Teej banner

बर्खे विकास

- अधिकारी रवीन्द्र

श्रावण ७, २०७५

 

नेपाल कृषिप्रधान देश हो । असार महिना भर्खर सकियो र यो महिना नेपालका लागि निकै महत्वपूर्ण मानिन्छ । कारण हामी नेपालीको मुख्य बाली धान यही महिनामा रोपिन्छ । महिनाको अधाआधीमा धान रोपेर, दही–चिउरा खाएर अनि विविध सांगीतिक कार्यक्रम गरेर धान दिवससमेत मनाइन्छ । यो महिना हामी धान रोप्न कँही छोड्दैनांै । काठमाडौंकै विभिन्न स्थानका बासिन्दाले सडकमै रोपाइँ गरेर उक्त कुरा पुष्टि गरिसकेका छन् । कृषिप्रधान देश भैकन यति पनि फाइदा लिन सकिएन भने त के काइदा ? असारैभरि रोपाईंको नाममा हिलोमा लडीबुडी खेल्दै रमाउने कलाकार तथा मोडलहरूको पनि खाँचो भएन देशमा । जनप्रतिनिधिहरू पनि सस्तो लोकप्रियताका लागि कोदालो लिएर बाउसे गर्न र घुम ओडेर बीउ काढ्न पछि परेनन् । 

यद्यपि रोपाईंलाई फगत मनोरञ्जनका रूपमा लिनु हाम्रो दुर्भाग्य हो । खेतका कुनै गह्रामा बाजा अनि ध्वजाका साथ ५ सय भन्दा बढीले रोपाइँ गरेको नाटक मञ्चन भैरहँदा लाखौं किसानका फाँट लाठे र रोपाहारको अभावमा बाँझो पल्टन तयार भैरहेको यथार्थता हामीले बिर्सनु हुँदैन । एक दिन रोपाइँको मज्जा लिनेले धानको फसल नकाटुन्जेल कति कष्ट गर्नुपर्छ बुझ्ने चेष्टा गर्नुपर्छ । 

कृषिमा प्रोत्साहन तथा कृषकको पहँुच बजारसम्म नहुँदा उनीहरू निरुत्साहित छन् र बिचौलियाहरू मोटाएको मोटायै छन् । तसर्थ अब नयाँ पुस्ताले कृषि पेसै त्याग्ने, बरु जग्गा बेचबिखन गर्ने अनि विदेश पलायन हुने क्रम बढ्दो छ । गाउँघरमा ज्यालामा काम गर्ने कामदार पाउनै कठिन छ । त्यसै पनि सहर आसपासका खेतीयोग्य उर्भर भूमि प्लटिङ गरेर घडेरीमा परिणत् भैसकेका छन् । त्यहाँ अन्न फलफुल होइन, अब कङ्क्रिटका पिल्लर रोपिनेछन् । त्यति नभए जग्गा कारोबारीहरूले एउटै जग्गाबाट पटक–पटक गरेर लाखौं रुपैयाँ कसरी उमार्ने ?

थोरै प्रसंग बदलाँै । कसैको विरोध गरिरहन मजा आउँदैन । हिजोआज सबैले सबैतिर गर्ने धन्दा नै त्यही हो । आफूचाहिँ वरको सिन्को पर नसार्ने अर्काको चाहिँ निरन्तर विरोध मात्र गरिरहने । हामी एकछिन रमाइलो गराँै । रमाइलो गर्न हामीसँग प्रशस्तै कारण छन्, दुइतिहाई बहुमतको सरकार जो आएको छ । जसरी यो वर्षातमा खोलाबाट सडकसम्म भलहरू बगेका छन्, टोलटोलमा विकासको बाढी अझ ठूलै रूपमा बगेको छ ।

 हिजोआज अधिराज्यभर जहाँ जानुस् विकास आफ्नो विकराल रूप लिएर त्यहाँ पुगिसकेको हुन्छ । सहरका कुनै पनि गल्ली विकासबाट अछुतो छैन । जताततै निर्माण कार्य भैरहेको छ । यतिबेला पहाडको ढिस्को फोडेर गाउँगाउँमा चौडा सडक पुर्‍याइँदैछ । पहिरोले शिरदेखिकै पहाड बगाएर नयाँ राजमार्गलाई छोपिदिन्छ, तैपनि विकास रोकिएको छैन । दसौँ पटक क्रेन लगाएर सडक सफा गर्न किन नपरोस्, विकास घर–घर पुगेरै छोड्छ । 

जेठको अन्त्यसम्म पनि विकास आउला जस्तो कुनै छाँट्काँट थिएन । जताततै उजाड अनि सुख्खा । त्यतिबेला साह्रै विरक्त लाग्थ्यो मनोरेल र पानीजहाज देख्न हाम्रो पुस्ता पनि मासिनैपर्ने हो कि क्या हो भनेर । जब असारे सङ्क्रान्तिले मुलुकमा पाइला टेक्यो विकासको मूल फुट्न थालिहाल्यो । अहिले यति भटाभट विकास भइरा’छ कि घर, मामाघर वा फुपूघर जहाँ जानुस् बाटो हिँडिसाध्य छैन र ठेकेदारहरू सडकको डीलमा छाता ओढेर डोजर अपरेटरलाई औँलाले आदेश दिइरहेका हुन्छन् अनि अनेकथरी उपभोक्ता समितिका फ्लेक्स रूखरूखमा झुन्ड्याइएका हुन्छन् । 

हाम्रा सडक–गल्लीहरू पनि त्यस्तै, भत्किएका कुरुप खाल्डाखुल्डी लिएर ११ महिना यही असारे झरीको प्रतीक्षा गर्छन् । जनताका घरघरलाई ढल पनि यही असारमा चाहिन्छ । यसरी सबैको आवश्यकता परिपूर्ति गर्न सरकारले पनि असारमै बजेट निकासा गर्छ । असार मसान्तसम्मका दुईदिने–तीनदिने परियोजनाहरू देख्दा लाग्छ, अब देशले कायापलट गर्नेवाला छ । सर्वसाधारणहरू १ महिना बाटोका हिलो र खाल्डोमा जाकिएर के भो त ? आखिर देश बन्न एउटा पुस्ताले दु:ख सहनैपर्छ । परिणाममुखी काम भैदिए त के भो र, एक महिना मात्र किन हामी बाह्रै महिना सास्ती खेप्न तयार छांै । 

पोहोर परारको जस्तै असारमा भएको चरम विकास साउनको भेलले छोपेर भदौसम्ममा पूर्वावस्थामा पुग्ने त होइन भन्ने भय सबैको मनमा उत्पन्न भैरहन्छ । शंका मात्र होइन, दुई–चारवटा सडकमा वर्षातबीच गरिएको पिच भोलिपल्टै भकाभक उप्किएको भिडियो देख्दा झसङ्ग नै भइन्छ । हुन त वर्षौंदेखि यही प्रक्रिया चल्दै आएको हो । हरेक वर्ष यो सालचाहिँ केही फरक होला कि भनेर आश पनि गरिँदै आएको हो । थोरै गर्ने तर दिगो गर्ने भन्दा पनि धेरै गरेर क्षणिक लोकप्रियता कमाइ पैसा तह लगाउने प्रवृत्ति अब त बदल्नुपर्ने बेला भएन र ?

                        facebbok.com/AdhiQarie/ravinems@iom.edu.np

प्रकाशित :श्रावण ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्