ट्रिपर आतंक बन्द गर्ने उपाय

- मनोज गजुरेल

श्रावण ६, २०७५

सहरमा ट्रिपर आतंक छ । आतंक मात्र होइन, हत्या आतंक नै भन्नुहोस् । हप्तामा एक जना यसको सिकार हुन्छन् । सिकारी दुई–चार दिन थुनिन्छ । १–२ लाख तिर्छ । निस्कन्छ र फेरि सिकार खेल्न सडकतिर जान्छ । 

के यी सिकारीलाई रोक्ने कुनै उपाय छैन ? छ, अवस्य छ तर त्यसका लागि पहिले यो ट्रिपर भनेको के हो, त्यो बुझ्नुपर्छ । 

ट्रिप भने यात्रा, ट्रिफर भनेको साधन । ट्रिपरको शाब्दिक अर्थ यही हो । तर यसको कार्मिक अर्थ साधन होइन, असाधन हो । असाधन अर्थात् सवारी साधनले गर्न नहुने काम । 

ट्रिपर चालक भाइहरूलाई देख्दा यस्तो लाग्छ, भर्खर आमाको दूध छोडेर आएका छन् । तिनको हँकाइ देख्दा लाग्छ, काठमाडौं टु कतार हिँडिरहेका छन् । उनीहरूको ट्रिपरको स्पिड देख्दा लाग्छ— भाइहरू पूरा ट्रिपमा ट्रिपर चलाइरहेका छन् ।

ट्रिपर आतंक रोक्ने पहिलो उपाय हो, फु गर्दा फुर्र उठ्ने भाइहरूलाई चलाउन दिनु भएन । दोस्रो उपाय हो, अविवाहितले ट्रिपर चलाउन नपाउन् । अविवाहितलाई न परिवारको चिन्ता हुन्छ, न उसको नियन्त्रणमा स्टेयरिङ बस्छ । सिंगल म्यानलाई न त आफ्नो जिउको चिन्ता न त अर्काको ज्यानको चासो !

तेस्रो उपाय, ट्रिपरको रुट क्लियर हुनुपर्छ । कमिलाको ढाडमा हात्ती चढ्दा के हुन्छ ? हो, त्यस्तै हुन्छ, काठमाडांैका सडकमा ट्रिपर कुद्दा । सडकविज्ञहरूले भनिसके, काठमाडांैको सडक ट्रिपरमैत्री छैन । विज्ञले भनिसकेपछि पनि पावरमा बसेका अनभिज्ञहरू किन चुप छन् कुन्नि ?

चौथो उपाय हो, बालुवा ठेकेदार, व्यापारी, प्रशासन र नेताको चौपक्षीय सिन्डिकेटको अन्त्य । ठेकेदारलाई बालुवा बेच्नुपर्‍या छ । व्यापारीलाई सुरक्षा चाहिएको छ । प्रशासनलाई कमिसनको लोभ छ । नेतालाई चन्दा चाहिएको छ । यी चार भाइ चाउरेहरूको मिलेमतो हुन्जेल ट्रिपर आतंकको अन्त्य हुँदैन । 

चौथो उपाय हो, मूर्खदेखि दैव पनि डराउनु । तपाईं राम्रो चालक हुनुहुन्छ । ट्राफिक नियमको जानकारी छ । पालना पनि गर्नु हुन्छ । लेन, लाइटसम्बन्धी ज्ञान पनि राम्रो छ, तर पनि ढुक्कसँग नहिँड्नुहोस् । जुनसुकै बेला ट्रिपरले टिपेर लाने खतराप्रति सचेत रहनुहोस् । सडक नियमअनुसार होइन, ट्रिपरको अवस्था अनुसार चल्नुहोस्, हिंड्नुहोस् । 

पांचौं, सकेसम्म ट्रिपर १ सय मिटर अगाडि–पछाडि नउभिनुहोस्, नहिँड्नुहोस्, नबस्नुहोस् । ट्रिपर अर्थात् ट्रिप लगाउने गाडी । जति धेरै ट्रिप लगायो, त्यति धेरै कमाइ हुन्छ । अगाडि गाडी छ वा पछाडी बाइक छ, मतलब हुँदैन । त्यसैले यस्तो मानेर चल्नुहोस्, यो ट्रिपरमा ड्राइभर छैन, अटो ड्राइभिंग मोडमा चलिरहको छ, आफ्नो ज्यानको सुरक्षा आफैं गर्नुपर्छ । 

याद राख्नुहोस्, ट्रिपर सडकको डन हो । पैदलयात्री, साइकल र बाइकरहरू निरीह जनता । कुनै डनका अगाडि निहत्था जनताले केही गर्न सक्छन् ? अहं, लुट्न आयो भने खुरुक्क दिने, कुट्न आयो भने लुसुक्क भाग्ने । ट्रिपरसंग पनि हामीले गर्ने यति हो ।

अब दीर्घकालीन समाधानचाहिं सरकारले दिने हो । सरकारलाई सुझाव दिने हैसियत हामीसँग छैन । किनभने सरकार बोल्दैन । प्रशासन सुन्दैन, तर त्यहाँ बस्ने मानिसहरूलाई भनौं, जुनसुकै बेला तपाईं पनि यो आतंकमा पर्न सक्नुहुन्छ । तपाईंका साथीभाइ वा आफन्तलाई पनि ट्रिपरले सिध्याउन सक्छ । त्यसैले यो कहाँ चल्ने, कसरी चल्ने, कसले चलाउन पाउने, स्पिड कति हुने र कुन सडकमा कुदाउन मिल्ने, नमिल्ने, कानुन बनाउनुहोस् । नत्र जुनसुकै बेला राम नाम सत्य हुन्छ, आफन्तको अन्त्य हुन्छ । 

सहरका कलिला सडकमा डरलाग्दो ट्रिपरको आतंक देख्दा यस्तो लाग्छ, एउटी नाबालक नानीलाई अर्को मुस्दण्डे अपराधीले दिउंसै बलात्कार गरिरहेको छ । रातिमात्र ट्रिपर कुदाउन दिएर भएन, कडा कानुन बनाएर ट्रिपरले सडक र सडकयात्रीमाथि गरिरहेको बलात्कार रोक्नुपर्‍यो । 

प्रकाशित :श्रावण ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्