विश्वकप फुटबल–२०१८ को परिणाम कस्तो लाग्यो ?

- महेश तिमल्सिना

श्रावण ४, २०७५

 

समग्रमा भन्नुपर्दा परिणाम ठीकै लाग्यो । विश्वकप फुटबलको फाइनल निकै राम्रो थियो । उक्त खेल हेर्ने क्रममा एकछिन पनि टेलिभिजनबाट आँखा हटाउन सकिएन । 

दीपाश्री निरौला, अभिनेत्री

आफूले समर्थन गरेको ब्राजिल बाहिरिँदा त दु:ख लागेको थियो, पछि क्रोएसियाको खेलले मन जित्यो, दाबेदारमध्येको टिम फ्रान्सले विश्वकप जित्यो । समग्रमा भन्नुपर्दा यसपटकको विश्वकप अत्यन्तै रोचक रह्यो । 

रमेशराज भट्टराई, गायक 

यसपटकको विश्वकप फुटबलमा अनपेक्षित परिणाम आयो, नाम चलेका टिम बाहिरिए, नाम नचलेकाले फड्को मारे । 

धीरज राई, गायक 

धेरैको सोचभन्दा फरक नतिजा आयो, तर मलाई फ्रान्सको पहिलो खेल हेरेदेखि नै उसैले जित्छ जस्तो लागेको थियो । 

राजु ढकाल, गायक 

मैले समर्थन गरेको टिम फ्रान्सले विश्वकप जितेकोमा खुसी छु । मलाई फ्रान्सको धैर्य, संयम, आत्मविश्वास तथा टिमवर्क एकदमै मन पर्‍यो । 

अनिता चलाउने, गायिका 

मैले यसपटक पहिलोचोटि विश्वकप फुटबल हेरेको हुँ । यसैपटकदेखि अलि–अलि फुटबल बुझ्न पनि थालें । मैले विश्वकपका प्राय: सबै खेल हेरेँ । क्रोएसियाले जित्छ जस्तो लागेको थियो । वास्तवमा क्रोएसियाको खेल असाध्यै राम्रो थियो, तर फ्रान्स भाग्यले विजेता बन्न पुग्यो ।

शिल्पा पोखरेल, अभिनेत्री 

मैले सुरुदेखि अन्त्यसम्मका प्राय: सबै खेल हेरेँ, जसमध्ये मलाई फ्रान्सको खेल एकदमै मन पर्‍यो । मैले फ्रान्स र बेल्जियममध्ये एउटा टिम फाइनलमा जान्छ भनेको थिएँ आखिर फ्रान्स फाइनलमा पुग्यो र विश्वकप विजेतासमेत भयो, त्यसैले म यसपटकको विश्वकप फुटबलको परिणामबाट एकदमै खुसी छु । 

बद्री पंगेनी, गायक 

ब्राजिल, अर्जेन्टिना, जर्मनी, पोर्चुगलजस्ता टिम एकपछि अर्को गर्दै बाहिरिएपछि नेपालमा विश्वकपको रौनक अलिक कम भएजस्तो लाग्यो, तर फ्रान्स पनि राम्रो टिम हो । उसले पहिले पनि विश्वकप जितेको हो, लगभग २० वर्षपछि फेरि जित्यो । त्यसैले मलाई यसपटकको विश्वकप फुटबलको परिणाम ठीकै लाग्यो । 

वसन्त निरौला, निर्देशक 

विश्वकप सुरु हुनुभन्दा अघिका दाबेदार टिमहरूलाई पाखा लगाउँदै अनपेक्षित नतिजा आए पनि समग्रमा अहिलेसम्म हेरेका विश्वकपमध्ये रोचक अनि अनप्रेडिक्टेवल विश्वकप यही नै रह्यो । 

भरत सिटौला, गायक 

क्रोएसियाले जितेको भए म धेरै खुसी हुने थिएँ, किनभने यो विश्वकपमा नयाँ टिमले कप जितेको हेर्न मन थियो । 

