन् । अघिल्लो वर्ष प्रदर्शित रुद्रप्रिया बेग्लै विषयमा बनेको थियो । क्लासिक र नोभेम्बर रेन पनि फरक–फरक थिए । 

हरेक कुरा परिवर्तन हुँदा अभिनय परिवर्तन गर्नुपर्छ भन्ने हुन्छ कि हुँदैन ?

अभिनय परिवर्तन गर्ने भनेर जे पायो त्यही गर्ने कुरा हुँदैन । क्यारेक्टरमा मैले कस्तो अभिनय गर्ने हो, कथाअनुसार के गर्नुपर्ने हो त्यसैअनुरूप आफूलाई ढाल्नुपर्छ । धेरै वर्षअघि मैले चलचित्र धूवाँमा काम गरें, बीचमा मालामा काम गरें । ती चलचित्र फरक विषयवस्तुमा बनेका चलचित्र थिए, तर ती चलचित्रले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सकेनन् । 

दर्शकले तपाईं र नम्रता श्रेष्ठको जोडीलाई खुबै रुचाइरहेका बेला कायरामा किन साम्राज्ञीलाई रोज्नुभएको ?

कथाले साम्राज्ञी खोजेकाले उहाँलाई राखिएको हो । अर्को कुरा, हामीले कथाअनुसार कलाकार खोज्ने हो । कायराको कथा लेख्दा हामीले साम्राज्ञीकै लागि भनेर लेखेका थियौं, त्यो कथामा अरू कसैले काम 

गर्न सक्दैनथे ।

आर्यन साम्राज्ञीलाई हतियार बनाएर चलचित्र चलाउने दाउमा छन् भन्ने टिप्पणीसमेत गरिँदैछ छ नि ?

म यो कुरा मान्दिनँ । मैले यसअघि पनि भनिसकें, कायराको स्क्रिप्ट लेख्दा नै साम्राज्ञीका लागि लेखिएको थियो । एउटा स्टारले मात्र चलचित्र चल्दैन । मेरो पनि पहिलो चलचित्र हिट थियो तर म हिट थिइनँ नि । यो कुरा बलिउड वा हलिउडमा पनि लागू हुन्छ । 

साम्राज्ञीले तपाईंको अभिनय हेरेर चलचित्र क्षेत्रमा लागेकी थिएँ भन्नुभयो, आफूभन्दा धेरै कान्छी अभिनेत्रीसँग काम गर्दा कस्तो लाग्यो ?

साम्राज्ञीले सोचअनुसार नै काम देखाएकी छिन्, यो मेरा लागि खुसीको कुरा हो । अर्को कुरा, मैले साम्राज्ञीका चलचित्रहरू हेरेको छु, तर कायरामा उनले त्योभन्दा धेरै माथि गएर काम गरेकी छिन् । उनको अभिनय तथा कामबाट हामी धेरै प्रभावित भयौं, जब टिम नै खुसी छ भने म खुसी नहुने कुरै भएन ।

कायरामा साम्राज्ञीलाई १० लाख रुपैयाँ पारिश्रमिक दिएको भनेर खुबै हल्ला भयो, यथार्थ के हो ?

मेरो त इच्छा के छ भने भोलिको दिनमा मेरो कम्पनीले साम्राज्ञीलाई ५० लाख रुपैयाँ दिएको समाचार आओस् । एउटा स्टारको लाइफ ६ महिनामा १० लाख रुपैयाँले चल्छ त ? कायरामा साम्राज्ञीले निकै कम पारिश्रमिक लिएर काम गरेकी हुन् । कायरामा उनले गरेको कामको मूल्यांकन गर्ने हो भने उनको पारिश्रमिक ५० लाख रुपैयाँ हुनुपथ्र्यो ।

पछिल्लो समय आएका स्टारले तपाईंलाई एकाएक पाखा लगाएका हुन् ?

मैले पहिले जसरी चलचित्रमा काम गरिरहेको थिएँ त्यसरी नै काम गरिरहेको छु । विगतमा पनि मैले वर्षमा एउटा, कहिलेकाहीं दुई–तीनवटासम्म चलचित्रमा काम गरें । म जसरी निरन्तर काम गरिरहेको छु त्यसले मेरो करिअरमा कुनै असर परेको छैन । मलाई उहाँहरूको अभिनय र आवागमनले केही फरक परेको छैन । दर्शकहरू स्टारको पछि कहिल्यै दौडिँदैनन्, उनीहरू राम्रो कथा खोज्छन् र राम्रो चलचित्रलाई साथ दिन्छन् । 

तर उनीहरूका चलचित्र ब्लक बस्टर भए नि त ?