ध्रुव बिस्को, गायक 

फ्रान्सले जित्नै पथ्र्याे, उसैले जित्यो, त्यसैले खुसी छु । 

आशिफ शाह, निर्देशक 

एकदमै राम्रो लाग्यो । फ्रान्स डिजर्भिङ थियो त्यसैले जित्यो । एम्बाप्पे, ग्रिजम्यान, पोग्बाजस्ता चम्किला स्टारहरूले आफ्नो खेल कौशल देखाए । एम्बाप्पेका लागि पेलेले ट्वीट गरे भन्ने सुनेको थिएँ । क्रोएसियाले पनि फाइनलको यात्रा तय गर्नु निकै ठूलो उपलब्धि हो । क्रोएसियाप्रति मलाई सहानुभूति छ, किनभने क्रोएसिया पनि नेपाल जस्तै सानो तर दु:खबाट गुज्रिएको देश हो । 

आस्था राउत, गायिका 

यसपटकको विश्वकपमा नचिताएको कुरा धेरै भयो, तैपनि उत्कृष्ट टिम नै फाइनलमा पुगे, परिणाम पनि मैले अनुमान गरेको जस्तै आयो । 

देविका बन्दना, गायिका 

विश्वकप फुटबलको परिणाम निकै राम्रो छ । यो विश्वकपले खेल राम्रो भएर मात्र हुँदैन, भाग्यले पनि साथ दिनुपर्छ भन्ने सन्देश दिएर गयो । 

अर्जुन पोखरेल, संगीतकार 

मैले पहिले बेल्जियमले जित्ला भन्ने अनुमान गरेको थिएँ, पछि फ्रान्स र क्रोएसिया फाइनलमा पुगेपछि क्रोएसियाले जित्छ भन्ने लागेको थियो, तर फ्रान्सले जित्यो । 

वसन्त सापकोटा, संगीतकार 

म फुटबलको त्यस्तो क्रेजी फ्यान त होइन, तैपनि मलाई चाहिँ फ्रान्सले जितोस् भन्ने लागेको थियो आखिर त्यस्तै भयो, त्यसैले खुसी छु म । 

दीपिका प्रसाईं, अभिनेत्री 

समग्रमा विश्वकप फुटबलको नतिजा राम्रो आएको छ । युवा खेलाडीले भरिपूर्ण फ्रान्स २० वर्ष पछि फेरि विश्व विजेता बन्न सफल भएको छ । 

दीपक घिमिरे, मोडल 

नाम चलेका र राम्रा मानिएका देशहरू अन्तिम १६ अनि अन्तिम ८ बाट बाहिरिएपछि कम चर्चामा रहेका धेरै राम्रा टिमको खेल यसपालि हेर्न पाइयो । तैपनि अन्तोगत्वा रामै्र टिम अन्तिम चरणमा पुगे र विजयी भए । समग्रमा भन्नुपर्दा यसपालिको विश्वकप फुटबलमा आएको परिणाम सुरुवाती पूर्वाअनुमान भन्दा फरक भए पनि सन्तोषजनक छ । 

डिपी खनाल, गीतकार 

यसपालिको विश्वकप फुटबलको नतिजा आश्चर्यजनक लाग्यो । बलियो दाबेदारका रूपमा पूर्वानुमान गरिएका टिमहरू छिट्टै घर फर्किए । क्रोएसियाले धेरै राम्रो खेल प्रदर्शन गर्‍यो । २२ वर्षअघि फिफा वरियतामा नेपालसँगै रहेको देशले विश्वकपको फाइनल खेल्यो । त्यसैले हामी सबैका लागि क्रोएसिया प्रेरणाको स्रोत भएको छ । 

धीरज तण्डुकार, इभेन्ट म्यानेजर 

समग्रमा विश्वकपको परिणाम सन्तोषजनक नै छ । म सुरुमा अर्जेन्टिनाको समर्थनमा थिएँ । अर्जेन्टिना बाहिरिएपछि नयाँ देशको खेल हेर्ने नयाँ खेलाडी चिन्ने मौका मिल्यो । फाइनलमा क्रोएसियाले जितोस् भन्ने चाहना थियो, तर फ्रान्सको टिमवर्क र लय असाध्यै राम्रो भएको अनि खेलाडी पनि उत्कृष्ट भएकाले फ्रान्स च्याम्पियन भएकोमा दु:ख लागेको छैन । 

याम क्षेत्री, गायक 

 

 

प्रकाशित :श्रावण ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्