मान्छु, उनीहरूका चलचित्रले राम्रो व्यापार गरेका छन् । खासमा हामीले केही वर्षदेखि काम गरिरहेका बेला दर्शकले नयाँ कलाकार खोजी रहेका थिए, त्यही बेला अनमोल, प्रदीपहरू आए । लभस्टोरी चलचित्र मैले मात्र गर्ने भन्ने कुरा हँुदैन, दर्शकहरू लभस्टोरी चलचित्रमा मलाई मात्र हेर्दा–हेर्दा वाक्क हुन सक्छन् । त्यसैले दर्शकको इच्छाअनुसार उनीहरू आए र राम्रो पनि भयो । बुझ्नुपर्ने कुरा, लामो रेसका लागि हिँडेको घोडा कहिल्यै थाक्दैन, बीचमा को आउँछ को जान्छ खासै मतलबको कुरा पनि होइन ।

त्यसो भए के कुरामा कमजोर हुनुभयो तपाईं ?

मसँग उनीहरूलाई दाँज्नु नै गलत हो । हरेक कलाकारका आ–आफ्नै किसिमका फ्लेवर हुन्छन् । हरेकसँग आ–आफ्नै किसिमको कला हुन्छ । अर्को कुरा, म उनीहरूभन्दा कहींकतै कमजोर भएको होइन । मैले विगतमा काम गर्दा नेपाली चलचित्रका दर्शक कम थिए, अहिले बिस्तारै बढ्दै गएका छन् । दर्शकका चाहना फरक हँुदै गएका छन् । चलचित्र बनाएर मात्र चल्दैन, कतिपय चलचित्र बनाएर थन्किएका घटना पनि छन् । चलचित्र बनाइसकेपछि त्यसलाई बजारमा ल्याउने तरिकामा पनि धेरै कुरा भर पर्छ । त्यस कारण हरेक मानिसको जीवनमा उतावचढाव आउँछ, तर संघर्ष गर्न छोड्नु हुँदैन ।

त्यसो भए तपाईंलाई आफ्नो करिअर जोगाउने कथा हेरेर काम गर्न कसले रोक्यो त ?

कसैले रोकेको छैन । मैले अघि पनि भनिसकें, हरेक मानिसको जीवनमा उतावचढाव आउँछ । सबै काम र सबै चलचित्र सफल नै हुन्छन् भन्ने हँुदैन । मैले रोजेका चलचित्र झुर थिएनन् । सोही कारण पछिल्लो समय आफ्नै ब्यानरका चलचित्रमा मात्र काम गर्छु भनेको हूँ ।

आफ्नो ब्यानरको चलचित्रमा मात्र काम गर्छु भन्नु घमन्डजस्तो भएन र ?

यो कुन मानिसले कुन कुरालाई कसरी हेर्छ, लिन्छ वा सोच्छ त्यसमा भर पर्ने कुरा हो । मैले काम गर्ने दर्शकका लागि हो न कि अरू कुनै व्यक्तिका लागि । दर्शकलाई राम्रो चलचित्र दिने मेरो प्रयास मृत्यु नहुँदासम्म जारी रहन्छ भने अरूले यो विषयमा किन टाउको दुखाउनु ?

अहिले हरेक स्टार सामाजिक सन्जालमा एक्टिभ हुन्छन् तर तपाईंले त भएजतिका सबै साथीभाइलाई अनफ्रेन्ड गर्नुभएछ नि ? 

यो मेरो बानी हो । जीवन आफ्नो स्टाइलमा बाँच्ने हो, यस विषयमा म धेरै बोल्दिनँ ।

तपाईंको यस्तो बानीले प्रशंसकको मन दुख्दैन ?

दुख्दैन, मैले उहाँहरूका लागि फेसबुक पेज बनाएको छु, प्राय:ले बुझ्नुभएको छ, म आफ्नो पेजमार्फत प्रशंसकहरूसँग जोडिएको छु । बाँकी मेरो एकाउन्टमा मेरी आफ्नै श्रीमती पनि छैनन् । यो कुरालाई धेरै ठूलो विषय बनाउनुपर्ने देख्दिनँ । 

कायराले तपार्इंलाई सुखद कमव्याक गराउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

जीवनमा काम गर्दै जाने हो । असफलतामा म कहिल्यै निराशा भइन वा पछि हटिनँ र मलाई ठूलो सफलताको मात पनि कहिल्यै चढेन । यात्राका क्रममा कहिले सफलता हासिल हुन्छ भने कहिले असफलता, यी सामान्य कुरा हुन् । चलचित्र कायरा साँच्चिकै वजनदार लभस्टोरी चलचित्र हो । छातीमा हात राखेर भन्नुपर्दा यो चलचित्रलाई शतप्रतिशत त भन्दिनँ, तर दर्शकले ९९ प्रतिशत मन पराउनुहुनेछ । जीवनमा सबै कुराबाट खुसी म (जय) र साम्राज्ञी (कायरा) बीचको गज्जबको केमेस्ट्रीलाई दर्शकले रुचाउने कुरामा म विश्वस्त छु ।

प्रकाशित :श्रावण ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्